Subscribe:

Ads 468x60px

25 February 2009

संक्षिप्‍त नेपाली शुद्धाशुद्धि ज्ञान

तस्बिर: लर्न नेपाली ल्याङ्ग्वेज

भाषा- ना० (सं०) १. मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली । २. व्यक्तिविशेषले लेख्‍ने र बोल्ने ढङ्ग; शैली । ३. कुनै देशका बासिन्दाले बोलचाल गर्ने साहित्ययुक्त प्रचलित शब्दावली
व्याकरण- ना० (सं०) १. कुनै भाषाका शब्द, शब्दका विभिन्न रूप, तिनको संरचनाविधि, वाक्य र त्यसका विभिन्न अङ्ग तथा तिनीहरूको पारस्परिक सम्बन्ध खुट्टयाउनुका साथै शब्द, वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको निरूपण गर्ने शास्त्र; शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र
- नेपाली बृहत् शब्दकोशबाट

नेपाली भाषाबारे पछिल्लो समयमा जति अन्योल बढ्दै छ, त्यतिकै मात्रामा यसलाई गौण ठानेर शून्यभावका साथ हेर्ने नेपाली भाषाभाषीहरू पनि बढ्दै छन् । यससँगै एउटा कित्तामा भाषासम्बन्धी चासो र चिन्ता लिएर आफ्नो मौलिकता र पहिचानलाई बचाउने गम्भीर समुदाय पनि एउटा कुनामा छ । कथ्य रूपमा प्रयोग हुँदाहुँदै भाषा र त्यसभित्रको व्याकरणको रूप-ढाँचा लेख्य स्तरमा उत्रिँदा कुरुप र भद्दा बनेको पाइन्छ । कथ्य प्रयोगमा केको ह्रस्व-दीर्घ र अक्षरबनोट र तिनको संरचनागत भेद - धेरैजनालाई भाषाको थोरै अदलीबदलीमै उच्चारणमा देखिनआउने अन्तरबारे हेक्का हुँदैन । कतिपय सचेत भनाउँदाहरू त केलाई भाषा भनिन्छ र केलाई व्याकरण, सजिलै लाटो बनिदिन्छन् । निर्लज्जतावश ।उच्चारणदोषलाई केही गरेर आँखा चिम्लिएर सहन खोजे पनि लेख्य रूपमा व्याकरण र वर्णसज्जाको दुर्दशा कसिंगरसरि नै बिझाउँछ । तिनलाई कुनै पनि बहानामा छुट दिन सकिँदैन । छुट दिएमा फलस्वरूप गलत प्रयोगको अभ्यस्ततासँगै त्यही नै स्थापित र मानक बन्न बेर लाग्दैन । भाषाको सही र छरितो प्रयोग गर्नु त परकै कुरा, सामान्य वर्णविन्यासमै पनि हाम्रा आँखाहरू पुग्न सकेका हुँदैनन् ।

केही समयपहिले वसन्त गौतमजीले आफ्नो ब्लगमा नेपाली भाषाबारे केही कुरा शीर्षकमा लेख्‍नुभएको गहकिलो लेखोटमा भाषाको जल्दोबल्दो मुद्दा, दुरावस्थाको बढ्दो सम्भावना र भाषागत असावधानीले विश्‍वव्यापी विद्युतीय माध्यम इन्टरनेटमा देखिएको बिजोगलाई खुलस्त पार्नुभएको छ । यसले पनि ब्लगर र अन्य पाठकीय सञ्जालमा राम्रो रन्थनीको काम गर्‍यो । मलाई पनि हाम्रो भाषामा रहेका/देखिएका यस्ता पक्षहरू निकै खटि्कएको थियो । भाषिक शुद्धताको कुरो जमघटमा उप्काउँदा धेरैजना यसलाई स्वाभाविक रूपमा 'हो, मेरो निकै गल्ती हुन्छ' भनेर बिना टाउको दुखाइ पेश हुन्छन् भने केही भद्रजन भने शुद्धताको कुरा मूल नभई विषयवस्तु र गुदी कुरामा जानुपर्ने तर्क राख्छन् । हो, मूल कुरा भावार्थमा कसैगरी सम्झौता गर्न सकिदैन । गिरेको घिनलाग्दो विषय लिएर जतिसुकै चिटिक्क भाषा-व्याकरण तुल्याए पनि त्यसले केही माने राख्दैन । समाजमा त त्यस्ताको उल्टो प्रतिकूल छाप पर्छ । तर भाषिक र व्याकरणगत शुद्धता बिनाको चोखो र प्रभावशाली भावधारा पनि जग बिनाको घरसरह हुन्छ । अझ, छँदाखाँदाको मीठो भाषा छाडेर बाउँठो बाटो लाग्नु त भएको खुट्टा नटेकेर बैशाखीको सहारा लरखराउनु बराबर हो । भावको सौन्दर्यमै त्यस्तो फोकाफोकीले हीनताबोध थप्छ र सिङ्गो भाषा ओरालोतिर झर्न त्यस एउटा व्यक्तिले गर्दा चिप्लेटी लहराको काम गर्छ । कुनै पनि कुरामा कमजोरी हुनु र त्यसलाई स्विकार्नु स्वाभाविक पक्ष हो भने त्यसलाई सच्याउने तदारूकता अपनाउनु आवश्यकीय पाटो हो । भाषिक त्रुटिको प्रश्‍नमा पनि दैनिक बोलचालमा भिजेको र अड्डा-अदालतमा लाई-खाई गर्ने राष्‍ट्रभाषालाई मूल मर्ममा जोगाउनु सबैको कर्तव्य हो । आफ्नै आँगनको भाषा हुनाले आज नेपाली भाषाले 'नजिकको तीर्थ हेला'को नियति भोग्दैछ । आफ्नै भाषा आउँदैन भन्ने कमजोरी सकार्न हाम्रो अहम्‌ले पटक्कै दिँदैन । फलत: नजान्नु बन्दा जान्न नखोज्नु ठूलो समस्या भएको छ । विद्वान्‌हरूको आ-आफ्नै रटले भाषिक एकरूपताको मानक जग पनि नेपालीमा कहिल्यै बस्न सकेन । प्रज्ञा प्रतिष्‍ठानद्वारा प्रकाशित नेपाली बृहत्‌ शब्दकोषलाई वर्णविन्यास, लेख्यरूपको प्रयोगमा अहिलेसम्मकै वैज्ञानिक र मानक मानिए पनि त्यसमा पनि संस्कृतबाट जस्ताको तस्तै आएको तत्समबाहेकका शब्दमा के-कसरी व्यवहार गर्ने भन्नेमा ढुलमुले अवस्था रहेको आरोप औँलिएकै छ ।

