प्रेमको बारेमा धेरै कविता लेखिएको छ संसारमा । देशको बारेमा जति नै । देशको कविता पनि त त्यसो त प्रेमकै कविता हो । तर आपसी मानवीय प्रेमको कविता लेख्दा भने कसो-कसो सत्यले हरफहरूमा चिहाए जस्तो भान हुन्छ मलाई, कविता लेखिरहँदा । र चाहेर पनि तिनलाई अलग्याउन सकिन्न, ती भावले कवितामै गुँड बनाउँछन् । प्रेम नगरिँदो हो त प्रेम कविता पनि लेखिन्नथ्यो कि !? चराहरू पाठशाला जाँदैनन्, कलम च्यापेर हिँड्दैनन्, चखेवाहरू भ्यालेन्टाइन डे मा रातो गुलाब बगलीमा बोकेर डेट पार्क जाँदैनन् । र पनि चुच्चाहरूको आडमा तिनैले लेख्छन् प्रेमको युगल कविता । र हामी चाहिँ हरफहरूको सुकुल बिछ्याएर कविताको चर्खा घुमाउँछौँ । शब्दजालको जटा । कहिलेकाहीँ लाग्छ, मान्छेले काम नगर्ने कुरै मात्र बेसी गर्ने विशेषता प्रेमको विषयमा पनि चरितार्थ भइरहेको छ कि ? अर्थात् जति प्रेमको बारेमा चर्चा गर्छौ, उति प्रेम गर्दैनौँ कि ? जति लेखिनुपर्ने हो प्रेम-कविता, लेखिएको छैन कि ? त्यसैले आवश्यक छ : जति गर्छौँ प्रेम, उति प्रेमको आलाप तानौँ ।
यहाँ, प्रेमकै एउटा कविता आस्वादन गरौँ :
२२औँ शताब्दीको प्रेम
हावाले पनि नबिटुलिई
सरासर
तिनै आँखाभरि चोबलिन आउने रहरसँगै
म पाल्नेछु -
दुइटा जिन्दगी एउटै धारमा अर्जाप्ने रहर
अमिलिएको हिमाल
बाफिएर आफ्नै पग्लिँदो चट्टानमा
झन् अमिलिँदै हुँदो हो,
सहरको घण्टाघर पनि त
समाउँदासमाउँदै घडी
आफू अँडिन भने थाक्दो हो
त्यतिखेर
खुद्राखाद्री मनहरूसँग
आफ्नो सग्लो मन भजाउँदै हिँडिरहेको म
संग्रहालयमा शोभायमान मुटु नामको यन्त्र
काखी च्याप्दैच्याप्दै
खोइ कुन सुरक्षाको यात्रामा
आफैँदेखि भाग्दो हुँ !
घामले रेती लगाउन नसकेको भुत्ते दिनमा
आँधा उँघेर
आधा जागेर
हिँ ड् दा हिँ ड् दै
कुनै अत्याधुनिक छापाखानाको छेउछाउ
रद्द भएर काटिनेछु म मेरै मायालुको कम्पोजमा
र छुट्नेछु बाइन्डिङविहीन
असरल्ल पानाहरू जस्तै
तब,
हावाको सानै हर्कतमा धकेलिँदै
सुस्तरी
अनिश्चित खर्कको चरनतिर
फुकाउनेछु म
मेरा रहरका बिजोर बस्तुभाउ ।
***
प्रेम शायद चेतनाको एक उच्च बिन्दूको नाम हो। हामी अक्सर क्षणिक आकर्षणलाईनै प्रेम मानिरहेका पनि हुनसक्छौं।
ReplyDeleteकविता भावपूर्ण छ, तर बिम्बहरु खँदिएर अलिक उकुसमुकुस पनि गराऊँछ कतै-कतै!
तपाईँ र ब्लगका पाठकहरुमा नववर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना!