सधैं पढिरहने तर कहिल्यै नसकिने किताब पनि हुने रैछ जीवनमा । जुन पढ्दा पढिसिध्याउने उद्देश्य राखिंदैन । बस् पढ्दै गइन्छ, सिलसिलेवार लय तोड्दै । कहिले पहिलो पानाबाट फाल हाल्दै ११औं पृ्ष्ठमा फड्को मार्न मन लाग्छ, कहिले हातमा लिनासाथै एकैचोटि पुछारको पृष्ठ पल्टाएर त्यहाँबाट बीचतिरको पृष्ठमा फर्किन पनि मन लाग्छ । किताब मन नपरेर यसरी पानाहरु छाड्दै उम्किएको हैन, मन परेर अझ नयाँ कुराको खोजीमा छटपटाएको हो ।
बीपीको ‘जेल जर्नल’ त्यस्तै किताब बनेको छ मेरो लागि । कहिल्यै आद्योपान्त छिचोलिएन । यस्तो किताब उपन्यास पढे जस्तो एक-एक पानाबाट अघि बढ्दै गइन्छ कि गइन्न खै ! पठन नियम पनि थाहा छैन ! किताब हात परेको समय २०६० सालदेखि यसैगरी पाना-पानामा छलाङ मार्दै दगुरिरहेको छु । फेरि, आफू निकै अल्छे र ढिलो पढ्ने पाठक परियो । एउटा किताबले मन खाएपछि अरुतिर हत्तपत्त आँखा नलगाउने । (यो पाठकलाई प्रेमिका छउन्जेल बाटामा हिंड्दा अन्य केटीतिर नजर लगाउने झन्झट पनि मन पर्दैनथ्यो एक समयमा । आफ्नो विशेष मान्छे छँदै छ भन्ने एकखाले ढुक्क ढकनी ! )
सुन्दरीजल बन्दीगृह बसाइका डायरीमा बीपीका अनुभूति, जीवनदर्शन, अध्यात्म, आत्मसमीक्षा, आशा-निराशा, मसिना कुरामा उफ्रिएका खुसीहरु, राजनीतिका सामयिक घटनाक्रम, पारिवारिक लगावका विविध प्रसंगले छुँदा सिलसिलेवार पढ्ने लय थाती रहन्छ । मन परेका प्रसंग फेरि पढ्न मन लागेर अघि बढ्नु त्यत्तिकै हुन्छ, कहिले चाहिं कुनै गहन कुरा आउँदा गम खाएर हराइन्छ । अलिक अन्तरालमा किताब समाउँदा फेरि उही ताल !
व्यक्तिपिच्छे पढ्ने आ-आफ्नै शैली हुन्छ । मलाई लाग्यो, फरक-फरक दिनको डायरी भएकाले फरक भाव र घटनाको बयान आफैंमा सिंगो रचना हो । कुनै एक दिनको डायरी पढ्दा पूर्णता भेटिने । यसैले पनि यस्तो किताब उपन्यास पढे जस्तो टाँस्सिएर बगिराख्नुपर्ने वर्गमा पर्दैन होला । जेल जर्नलले मलाई क्रमभंग पठनको बानी बसाए पनि यही किताब अरुले सरासरी पनि पढे होलान् ।
बीपीले ‘आफ्नो मनका भाव पोख्ने’ भन्दै पत्नी सुशीलालाई सम्बोधन गरी चिठीका रुपमा लेख्ने सोचले डायरी लेखन सुरु गरेका छन् । तर, व्यक्तिगन सम्बोधन गर्ने उद्देश्य राखिएको डायरीमा बीपीको बहुआयामिक व्यक्तित्व सीमित भएको देखिंदैन । डायरीमा उनले मुठी आकारको मुटुदेखि त्यस्तै गोलाइको सिंगो पृथ्वी र सृष्टिकै बृहत्तर चर्चा र चिन्तन गरेका छन् । यसमा व्यक्तिगत सम्बन्धका आयामदेखि पञ्चायतकालमा राजनीतिक सम्बन्ध र छिमेकी देश भारतसँगको सम्बन्धको सीमा, सम्भावना र आशंकासम्मका कुरा छन् । ‘आखिर बन्दीगृहमा के घटना घट्छन सक्छ र ? … … जेलभित्रको एक दिनको दिनचर्या अर्को दिनको दिनचर्यासँग फरक हुँदैन’ भनेर बेलाबेला चरम निराशा समेत पोखेका बीपीले धर्मग्रन्थ र दर्शनका किताबको चेपमा आशाको झिल्को भेटेर उत्सव पनि मनाएका छन् मनमनै । शनिबार जेलमा अखबार नआउँदाको बेचैनी र अन्य बार खबरकागजमार्फत अन्तर्राष्ट्रिय घटनाहरुले उमार्ने ऐंठन उनले बारम्बार पोखेका छन् ।
