गीत म लेख्दै लेख्दिनँ । पटक्कै जान्दिनँ । तर कसोकसो मन भने तडपनमा हुन्छ, आफ्नै भाव र भाकामा गुनगुनाउँदै हिँड्न । सडकमा मोटरहरूकै रफ्तारमा ओठ फरफराइरहेको म आफैँलाई धेरैजसो पत्तो हुन्न । र पनि, न त गीतको सिद्धान्त नै थाहा छ, न त त्यो अज्ञानता मेट्न सिद्धान्तको रटानमा पस्ने जाँगर नै छ । त्यसो त सिद्धान्त जान्दैमा गीतरचनामा आँधीबेहरी उराल्न सकिन्छ भन्ने पनि होइन । रचनागत अभ्यास बढ्दै गएर पछि त्यही धार र शैली सिद्धान्तमा स्थापित भएका उदाहरण पनि छन् । गद्यात्मक बान्कीमा टेढामेढा लम्बाईमा उनिएका साहित्यिक मूल्य बोक्ने कतिपय कविता गायनमा प्रयोग पनि गरिएका छन् । त्यसलाई सङ्गीतमा कसरी ढालिन्छ भन्ने महत्वपूर्ण कुरा हो । तर भएका शैली र सिद्धान्तबारे आधारभूत जानकारी भने राखेरै थप पाइला बढाउनु उचित हुन्छ । नत्र विधागत पाटोमै थामिनसक्नु र बुझिनसक्नुको अराजकता आउँछ र कुन साहित्य हो, कुन लम्बेतान घोषणापत्र हो खुट्याउन सकिन्न । भेद पनि रहँदैन । म पनि अरूका छाँटकाँट हेरेर परिष्कारको बाटो पैल्याउनमा सहजता देख्छु ।

प्रस्तुत गीत मेरा छिपछिपे गीतियात्राको गोटागोटी सङ्कलनबाट लिएको हुँ । आफ्नो विरह यसरी हरफहरूमा बिसाउँदा, अरूका विरह समभावले हेरेर यसमै मिसाउँदा प्राप्‍त हुने आनन्द जस्तो अरू के छ र ? यही मेरो आनन्दी मन बाँड्न मन लाग्यो ।


ड्न खोज्छ मनचरी खुला आफ्नै आकाशमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

घरै फर्की जाऊँ भने सपनाले रेट्छ आँखा
वारि भित्ता सम्याउँदा चिरा पर्छ पारि पाखा
जिन्दगीको सबै हिसाब मिल्छ भन्ने आभासमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

बसिराख्छ सम्झनामा त्यही सानो सुन्दर बस्ती
बिरानो यो स्वर्गभन्दा रमाइलो हिजो-अस्ति
हुर्रिएर जान्छ यो मन स्वदेशकै बतासमा
रूमलिँदै बस्नु पर्‍यो बाध्यताको प्रवासमा ।

- चैत्र ३, २०६३ नक्साल ।