
- मोमिला/ प्रकृति र कलाको रोमान्टिक मूर्च्छना, २०६० ।
मोमिलासँग म विगतदेखि नै थिएँ । हाम्रो साथसाथको इतिहास बडो रोचक थियो । यति फरक थियो, उनको अनुहारको आभाभन्दा नृत्याङ्गना अक्षरहरूले मलाई हायलकायल पारिरहे । उसै पनि सोझो अनुहार साइनो गाँस्नका लागि होइनन् भन्ने म ठान्दछु, त्यो त चिनारीको एउटा लेवल मात्र । सम्वत् २०५७ को फागुन महिनामा उदयपुरको आँगनीमा हातमा पत्रिका पल्टाउँदा पल्टाउँदै सोच्न पुगेथेँ - यो के पारिजातको अर्को अवतार ?
त्यतिखेर पढ्दा पैयुँ भन्ने शब्द दिमागमा खूब घुसेको रहेछ । त्यो पत्रिका साझा प्रकाशनको मासिक भेट गरिमा थियो । प्रकाशित निबन्धमा मोमिलाको सर्जक-स्वरुप कवितात्मक रौनकमा तिनताका मेरो किशोरवयको कमजोर चेतनालाई हाँक दिन सुरेली खेलिरहेथ्यो । त्यही थियो मोमिलासँगको प्रथम सफारी । शिरमा घुम्टो हालेको कलात्मक तस्बिर देख्दा खोइ कसोकसो त्यसले पारिजातको झल्को दिइरहृयो । यतिखेर ७ वर्षहाराहारीको समय चिप्लिएर अहिले प्रमाण हेर्दा थाहा भयो मोमिलाजस्तै कलात्मक बान्कीका रहेछन् उनका सिर्जनाहरू । मोमिला सबैको मिश्रति अनुभूतिजस्ती छिन् र पनि खास कोहीजस्ती छैनन् । उनी आफैँजस्ती छिन् ।
प्रकाशनको ठीक २ वर्षपछि निबन्धकृति ईश्वरको अदालतमा आउटसाइडरको बयान पल्टाउँदा केही रचना अगाडि नै विभिन्न पत्रिकामा पढिसकेका परेका रहेछन् । र पनि समयको प्राविधिक चेपोमा तिनको बचेखुचेको स्मृति पृष्ठ पनि दिमागबाट उप्किँदै गएकाले सङ्ग्रह नै नयाँ जन्मसमान मेरो सामु ताते गर्न औँला मागिरहेथ्यो । राजधानी आएपछि केही साहित्यिक उत्सवको छानोमुनि मोमिलाको लयात्मक हक्कीपनसँग साक्षात्कार भयो । भेलाको बीचैबीचबाट ठमठम अगाडि गएर मोमिला शब्द नचाउँथिन्, अरुहरु श्रोतादीर्घामा त्यो अद्भूत ऊर्जाबाट चार्ज हुन्थे । कार्यक्रम समापनपछि चर्चा चल्थ्यो- यस्ती मोमिला, उस्ती मोमिला !
उनै मोमिला जुलाई ६ को आइतबारे अपराहृन थापाथलीको साञ्चारिक थलो मार्टिन चौतारीमा थिइन् । सन्दर्भ थियो उनकै आउटसाइडर कृतिमाथिको छलफल कार्यक्रम । उच्चस्तरीय सर्जकदेखि निम्नस्तरीय (वास्तवमै) पाठकसम्मले भरिभराउ हलमा डा. डीपीको ठाउँ लिँदै रङ्गवादी सर्जक धर्मेन्द्रविक्रम नेम्वाङ प्रतिसमालोचना सिद्धान्तबाट आउटसाइडरको इन्साइडर शल्यक्रियामा व्यस्त थिएँ । रङ्गवादीको बाङ्गो भाषा बुझ्न उपस्थितहरूलाई गाह्रो भइरहेको थियो, र पनि नयाँपनले पुष्टिएको धर्मेन्द्रको विश्लेषणमा सबैजना जिब्रो फड्कारिरहेका थिए । कतिसम्म भने उनले मोमिलाको निबन्धकृतिभित्र कथा, कविता, नाटक आदिको के-कति चलखेल प्रतिशत छ भनेर फटाफट लगत निकाल्दै गर्दा श्रोतादीर्घाको हाँसोले हल सानोतिनो लाफ्टर च्याम्पियनमा परिणत भएको थियो । यसरी साहित्यमा निहित भाव र शैलीलाई समीक्षकले गणितीय बाँडफाँडमा केस्राकेस्रा छुट्याइरहेका थिए । दोस्रो क्रममा डा ज्ञानु पाण्डे मोमिलाको व्यक्तिगत पाटोसँग सिर्जनात्मक पाटो रूजु गर्दै अस्तित्वको चिनारी झल्काउन आइपुगिन् ।
जगमगाउँदो मुस्कानलाई कृतिको आवरणमाभन्दा पातो-पातो निबन्धमा असरदार फैलाउन सफल कार्यक्रमकी पाहुना मोमिला पाठकहरूसँग सोझासोझी भएर बोल्दा मार्टिन चौतारीको साहित्यिक बहसले सार्थकता पाइरहेको थियो । त्यहाँ एउटा लेखक मात्र नभएर जीवनद्रष्टाले आफ्नो भोगको समयलाई अनुभवको खुला वक्तव्यमा साटेर जीवनको कटु सत्य ओकल्दै थियो । 'पीडालाई प्रेम गर्न सक्नेले नै जिन्दगीमा जिन्दगीलाई नै जित्न सक्यो', मोमिलाको अनुभूति ओठमा नाच्दै थियो । उनको लेखकीय स्वीकारोक्ति मनको निख्खर मुचुल्का भएर प्रकट भइरहेथ्यो । पुस्तकमा समाविष्ट १६ निबन्ध उनका यिनै भावका सविस्तार चित्रमाला हुन् । कृतिभित्र एउटा वाक्यको गहनता पनि खेर जानदिने खालको छैन । मार्टिन चौतारीको पुस्तकालयमा कार्यरत एक मित्र तीर्थ विष्टको प्रतिक्रिया थियो -'सबै वाक्य उस्तै गम्भीर र सम्झिरहनुपर्ने महत्व बोकेका र एकचोटि पढेर स्वाद नबुझिने खालको छ, सबै राम्रैराम्रोको बीचमा कुनलाई राम्रो भन्ने अलमलिएँ ।' अवश्य, एउटा लेखकको सफलता पाठकको यस्तै अनुभूतिको बहावमा लुकेको हुन्न र ?
***
जुलाई १० , २००८ (नक्साल)
0 Comments