[सुरुमा अलिकता कथा, यस कविताको । संयोगसँग त जिन्दगीको खुड्किलोभरि हाम्रो जम्काभेट भइरहन्छ बेलाबेला । यस्तै संयोग हरेक कर्म, पेसा र अभियानको क्रममा कुनै न कुनै बेला हामी झेल्छौँ । संयोग: कुनै तीतो, कुनै मनोरम, कुनै मुटुछेड दर्दनाक । यो कविता लेख्न प्रेरणा जगाउन पनि यस्तै संयोगले काम गरेको छ ।
एक दिन ज्यानमा खाँदिएर बसेको थकानलाई बिसाउन रत्नपार्क शान्तिवाटिकास्थित पीपलबोटको चौतारीमा बसिरहेको थिएँ । छेउमै रानीपोखरी मौन कुलकुलमा थियो । प्रताप मल्लको परिवार उसैगरी हात्तीमाथि अथक रूपले सवार छँदै थिए । रत्नपार्कअघिको सडकमा सवारीसाधनको हल्लाखल्ला, हतारको पखेटा जडेर ठेलमठेल भीडमा बत्तिइरहेका मान्छेहरूको भुनभुन सबैदेखि छलिएर केही छिनलाई त्राण खोज्दै थिएँ । यत्तिकैमा आँखा पर्यो, छेउको फलामै बेन्चमा बसिरहेका एक जना बूढा बाजेतिर । एकसुरमा थिए उनी । उनको बसाइ, रसिलो अनुहार र झिमिकझिमिक परेलाको सुस्त तालले मलाई कस्तरी चिमोट्यो भने मैले त्यही पीपलको फेदमा बसेर कविता कोरेँ । अनि पछि त्यही कवितालाई थोरै पुछपाछ र कोरीबाटी गरेको रूप यहाँ पस्किँदैछु ।]

उमेरको पुच्छ्रे तख्तामा
नाति-नातिनालाई
आशीर्वाद ओइर्याउने हत्केलाभरि
भारी शिर बिसाएर
के सोच्दै होला साहू बूढो -
कति-कति कमाइयो
कति-कति गुमाइयो ।
◊◊◊
दिमागभरि घुम्छन्
इतिहासको व्यक्तिगत फित्ता,
हजुरबाको खिइएको औँला-सहारा
बाबुको सदाबहार गाली
र दाजुको उत्कृष्ट इर्ष्या
अझै घुम्छ दिमाग -
आमाले आँसुको भेटी चढाइरहने
त्यो सुकिलो पूजा-कोठा... ...
खियाले चपाइरहेको बेन्चमा
लपक्क भएर
के हिसाब निकाल्दो हो साहू बूढो-
कति-कति कमाइयो
कति-कति गुमाइयो ।
◊◊◊
निद्रा साथी बन्दैन रातभर
सहरको तमासाको सर्कसभित्र
जोकर भइरहन्छ जिन्दगी,
सेफमा बिटा-बिटा चुल्याएको नोट
कहिले बन्ने हो आरामदायी घर ?
भयको चमकले
फुस्रै उजाडिएको मौन सडक
र घरमा धुम्धुम्ती
भूतबङ्गला भोगिरहेकी साहुनी बूढी
किन काटीकुटी लाग्छ ?
समयको अन्तिम अध्यायमा
तीन
दुई
एक
र जिरो गन्दै
फिका आँखाले
साहु बूढो अझै
त्यहीँ छ लोलाइरहेको,
कहिले छुट्ने हो समयको रेल ?
भीडमा लिकहरू एकदम बेपत्ता भइरहेछन् ।
... ... ...
बेन्चमा मूढासमान
निश्चल भइसकेको साहू बूढाको
एकटक आँखा
ईश्वरको आवाजमा
कता-कता फुस्फुसाइरहेछ -
कति-कति कमाइयो
कति-कति गुमाइयो ।
बेन्चमा मूढासमान
निश्चल भइसकेको साहू बूढाको
एकटक आँखा
ईश्वरको आवाजमा
कता-कता फुस्फुसाइरहेछ -
कति-कति कमाइयो
कति-कति गुमाइयो ।
***