न्तत: चैत २८ आयो र गयो पनि । गत वर्ष निर्वाचन भएको मितिले १ वर्षको बोझ हामीमाथि थोपरेर राष्‍ट्रिय राजनीतिको थिलथिलो आङलाई पाको बनाउँदै संविधान-यात्राले एउटा घुम्ती पार गर्‍यो । तर संविधानको छाँटकाँट केही देखिएको छैन । जिल्ला-जिल्ला दौडाहामा गई सभासद्‌हरूले सुझाव सङ्कलन गरेर थुपारेका जनअभिमतका कागजी चाङ कुन ओसमा थान्को लगाएका छन्, खबर छैन । संविधानको पन्ना जोरजाम गर्नभन्दा दैनिक एकसेएक चमत्कारिक बोली सार्वजनिक गरेर सनसनी छर्नमा जनप्रतिनिधिहरूले दायित्व निर्वाह गरिरहेका छन् । ठूलाठालु जनको यस्तै प्रवृत्ति बुझेर होला, हिन्दी भाषाबाट नेपालीमा बयान हुँदा दायित्व, कर्तव्य वा भूमिका निर्वाह गर्नु भनिनुपर्नेमा सोझै 'दायित्व निभाउनु' हुन गएको छ । कसैलाई आफ्नोबारे छिरिक्कै फरक मत उब्जाउने विरोधीहरूको हातखुट्टा ठुन्का पार्ने भयानक लत प्यारो छ । कसैलाई भने सार्वजनिक समारोहतिर भाषणकै खेती फापसिद्ध भइरहेको छ । आफूबाहेकका गुट, वर्ग र व्यक्तिलाई तल गिराउनैपर्ने, एकोहोरो मस्ती चाख्‍नैपर्ने र सर्वत्र लडीबुडी मच्चाउनैपर्ने हतारोमा हानथाप चल्नु फिल्मी ग्लामरसरहको नशा भएको छ । एउटा-एउटा कुरालाई सहारा लिएर चमत्कार गरिरहनुपर्ने मानौँ अभिशापमा छन् उनीहरू । बोलीदेखि गोलीसम्ममा अविरल चमत्कार गरिरहने धन्य हुन् हाम्रा महामानव ! शान्ति र सुव्यवस्था मुलुकको कुनै पनि हिस्सामा शेष देखिँदैन । अराजकतालाई अनुमोदन गर्नमा आधिकारिक मोर्चा नै बनेको देखिन्छ । नेपाल काङ्गुडी गाई भएको छ, जो गोरसको राम्रै असुल गरिएर छाडा छाडिएको छ ।

संविधानसभाको ऐतिहासिकताले देशलाई नुहाएपछि सुकिलोपन छाउँछ भन्ने तरङ्गले सबै नेपालीहरू फुलेल थिए । आखिर सबैसबै किसिमको प्रयोगशाला त देश भइ नै सकेको थियो । बाँकी एउटै काम- जनप्रतिनिधिको हातबाट संविधान लेख्‍ने प्रक्रिया पनि थालिएपछि विकल्पको मार्ग खुलेको उत्साह सँगाल्दै यस संविधानसभालाई बाहिरफेर उपयोग गरिएको देखेर आयातीत साबुनको रूपमा अपनाउनुभन्दा पनि आफ्नै आँगनमा झिकाएर-सुकाएर फिँज निकाल्नैपर्ने स्थानीय रिट्ठाको रूपमा उपयोग गर्नुपर्ने अत्यावश्यकता थियो । जे होस्, त्यो खुड्किलो सफलतापूर्वक पार गरियो । संविधानसभा ठूलाबडाको लागि कस्तो डसना र सिरानीको शयन-सोच थियो/होला कुन्नि, तर आम सर्वसाधारणको लागि त स्वतन्त्र अस्तित्वसहित आधारभूत गाँस, बास र कपाससहितको जीवनयापनको लागि सङ्घर्ष गर्न पाउने सहज वातावरणको व्यवस्था थियो । संविधान बनाउने यात्राको गन्ती १ हुँदानहुँदै नागरिकको आँखामा सपनाको तह डबाडब भरिइसकेको थियो । तर त्यो सपनामा अङ्कुरण लाग्न थाल्दै गर्दा राजतन्त्रले घनघोर चपेटामा पारेको बेला आच्छु-आच्छु भएर चेतबाबा काशी भएका शीर्ष राजनीतिक दलका नेताहरू स्थिति आफ्नो हातमा आउनासाथै फेरि पुरानै धुनमा सय झट्का पिङ मच्चाउन थालिहाले । अरू त अरू, सर्वहाराको अधिकारप्राप्‍ति र आमूल परिवर्तनका लागि पुरातन राज्यव्यवस्थाविरुद्ध लडाइँ छेडेका भनेका माओवादी समेत सत्ताको झुत्तो आफ्नो पोल्टामा आउनासाथै तिनले धारेहात लाउने गरेको सामन्तको ठाउँ लिएर रजाइँ गर्न कम्मर कसेर लागेका छन् । परिवर्तनको अनुभूति सिन्कोसम्म पनि गर्न पाइएको छैन । एउटा बोझको ठाउँ अर्को बोझले लियो, त्यत्ति हो !

