Subscribe:

Ads 468x60px

08 June 2014

सरुभक्तको चुली र ‘धुम थ्री’

र्मीले पसिनासँगै जिउको स्फूर्ति ताछ्दै छ, झरी धक फुकाएर तप्किन सकेको छैन । झरी परे पनि जहाँतहीँ पक्की भुइँ र घर भएकाले सहरमा पानी सोसिने माटो कम्ती छ । काठमाडौंमा बस्न थालेको एक दशक भयो । विगतमा गर्मीयाममा सहरमा पैदल हिंड्दा जिउ बाफिए पनि ज्यानबाट पसिना तर्केको याद छैन ।  पछिल्ला वर्षहरुमा स्थिति फरक हुँदै छ । तराईका जिल्लाहरुमा त झन् के कुरा गर्नु ! तापक्रम ४४-४५ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । त्यताका मान्छे राति सुत्नुअघि नुहाएर मात्रै  सञ्चो मान्दैनन्, पानीमा गम्छा भिजाएर त्यही ओढेर सुत्ने अवस्थामा पुग्छन् ।

CHULI-by-Sarubhaktaतापक्रम वृद्धिले बिस्तारै संसारलाई नै उकुसमुकुस थर्मस बनाउँदै छ । यस्तोमा हिमालले हिउँ जोगाउन सक्दैन । हिमचुलीहरु पग्लिएर कालापत्थरमा परिणत भइरहँदा मैले यस पटक हिमाल आरोहणसम्बन्धी कृति पढेँ । सरुभक्तको लघु उपन्यास ‘चुली’ । २०६० सालमै प्रकाशनमा आइसकेको किताब पहिले नै पढ्ने सोच भए पनि खै के कुराले अलमल्यायो । सायद किताबहरुको थाकमा अरु किताबले नै रोजाइमा  उछिने । अथवा सानो काँटीको किताबलाई कम आँकेँ ।

जम्मा ७० पेजको उपन्यास एउटा पर्वतारोहीको सगरमाथा आरोहरणबारेको कथा हो । उपन्यासले चुलीको यात्रामा पाठकलाई हिंडाए पनि यो खासमा जीवनको चुलीको बयान हो । आरोहणका क्रममा आरोहीको आँखा ढाक्ने गरी फुरफुर उड्दै आउने हिउँ जस्तै पुस्तकको ठाउँठाउँमा दार्शनिक हरफ र काव्यिक मिठासले मन र मगज जिस्काउने तागत राख्छन् । भूमिकामा कृष्णचन्द्रसिंह प्रधानले यो लघु उपन्यासलाई ‘गद्यात्मक कविताजन्य अनुभूतिहरुको आलेख’ भनेका छन् ।

मान्छेभित्रको अटल आत्मविश्वास, लगन, जिज्ञासा र आशाले भरिएको शिखरको रुपमा सगरमाथा उभिएको छ कृतिमा । यो सगरमाथा मान्छेको अहम् हो, जीवनबोध हो । चुलीको यात्रालाई एउटा सिंगो जीवनयात्राका रुपमा पनि लिन सकिन्छ । ‘हिमालमा जोखिमहरु हुन्छन् । जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको एक सुन्दर कविता हो ।’ भनेर आरोहीमार्फत जीवनका चुनौतीहरुसँग पौंठेजोरी खेल्न प्रेरणाको प्रसार गरिएको छ । भौतिक रुपमा हिउँको टाँकुरा टेके पनि सार रुपमा मानवताको चुली टेक्नु नै जीवनको लक्ष्य हुनुपर्ने र सफलता मानिनुपर्ने कृतिको केन्द्रीय स्वर हो ।