भाषा र साहित्यको हुर्मत यस क्षेत्रमै रहेर काम गर्ने, लेख्‍ने डेढअक्कली वर्गले लिएको देख्दा कतिपय अवस्थामा त धुरुधुरु रुन मन लाग्छ । (कतिपय हामी ब्लगरहरू पनि कम छैनौँ है यस पाटोमा ! शुद्धीकरणको यात्रा सकेसम्म चाँडै थाल्नु बेस ।) अर्कोतिर नेपाली भाषाका स्वघोषित ठेकेदारहरूको एकोहोरो रट, रजाइँ र मूलधारको उपस्थिति देख्‍न पाइन्छ । तिनैले बर्सेनि पुस्तक निकालिरहेका हुन्छन् । त्यस्ता पुस्तकले भाषा र साहित्यको सेवा, सम्मान गरेर श्रीवृद्धि गर्नमा टेवा दिन्छन् कि उल्टै भाषाको बेइज्जतीपूर्ण अपमान गर्छन्, कतैबाट लेखाजोखा राख्‍ने काम हुँदैन ।

यसै सन्दर्भमा जिज्ञासु नेपाली भाषाप्रेमी तथा छिपछिपे ज्ञानको पिल्साइमा परेर पनि थप नयाँ जानकारी ग्रहणमा उत्साहीहरूको लागि नेपाली भाषाको लेखाइमा शुद्ध-अशुद्ध केलाएर मीठो नेपाली लेख्‍न सहयोग पुगोस् भनी एउटा साभार सामग्री Cafe मा टाँसेको छु । व्याकरण र कोशका क्षेत्रमा काम गर्दै आएका चूडामणि गौतम (सम्वत् २०००) ले २०५३ सालमा प्रकाशन गरेको पुस्तिका 'शुद्ध नेपाली लेख्‍ने यसरी' बाट यसलाई साभार गरिएको हो । नेपाली शुद्ध लेख्‍न सिक्ने २९ नियम समेटिएको पुस्तिकाको पुछारको पातोमा अनुष्टुप छन्दका ३२ श्‍लोकमा सबै नियमको सारांश निचोरेर गौतमले राखेका छन् । आशा छ, खिइँदै गएको नेपाली भाषाको लेखाइमा कवितात्मक लहरमा बुनिएका यी नियमहरू हामी धेरैका लागि थोरै भए पनि उपयोगी हुनेछ ।
-----------------------------------------
संक्षिप्‍त नेपाली शुद्धाशुद्धि ज्ञान
(अनुष्‍टुप् छन्दमा)

पुरुष नामका अन्त्य लेखिन्छन् इ, उ ह्रस्व नै ।
जस्तै- भाइ, पनाति वा भिनाजु, बाबु ह्रस्व नै ।।१।।

नपुसंक लिंगीको अन्त्य उकार ह्रस्व हुन्छ है ।
जस्तै- आलु, पिंडालु वा गाउँको उ त ह्रस्व है ।।२।।

धातुका अन्त्यमा आउ, नु, आइ प्रत्यय भए ।
नामबाट बनेका भै आइ, याइँ अन्त्यमा भए ।।३।।

भाववाचक हुन्छन् ती अन्त्यमा इ, उ ह्रस्व भै ।
गर्नु-गराइ, दुष्ट्याइँ, सघाउनु-सघाउ झैँ ।।४।।

नपुंसक लिंगी शब्दैको अन्त्य ई दीर्घ लेख है ।
खरानी, पानी वा फर्सी, गाग्रीमा दीर्घ देख है ।।५।।

स्त्रीलिंगी शब्दका अन्त्य ई वा ऊ दीर्घ भैगए ।
बहिनी, सम्धिनी, गाई सासू, भाउजू, झैँ भए ।।६।।

पेशा र जातको अन्त्यमा हुन्छ दीर्घ ई, ऊ नै ।
जस्तै- नेपाली, ज्यापू, भो गुभाजू, घती, नाऊ नै ।।७।।

अन्त्यमा आदरार्थीका ज्यू वा जी प्रत्यय भए ।
दीर्घ हुन्छन् पिताजी झैँ मंत्रीज्यू, दाज्यू नै भए ।।८।।

तद्वित शब्दका भाव, सम्बन्धी तद्भव पनि ।
अन्त्यमा दीर्घ इ हुन्छ गरीबी, बैगुनी, खुनी ।।९।।

