क्-टक् धपेडीका खराउले
फुटपाथ डामिँदा
सहरमा बिहानी च्याट्ठिन्छ

दिन दिनभर
अवसरका बाजले छोप्नुअघि नै
छोप्छ निधारको झ्यापुल्ले अभागले
अनि डस्छ रात रातभर
प्रेम नामको सर्पले मुटुको टोड्काभरि ।

भित्तामा क्रस झैँ टाँगिएको माउसुलीले
सिकाउँछ आत्मदाहको पाठ
बलात्कृत लाटीको थर्थराउँदो ओठले
जारी गर्छ सुरक्षाको आलो विज्ञप्ति
कतै अदालतको सुख्खा पोखरीबाट फुत्किन्छ
न्यायको हतभागी माछो ।

सहरमा पनि घाम लाग्छ -
शीतका चाँदी टल्किन्छन्
झम्के साँझ पर्छ -
जूनकीरी पिलपिलाउँछन्
तर सहर निदाउन सक्दैन
जाग्राम बसिरहन्छ
सपनाको बल्छी थाप्दै
मान्छेहरुका आँखा झन् झन् गहिर्याउँदै ।