January 13, 2013

‘ब्ल्याक एन्ड ह्‍वाइट जिन्दगीमा रङ बेचिरहेका छौं’ - राजवल्लभ

RajBallav-Koiralaकेही समयअघि नेपाली फिल्मका आशलाग्दा नायक राजवल्लभ कोइरालासँग भेट्ने मेसो मिल्यो । बहाना थियो - विदेशबाट निस्कने एउटा नेपाली पत्रिकाको लागि अन्तर्वार्ता गर्ने । अन्तर्वार्ताका लागि जानुअघि जय नेपाल हल पुगेर उनले अभिनय गरेको ‘अपवाद’ हेरें । युवा निर्देशकको प्रयास प्रशंसनीय नै लाग्यो । वर्षौं निश्चित आकारप्रकारको टापमा खाँदिएर बसेको नेपाली फिल्मको खुर एकैचोटि विस्तार हुने अपेक्षा गर्नु मिल्दो कुरा पनि होइन । एक समय नेपाली फिल्मको पर्याय बनेका राजेश हमालको धङधङी र ढर्राबाट बिस्तारै मोडिंदै छ फिल्मक्षेत्र । मोडिने क्रममा संक्रमण पनि पक्कै देखिएको छ । पढेका बौद्धिक नायकमा दरिए पनि पर्दामा त्यसअनुसारको छनक नभएका राजेश हमाललाई किन महानायक भनिन्छ, थाहा छैन । उनका धेरै फिल्म हेरियो । कुनैको छाप पनि मनमा छैन । फिल्म राम्रो बन्नु-नबन्नुमा कथा, पटकथा र निर्देशकीय कौशलको कुरा भए पनि दिइएको भूमिकामा त कलाकार (यदि हो भने) को केही न केही  खुबी देखिनुपर्ने हो । तर महानायकको हरेकजसो फिल्ममा उस्तैखाले गर्जन मात्रै सुनियो ।

बरु राजवल्लभ जस्ता केही नयाँ कुरा दिऊँ भन्ने सुझबुझसहित आएका युवामा भर लाग्छ । यसैले नेपाली फिल्मको दिशा बदल्न युवा पुस्ताले बोकेको नयाँ कम्पासबारे जान्न उनैसँग कुरा गर्ने भइयो  । ‘पर्खिबसेँ’ फिल्मबाट नेपाली फिल्मक्षेत्रमा डेब्यु गरेका राजबल्लभ छोटो समयमै चल्तीका नायकमा दरिन सफल भएका छन् । कलेज अफ फिल्म स्टडिजको पहिलो ब्याचका उत्पादन उनी चिन्तनशील र सुझबुझ भएका कलाकार  मानिन्छन् । पोखरामा चार वर्षसम्म एफएममा कार्यक्रम समेत चलाएका रहेछन् उनले।

ललितपुरको एक क्याफेमा उनी फरासिलो रुपमा प्रस्तुत भए: 

छोटै समयमा लोकप्रिय बनेसँगै तपाईंबाट नेपाली फिल्मक्षेत्रले आशा पनि बढी गरेको छ, त्यो जिम्मेवारीबोध कत्तिको भएको छ ?

म जुन पुस्ताको प्रतिनिधित्व गर्छु, त्यो पुस्ता शिक्षित भएकाले परिवर्तनको खोजीमा छ । नेपाली फिल्मक्षेत्र परिवर्तनको संक्रमणमा रहेकाले यसले पनि परिवर्तन खोज्नु स्वाभाविक हो । म अभिनय पढेर आएको कलाकार भएकाले पनि अपेक्षा अलि बढी छ । म पहिले मिडियामा लागेको भएकाले पनि समकालीन कलाकारभन्दा मिडिया र दर्शकले हेर्ने दृष्टिकोण पनि फरक छ । त्यही अपेक्षालाई परिपूर्ति गर्ने गरी काम गर्दै छु।

अभिनय पढेर आउनुभएको मान्छे, पढेर र परेर काम गर्दा के फरक हुने रै'छ ?