सर्वनाम सधैँ दीर्घ इ वा ऊ जे भए पनि ।
तपाईँ, आफू, ती, यी, ऊ मेरी, तेरी र कोही नि ।।१०।।

सर्वनामसँगै अर्को जोडे प्रत्यय शब्दमा ।
त्यो-बाट त्यस्तरी फेरि हुन्छ लौ त्यही दीर्घमा ।।११।।

विशेषण् प्रकरण् हेरी हुन्छन् ह्रस्व र दीर्घ नै ।
गुलीयो-गुलियो, मीठो वा मिठो ह्रस्व दीर्घ नै ।।१२।।

सानू, सानु, ठूलु, ठूलू, दुवै शुद्ध प्रयोग हुन् ।
प्यारमा भनिने सानो ठूलोका न यी रूप हुन् ।।१३।।

संख्याबोधकमा देख्छौँ आदि-मध्यान्त दीर्घ ई ।
तीन, बीस र पच्चीस, साठी, सत्तरी झैँ भई ।।१४।।

अन्त्यमा ई हुने स्त्री वा दुवै लिंग बुझाउने ।
गोरी, नामी, धनी, राम्री, जातीमा सब दीर्घ नै ।।१५।।

दुवै लिंग बुझाउने उ हुन्छ जब अन्त्यमा ।
ह्रस्व हुन्छ घरेलु वा दुधालु र सिकारुमा ।।१६।।

'गरेर बक्सियो' भन्दा लेखिन्छ गरी बक्सियो
'गर्‍यो'को आदरार्थीमा भैहाल्छ गरिबक्सियो ।।१७।।

लेखी देऊ भने केही 'लेखेर केही देऊ' हो ।
लेखिदेऊ भनेदेखि 'लेख्‍ने काम गरिदिनु' हो ।।१८।।

लगातार बुझाएमा ह्रस्व वा दीर्घ हुने ।
बोलीरहन्छ वा बोलिरहन्छ दुईमा कुनै ।।१९।।

विध्यर्थ शब्दका अन्त्य ई वा ऊ हुन्छ दीर्घ नै ।
लेख्‍नु, आऊ, बसूँ, निक्ली, देखून्, होऔली, सप्री नै ।।२०।।

स्त्रीलिंगीका क्रिया अन्त्य हुन्छन् सदैव दीर्घ है ।
आउली, गरिथी, जाली, दिएकी थिई दीर्घ झैँ ।।२१।।

अव्यय शब्दका अन्त्य इकार र उकार छन् ।
ह्रस्व हुन्छन् अगि, पर्सि, निंति, कि, बरु छिः त झन् ।।२२।।

अरी प्रत्यय लागेर बन्ने अव्यय दीर्घ हो ।
जस्तै 'राम्रो गरी' बाट राम्ररी दीर्घ भैगयो ।।२३।।

अरी प्रत्ययको अर्थ दिने अव्यय दीर्घ हो ।
झलझल गरी बनाएमा झलझली दीर्घ नै भयो ।।२४।।

अर्को भाषा जब हाम्रो भाषामा मिल्न आउँछ ।
उही भाषाअनुसार तत्सम शब्द छाउँछ ।।२५।।

शक्ति, रीति, कति विन्दु, वीर, बूट, हजूरमा ।
खुशी, बुद्धि, मुताबिक यस्तै हुन्छ हुकूममा ।।२६।।

व को ब हुन्छ चल्तीमा श, ष को पनि हुन्छ स ।
वास-बास, शीतल्-सीतल, पोष-पोस त बन्दछ ।।२७।।

विभक्ति जतिका चिन्ह जोडेर लेख्‍नुपर्दछ ।
कृष्णले रामका घरमा मलाई भेट्नुपर्दछ ।।२८।।

भन्दा, चाहिं, पछि, माथि, विना इत्यादि शब्दमा ।
जोडिन्छ पद ऊमाथि, रामचाहिं, सीताविना ।।२९।।

जानेछ यसरी लेखे 'जाला' भन्ने बुझिन्छ नि ।
जाने छ भन्नु हो 'कोही जानेवाला' छ नै भनी ।।३०।।

विभक्ति चिन्ह लागेका शब्दभन्दा पछि कुनै ।
भन्दा, चाहिं, पछि, माथि आए लेख्‍नु अलग्ग नै ।।३१।।

छुट्टयाई लेख्‍नुपर्ने हो नै, जस्तो, पनि, ता, भने ।
कृष्ण जस्तो, हरि मात्र, ऊ नै, यसरी लेखिने ।।३२।।

15 February 2009

.... आँसुको गरिमा

झ्याउरे लयमा हरफ कोर्ने रहर महाकवि देवकोटाको जनप्रिय खण्डकाव्यकृति मुनामदन पढुन्जेल विरह रसाए जस्तो टुसाइरहेथ्यो । धेरै भएथ्यो झ्याउरेमा भाका नभरेको । आज ताक पर्‍यो गीति गेडामार्फत । समयगत रचनाक्रमका आधारमा यो ताजा गीत र उही चिनारू, नेपाली जनजिब्रोमा भिजेको झ्याउरे लय । कतिको जोडी जम्ला ! फेरि यो विरह भाकामा आँसुको जीवनमय भाव कतिलाई त निराशाको भारी पो लाग्ला कि ? तर आँसु पनि जीवनकै यथार्थ एउटा पाटो हो । त्यही पाटोको गुनगुन यसपालीको सुरमा ।

--------------------------------------


शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा

पिलपिलाएर तपक्क बन्छ संसारै भरिमा ।

फुरूरू उड्छ सम्झनाको यो रेसमी पछ्‌यौरी
झुल्केको रूप हारै पो हो कि कि त हो जितौरी
के साह्रो जुनी बगूँ झैँ गर्छ सानै र झरीमा
शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा ।

