वर्षअघि लेखेको हुँ यो गजल ! शाही शासनको जगजगीले मुलुक अँगारको कोलमा पिसिँदै थियो, पिना बन्न हो कि तेल नै निस्किन कुन्नि ! आज हेरौँ- हामीले तेल पायौँ कि रुखोसुखो पिना मात्रै ? भनिन्छ, प्रत्येक पलको मूल्य हुन्छ, गति हुन्छ ।
तर नेपालको घडी ठीक साँढे सातको दशामा माकुराजालमा बेरिएर कुथुर्किए झैँ छ । सोच्छु, यस गजलको भावभूमिदेखि अहिलेको नेपाली हावापानी कति फरक छ त ? सोचिन्छ .... र केही सोच्न सकिँदैन ।
बाँकी बोल गजलबाटै -
ढुक्कसित बस्ती पस्ने गौँथली खै छैन आमा
कति पिरो मौसम यो बदली खै छैन आमा !

केस्राकेस्रा व्यथाहरू चिच्याउनु कसोगरी,
बन्यो जेल जताततै डबली खै छैन आमा !

हीरा-मोती सम्पत्तिले भरिएछन् सारा ठाउँ,
काँप्ने मुटु साँचिदिने बगली खै छैन आमा !

हिलैहिलो पैनीबीच फसिदिन्छ जुनी किन,
तराईमा मुन्नी रुन्छे- मछली खै छैन आमा !

ओठ चुमे जस्तै गरी रक्त चुस्ने संसार छ,
खोटी रूपै चल्यो यहाँ असली खै छैन आमा !

***