यो चैत २८ गते संविधानसभा निर्वाचन सम्पन्न भएको ठीक एक वर्ष पुगेको छ । संविधानसभा चुनाव सम्पन्न भएर सभासद्‌हरू संविधानसभा-भवन पसिसकेपछिको यस एक वर्षको अवधिमा के-कस्तो अवस्था छ, त्यो हाम्रै आँखाअघि नग्न सत्य बनेर लम्पसार परेको छ। तोकिएकै समयमा संविधान नबन्ने प्रशस्त छनक त देखिएकै छ, कस्तो संविधान बन्ने भन्नेमा अन्योल र भय पनि उत्तिकै मौलाएको छ जनमानसमा । एउटा पार्टीको नीति र घोषणापत्र नै संविधान बन्ने त होइन भन्ने खतरा पनि देखिन्छ । कारण, आफ्नै एकोहोरो नेताहरूले भन्ने गरेको नयाँ नेपालको चमत्कारको थालनी यस्तै अन्योल र धूमिलताबाट हुने हो क्यारे ! 'प्रजातन्त्र'को शल्यक्रियापछि 'लोकतन्त्र' हुँदै 'गणतन्त्र' को बीज फुटाए पनि पुगेको छैन, 'जनगणतन्त्र' को रटान क्रान्तिकारी नेताहरूको टेबलमा एकफेरा निकै गरम बन्यो । संविधानको नौलो रौनक देखेसुनेर राजनीतिलाई बल्ल '' बाट प्रवेश गर्दै बुझ्ने ध्याउन्नमा चाख उमारेका युवावर्ग देशमा मागीखान आएका 'नयाँ जोगी' हरूको उस्तै चिरिएको कान देखेपछि हतास वितृष्‍णामा रङमङिन थाले । बोलेका कुराको केही ठेगान नहुने र खुलमखुला दिनदिनै आफ्नै कुराको खण्डन गर्दै हिँड्ने चमत्कारिक संस्कृतिको बीजारोपण डरलाग्दो ढङ्गले बढ्दै गएको देखिन्छ । नेतालाई आदर्श मान्ने दिन कहिल्यै आएन हाम्रो नेपालमा । कसैको घरमा पनि म नेता बन्छु, फलानो मन्त्री जस्तै असल र प्यारो मान्छे बन्छु भन्ने सन्तान छैनन् । उनीहरू बरू केही छाँट र छनक नपाए पनि 'डाक्टल बन्थु, देछको धेलै सेवा गल्छु" भन्ने तोतेबोली सुनाइहाल्छन् । नेता जस्तै असल र प्यारो बन्ने रहर पाल्न त यहाँ भने जस्तो नमूना नेता पनि हुनुपर्‍यो । भएका नेतामा केलाइपल्टाइ गर्दा एउटा बीउ पनि छैन । नमूना नेता त छन्, तर कस्ता ? -- विदेशमा उपचार पड्काउने, छोराछोरीलाई विदेशको प्रतिष्‍ठित शिक्षण संस्थामा पढ्न पढाएर देशमा आफू भने सोझासीधा जनतालाई बुर्जुवा शिक्षा बहिष्‍कार भनेर भड्काउने, नेतागिरिलाई समाजसेवा-राष्‍ट्रसेवा त परै जाओस्, टोलसेवासम्ममा खर्चन नसक्ने, बरू सकेजति भरणपोषणको भरपर्दो पेसा बनाउने, ढाडमा अक्सिजन बोकेर हिड्नुपरे पनि युवा नेता कहलिइरहने, जनता र कार्यकर्ताबीचको अस्तित्वको मूल्यमा लामै खाडल बनाएर जनता मर्दा कुकुर-बिरालाको मराइ ठान्ने र कार्यकर्ता मर्दा भने ठूलै हङ्गामा मच्चाउने । यस्तो चमत्कार गर्नमा हाम्रालाई अन्य कुनै पनि देशका राजनेताले भेट्न सक्दैनन् ।