आफ्नै हो पिलो अरूको खालि हात हो चुलेसी
चरक्क चिरा पार्‍यो कि फुट्छ तिर्खालु बलेंसी
सिकारी दाजै खनिन्छन् सधैँ अबला चरीमा
शिरैमा आशिष् बनेको हो कि आँसुको गरिमा ।

12 February 2009

लालटिन, जून र जूनकिरीहरू

मेरो प्रेम,
सुरुवात नै अहम्‌पनाबाट भयो भन्ठान्यौ क्यार ! यहाँ मात्राको हिसाब गरेर मैले 'मेरो' शब्दलाई नै राखेँ नत्र 'हाम्रो' को सम्भावना नभएको हैन । आपसी प्रेम, तिम्रोको मात्रा बढी हुँदो हो त फरकपना अवश्य रहन्थ्यो । अन्तिमपटक तिमीले पठाएको एसएमएस मेरो मोवाइलमा अझ पनि सुरक्षित छ । एक्लो यात्रा मागेको तिम्रो त्यो याचनापूर्ण एसएमएस मैले चाहेर पनि मेटाउन सकिनँ । तीन दिन मात्र अनुभूत गर्न सकेको तिम्रो प्रेमले गर्दा त्यसो हुनगयो । पहिलो दिन तिम्रो प्रस्तावबारे सोचेर, दोस्रो दिन 'के उत्तर दिने' भनेर र तेस्रो दिन 'उत्तर दिने कि नदिने' भनेर । किनकि चौथो दिन मैले प्रेम स्विकार्नु अघि तिमी स्वयम्‌ले आफ्नो गल्ती भएकोमा प्रेम प्रस्ताव प्रति क्षमा माग्यौ । अब आफैँ भन, मैलै 'मेरो प्रेम' नभनेर के भनूँ ।

यो पत्रको शीर्षक के राखूँ, के राखूँ भैरहेको मनस्थितिमा 'लालटिन, जून र जूनकिरीहरू' राखूँ कि लागेको हो । फेरि सम्झेँ, एकअर्कामा विलकुल विपरीतार्थक हामी, यसमा के तिम्रो के चासो रहला ? जब कि मलाई राम्ररी थाहा छ, तिमीलाई साहित्यको 'स' पनि मन पर्दैन । र पनि मलाई तिमी औधी मनपर्छ । ....... मैले नदेखेको साहित्यको पाटो तिम्रो घृणामा देख्तछु । हुन त यो शीर्षकमा राखेका तीनैओटा चिजहरू म, तिमी बसेको सहरका लागि आवश्यक कति, अनावश्यक कति ! कारण लोडसेडिङको मारमा परेको बेला हजुरबुबाको पालाको लालटिन प्रसङ्ग । जूनकिरी त हैन, जूनकिरीका ताँतीजस्ता लाग्ने साँझपख सवारीको चाप । भन्लाउ- यो सहर प्रेममय छ त्यसैले प्रेयसीलाई जून भनी सम्बोधन गर्नेहरू पक्कै छन् । प्रेयसी नै जून जस्ता नभएर सूर्यमुखी र ज्वालामुखी जस्ता छन् भने चाहिँ के गर्ने ! गुजल्टिएर आफ्नो मनलाई शङ्खेकिरा बनाउने या तरबारको धारमा हिँड्न तयार हुने । प्रणय दिवस नजिकिँदैछ, त्यसैले पनि सबै प्रेयसीहरु एक दिनका लागि भए पनि जून कसो नबनिदेलान्, आशा गरौँ बाँकी दिन भलै ङ्यारङ्यार ङुरङुर चले पनि । नत्र फेरि प्रिय भनाउँदाहरु प्रेयसीको कोपभाजनले 'साथीनी'हरुबाट पनि भूमिगत भएर जाडोयामको फाइदा उठाउँदै सिरकसँग ओथारो बस्न पुग्छन् । बिचरा जूनकिरी जस्ता लाग्ने साथीनीहरु !

साथीत्व हुनुको धावालाई प्रेयसीले म्याराथन नगरी एकलौटी पारेपछि साथीको जीवनमा टिलपिलाउनुको के अर्थ ? साथी कम प्रिय त झनै प्रेयसीसँगको प्रेमसम्वन्धमा भाइरसग्रस्त हुनु नै स्वर्गिय आनन्द ठान्छन् । लालटिन जस्ता लाग्ने प्रेयसीहरु कहिले जून बनिदेलान् र जूनकिरीहरूले कृष्ण-सुदामा जस्तो मानेको आफ्नो मित्रताको अँधेरीलाई जित्‍न नपर्ने हो । तिम्रो सहरसँग प्रेम बसेको पनि ठ्याक्कै हातका औँलाहरुमा गिन्ती लाउँदा एक फेर एक लागेर दुईमा पुगेछन् वर्षहरू, जूनकिरीहरू नदेखेको पनि । राजाको सहर, खाल्डोमा पसेपछि उम्कन पाए पो ! गल्छेडो काटेर जन्मस्थान पुग्नु र जूनकिरी हेर्नु । जून हुन सौभाग्य नमिले पनि जूनकिरीको नियति भोग्दैछु । ३६४ दिन छाक टार्न दौडादौड परे पनि एक दिन प्रणय दिवसमा प्रेमपत्र मार्फत प्रेम पोख्दैछु । र कहिलेकाहीँ घरको टुप्पोमा पुगेर औंशीको रातमा जूनकिरी जस्ता लाग्ने घरहरूको बत्ती हेर्छु साँझ बास बस्न आउँदा जूनकिरीको ताँतीझैँ लाग्ने सवारीहरुको पुछार-पुछार हेर्दै फकिन्छु । लालटिन जस्ता प्रेयसीले आफ्नो सलेदो झ्याप्पै पारेर खग्रास पारेपछि आफू साँच्चै जूनकिरी हुनुको नियतिलाई धिक्कार्छु एकोहोरो लिप्साको पर्याय लालटिन र घुच्चुकपछाडिको उज्यालोपन जूनकिरीको दोहोरो मारमा बुबुरो प्रिय ...... ।

