Writing

समयको बहानामा योजनाको पन्तुरो फुकाउने चलन नयाँ होइन । चाहे शुरूआतको घडीमा होस् वा समाप्तिको चरणमा, आत्मसाक्षी राखेर हामी योजना र वाचाको सूची बनाउन तम्सिहाल्छौं । यस्तै सूची यसपालि आफ्नो दिमागमा पनि फुरेको छ, वर्ष २०१२ को बहानामा।

पहिलो योजना छ, यस वर्ष म धेरै पढ्छु।

अध्ययन निकै सीमित भएको छ पछिल्लो समयमा । किताबका पन्नाभन्दा भातका सिता र निद्राका घन्टाको अंकगणितमा अल्झिन थालेको छ जिन्दगी । बौद्धिक साहचर्यमा रमाउन खोज्ने एउटा युवाको लागि यस्तो चाला हानिकारक हो । तात्कालिक रूपमा आफ्नो पेशागत कामको लागि चाहिने कुरा त ‘फास्टफुड’ हतारोमा पढिएकै छ । तर पाठ्यपुस्तक इतरको अनौपचारिक अध्ययन भने सुनसान छ । पुस्तक नभएर नपढेको भने होइन । किनेर, उपहारमा पाएर थुपारेका पुस्तक जम्मा पार्ने हो भने आफू छोपिनलाई बडेमानको भकारी नै तयार हुँदो हो । तर पढाइतिर ताउरमाउर नै चल्दैन । पढाइ पातलिंदा लेख्‍ने मसी पनि पातलिनु स्वाभाविकै हो ।  लेखाइको रङ निकै फिका भएको अनुभव हुँदैछ । मुख्य कुरो त, आफू गुदीयुक्त नभएपछि उभिएको भुइँ नै भासिएला जस्तो लाग्दोरै’छ । फितलो लागिरहेछ आफू ।  आफू अघिका पुस्ताले नयाँ पुस्तामा अध्ययनै छैन भनेर यत्तिकै थेगो बनाउने गरेको कुराले अहिले हो न हो, आफैंलाई घोचो बनेर बिझाउन थालेको छ।

दोस्रो योजना हो, यस वर्षदेखि म हातैले लेख्‍ने बानी बसाल्छु।

हेर्दा सानो कुरो छ, तर जब्बर समस्या बनेर पिरोल्ने गर्छ सबैलाई । प्रविधिले दास बनाएको समयमा यसलाई पूर्णरूपमा नकार्न त असम्भव नै छ । तर सुविधाको यो प्रविधिले मान्छेलाई दुविधा पनि बढाएको छ । कतिसम्म भने, कीबोर्डमा टाइप गर्ने बानी लागेर कहिलेकाहीं कागजमा केही टिप्नुपरे आफूले लेखेको कुरा आफैंले नबुझूँला भन्ने डर हुन्छ । अफिसमा जागिर खाने कुरामा पनि हाजिरी खातामा दस्तखत गर्ने बेलामा हात सकसकाउँछ । यतिसम्म हुनु भनेको प्रविधिमा हदै आश्रित हुने आफ्नै ‘भरप्रसाद’ दैनिकीको परिणाम हो । अफिसको कामकाजदेखि घरमा इमेल र इन्टरनेट संसारको चक्कर कम्प्युटरबाटै लगाउँदा कुशल हात ‘लाठसाहेब’ बन्न थालेका छन् । यस्तो हातका औंलालाई फोकै उठ्ने अवस्थामा पुगे पनि लेखनमा म छुरा बनाउने प्रयासमा लाग्नेछु ।

यसको कारण कलमले लेख्‍ने बानी कायम राख्‍न मात्र होइन । लेख्‍ने बानी छुट्दा पहिले बाटुला अक्षर कोर्ने औंलाले कागखुट्टे गति समाउनु एउटा कुरो हो । हामीलाई त राष्ट्रिय परिस्थिति र बाध्यताले नै कापीमै लेख् भनेर कलम थमाएको छ । प्रविधिमा जति नै आश्रित भए पनि नेपालमा वर्षेनि झेल्नुपर्ने विद्युत् कटौतीको मारका कारण कलम चलाउने उद्यम जारी नै राख्दा वेश हुने देखिन्छ । आदत कस्तो चिज हो भने, भाँच्चिएको पखेटा वर्षौपछि जोडियो भने पखेटा विना पैदलयात्रु बन्ने बानी लागेको चराले झट्ट त उड्नै बिर्सिंदो हो । कापी-कलम छाडेर विद्युतीय उपकरणको शरण परेका मान्छेलाई पनि ती उपकरणविना कौडी शब्द नफुट्ने खतरा हुँदो रहेछ । अनि त विचार  मस्तिष्कभरि पाकेर लेख्‍ने मुड भयो भने पनि बत्ती नै छैन, अथवा कम्प्युटर नै बिग्रेको छ भन्ने निहुँले नअँचेट्ला भन्न सकिन्न । एक लाइन लेख्‍न पनि कम्प्युटरविना नफुर्ने स्थितिसम्म पुगेको भावदशा मेरो आफ्नै नियति हो। 

र यी दुई कुरामा गरेका संकल्पमा प्रगति भए प्रविधिसँग दूरीमा बस्ने भनेर अहिले जतिसुकै वाचा बाँधे पनि त्यो कुरा बाँड्न भने यसैगरी ब्लगकै सहारा मैले लिनु नै पर्ला। Smile

मैले भोगिरहेका र सुधारको आवश्यकता देखेर योजना बुनेका माथिका जस्ता समस्या अरु साथीहरूका पनि होलान्।

२०१२ मा सबैको जय होस्!