गर्दै जाँदा सिक्नलाई धेरै समय लाग्छ । त्यस क्रममा जे भोगिन्छ, त्यो कुरा मात्र जानिन्छ । पढेर आउँदा नभोगेका कुरा पनि र अरुहरूको भोगाइ पनि पढिन्छ । त्यसमा आफ्नो वर्तमान भोगाइ र सेरोफेरोको जीवन पनि जोड्न सकिन्छ । पढेको मान्छे अलिक चिन्तनशील, सुन्न र बुझ्न खोज्ने हुने भएकाले उसले नयाँ केही दिन सक्ने ठाउँ हुन्छ । पढ्नेले ढिपी गर्दैन, विकल्प पनि हुन सक्छ भनेर सोचाइको ढोका खुला राख्छ । आफूले महान् काम गरेको दाबी गर्दिनँ । मैले कोसिससम्म गर्ने हो।

फिल्मबारे पढेर आउनुभएको हिसाबमा जुन गम्भीरता र गहिराइ तपाईंले खोजिरहनुभएको छ, त्यसअनुसारको प्लेटफर्म नेपाली फिल्मले देला जस्तो लाग्छ ?

कलाकारमा मात्र गम्भीरता आएर हुँदैन । हामी कलाकार त रङ र औजार मात्र हौं, यो औजारलाई निर्देशकले के-कसरी प्रयोग गर्ने त्यसैमा निर्भर गर्छ नतिजा । तर पछिल्लो समयमा हाम्रो फिल्मको बजार विस्तार हुँदै गएको देख्दा सकारात्मक सम्भावना देखिएको छ । हाम्रा साहित्यकारले गजब लेखेका छन्, संगीत संसारभरि बिकेको छ, हस्तकलाका सामग्रीले बजार पाएका छन् भने फिल्मको कथा र प्रस्तुतिकरण पनि राम्रो हुन नसक्ने कुरै छैन।

पर्खिबसेँ फिल्मबाट अहिलेसम्मको अवस्थामा आइपुग्दा अनुभव कस्तो रह्यो ?

पाँच वर्षको फिल्मी यात्रामा हिजोभन्दा अलि बढी परिपक्व भएँ जस्तो लाग्छ । सुरु-सुरुमा फिल्म पढ्न थालेपछि निकै खतरा फिल्म मात्र गर्ने भनेर सोचिन्थ्यो, तर त्यो होइन र हुँदैन रहेछ । जतिसुकै पढे-जाने पनि धरातलीय यथार्थमा त्यसअनुसारको माहोल भइदिएन भने सोचले मात्र पनि हुँदैन।

बाहिरबाट हेर्दा नेपाली फिल्मक्षेत्र जस्तो होला भन्ने लागेको थियो, यहाँ आइसकेपछि त्यो कुरा पाइयो कि फरक लाग्यो ?

फिल्मक्षेत्रबारे त्यति ठूलो कल्पना गरेको थिइनँ । नेपाली फिल्म नहेर्ने जमातमै पर्थेँ म । तर मैले अभिनय गर्न थालेपछि कम्तीमा मेरा साथीहरूले त हेरे नि भन्नेमा सन्तोष लाग्छ।

नेपाली फिल्मका दर्शक त्यति छैनन् भनिन्छ, कारण के होला ?