फर्केर उही ढुङ्गेधारा, लालटिन र चिउराको फ्वाँकहरूको समयमा पुगिएपछि प्रेम जाबो मात्र एक्लै किन यो हुनेहरुको हालिमुहाली युगमा । त्यसैले प्रेम पनि एस.एम.एस., इमेलबाट प्रेमपत्रतिर ओरालो लाग्यो भने के होला ? केही नभए पनि 'क्षर' जस्ता लाग्ने अक्षरहरूको दुर्दशा सुध्रिएला । कलम नै समाउन छोडेर कम्प्यूटरको किबोर्ड थिच्ने औँलाहरु दशबाट झरेर बुढी, चोरी र माझी जम्मा तीन औँलाहरूले सकस पाउलान् । अनि म जस्तो जूनकिरी भनीटोपल्नेले तीनदिने प्रेमलाई खासम्खास बनाउँदै गिटी कुट्छन् पक्कै पनि । प्रेम हुने हैन गर्ने जमानाको युवापुस्ता हामीले आफ्ने प्रेममा भरोसा नहुनाले क्षमा माग्दै हिँड्नुपर्छ । मेरो मनमा तिमी आफूले उब्जाइदिएको प्रेममय मित्रतालाई यथास्थानमा पुर्‍याउन अचुक विधि प्रेमपत्र नै मान्नुपर्ला । कमसेकम लेख्नेको पनि मन हल्का, पढनेहरुलाई पनि प्रणय दिवसीय मौकामा प्रेमरसपूर्ण र साहित्यको श्रीवृद्धि पनि । भलै असाहित्य किन नहोस् ! अन्त्यमा मेरो साहित्यलाई जुरमुराइदिने अनाम भैसकेको प्रेमलाई फुरीभ्याएका सेरहरू प्रणय दिवसमा सप्रेम भेट -

भेटदा मात्र प्रिय तारा-जूनका कुरा
साँझ-बिहान उही चामल-नुनका कुरा ।

दुई छाक नै गर्जो टार्न धौधौ कस्तो
नगर है प्रिय ल्हासा-सुनका कुरा ।

जमाना त हुने गर्नेहरुकै लागि
कहाँ बिक्ला तिम्रो ज्यान र खुनका कुरा ।

बजार भाउ बढाबढ चल्छ प्रेममा
डक्कै मोलतोल छैन चानचुनका कुरा ।

11 February 2009

लीला खन्चुवा पत्रकारको


'ऋषि धमलाको फोनवार्ता पढ्दै,'
पछिल्लो समय नेपालीमाझ लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको स्टेटसमा लखन थापा मगर झुल्किए । माघ २३ गते बिहीबारको नयाँ पत्रिका दैनिकमा 'ऋषि-शुभक फोन संवाद' शीर्षकमा छापिएको धमला र रणवीर सेनाका उपत्यका राजनीतिक इन्चार्ज रामशुभक महतोबीच भएको फिरौती रकमबारेको फोन संवाद पढ्न पाउँदा लखनजी बिहानपखको चारो फेसबुकमा छर्दै थिए । लगत्तै साथीहरू 'कस्तो वार्ता ?', 'के रहेछ त त्यहाँ ?' भन्ने कमेन्टका पङ्खसहित चारोमा टाँस्सिदै थिए । मैले पनि एक वाक्यमा 'खन्चुवा पत्रकारको लीला !' भन्ने फुर्को जोड्दै रौनकता घोलेँ । बोले प्रति टिप्पणीमा लखनजी- 'के गर्ने, काम गर्नुको दुःखले हो कि, छिटै धनी हुने लोभले हो धेरै पत्रकार यस्तो धन्दामा छन् ।'
सन्दर्भमा पत्रकार एवम् रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला राजधानीमा फिरौती चन्दा असुलीको कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेको घटना छ । त्यस्तो गैरकानुनी कार्यमा तथ्य-प्रमाणसहित त्यत्तिको चिनारु पत्रकारलाई प्रशासनले पक्राउ गरेको यो पहिलो घटना हुनसक्छ । दोषी भएमा उनी जसरी पनि कारवाहीको भागीदार र निर्दोष भएमा यथाशीघ्र थुनामुक्त हुनुपर्छ । कुनै उच्च दबावबाट उनले उन्मुक्ति पाउनु पनि हुँदैन र पूर्वाग्रहवश मुद्दा तन्काएर जेलमा कोच्नु पनि हुँदैन ।

