देखासिकीमा लेख्‍न सुरु गरेको ब्लगको यात्राले पनि तीन वर्ष पूरा गरिसकेछ । २००८ मा अप्रिल १ कै दिन पहिलो पोस्ट लेख्‍दा धन्न अप्रिल फुल भएर केही न केहीको बकवास भएर हराइनछु ! यसबीचमा ‘क्याफे मङ्गलम्’ को नामबाट सुरु भएको यात्रा अहिले साहित्यप्रधान ब्लगको परिचयमा ‘शब्द’ भएर लम्किरहेछ । नाम फेरिए पनि ‘साहित्य, समाज र संस्कृति’को तीन पाटोलाई लेखन दायराबाट छाडेको छैन । यतिबेला आएर म कुनै अहम् भाव राखेर दाबी गर्दिनँ, कमसलभन्दा कमसल साहित्य पनि लेखेँ होला । तर, समग्रमा विश्‍व, देश, समाज, छिमेकी र व्यक्तिहरूबारे लेख्‍दै आउँदा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन कि जस्तो घरिघरि लागिरहन्छ । बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्‍दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो।

कतिपय विषयमा दीर्घकालीन प्रभाव पनि सोचिएन होला, कतिपय कुरा अरूलाई पेच पर्नेगरी र ह्‌याकुलाले मिचे जसरी लेखियो होला । तर ढाँटेर लेखिएन । कतिसम्म भने, हल्का काल्पनिक रङ-रोगन लगाएर आफ्नै गुप्‍त प्रेम र वियोगका छटपटीहरू पनि दुरुस्तै यही ब्लगको ऐनामा राखियो, कुनै धक नमानी । त्यो प्रेम कुनै साँच्चै प्रेम नै थियो होला, कुनै भने अति अपेक्षा, आग्रहभाव, एकल स्वार्थ र आक्रोशको कट्टु पहिरिएको नाङ्गेभुतुङ्गे थियो होला । अर्थात् जस्तो प्रेम गरियो, उसरी ब्लगमा लेखियो।


कहिलेकाहीँ लाग्छ - यतिसम्म पारदर्शी त म नभए पनि हुन्थ्यो ! तर ब्लग लेख्‍नु भनेको आफूसँगको कुराकानी रहेछ (कम्तीमा मेरो लागि यस्तै भइरहेछ) । यो अन्तरङ्ग साथी हो, जो सँग अनुभूतिका गहिरा ओढारहरूबाट कहिले सुस्तरी फुसफुसाउँछु र कहिले उत्तेजनामा चिच्याउँछु । सबैसबै सहिदिन्छ यसले, यसैले त बारम्बार यसैलाई सुनाउन मन लाग्छ आफ्ना अनुभूति र विचारका कुराकन्था।

ब्लगको कुरा गर्दा पहिले आफ्नै विशेषता र आनीबानीबारे कुरा खोतल्दा ठीक होला । लेखन भनेको त व्यक्तिकै प्रतिकृति तथा प्रतिलिपि न हो । ब्लग पढ्दा मेरो ब्लगका अनियमित पाठकहरूले विविधताको स्वाद पाउँदैनन् कहिल्यै, एकरसताको सिलसिला हुन्छ लेखनमा । यो स्विकार्नुपर्छ मैले, स्विकार्छु । लेखाइको यही एकोहोरो शैली नै मेरो विशेषता हो क्यार ! लेखनमा धेरै स्वाद र विविधता नआउनुको कारण - मेरो विवेकको क्षेत्रफल सीमित छ । साथी सर्कल झन् सानो, आफैंमा मग्न हुन मन पराउँछु अक्सर । साथीभाइ र समाज नै हुन् तपाईँको लेखनका स्रोत । तपाईँ पर्यटक जस्तै तिनमा फन्को लाउनुहुन्छ, सरसङ्गत गर्नुहुन्छ र तिनबाट प्रभाव-छाप लिएर, कच्चा पदार्थ टिपेर शब्दमा उन्नुहुन्छ । म आफूमै खुम्चिन्छु भने नयाँ कुरा के दिउँला लेखनमा ? प्रश्‍न यही हो । पेसागत रूपमा पत्रकारितामा जब आएँ, बल्ल हो अन्तर्मुखीबाट बहिर्मुखीतर्फ मोडिंदै गएको । तर पूर्ण रूपमा बहिर्मुखी हुन सक्ने छुइनँ म, चाहान्नँ पनि । यो समाज र समय पूर्णरूपमा बहिर्मुखी हुन सुहाउँदो त्यस्तो विश्‍वासिलो र ढुक्क खालको छ भन्ने तपाईँलाई पनि लाग्दैन सायद! 

अँ त, मेरो लेखाइ अलि जटिल पनि छ रे ! छ नै । एउटी सँगीले भनेको कुरा अझै बेलाबेला सम्झिन्छु, “तिम्रो फलानो कविता तीन पटक दोहोर्‍याएपछि बल्ल अलिअलि बुझे जस्तो भो।”

बुझिनकै लागि सायद लेख्दिनँ कि म ? बुझाएर कोही-कसैले बुझ्‍ने पनि होइन जस्तो लाग्छ । कक्षामा पाठ घोकाउने शिक्षकले जति नै गलाको नसा फुलाए पनि बरा विद्यार्थी पढाइकै लहरमा एकाकार भएर आफ्नो ग्रहणशीलता उदार पार्दैन भने के लाग्छ पढाउनेको पनि ? मेरो ब्लग लेखन र बुझाइको हिसाबमा त्यो नियम लागू नहोला । तर न म बुझाउनका लागि लेख्‍छु न आफ्नो पाण्डित्य प्रदर्शन गर्दै अलमल्याउनकै लागि लेख्‍छु । बस्, म लेख्‍छु । र सायद यही मेरो अलगपना पनि हो । भन्छन् नि, अलि ‘हटके से’ ! तर यो ‘हटके से’ बनाउने नाममा नियोजित रूपमा भाषिक जटिलताको ओइरो लगाउने गरेको छैन । बरू सम्प्रेषणीय र विशुद्ध नेपाली भाषाको वकालत गर्नमा एउटा मुठी मेरो पनि उठ्दै आएको छ।

यी तीन वर्षसम्म मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार ! नेपाली ब्लगर सर्कलमा कतिपयसँग सहोदर दाजु-भाइको जस्तो पारिवारिक सम्बन्ध समेत बनेको छ, मेरो कमाइ यही हो।

अन्त्यमा एक टुक्रा :

आय-व्यय

तीन वर्ष
तीन महिना
तीन दिन

- तिम्रो तीन वर्षको छोरा
- एक फग्लेटा घडेरी
- हिमाल नाघ्‍ने चुली सपना

मेरो भने
शब्दहरू बान्ता गर्ने
झन्-झन् भयानक
दिन-दिन दर्दनाक
अभिव्यक्तिको रोग।