हामी मनोरञ्जनको खेती गर्र्छौं, तर त्यसबाहेकको हाम्रो जिन्दगी दौडधुप र तनावपूर्ण छ । बिहान उठ्दादेखि राति सुत्दासम्मको जिन्दगी सरल, सहज र सुमधुर छैन । मनोरञ्जन त दोस्रो सूचीमा पर्ने कुरा हो । सुमधुर जिन्दगी बाँच्न थालेर जब र्सवसाधारणले कमाउने र जोगाउने वातावरण हुन्छ, अनि मात्र मान्छेले रमाइलो खोज्छ । जताततै अभाव र जीवनस्तर जहाँको त्यहीँ भएकाले प्राथमिकतामा मनोरञ्जन पर्न नसकेको हो । अस्तव्यस्त भएको माहोलमा हामी रङ बेचिरहेका छौं, आम जिन्दगी भने ब्ल्याक एन्ड ह्वाइट छ । यस्तो अवस्थामा नेपाली फिल्म जगत्‌सँग जे-जति सामर्थ्य छ, त्यहीअनुसारको प्रदर्शन गर्ने हो । पछिल्लो समयमा सोच फेरिएअनुसार फिल्ममा नयाँ-नयाँ कुरा आउन थाल्दा दर्शकले पनि तुलना गर्न पाएका छन् । यो सुरुवात हो।

कलाकार भनेको लिन होइन दिन जन्मिएको प्राणी हो भन्ने गर्नुहुन्छ, तपाईंले के दिइरहनुभएको छ ?

मैले फिल्मक्षेत्रमा आफ्नो समय र संवेदना दिइरहेको छु । अभिनयमा दिने बनावटी संवेदनाबाट वास्तविक खालको प्रतिक्रिया खोजिरहेको छु । मैले अभिनयमा नक्कली रुवाइ रोए पनि त्यसको प्रभाव सक्कली रूपमा पर्ने गरी मिहिनेत गर्छु । सबभन्दा ठूलो कुरा, यस क्षेत्रलाई आफ्नो तर्फबाट केही दिऊँ भन्ने प्रयासमा छु । पाँच वर्षो दौरानमा मसान, अपवाद जस्ता फिल्मबाट फिल्मक्षेत्रमा केही सकारात्मक छाप पार्दै दर्शकको दिमाग केही फराकिलो बनाएको छ, त्यसलाई पनि देन मान्नुपर्छ । कथादेखि संवादसम्ममा सत्य-तथ्य चित्रणबाट पत्यारिलो नपार्दासम्म दर्शकको लागि नौटंकी हुन्छ भन्ने बुझेर राम्रो काम गर्दै जाने सोच छ।

नेपाली फिल्मले कोल्टे फेर्ला भन्ने आशा गरिरहँदा हाम्रा अधिकांश फिल्ममेकरले त आफ्नो फिल्मको लक्षित समूह अलि निम्न-मध्यमवर्गीय दर्शकलाई बनाएको देखिन्छ नि !

सोचको दायरा सीमित भएका पुराना पुस्ताका फिल्मकर्मीहरूको मान्यता हो त्यो । उनीहरूमध्ये अधिकांशमा शिक्षित वर्गलाई लक्षित गरेर फिल्म बनाउने सोच र ल्याकतकै कमी रह्यो । फिल्म भनेको शिक्षा, चिन्तन र कलाको मिश्रण हो । नेपाली फिल्म र दर्शकको कुरा गर्दा कालु र बाघको लोककथा जस्तै छ । हिजो कालुले बाघ आयो, बाघ आयो भनेर कराउँदा गाउँलेहरू आए, तर बाघ आएको थिएन । फिल्मले कोल्टे फेर्दै छ, अहिले बाघ आएको छ, तर गाउँलेहरू उल्लेखनीय मात्रामा आइरहेका छैनन् । किनभने विगतका फिल्मकर्मीहरूले झारा टार्ने हिसाबले गरेको कामले नेपाली फिल्मप्रति दर्शकको सोचाइ नै बिगार्‍यो । अहिलेको पुस्ताका कलाकारले जस्तो नेपाली फिल्म हेरौं भनेर विगतमा कुनै पनि फिल्मकर्मीले बोलेका थिएनन् । हामीले बोल्दै छौं । कम बजेट भएकाले राम्रो फिल्म बन्न नसक्ने कुरा सत्य होइन । पैसाले फिल्मको विषयवस्तु निर्धारण गर्दैन भनेर बुझून् हाम्रा फिल्ममेकरले । तर बजारमा २५-३० रुपैयाँमा पाइने विदेशी फिल्म हेरेर त्यस्तो फिल्म बनेन भनेर नेपाली फिल्मलाई गाली नगरौं । बदल्ने प्रयास गर्दै छौं हामी।

बाहिरका फिल्मसँग तुलना गर्न नमिले पनि उसोभए नेपाली फिल्म स्तरीय बन्न नसकेको अवस्थालाई पचाउँदै जे छ, ठीक छ भनेर बसिरहने त ?

हिजो नेपाली फिल्महरू कस्ता थिए, त्यो हेरौं । आज कस्ता छन् र यसले भोलि कस्तो सम्भावना देखाउँछ भन्ने कुरा महत्वपूर्ण हो । अहिले मुलुकको सबै क्षेत्र जस्तै फिल्ममा पनि संक्रमणको अवस्था छ । राजनीतिक उथलपुथलका बीच सामाजिक, सांस्कृतिक र आर्थिक वातावरण धमिलिएको बेलामा फिल्म क्षेत्रमा देखिएको परिवर्तनलाई सकारात्मक मान्नुपर्छ । फेरि, हामीकहाँ फिल्म कति बजेटमा बनेको छ, निर्माण गर्दा कति समय दिइन्छ र हाम्रो फिल्म उद्योग कस्तो छ भन्ने पनि बुझ्नुपर्छ । हाम्रो सिर्जनालाई हाम्रै सन्दर्भमा हेरेर विगतको अवस्थासँग तुलना गर्दा पक्कै सुधारोन्मुख देखिन्छ।

हामीकहाँ बाहिरका फिल्म हेरेर त्यसको सिको गर्ने प्रवृत्ति पनि छ, तर त्यसरी सिको गर्दा पनि राम्रो प्रतिफल आउन नसक्नुको कारण के होला ?

सिको गर्न पनि दिमाग र तौरतरिका चाहिन्छ । त्यो चिन्तन हाम्रा फिल्मकर्मीमा भएन । हाम्रो फिल्मक्षेत्र जुन चरणमा छ, यतिबेला हेरेर सिक्न र प्रभावित हुन पनि जरुरी छ । हाम्रा आफ्नै अग्रजले राम्रो गरेका भए त्यही हेरेर सिक्दै जान्थ्यौं होला, तर संरक्षकविहीन अवस्थामा छौं हामी । सिक्ने स्रोत र आधार केही न केही चाहिन्छ । प्रभावित भएर गरेको काममा पनि प्रोसेसिङको प्रक्रिया हुने भएकाले त्यसमा आफ्नै सिर्जनशीलता दिन सकिन्छ । प्रभावित हुन पाइन्छ, तर तरिका आफ्नो हुनुपर्‍यो र त्यसमा हाम्रो समाज र जीवनशैली प्रतिविम्बित हुनुपर्‍यो।

नेपाली फिल्म कहिल्यै हेर्दै नहेर्नेले पनि फिल्मलाई गाली गरेको देख्दा कस्तो लाग्छ ?

त्यो त अन्धाले हात्ती छामे जस्तै हो । नहेरी गाली गर्न पाइँदैन र मिल्दैन पनि । सुरुमा मैले नेपाली फिल्म नहेर्ने समयमा म पनि केही टिप्पणी गर्दैनथेँ, मेरो सरोकारको कुरै थिएन त्यो । राम्रो गर्न सकिन्न भने नराम्रो पनि गर्नुहुन्न भन्ने मेरो मान्यता रह्यो । तर अहिले राजनीतिदेखि मान्छेको सोचसम्ममा परिवर्तन खोजिएकाले त्यो दबाबका कारण हाम्रो फिल्म गाली खाइनहाल्ने कोटिको बन्न लागेको छ । हामीले एउटा भाषाको फिल्म खेल्छौं, दर्शकले १० वटा भाषाको फिल्म हेर्ने भएकाले स्तरीय फिल्म निर्माणका लागि दबाब पैदा गरेको छ।

'हाइवे टु धम्पुस' फिल्मबाट हलिउडमा पाइला हाल्नुभएको छ, विदेशी फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो, कति गाह्रो हुने रहेछ ?

उनीहरूसँग सबै कुराको योजना, पूर्वतयारी हुन्छ । यसले गाह्रो होइन, झन् सजिलो नै पारेको अनुभव गरें।

फिल्मको सुन्दर पक्ष के लाग्छ तपाईँलाई ?

मेरो लागि आफ्नो एउटा जिन्दगीमा फिल्मको माध्यमबाट धेरै जिन्दगी जिउन पाउँदा सुन्दर लाग्छ । आफ्नो दुःखको अनुभूति त जसले पनि गर्छ, हामी चाहिं पात्र र चरित्रअनुसार अरुको दुःख र सुखसँग पनि हातेमालो गरिरहेका हुन्छौं । रुन, हाँस्न, आफू अरु नै कोही बन्न, माया गर्न सक्ने प्लेटफर्म फिल्मले दिएको छ । यही कुरा बाहिर गर्दा पागल भन्छन्, फिल्ममा गर्‍यो भने हिरो भइन्छ।

कविता पनि लेख्‍नुहुन्छ, किताब निकाल्ने पनि सुर छ कि ?

नामको लागि र किताब निकाल्नभन्दा पनि आफ्नै भावना अभिव्यक्त गर्न लेख्छु कविता । कुनै दिन किताबै निकालिएला 
पनि। कविता लेखनबाट अभिनय यात्रामा केही सघाउ पुर्‍याएको छ। कविता र अभिनय संवेदनशील कुरा हुन् । कवि सोच्छ र गम्भीर हुन्छ। कलाकार पनि सोच्छ, गम्भीर हुनुपर्छ । तर म आफूलाई कविको रूपमा हेर्दिनँ।

मान्छेहरूलाई तपाईंको कविताले बढी मोहित बनाएको छ कि अभिनयले ?

कतिपय त फिल्म छोडेर कविता लेख्‍नू पनि भन्छन् । फिल्म नहेर्ने मान्छेले पनि मेरा कविता मन पराएका छन् । दुइटै कुरा ठीक लाग्छ, अभिव्यक्तिको माध्यम फरक भए पनि सबै कला हुन् । तर कविता आफ्नो हिसाबमा लेख्‍न पाइन्छ, अभिनय अरुको हिसाबमा गर्नुपर्छ।

पोखरेली युवक फिल्ममा छाउँदै गर्दा धेरै युवतीको मन लोभिँदो हो, तपाईँ चाहिं कसैप्रति लोभिनुभएको छैन ?

म केही कुरामा लोभ गर्दिनँ । आफ्नो भाग्यमा छ, प्रभावित भइन्छ भने होस् । भएन भने टाउको दुखाइँदैन । तर मान्छेले राम्रो चिजलाई राम्रो भन्नुपर्छ । फूल सुन्दर भएर फक्रिएको छ, कुनै मान्छेलाई त्यसको सुगन्ध मन पर्दैन भने त्यो मान्छे नै गलत हो, फूल होइन । तर फेरि फूलप्रति बढी आकर्षित भएर उसले टिप्छ भने पनि ऊ नै गलत हुन्छ । मलाई पनि मान्छेहरूको आचरण र बोली मन पर्छ, कसैको अनुहार मन गर्छ । यस्ती भइदिए हुन्थ्यो भन्ने त पक्कै लाग्छ नि!

1 comment:

  1. sakaratmak socha nai kachii goretoko farakilo ujagar ho. arulai dos dinu vandapani aafailai ramro sanga nihalne bani koiralako sarai man paryo. sakartmak b4 ko lagi dherai dherai suvakamana chha.

    ReplyDelete