नाम्चेदेखि हिंडेको पर्वतारोही कुनै गाइड र अन्य सहयोगीबिना नै सगरमाथाको टुप्पोमा एक्लै आफ्नै बर्गतले पुग्ने अठोटमा हिंड्छ । जीवनको सबै हिमाल एक्लै चढेको भनेर गर्वले छाती फुलाउने उसले ‘चुलीको यात्रा भनेको सधैं एक्लो यात्रा हो’ भन्ने मानेको छ । घरिघरि बिग्रने मौसम भूत बनेर जीवन र यात्रालाई तर्साउन आए पनि उसको उद्देश्यले ढाल बनेर प्रतिकूल अवस्थामा पनि हिंडाइराख्छ । ‘ऊसामु उसको उद्देश्य छ । उद्देश्यहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन ।’ भन्दै आरोहीले रोकिनु, थाक्नु, जम्नुलाई सधैं परपरै धकेल्छ ।

अचम्म लाग्छ, कहिल्यै सगरमाथाको आरोहण नगरेका लेखकले चुलीयात्राको एक-एक पाइला सचित्र रुपमा आँखामा उतार्छन् । लेखकको शक्ति र कल्पनाशीलताको उँचाइ भन्नु नै यही हो । आधारशिविरबाट ल्होत्से, नुप्चे, चाङटे, खुम्बट्से, पुमोरी चुली देखिए पनि सगरमाथा चुली नदेखिने कुरा हामी थाहा पाउँछौं । जिन्दगीमा हिउँको नाममा बरफ र असिना मात्रै देखेको/छोएको मेरो निम्ति चुली चढाइको जोखिम र मुटु कमाउने हिउँसँगको कुश्तीले जिउमा काँडा उमार्छन् । बरफ र हिउँ फरक कुरा हुन्, अझ हिउँ र हिमाल फरक कुरा ।

खुम्बु आइसफलको फेदीमा ५३ सय मिटरको उँचाइमा रहेको आधार शिविरसम्म उसले भरियाहरुको साथ लिन्छ । ‘आरोहण अभियानमा मान्छेको कुनै क्षति भएन, मात्र केही भरियाहरु मरे’ भनेर पहिलेपहिलेका अन्य निर्दयी आरोहीले भरियाहरुलाई मान्छे नै नगन्ने जस्तो छैन ऊ । चट्टानी हिउँमा उक्लिँदा ख्वाप्‌ख्वाप् गाड्नुपर्ने हिमबन्चरो जस्तै मानवतावाद उसको हतियार हो । दुःखको गहिरा-गहिरा खाल्डा पुर्ने उत्कण्ठासहित सर्वोच्च शिखरको पाउ परेका भरियाहरु आफैंमा दुःखका अलग-अलग टाँकुरा लाग्छन् ।  सिकिस्त बाउको उपचार खर्च जुटाउने विवशतामा जाकिएका, छोराछोरी पढाउने धोको साँचेका,  घरगृहस्थीको गर्जो टार्ने रनाहामा दौडिएका भरियाको लस्कर छ आधारशिविरमा । जसलाई थामथुम पार्न ऊ ‘जीवनमा दुःख छ, तर जीवन दुःख होइन’ भन्ने दर्शनको सिटामोल बाँड्छ ।

सहयात्रीलाई जीवनको सरलता सम्झाउने ऊ आफू चाहिं आफ्नो आरोहण सरल रेखामा अघि बढाउन सक्छ त ? ‘चुलीको यात्रा बेहोसीको यात्रा होइन’ भन्ने ऊ त्यो यात्रालाई होशपूर्वक टुंगोमा पुर्‍याउन सक्छ ?

