November 2, 2010

सालिक च्यातिरहेको सहिद

यो
हदभन्दा सानो कद
ध्वाँसोमा लपेटिएको जड चोला
उठ्न लागे ठोकिन्छु यसमै
बस्न लागे जकडिन्छु


अहँ सरकार !
म अटाइनँ यो टापु प्रदेशमा ।



संघर्षको भुमरीबाट छुटेको रकेट
बस्ने ठाउँ यही हो ?
यही हो परिवर्तनको मांसल आत्मा
पारिएको सुकुटी ?
न यी कानले सुन्न सक्छन्-
बादलजस्तै गर्जने बुलन्द नारा
न लतारिएका हात उचालिन्छन् -
खबरदारी मुट्ठीहरूमा,
ओठको दहभित्र किन गायब छ
फुरफुर नाचिराख्‍ने
जिब्रोको त्यो कत्ले माछो ?


उफ्, सक्दै सकिनँ प्रभु !
म बाँचिनँ यो खम्बामा ।

हरदम भित्रभित्रै
बाफिएरै बस्छ पसिना
घामको ऐनाले उज्यालोबिना सरक्क हेर्छ मात्रै,
यही मगजको भुङ्ग्रोभरि पलाएको ढुसीमा
चिप्लेटी खेल्दै मूर्च्छा परिरहन्छ- विद्रोह 


सडकको साँघुरो चौबाटो
गल्लीको सुनसान मोड
सहरका जर्जर भित्ताहरू
कुरिरहनु/निश्चिन्त उँघिरहनु
पीडा भयो सरकार !
म अघाइनँ यो भोको घेरोमा ।


यो सालिकको किताबमा
मेरो जीवनको पन्ना-पन्ना
खोइ, कहाँ अटाएको छ ?

यही थुम्के पर्वतमा
बरफ भएझैँ छन्
युगभरिका आकांक्षा ।


सालिक भइसकेर पनि
छुट्टी कहाँ पो छ र !
जनाउनु छ हाजिर अझै
पर्खिरहेछ मलाई यो जर्जर लोक ।
निस्किनु छ यो वृत्त बाहिर
दिनु छ हात
सपनाका अलपत्र औँलाहरूलाई ।


म उठेँ ।

(नेपाल साप्‍ताहिक, अंक ४१८, २०६७ कार्तिक १४ गते आइतबार प्रकाशित)
>>> यो कविता नेपालको वेबसाइटमै पढ्न यहाँ जानुस् । <<<

4 comments:

  1. "सालिक भइसकेर पनि
    छुट्टी कहाँ पो छ र !
    जनाउनु छ हाजिर अझै
    पर्खिरहेछ मलाई यो जर्जर लोक ।"

    ----------
    साच्चै नै यो लोक अहिले यस्तो जर्जर भएको छ कि भनि साध्य छैन ... बेजोड लेखाइ रहेको छ .... जटिल विषयबस्तु को जटिल लेखाइ रहेको छ !

    ReplyDelete
  2. "यही मगजको भुङ्ग्रोभरि पलाएको ढुसीमा
    चिप्लेटी खेल्दै मूर्च्छा परिरहन्छ- विद्रोह ।"

    "यो सालिकको किताबमा
    मेरो जीवनको पन्ना-पन्ना
    खोइ, कहाँ अटाएको छ ?"

    बजोड छ कविज्यु । मनपर्यो ।

    ReplyDelete
  3. असाध्यै राम्रो भाव बोकेको र बर्तमान समयको माग बोकेको प्रतीकात्मक लाग्यो कविता | शब्द र शैली पनि खुबै मीठा लागे |

    ReplyDelete
  4. salik ma ma ko aanuvuti

    ReplyDelete