Subscribe:

Ads 468x60px

03 October 2008

दसैँ संस्कृति : ढाडमा टेक्ने चाड ?

CaFe ब्लगको पछिल्लो मेन्यूभित्र बिदाको बारे अक्षरपरिकार पस्किँदै गर्दाको धपेडीसँगै म काठमाडौँ खाली गर्नेको सूचीमा एउटा उम्मेदवार बन्ने ताउरमाउर पनि जनाउँदै थिएँ । महानगरपालिकको बहीखाता नपल्र्टाई काठमाडौँ खाल्डोको खाँटी जनसङ्ख्या पत्ता लगाउनु छ भने दसैँ कुर्नुपर्छ भन्ने उखानजस्तै बनिसकेको अवस्थामा म पनि त्यही हिसाब मिलाउनझैँ जिल्लातिर हानिँदै थिएँ । असोजको पहिलो साता कान्तिपुर नगरी छाडेर उदयपुर प्रस्थान गर्नुअघि ब्लगमा छाडेको बिदालेखको पट्ठो पात्र आफैँ बनिएला भन्ने अन्दाज थिएन । तर सोइपरि भयो, म आफैँ यो विद्युतीय अक्षरकार्यालयबाट बिदा लिएसरि ओथारोको कुखुरी बनेर हराइरहेँ ।
यसरी सातादिनभन्दा लामो बिदामा ब्लगबाट गयल हुनुको बाध्यताबारे पनि स-सानो कथा हालिहालौँ । समस्या अरु होइन, प्रविधिकै हो । देशले सूचना/प्रविधिमा सोचेभन्दा अपत्यारिलो रफ्तारमा कोल्टे फेरिरहेको छ । बिस्तारै अहिलेको भन्दा पनि सर्वसुलभ पहुँचमा प्रविधि पुग्ला । यसर्थः समस्या राष्ट्रिय प्रविधिमाथि थोपरेर पन्छिन मिल्दैन । मेरो हकमा समस्या त व्यक्तिगत प्रविधिकै रहृयो । युनिकोड नेपालीसहितको कम्प्युटरसँग काठमाडौँ बिदाइसँगै सम्बन्ध विच्छेद भएपछि अभिव्यक्तिको भोकले छटपटिनुपर्ने स्थितिको पूर्वानुमान घर आउँदा यात्राबीचमै भइसकेको थियो । फेरि कस्तो हुँदोरहेछ भने, आफैँले जानेर मुड नभएर वा दैनिक घिसापिटानको बेफुर्सदीबाट गिजोलिएर नलेख्‍नु र समय मिल्दामिल्दै र मन हुँदाहुँदै पनि लेख्‍न नपाउनुको पीडा ज्यादै भिन्न हुँदोरहेछ । मैले त्यो पीडा चाखेँ । कुनै कुराको महत्वा र गरिमा त्यससँग बिछोडिएपछि जब्बर बनेर देखापर्छ, यस सत्य निरन्तर ब्लगिङबाट टाढिएको मेरो लागि अझ गाढा बन्यो । मन मानेन, तै घर आएर जसोतसो अङ्कलको कछुवा चालको कम्प्युटर थिचथाच पारेर मेसो मिलाएँ र यति लेखिन सम्भव हुँदैछ ।
सन्दर्भ दसैँकै । नेपालीलाई यस्तरी लाग्छ, स्वदेश-विदेश जहाँसुकै बसे पनि यसको तीव्र ज्वरोले परम्परालाई रमाइलो आत्मसात गर्न मन-मगजमा भरपूर तापक्रम प्रवाह गरिराख्छ । दसैँको तापक्रमले हिन्दु धर्मावलम्बीहरूलाई परम्पारको गर्भभित्र पारिवारिक-आत्मीय निकटता त कायम गराउँछ नै, साथै हरिबिजोग बाध्यता पनि गरिब-गुरुबाको दैलामा थोपर्छ । दसैँ आउँला बसाइँ जाउँला भनाइ नेपाली शब्दढुकुटी चुलिएर पोखिएका अतिशयोक्ति होइनन् । स्वाभाविक हो, चाडबाडको तातो रौनक र निक्खर परम्परिक रमरम गाउँघरमै पाइन्छ । यो संस्कारिक प्रवाह पूर्वीय संस्कृति र सभ्यताबाट पश्चिमाले धेरै पोष लिएजस्तै स्वाभाविब छ । तर अहिले सङक्रमणको लहर उल्टो देखिन्छ । सहरबाट ग्रामीण भेगले फेशनमय विकृतिको प्याकेज नै उठाएको र पूर्वीय समाज पश्चिमी दुनियाँबाट दूषित बन्दै गएको टिप्पणी बौद्धिक वर्गमाझ सुन्न पाइन्छ ।
परम्पराको नाउँमा दसैँले पशु हिंसालाई बढावा दिँदै लगेको दोष धार्मिकहरूको धारिलो विश्लेषणले दिएको छ । दसैँले मात्र होइन, हिन्दु सम्प्रदायका अन्य कैयन् कर्मकाण्डले बलिप्रथालाई अकाट्य मान्दै संस्कारको लाहाछाप लगाएर निरन्तरता दिएका छन् । दसैँ भनेकै माछामासुको चाड भन्ने रुपमा विकसित हुँदै आएकोमा लरतरो विरोधी टिप्पणीले पशु काटमार रोकिने छाँट देखिन्न । एउटा प्राणीको खुसी र आनन्दोत्सवका लागि अर्को प्राणीले जीवनाहूति दिनुपर्ने संस्कारिक लीला पनि अपरम्पारकै लाग्छ । र अर्कातिर, जीव व्यवस्थाको सन्तुलनको लागि पनि काटमारको यो कार्य मनासिब सम्झिने जमात पनि आफ्नो ठाउँमा सही होला । अन्यथा प्राणीहरूको संख्यात्मक अनुपात बिग्रिएर समग्र प्राकृति व्यवस्था नै खलबलिन्छ भन्ने जीवशास्त्रीहरूको तर्क छ ।
निम्न वर्गको लागि चाडपर्वको कुनै रस नहुने सत्य हरेक समाजले झेल्ने गर्छ । नेपाली समाजमा पनि अरुको देखासिकी, इज्जत धान्ने मेलो र परम्परा निर्वाह गर्ने कार्यका रुपमा दसैँले निम्न वर्गको थाप्लोमा ऋणको भारी बोकाएर थला पार्ने गरेको छ । आफ्नो रहरको लागि नभए पनि परिवार र लालाबालाको वर्षदिनको खुसीको लागि उनीहरू सबैथोक जोहो गर्छन् । यो दोष दसैँको हो कि दसैँलाई महँगो गरी भोग्न खोज्ने रहरपालुवा सर्वसाधारणको ? सामान्य अवस्थामै दैनिक जीवन गुजारा गर्न गाह्रो पर्नेहरूलाई दसैँ आउनु भनेको कालले बिछ्याएको पासोमा अन्तिम मुकाबिला झेलिरहेको प्राणसरह सकस बेहोर्नु हो । र, संस्कारको नाममा समाजमा चलिरहेको यो प्रथा रोकिने छाँट देखिँदैन । चाडको नाममा ढाड भाँचिएको अनुभव सँगाल्नु तिनीहरू जीवनोत्सव भइरहनेछ ।

तपाईँ जहाँ रहे पनि सन्तुलित दसैँको मङ्गलमय कामना छ है !
************************************************************************************