१४-१५ वर्षको उमेरदेखि नै मैले गीत र कविताको ढाँचा जानेर लेख्न थालेकी हुँ। पछि गीतलेखनबारे राम्ररी बुझेर लेख्ने क्रममा एक दिन एउटा घटनाले निकै छोयो। १० वर्षअघिको कुरा। विभिन्न टेलिसिरियलमा अभिनय गर्ने पाइलट विजय गिरीको 'विमानचालक' भन्ने टेलिसिरियलमा म त्यो समय निकै मोहित भएको थिएँ। नेपाल टेलिभिजनमा प्रसारण हुने त्यो सिरियलको विशेष गरी 'विमानचालक छ तिम्रो आकाश विमान उडाउनको लागि' बोलको गीत एकदमै मन पर्थ्यो । त्यही गीतकै लागि भए पनि म सिरियल हेर्थेँ।
विधिको विधान, स्काइलाइन्स एअरलाइन्सको विमान उडाउने क्रममै दुर्घटनामा विजय गिरीको मृत्यु भएको खबर आयो। १ साउन २०५९ मा सुर्खेतमा भएको विमान दुर्घटनामा सह-पाइलट गिरीको निधन भएको थियो। त्यो दिन बेलुका मन निकै पिरोलियो। परिवारलाई कति आघात पर्यो होला भन्ने लाग्यो। आफू गीतकार पनि भएकाले मैले कल्पना गरेँ, 'उहाँ मेरो श्रीमान् र म उहाँकी श्रीमती भएको भए उहाँको मृत्यु हुँदा मभित्र कस्तो भाव आउँथ्यो होला, उहाँको यादमा कसरी लेख्थेँ होला!' रेडियोमा उहाँको मृत्युको समाचार बजिरहेको थियो। राति आठ बजे गीत लेख्न बसेकी मैले आधा घन्टामा पूरा गरेँ। लेख्नेबित्तिकै दिदीलाई सुनाएँ, सधैँ रचना सुनाएर दिक्क पारिरहने भएकाले दिदीले सामान्य हिसाबले नै 'राम्रो लेखिस्' भन्ने प्रतिक्रिया दिनुभयो।
२०५९ सालमा संगीतकार अर्जुन नेपालीसँग भेट भएपछि उहाँको एकल संगीत र मेरो एकल रचनामा सँगै एलबम गर्ने कुरा भयो। डायरीबाट गीतहरू छान्ने क्रममा उहाँले 'धेरै माया दिँदा रै'छन्' पनि छान्नुभयो। गीत कम्पोज भएपछि निकै राम्रो बन्यो। यो गीत सुरुमा रामकृष्ण ढकाललाई गाउन लगाउने कुरा थियो। तर त्यतिबेला अमेरिकामा रहनुभएको उहाँ एक महिनामा फर्किने कुरा भए पनि बसाइ लम्बिएपछि हामीले कुर्न सकेनौँ। पछि स्वरूपराज आचार्यलाई गाउन लगाइयो।
वियोग नाम राखेर एलबमको लागि ६० सालमा प्राइम स्टुडियोमा गीतहरू रेकर्ड भए। रेकर्डिङ हुने दिनहरूमा म समयमै स्टुडियो पुग्थेँ, तर विभिन्न कारणले रेकर्डिङको समय केही घण्टा पछाडि सर्दा कुरिरहनुपर्थ्यो। स्टुडियोका कर्मचारीहरूले मप्रति माया देखाउँदै 'यो बहिनी यहाँ आएर कुरिराखेको हुन्छ, को होला है' भनेर आपसमा कुरा गर्थे। ती दिन कहिल्यै बिर्सिन्नँ ।
मुलुकमा संकटकाल लागेकाले केही कुराको लागि पनि अनुकूल समय थिएन। सँगै बजार प्रवर्द्धन गर्ने कुरा भए पनि पछि संगीतकारले आफ्नो पैसा लिएर छुट्टिनुभयो। पहिलो एलबम भएकाले केही कुराको मेसो नभए पनि जसोतसो एक्लै दौडिएँ। एक वर्षम्म एलबमले बजारमा खासै प्रभाव नपार्दा निराश भएँ म । पछि बिस्तारै निकै हिट भयो। अडियो क्यासेट जम्मा एक लाख र सिडी ६ हजार प्रति बिक्री भयो। सीआरबीटी त्यतिबेला भर्खर प्रचलनमा आए पनि केही पछि मात्रै राखियो। एक लाख ८५ हजार पटकभन्दा बढी डाउनलोड भएछ यो गीत।
एलबम निकाल्न जम्मा एक लाख रुपैयाँ खर्च भएको थियो। हामी पाँच दिदी-बहिनी भए पनि घरमा छोरीप्रति भेदभाव थिएन। एकजनालाई केही गरिदिँदा सबैलाई उस्तै हुनुपर्ने भएकाले बुवालाई अप्ठेरो नपरोस् भनेर मैले मेरो बिहे गर्ने पैसा एलबममा लगाउँछु भनेँ। बुबाले इच्छा छ भने गर् भनेर स्वीकृति दिनुभयो।
यो गीतको अँध्यारो पाटो पनि छ। गीत सुनेर नेपालमा एक जना र दार्जिलिङमा दुई जनाले आत्महत्या गरेको कुरा सुनियो। गीतकारको रूपमा स्वार्थवश भन्ने हो यो अँध्यारो पाटो मेरो लागि उज्यालो हो, आफ्नो गीतको शक्ति र सफलता देखिन्छ। तर मानवीय हिसाबले निकै दुःख लाग्यो। उतिबेला कतिपय नजिकका मान्छेले यसैलाई स्क्यान्डल बनाएर एलबम अझ हिट बनाउन सुझाव पनि दिएका थिए। तर कसैको जीवनको मूल्य र मृत्युलाई आफ्नो फाइदाको लागि उपयोग गर्न आत्माले दिएन।
------------------------
गीत: धेरै माया दिँदा रै'छन्
धेरै माया दिँदा रै'छन् मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्दा रै'छन् मुटु जोडेर बस्नेहरू
लाग्ने होइन थकाइ नै पिरतीलाई कुर्नेहरू
पर्खाइमै मर्दा रै'छन् साँचो माया गर्नेहरू
यादमा डुबी बाँच्दा रै'छन् मुटु जोडेर बस्नेहरू
लाग्ने होइन थकाइ नै पिरतीलाई कुर्नेहरू
पर्खाइमै मर्दा रै'छन् साँचो माया गर्नेहरू
छाडिगयौ किन तिमी दुनियाँमा एक्लै मलाई
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई
थाहा थियो तिमी बिना बाँच्ने आधार छैन अरु
तिम्रो वियोगमा जलिरहेँ यत्तिकैमा मर्छु बरु
दैव पनि भो बैगुनी पारिदियो हाम्रो बिछोड
सँगै पनि जान दिएन केवल दियो मुटुमा चोट
पलपल सम्झनामा आउँछौ तिमी म के गरूँ
साँझमा दियो बाली कुर्छु निभेर जाँदा सँगै मरूँ ।
5 Comments
Nice to know the story behind the song......
ReplyDeleteVery nice!
ReplyDeleteदुष्ट
ReplyDeleteयो गीत लेख्ने दुष्ट पापी आइमाई हो ! मान्छे हेर्दा सोझी तर एकदमै उदण्ड अधर्मी आइमाई हो , गीतकार को नाममा कलंक हो यो ललिता कुँवर
ReplyDeleteयो गीत लेख्ने गीतकार ललिता कुँवर दुष्ट अधर्मी आइमाई हो !
Delete