सानो आकारको किताब भए पनि फारो गर्दै बिसाउँदै पढ्ने मेरो बानी र समस्या दुवै हो । एक त पढ्नलाई एकोहोरो समय नमिल्ने । अर्को, समय मिले पनि एउटै लामो आलेख त्यसरी एकोहोरो सिलसिलेवर रुपमा पढ्न जाँगर र धैर्य नहुने ।  यसैले पढ्न बिसाएको बीचको समयमा ‘धुम थ्री’ फिल्म हेरेँ । हलमा विशेष रोजाइको फिल्म हेर्न मात्रै जाने गर्छु । यसैले कमै बढी मसालेदार फिल्म भन्दै हेर्नुपर्ने सूचीमा राखेको थिइनँ यो फिल्मलाई । टोरन्टबाट राम्रो प्रिन्ट डाउनलोड भएपछि भने आमिर खान अभिनीत फिल्म हेर्ने मन भयो । नामअनुसार नै प्रविधिको धुमधधडाका प्रयोग गरिएको फिल्ममा आमिरको अभिनय तारिफयोग्य लाग्यो । कथावस्तु यथार्थभन्दा निकै पर भए पनि पात्रको चरित्रचित्रण र आवेग प्रभावशाली लाग्यो । पढ्दै गरेको उपन्यासको प्रभाव मगजमा रहेकाले होला, फिल्मको पात्र पनि आफ्नो उद्देश्यमा कटिबद्ध पर्वतारोही जस्तै पाएँ ।

अमेरिकाको सिकागो सहरमा सर्कस चलाउने एक भारतीय जादुगर, जसले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि पलपलको तनावभन्दा आत्महत्याको बाटो रोज्छ । ऋणको मूल्य बाबुको मृत्युले चुकाउनुपर्दा इखालु बनेका दुई छोराले त्यो बैंक तहसनहस पार्ने अठोटसहित गरेका लुटपाट र अनेक कर्मकाण्ड नै फिल्मको मुटु हो, जुन हर्कत गलत नै किन नहोस् ! बैंक बन्द हुने अवस्थामा पुग्दा ती दाजुभाइले आफ्नो जीवनको पूर्णता भेट्छन् । मान्छेले सामाजिक असन्तुलनका कारण टुटेको आफ्नो मन जोड्ने प्रयास स्वरुप कानुन तोड्छ भन्ने भाव दर्शाउँछ फिल्मले ।  शक्तिशालीले निर्धालाई दुःख दिने ‘संस्कृति’ र सिस्टमका नाममा संसार संवेदनाशून्य हुँदै गएको तीतोपनसँग पनि फिल्मले साक्षात्कार गराइदिएको छ ।

अब फेरि किताबकै प्रसंग ।
२९,०२८ फिट अर्थात् ८,८४८ मिटरको उँचाइमा पुग्न आरोही अथक योद्धा बन्नुको पछाडि तिलस्मी कारण छ । किताबमा त्यो कारण त्यस्तो प्रगाढ रुपले त देखा पर्दैन । तर भावनाको आँखीझ्यालबाट हेर्दा थाहा लाग्छन, उसलाई प्रेमले डोर्‍याएर, काँध थापेर चुचुरोतिर लगेको छ । उसमा यति धेरै साहस भर्ने, अठोटले उजिल्याउने र लगनशील बनाउने उसको प्रेमिकाप्रतिको प्रेमले हो । जुन प्रेमको सार्थकता र पूर्णता ऊ आफूले सगरमाथा चुम्दा मात्रै सिद्ध हुने ठान्छ । प्रेमिकालाई सफल आरोहणको उपहार दिनु उसले महान् प्राप्ति सोचेको छ ।

आरोहणका क्रममा ऊ ठाडो बाटोमा यसअघि अरु नै आरोहीले बाँधिराखेको डोरी समात्दैन । आफैंले लगेको डोरीले भर्जिन यात्रा गर्छ । ‘आफ्नो बाटो आफैं बना । आफ्नो चुली आफैं बन् ।’ भन्ने चेतनाले  भरिएको छ ऊ । कहिले ऊ हिपहिरोले थिचिन्छ, कहिले हिमचट्टानबाट चिप्लिएर तल बजारिन्छ, कहिले हावाको वेगले कागजको डल्लो मिल्काए झैं हिमतुफानले हुत्तिन्छ, कहिले घस्रिन्छ घाइते सर्प जस्तै । कसैगरी लक्ष्य टिप्नु छ भने मृत्युसँग पनि प्रतिस्पर्धामा हुन्छ मान्छे । छापामार यौद्धा जसरी हरेक उपाय अपनाउँदै गाह्रोसाह्रो छिचोल्दै अन्ततः ऊ बाटै बन्द भएको ठाउँमा पुग्छ । अर्थात् सर्वोच्च शिखरको चुम्बन !

