January 24, 2025

धेरै थोक, धेरै भोक

दिमाग खाली र मन हल्लाखोर भएपछि के हुन्छ?

यसको जिउँदोजाग्दो जवाफ हुँ म।

एउटा शून्यताले छोपेको छ। तर, त्यो शून्यताभित्र खरानीभित्र भुतभुते झैं एक खालको हलचल छ। मुहारमा तैरिएको गाम्भीर्यलाई हृदयमा उठेका अधैर्य र चञ्चलताका छालले चुनौती दिइरहन्छन्।

यो चञ्चलता र बेचैनीमा सायद धेरै थोक र धेरै भोक मिसिएका छन्।

‘सायद’ किन भनेको भने, आफैंलाई थाहा नपाएका कति कति रहर, सपना र आकांक्षा आफूभित्र मूर्च्छित वा मृत बसेका होलान्। तिनलाई यसो गम्ने, हेर्ने, केलाउने, निफन्ने, पकाउने र रसास्वादन गर्ने मेसो कहिल्यै मिलेन।

ब्लगको यही पोस्टकै कुरा गरौं न, कति दिनदेखि माथिका दुई-तीन पंक्ति लेखेर त्यसैलाई सुमसुम्याइरहें, तर यसले पूर्णता पाउनै सकेन। मन कता कता भाग्ने, कुन बेचैनीले अन्तैतिर हुत्याउने।

ठेगाना हराएको चिठी झैं यता-उता भौतारिइरहें।

मान्छेहरूमा धैर्य हराएको समय हो यो। आफूभित्रको यात्रा पूर्णतया बन्द गरेर बाहिरी एकोहोरोपनको यात्रामा निस्किएका छन् सबै। आफूलाई एकैछिन पनि छैन।

के गर्दै छु, के हुँदै छु, के गर्नुपर्ने/नगर्नुपर्ने हो, के उचित/अनुचित हो, मलाई चाहिएको खास कुरा के हो, म केको लागि हुँ, नजाने गाउँको बाटोमा यसै आफूलाई खर्च गरिरहेको छु कि, यो सोच्ने र सोध्ने फुर्सद कमैसँग होला।

आजका यावत् सुविधा र प्रविधिका तानाबानाले मान्छेलाई दुविधामा पारेका, अल्झाएका छन्। धेरै कुरा, सोच, योजना थाती छन्। प्राथमिकतामा हुनुपर्ने विषय सबैभन्दा पछाडि छुटेको छ। जिन्दगी चाहिँ यसै कता कता खर्च भइरहेको छ।

खासमा मान्छे आफ्नै जिन्दगीबाट गयल छ।

कति कति प्रयास गर्दा पनि आफ्ना सोच र योजनाले गति पाउन नसकेर मानिस दिक्क छन्। खास गरी सिर्जनात्मक क्षेत्रका मानिस यस्तो दबाबमा बढी हुन्छन् कि? किनकि सिर्जनाका लागि समयसँगै अरु धेरै कुरा/वातावरण मिल्नुपर्ने हुन्छ।

आफूलाई पारिवारिक, सामाजिक, पेशागत जस्ता अनेक पाटोमा बाँड्दाबाँड्दै निजी जिन्दगीका चाहना या सपना सुमसुम्याउन भने  समय नै नरहेको थकथकीले घेरिरहेको हुन्छ। जति उमेरको उकाली थपिन्छ, एउटा बिन्दुमा त्यस्तो थकथकीले झल्यास्स पार्दो हो- ओहो मैले गर्न बाँकी त कति थोक छ! भोग्न बाँकी कति भोक छ!

केही नगरी फोकटको जिन्दगी बाँचिरहेका ऊर्जाविहीन मान्छेको कुरा के गर्नु, हामीले बाहिरबाट हेर्दा गजब काम गरिरहेका देखिने समाजका अगुवाहरूमा पनि आफ्नो लागि केही गर्न नसकेको, खास जिन्दगी बाँच्नै नपाएको थकथकी टनाटन हुने रहेछ।

दुई वर्षअघि लेखक/अनुवादक एवम् किम्फका अध्यक्ष वसन्त थापाको कुरा पढेको थिएँ। किम्फ २०औं संस्करणसम्म चलाएर यसको नेतृत्वबाट बिदा हुने तर्खरमा रहेका उनको चाहना रहेछ- अब आफैंलाई समय दिने। उनले भनेका छन्, ‘कति धेरै किताब थुपारिरहेको छु। ती पढ्न बाँकी छ। अझै धेरै लेख्नु छ। धेरै ठाउँ घुम्नु छ।’

हामीभन्दा धेरै भोटो फटाएका, कर्मशील, सक्रिय, एक हिसाबले आफ्नो क्षेत्रमा देश खाइसकेका वसन्त दाजुको अधुरोपन र धोको पढेपछि ममा झन् बेचैनी छायो। यी दाजुले गरेजति त एक छेउ पनि काम गरिएको छैन। ज्ञान र सिर्जनाको दुनियाँमा अहिलेसम्म आफू लास्ट बेन्चको भुस्कुल विद्यार्थी भइएको छ।

सक्रियता शून्य छ। जिन्दगी भन्नु जागिरको पाङ्ग्रा गुडाउनु मात्र भएको छ। घर-अफिस-घरको चक्कर नै सिङ्गो ब्रह्माण्ड र एकमात्र यात्रा भइदिएको छ। उपलब्ध साँझ-बिहानको समय सिर्जनात्मक बनाउन नसकी यसै खर्च भइरहेको छ।

त, यो अवस्थामा वेलावेला यस्तो थकथकीपूर्ण चिमोट्याइले दुख्नु पनि राम्रै हो। कम्तीमा एक झिल्को ऊर्जा पैदा गरिदिन्छ त्यसले।

झिल्को समातेर आगो सल्काउन त मन-मगजभरिको खिया झार्नै छ।

No comments:

Post a Comment