पत्रकारमाथि राज्य तथा विभिन्न विद्रोही समूहद्वारा धरपकड, दुर्व्यवहारदेखि पक्राउ, अपहरण, बेपत्ता र हत्यासम्मका शृङ्खलाबद्ध आक्रमणले नेपाली प्रेसलाई च्यापिएको गोरेटोमा हिँड्न बाध्य पारिँदैछ । पत्रकार र पत्रकारिता क्षेत्रलाई निशानामा साँधिएको कुरा र सञ्चारक्षेत्रभित्रै तलब-सुविधाका विषयमा अन्यायमा पिल्सिएका दुखियाहरूको समस्या एकातर्फ छ भने पत्रकार आफैँमा पनि के-कस्ता छन्, उनीहरू नीति-नियमभित्र रहेर सूचना-समाचार जनसमक्ष जुटाउने जिम्मेवारीमा कर्तव्यरत छन् कि 'दायाँ-बायाँ' पनि चलखेल गर्छन् भन्ने प्रश्‍न पनि त्यत्तिकै तिक्खर छ । कतिपय कलमवाज भने पत्रकारिताको मर्यादा र पत्रकारको दायित्व बिर्सिएर अथवा पत्रकारको चिनारीलाई आवरणमा राखेर स्वयम्-लाभको अतिरिक्त कारोबारमा पनि सक्रिय हुन्छन्, खासगरी जिल्लातिर । धम्क्यायो, तर्सायो अथवा फकायो, लोभ्यायो र फाइदा कुम्ल्यायो ।

प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकमा छाउनुपर्ने सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको हकको विपरीत चारैतिरबाट खोचे थाप्ने रूपमा स्वतन्त्र प्रेस प्रयोग हुँदै आएको छ । पुनःस्थापित प्रजातन्त्रसँगै जागेको राजनीतिक चहलपहल र पार्टी-गतिविधिमा आएको तीव्रताको आडमा सुरु पार्टी पत्रकारिता (नेपाली पत्रकारितामा यसैलाई मिसन जर्नालिज्मको रूपमा व्याख्या भएझैँ लाग्छ) को अभ्याससँगै पछि त झन् विरोधी गुटका पत्रकारलाई वर्ग-शत्रुकै रूपमा हेर्ने चलन चल्यो । आफू मात्र ठीक, अरू त सबै तथ्यहीन, झुट र भाटगिरीका ठेकेदार । पछिल्लो समयमा झन् मौलाउँदो पत्रकार र सञ्चार गृहमाथि आक्रमणको दुस्साहस त्यही गुटगत मानसिकताको विकसित रूप पनि हो । देशमा लोकतान्त्रिक गणतन्त्र (भन्नलाई त यो देशलाई नै सपनाको देश अमेरिका घोषणा गरिदिए हुन्छ, कसको के जान्छ र !) घोषणा भइसक्दा पनि अझै हामीकहाँ ठट्टामा पहिलेपहिले बोलिने 'गोरखापत्रकारिता' र स्वतन्त्र पत्रकारिताबीचमा प्रस्ट अन्तर कायमै छ । जतिसुकै स्वायत्तताको नारा चर्काए पनि परिवर्तित सरकारसँगै 'गोपी कृष्ण कहो' को धुन गुन्जिहाल्छ ।

माथिकै मूल कुरातिर लागौँ फेरि । पत्रकारिता क्षेत्रमा रहेकाहरू साथै सञ्चारमाध्यमको पहुँच भएका सचेत सर्वसाधारणहरूमा कमै होलान्, धमलालाई नचिन्ने । अब पक्राउ प्रकरणसँगै उनलाई अरू झन् बढी चिन्नेछन् जनसाधारणले, नामसम्म नसुनेकाहरूले पनि चिन्दै जालान् यो छुट्टै कुरा हो । पेसागत रूपमा उनको लेखनगत चर्चाभन्दा पनि समग्र मान र हैसियत रिपोर्टर्स क्लबको स्थापना भएयता नै स्थापित भएको हो । अध्यक्षको पदसँगै उनको चर्चा चुलिँदै आयो । अरू केही नभए पनि सामान्यतया दिनहुँ कुनै न कुनै कार्यक्रम भइरहने क्लबमा त्यसबारे समाचार रेडियो र टिभीमा बज्दा पुछारमा 'कार्यक्रम रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको थियो' भन्ने थेगो नियमित रटानमा सुन्न पाइन्थ्यो ।

यसैले उनी दैनिक 'हिट' थिए । टेलिभिजनको पर्दामा पनि उनी सञ्चारकर्मीको हूलमूलमा तन्किँदै क्यामेरा ताकिएकै दिशामा नेता-अतिथिको लहरमा नारिएर चुसुक्क अनुहार देखाउन पुग्थे । मानौँ उनी नै अतिथिका रूपमा बोल्न लागेका हुन् । यो पनि उनको दैनिक झलक । समसामयिक जनचासोका बारेमा विभिन्न राजनीतिक, सामाजिक मुद्दाबारे अन्तरक्रिया डबली उपलब्ध गराई सञ्चारकर्मीलाई समाचार-जानकारी तथा जनतालाई सूचनाको अवसर दिने क्लबको छवि जनमानसमा अग्लो रहेको पाइन्छ । एक हिसाबमा निर्विकल्प सञ्चार-साथी जस्तो । यसै क्लबको सिको गरेर पत्रकार-पाहुनाको संवादात्मक ढाँचाको सहज बहस-अन्तरक्रियाको लागि राजधानीमा आधा दर्जनजति विभिन्न मिडिया क्लब खुलेको पाइन्छ ।