विजयको सन्तुलित खुसी मनाउँदै ऊ प्रेमको इतिहास बनाएर चुलीबाट फर्कने क्रममा जुट्छ । ऊ सजग छ, चढ्नु जति नै ओर्लनु पनि चुनौतीपूर्ण मानिने हिमालमा अधिकांश दुर्घटना ओर्लने क्रममा हुन्छ । तर जीवनमा हरेक सजगता र सावधानी कामलाग्दो बन्छ त ? गरिएको तयारी काफी हुन्छ यात्रा तय गर्न ? चुलीबाट ओर्लने क्रममा पनि ऊ हिमतुफानको चपेटामा पर्छ । परिस्थिति सधैं अनुकूल हुँदैन । प्रकृतिले अँगालो फाट्ने गरी दिएको कुरा केही बाँकी नरहने गरी निमेषभरमै खोस्छ पनि । जीवन भेटिरहेको पैंतालाले एउटा मोडमा लय गुमाउँछ । आरोहीलाई भयानक हिमतुफानले उचालेर बजार्दा उसको मृत्यु हुन्छ । तर, ऊ मान्छेका अहम् र संघर्षको यात्रा यसपछि पनि चलिरहने भन्दै मानव र मानवताको अनन्त सिलसिलातर्फ संकेत गर्छ ।

हिमालसम्बन्धी आख्यान हाम्रो साहित्यमा यति सघन रुपले आएको सम्भवतः यही पहिलो हो । साहित्यकार सरुभक्तले हिमाल जत्तिकै महान् साहित्यले गर्वको गाथामा  एटा स्वर मिसाएका छन् ।

----------------------------------------

किताबभित्रका केही मार्मिक पंक्ति :

- ‘जीवनका जति अभिशाप आइपरे पनि जीवन अभिशाप होइन ।’

- ‘मान्छेको इतिहास भनेको प्रकृतिसित सम्झौताको इतिहास होइन । मान्छे एक साहस हो । ‘

- ‘हिमालको महत्व नबुझ्नेहरु सजिलो हिमालको खोजीमा लाग्छन् । हिमालहरु कहिल्यै सजिला हुँदैनन् । यो त अल्छीको दिवास्वप्न मात्रै हो ।’

- ‘जीवनको एउटा महान् सत्य के पनि हो भने जीवन एउटा मात्र चुलीका लागि होइन, धेरैधेरै चुलीका लागि हो । जीवनका सगरमाथाहरु धेरै हुन्छ । धेरैधेरै । धेरैधेरै ।’

- ‘दुर्घटनाहरुसित लुकामारी खेल्नुको नाम नै हो जीवन ।’

- ‘विजयमा खुसी हुनुपर्छ, सफलतामा खुसी हुनुपर्छ तर चाहिनेभन्दा बढी होइन ।'

- ‘मान्छेहरुले जीवनको बाटो उक्लँदा ओर्लने क्षमता सुरक्षित पारी राख्दैनन् ।’

- हिमाल चढ्नु भनेको ओर्लनु पनि हो । चुली टेक्नु भनेको आधा विजय पाउनु हो ।

- ‘पृथ्वीको इतिहासमा एक युगमा एकदुई जनाले मात्र मानवताको चुली टेके भने मुक्तिका लागि मान्छेले ईश्वर कल्पना गरिराख्नु पर्दैन ।’

No comments:

Post a Comment