‘जेल जर्नल’ पढिरहँदा एउटा पुस्तकालयमा छिरे जस्तो पनि लाग्छ । विभिन्न समयमा पढ्दै गरेका अनेक किताबका नाम र चर्चा डायरीमा धेरै ठाउँमा आएका छन् । निकै अध्ययनशील र गम्भीर अध्येता बीपीले समाएको किताबलाई उपयोगी सूची मान्दै हामीले सिफारिशकै रुपमा लिंदा हुन्छ । लामो सूचीमध्ये केही त हाम्रो दिमागले पनि फुटाउन सक्ने होला । कति किताबमा भने उनी आफैं रमाउन नसकेको पनि देखिन्छ । प्लेटो, सोपेन हाउपर जस्ता विचारकको किताबमा मन अँड्न नसक्दा उनी सार देख्दैनन् र भन्छन् – ‘यी दर्शनका कुरा पनि निरर्थक हुन् कि ?’
दर्शनप्रति झोंक देखिए पनि बेलाबेला उनी आफैं दार्शनिक कसीमा बोल्छन् – ‘कष्टमय जीवन दुःख होइन, जीवनबाट आशाको लोप दुःख हो ।’ यस्ता दार्शनिक पंक्ति र गहन चिन्तन बाक्लै छन् जेल जर्नलमा । दर्शनको उज्यालोमा बन्दी जीवनलाई उज्यालो बनाउन खोज्दाखोज्दै उनी थाक्छन् पनि । एक्लोपनले उनलाई निकै गाँजेको देखिन्छ । अध्ययन र चिन्तनले एक्लोपनलाई लखेट्न खोजे पनि कारागारको चार भित्ताले निचोरेर उकुसमुकुस बनाउँछ उनलाई । अखबार पढ्न नपाउँदा दिन नीरस – महानीरस मानेका छन् उनले । कारागारमा सधैं उही दिनचर्या र भोगाइदेखि दिक्क भएर नयाँपनको खोजी हरदम लागे पनि आफूमा आलस्यले नराम्ररी डेरा जमाएकोमा थकथकी पनि मानेका छन् । दिनलाई रचनात्मक रुपमा सदुपयोग गर्ने सोचसहित काम तोकेर रुटिन नै बनाए पनि बिछ्यौना र आराम प्यारो भएर चौपट भएको खिन्नता छ ।
जेलको बसाइलाई उनले बढीभन्दा बढी पढ्ने र लेख्ने रुपमा उपयोग गरेका छन् । मूलतः राजनीतिक व्यक्तित्व भएका उनीमा साहित्यिक पकड पनि बलियो थियो । जेलमा कथा लेख्दै गर्दा उनले ‘ती कथा एक प्रकारले आत्मकथाकै टुक्रा जस्तो भएर आफू प्रतिवादीको रुपमा आत्मरक्षा गर्न प्रयत्न गर्ने’ भनेर स्वीकारेका छन् । सिग्मन्ड फ्रायडको दर्शन नजिक रहेर यौन मनोविज्ञानका कथा र उपन्यास लेखेका बीपीले आफ्ना स्त्रीप्रसंग र यौनका कुरा पनि खुलेर लेखेका छन् डायरीमा । पत्नी सुशीलाप्रति अगाध प्रेम हुँदाहुँदै उनले आफूमा रहेको यौन स्वच्छन्दताको कुरामा आत्मालोचना गर्नुपर्ने देख्दैनन् । भन्छन् : ‘मेरो आचरण – यौन स्वच्छन्दतालाई म पापयुक्तता र कर्तव्यविहीनताको संज्ञा दिन सक्तिनँ ।’ डायरीका पानामा सम्बोधन गर्दा आफ्नो डायरी हेर्ने अधिकार उनै सुशीलालाई मात्र सुम्पेका उनले केही नलुकाई आफ्नो स्पष्टता र इमानदारी देखाएका छन् । पत्नीले धूमपान, मदिरापान र अवैध यौन सम्बन्धदेखि टाढै रहन गरेका आग्रहमध्ये अघिल्ला दुई छोड्न अठोट गर्न सके पनि यौनको मामिलामा आफूलाई कडाइ गर्न नसकेको उनले लेखेका छन् । आत्मसमीक्षा गर्दै जाँदा पत्नीको परम विश्वास पाउन जस्तोसुकै बलिदान पनि ठूलो हैन भनेर उनले अन्ततः परस्त्रीसंगम नगर्ने निश्चय गरेका छन् ।
डायरी भनेको आफैंसँगको कुराकानी हो । आत्मसाक्षी हो । कोठामा एक्लै बसेर ऐनामा आफूलाई हेरिरहँदा आफ्नो अनुहारमा कसैले कुनै आदर्श व्यक्तिको चित्र टाँसेर दंग पर्नुको के अर्थ हुन्छ र ? यस हिसाबले बीपीको इमानदार लेखन यहाँनेर स्वाभाविक लाग्छ । एक ठाउँमा त उनले यौनकै प्रसंगमा दर्शनलाई दैनिक जीवनसँग जोड्दै लेखेका छन् : ‘यौन र योग मेरो अन्तरहृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन्, मानौं दुवै एउटै तत्व हो – अथवा यौनको आर्को अभिव्यक्ति योग हो ।’ जीवनमा यौनको अपरिहार्यता र अभिन्नतालाई उनले त्यसरी खुलाएका छन् ।
इमेलका केही पंक्ति र च्याटका दुई चार शब्दमा सम्बन्ध टेकाउने बानी परेका आजका हामीलाई बीपीले ती दिनहरुमा एक दिनमै एक दर्जन र कहिले त तीन दर्जनसम्म चिठी लेखेको कुरा फिल्मको प्लट जस्तो लाग्न सक्छ । बढीजसो चिठी उनले परिवारका सदस्यहरुलाई लेखेका छन् । तिनमा आपसी सञ्चो-बिसञ्चोका साथै देशमा भइरहेका बाहिरी घटनाक्रम बुझ्ने-बुझाउने माध्यम पनि बनेका छन् चिठीहरु । डायरीमा बारम्बार आउने नाम राजा महेन्द्र, सँगै जेलमा रहेका गणेशमान सिंह लगायतका पात्रहरुको प्रवृत्ति र व्यक्तित्वलाई हामी बीपीकै शब्दहरुको आँखीझ्यालबाट बुझ्न सक्छौं । भलै, त्यो बुझाइलाई पूर्णता मान्न नसकिएला, उनको चर्चामा केही हदसम्म राजनीतिक आग्रह/पूर्वाग्रह पनि मिसिएको हुन सक्छ ।
बीपीको डायरी पढिरहँदा यस्तो लाग्छ, उनीसँगै म पनि जेलको एक कुनामा छु र उनले बयान गरेका दिनचर्या आँखै अगाडि नियालिरहेको छु । उनको छटपटी, उत्साह र खुल्दुलीको एकमात्र साक्षी छु । यस्तो अनुभूति उमार्न सक्नु उनको कलमको खुबी र सफलता हो ।
‘जेल जर्नल’ पछि बीपीको जेल डायरीकै अर्को संकलन ‘फेरि सुन्दरीजल’ पनि निस्केको छ । यसका साथै कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरिले पछिल्लो समयमा बीपीबारेको लामो लेखमा जनाएअनुसार, बीपीका केही डायरीहरु अप्रकाशित अवस्थामा छन् । तिनमा विदेशी कवि तथा साहित्यकारहरुको बारेमा विचारोत्तेजक टिप्पणी पनि छन् । ती कहिले छापिने हुन्, तिर्खा निकै रसिलो भएर आएको छ ।
No comments:
Post a Comment