यस लेखोटमा धमलाको व्यक्तिगत चरित-चर्चा गरेर लाञ्छना उराल्नु छैन, पत्रकारिताको नाममा समयक्रमसँगै फस्टाउँदै आएको धमला-प्रवृत्तिलाई कोट्याउन मात्र खोजिएको छ । जसले सिङ्गो सञ्चारक्षेत्रलाई नै दूषित बनाएर कलङ्क थोपर्ने काम गरेको छ । पत्रकार अचेल सङ्ख्यामा पनि बढेका छन्, इज्जतका हिसाबले पनि सस्ता भएका छन् । आज पत्रकारिताको नाम त छ, तर उल्टोतिरबाट- बद्नामका रूपमा । कुनै पनि कुरा आफैँमा उँच र नीच, राम्रो र नराम्रो भन्ने हुँदैन । पत्रकारिता क्षेत्र पनि आफैँमा नराम्रो र नीचभन्दा पनि यसमा कार्यरत 'पत्रकार' (हुँदाहुँदा अहिले त यो सम्बोधन र चिनारी पनि अपमानजनक रूपमा चित्रण हुन थालिसक्यो, धेरैजनाले आफूलाई पत्रकारभन्दा 'सञ्चारकर्मी'को परिचयमा आफूलाई उभ्याउन थालेका छन्) को बाहुलीको कारण आयाम बनाउँदैछ ।

खन्चुवा खेतीमा पत्रकारको संलग्नता राजनीतिक छत्रछाया र लाहाछापबाटै भएको बुझ्न दिमाग दुखाउनुपर्दैन । राजनीतिक आस्था, निकटतासँगै त्यसप्रति समाचारीय कार्यक्षेत्रमा देखिने पक्षपाती व्यवहार र लेनदेनको गणित कतिसम्म गहिरो छ र त्यो गहिरिएको लहरो तान्दा कतिसम्म पहरो खस्ने हो, रहस्यको ज्वालामुखी चर्को छ । पत्रकारको निश्‍चित राजनीतिक आस्था हुनु कुनै आपत्तिको कुरा होइन, नागरिकको रूपमा मिडियाकर्मीको पनि हक सुरक्षित छँदैछ । तर जब सत्य-तथ्य र निष्पक्ष रहनुपर्ने सञ्चारयात्राको कर्तव्यपथमा त्यही आस्था कसैले भजाउन थाल्छ, टीको लगाएर आफ्नाको भजन र अर्काको तिरस्कार गाउँछ भने तब के गर्नहुने र के नहुने केही अर्थ राख्दैन । पत्रिकामा प्रोफाइल 'लेखिदिएर' एक फोन कलमा शो-रुमबाट एकजोर जुत्ता मागी दसैँको मुखमा ढल्काएर हिँड्ने पत्रकार मैले देखेको छु, मन्त्रालय पुगेर 'हामी तपाईँकै त मान्छे हौँ, हामी नभई तपाईँहरूको पनि त केही चल्दैन नि' भन्दै पाँच हजार दाम मन्त्रीबाट छिनाउने चल्तीको मिडियाम्यान पनि चिनेको छु । जानकारीबाहिर यस्ता कति 'पत्रकारितार्-धर्म' तीव्रतापूर्वक निर्वाह भइरहेको होला, किटेर भन्न गाह्रो छ ।

पत्रकारको यस्तो घिनलाग्दो काम र दयनीय अवस्था हाम्रो जस्तो विकासोन्मूख (सदियौँदेखि उन्मूखको उन्मूखै) मुलुकमा कति सामान्य हो कति असामान्य हो, अध्ययनै गर्नुपर्ला । सञ्चारसंस्थामा चित्तबुझ्दो तलबपानी नपाएरै खन्चुवा प्रवृत्ति बढाउनुपरेको हो कि लोभी र असन्तोषी मानसिकताले अतिरिक्त आयतिर लामो हात बढेको हो, यसमा पनि ध्यान दिन आवश्यक छ । कामअनुसारको पेट-परिवार पाल्न सक्ने उचित पारिश्रमिक पत्रकारले (चाहे जुनसुकै पेसामा लागेकाले) पाउनैपर्छ । नत्र विचार दसतिर खेल्छ र संस्थाले पनि उसबाट राम्ररी काम लिन सक्दैन । तलब, सुविधा, अवसर र मूल्याङ्कनलगायतका कुरामा सञ्चारक्षेत्रभित्र नै पत्रकार-पीडकहरू रहिरहेको परिप्रेक्ष्यमा सर्वत्र मिडियालाई निशाना ताक्नेहरू बढ्दै जानु कुनै नौलो कुरा होइन । तर निजामती सेवामा भन्सारका कर्मचारीलाई घूस खान निरुत्साहित गर्न सरकारले तलबसँगै पर्याप्‍त रकम भत्तास्वरूप व्यवस्था गरे पनि तिनले त्यसभन्दा पनि झन् धेरै रकम थुपार्न घूस खान नछोडेझैँ हालत पत्रकारको तलबपानीको सन्दर्भमा पनि लागू नहोला भन्न सकिन्न । लौ मानौँ, केही नदिने कार्यरत संस्थाले पुग्दो आयस्ता देला, तर लोभी-पापी मन भने अझै धनी हुने चाहले चोर बाटोतिर पाइला घुमाउला ।