हजारौँको श्‍वास हडपेर त्यसैको खुड्किलो टेकी सत्ताको शिखर आरोहण गर्नमा गर्व गर्ने र शान्तिपूर्ण राजनीतिमा आएपछि पनि अपराधलाई औजार बनाउनमा क्रियाशील गुट सरकारमा ठाँटिएर बसेको कति विडम्बनापूर्ण लाग्छ ! माओवादीले ठाडै भनेका छन्- 'हिजोसम्म अरूहरूले मोज गरेँ, अब नेपाली सोझासीधा जनताको हो ।' तिनको परिभाषामा जनता तिनकै मुठीभरका ऐरेगैरे नै हुन् भन्ने बुझ्न सत्ताको सिकारमा मग्न तिनको एकसुर हेर्दा हुन्छ । एउटा चोरको ठाउँमा नागरिकले अर्को चोरको माग र खोजी त कदापि गरेका थिएनन्, तर भइरहेछ त्यस्तै । सामन्त र सामन्तवादको धूवाँदार विरोध गर्ने 'सर्वहारा' जनताको पार्टी आफैँ सामन्तवादी भएर हैकम चलाउँछ, एक्लो मोज चाख्छ । क्रान्तिकारी दल मूलधारको राजनीतिमा प्रविष्‍ट भएपछि जनताले गरेको परिवर्तनको आशामा छेउकुनासम्म पनि स्पर्श हुन सकेको छैन । हामीले पूरै चलाउन पाएनौँ, कामै गर्न दिएनन् अरूहरूले भनेर उनीहरू आफूउपर उडेका आशङ्काका माखाहरूलाई छेउ लगाइरहेछन् । पुरानो स्तम्भमा वर्षौँदेखि टस न मस भई बसेका अरू राजनीतिक दल पनि के कम, आरोप-प्रत्यारोपमा मट्याङ्ग्रा वर्षाइहाल्छन् । सरकारमा बसेपछि यति जस र अपजस त लिनैपर्छ । जसको जति हैसियत र विवेक हुन्छ, त्यसले त्यही देखाउँछ भन्छन् । हामी अहिले त्यही झेलिरहेछौँ । विकल्पको अभावमा हामीले एउटा न एउटालाई 'जय होस्' भन्नै परेको छ ।

जनयुद्धको नाम दिएर बन्दुकको नालबाट सत्ता निकाल्ने दौडमा धूवाँदार पाइला चालेको क्रान्तिकारी जत्था युद्धलाई विराम दिएर शान्तिपूर्ण राजनीतिमा आएयता जनचाहनाको घाँटी निमोठेर प्रत्यक्ष सत्तासफरमा चाल मार्ने राजतन्त्रले डेरा सर्नु मात्र परेन, यस मोडसँगै जङ्गली राजले राष्‍ट्रिय शासनसत्ताको नेतृत्व तहमा छलाङ मार्न पुग्यो । सँगै जङ्गलीपनको सीधा प्रसारण राज्यको नियमित गतिधारामै स्थापित बन्न थाल्यो । अपराध के हो, त्यसलाई कसले-कुन रीत पुर्‍याएर नियन्त्रण गर्ने र सजाय कस्तो हुने र कसले दिलाउने ? रित्तो छ प्रत्युत्तर । यसको ठाउँ अराजकता र मनमानीतन्त्रले लिएको छ । गणतन्त्र बराबर मनपरीतन्त्र भएको छ । यस्तै छन् चमत्कारका शृङ्खला ।

अर्को चमत्कार फेरि के होला यो देशमा ?

कति शीघ्र आउला कुन्नि त्यो ?