झ्याउरे लयमा हरफ कोर्ने रहर महाकवि देवकोटाको जनप्रिय खण्डकाव्यकृति मुनामदन पढुन्जेल विरह रसाए जस्तो टुसाइरहेथ्यो । धेरै भएथ्यो झ्याउरेमा भाका नभरेको । आज ताक पर्‍यो गीति गेडामार्फत । समयगत रचनाक्रमका आधारमा यो ताजा गीत र उही चिनारू, नेपाली जनजिब्रोमा भिजेको झ्याउरे लय । कतिको जोडी जम्ला ! फेरि यो विरह भाकामा आँसुको जीवनमय भाव कतिलाई त निराशाको भारी पो लाग्ला कि ? तर आँसु पनि जीवनकै यथार्थ एउटा पाटो हो । त्यही पाटोको गुनगुन यसपालीको सुरमा ।

--------------------------------------


शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा

पिलपिलाएर तपक्क बन्छ संसारै भरिमा ।

फुरूरू उड्छ सम्झनाको यो रेसमी पछ्‌यौरी
झुल्केको रूप हारै पो हो कि कि त हो जितौरी
के साह्रो जुनी बगूँ झैँ गर्छ सानै र झरीमा
शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा ।

आफ्नै हो पिलो अरूको खालि हात हो चुलेसी
चरक्क चिरा पार्‍यो कि फुट्छ तिर्खालु बलेंसी
सिकारी दाजै खनिन्छन् सधैँ अबला चरीमा
शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा ।