हातगोडा सद्दे हुनेहरुलाई सायद जीवन यसैगरी सहज र स्वाभाविक चलिरहन्छ जस्तो लाग्दो हो । मलाई पनि यस्तै लाग्छ । फलामको ज्यान अजर-अमर नै छ भन्ने भ्रम हुन्छ दैनिक दौडधुपमा । एउटा ठिकठाक शरीरलाई यतिले पुगिरहन्छ भन्ने घमण्डले आँखा टालिदिन्छ । तर, समय सधैं एकनाश रहन्न । घाम झुल्कने र डुब्ने नित्य कर्मको दुई फेरोभित्र धेरै कुरा बदली भइरहेको हुन्छ । एउटा व्यक्तिको मनको भावदेखि बाहिर प्रकृतिको लालीसम्म ।
कुन मोडमा दुर्घटनाले यो सद्दे जिउलाई बैशाखीको शरणमा फ्याँकिदिन्छ भन्ने कुरा हामी हत्तपत्त सोच्दैनौं । सोच्ने फुर्सदै हुन्न अथवा आवश्यकता नै देख्दैनौं । सद्दे हातगोडा हामी शक्तिशालिको पूजा र गुलामी गर्नमा तथा प्रतिस्पर्धी र कमजोरलाई छिर्के हान्नमा खर्च गरिरहन्छौं । हाम्रा गोडा एउटा सामान्य यात्रा वा कुनै गन्तव्यको खोजीमा हिंड्न कम र छिर्के हानेर लडाउनमा बढी चल्छन् । तर, एकदिन भक्तपुर दरबार स्क्वायरमा घुम्न जाँदा एक व्यक्ति निकै सकसले लौरो खियाएर हिंडिरहेको देखे । योभन्दा दयनीय अवस्थामा घस्रिंदै हिंडेका मान्छे पनि देखिन्छन् सहरमा । यो मान्छेको अनुहारमा भने यात्राको जोड र संघर्षको तिर्खा टम्म देख्दै थिएँ । लौरोले भुइँ खोतल्दै सपनाको ठूलै आयतन बनाउने सुर देखें त्यो यात्रामा । सद्दे गोडाले गलत चाल चल्नेहरु भएको ठाउँमा यो मान्छेले लुला गोडाले चुनौती पस्किरहेको थियो ।
त्यही अनाम पात्रको केही तस्बिर :
No comments:
Post a Comment