यो खन्चुवा लीला एक बालकको चुटकिलादार रोदन-गाथाझैँ रोमाञ्च लाग्छ । एक रुपियाँको डबल लिएर बजार गएको बालक बीच बजारमा रोइरहेको थियो । छेउमै हिँड्दै गरेका एक दयावान् बटुवाले सोधे- 'के भयो बाबू ? किन रोइरहेको यसरी ?' बच्चा भन्छ- 'आमाले एक रुपैयाँ दिनुभएको थियो, बाटोमा आउँदाआउँदै हरायो ।' यति भनिसकेपछि हिक्का छाड्दै बच्चा रुने कार्यमा तदारुकतापूर्वक एकोहोरियो । यति सानो कुरामा डाँको छाडेर रोएको देखेर बटुवा छक्क परे, आफ्नो झोली खोतलेर स्नेहवश बालकको हातमा एक रुपियाँको डबल राखिदिँदै बटुवाले थुम्थुम्याए- 'ल बा, अब नरोऊ, के किन्ने हो बजारबाट लिएर घर जाऊ है ।' बालक पनि अपरिचित भलाद्मीले पैसा दिएको देखेर सुरुमा त जिल्ल परेर हेरिरहृयो । पैसा पाएर ऊ दङ्ग पर्‍यो र फेरि के सम्झियो कुन्नि, झन् घाँटी चर्किने गरी रुन थाल्यो । बटुवा चकित परे । फेरि के भयो बच्चोलाई ? उसले चुप लाग्ने छाँट देखाएन । ती भलाद्‌मीले सोधखोज गर्न बालककै उँचाइमा काँध झुकाए । 'के भयो बाबू अब तिमीलाई ?', शिर मुसार्दै सोधे । बच्चोले हिक्का बीचबीचमा रोक्दै झटपट भन्यो-'अघि मैले एक रुपियाँको डबल नहराएको भए अहिले मसँग दुई रुपियाँ हुनेथियो ...हुँहुँहुँ ।' फेरि अविरल रुवाइ... ।

हामीकहाँ खन्चुवा पत्रकारको आधारभूमि होटल, सङ्घसंस्थामा आयोजित कार्यक्रमदेखि नै बन्छ । रिपोर्टिङ गर्न गएको नाममा खाजा ढुकेर बस्ने हैसियतका पत्रकार सहरी इलाकामा खोजिराख्‍नुपर्दैन । भोका आँखा कार्यक्रमका अतिथि र सहभागीहरूको सूची केलाएर समाचार टिपोट लेखाउनभन्दा कुनाछेउका गमकदार 'डिस' नियाल्न एकसुर बन्छन् । खन्चुवा पत्रकारको इलमअन्तर्गत तिनले डायरी र कलम पनि हातमा समातेकै हुन्छन् र खाजाको पोका वा प्लेट बोक्न पनि तयारी अवस्थामा रहन्छन् । राजधानी काठमाडौँको जनसङ्ख्या बढाउनमा यस्ता पत्रकारको पनि केही हात अवश्य छ क्यार । यस्तै खाजाको पोका बोक्दाबोक्दै, चाख्दाचाख्दै कतिखेर तिनीहरू लाख-दसलाख रकम भागबन्डा खोज्ने ध्याउन्नमा पत्रकारिताको इज्जतदार पेसालाई दाउमा राख्छन्, पत्तो हुँदैन । पेसाको गरिमा र दायित्व बुझेर यसभित्रको सूचनासङ्ग्राममा निक्खर लडाकु नबनेसम्म विभिन्न रूपमा खन्चुवा पत्रकारको दानव एउटा सञ्चारकर्मीसँग साथसाथ हिँडि नै रहनेछ । बेइमानी समृद्ध र झकिझकाउ बनेर बाँच्ला, तर सधैँ त ऊ बाँच्दैन । एकदिन त उसको पत्तासाफ हुन्छ र तब ऊ कहीँको रहँदैन ।

03 February 2009

कविता खोज्दै बहकिएको एउटा अल्लारे दिन...

हेर्न र चिनेर टिप्न मात्र सक्नुपर्छ, कविता त हाम्रै वरिपरि यत्रतत्र छरिएर हामीलाई नै हेरिबसेका हुन्छन् ।
अक्सर यस्तै भन्ने गरिन्छ कविता लेख्‍न नसक्ने कसैलाई अर्तीको लबजमा ढाडस दिनुपर्दा । बोलीको पेटारो सजिलै खुलिहाल्छ । तर लेख्‍न सकिएन त सकिएन, मुड चलेन त चलेन; जत्रै ठूलो घटना आँखैअघि घटित भए पनि संवेदनाको मूल र भावनाको भेल फुट्दैन । कविता नलेख्दा/लेख्‍न नसक्दाको आफ्नो हतास मनलाई काबुमा राख्‍न तब चल्छ अनेक बहानाबाजी । नयाँ कुरा, नयाँ ठाउँ कतै घुमे-देखे पो नयाँ विचार फुरोस् भन्दै टुप्पिएको आरोप आफ्नै पुर्पुरोमा बजार्न मन लाग्छ । यस्तैमा जाऊँ न त कतै शान्त र मनोरम ठाउँतिर, खुला आकाशमुनि बसेर कविताका भाका टिपूँ भन्ने जङ चल्न पनि बेर लाग्दैन । यस्तै जङ चल्यो जनवरी २१ (माघ ८) को मध्यम तापक्रममा लटि्ठएको काठमाडौँमा हामी तीन युवालाई । अनि हामी हान्निएका थियौँ पानीमाथि लमतन्न सुतेका नारायणनिवासी बुढानीलकण्ठतिर ।

पुस्तक विक्री-व्यवसायको एकरसताबाट दिक्किएर भर्खरै त्यसबाट ढुक्कैले छुट्टी लिएको साथी सुको साइबर (सुदीप कोइराला) फोन सम्पर्कपछि फुटपाथको एउटा टुक्रामा भेटिन आइपुगेको थियो । त्यस्तै, व्यस्त ठमेल क्षेत्रको एउटा होटलमा विश्‍वासिलो व्यवस्थापकमा 'गाँठवाला' जागिरे जीवनको थुनुवापनबाट निकै हतास भएर बाहिरिएको र पछिल्लो समयमा सेयर दलालीको पेसामा रत्तिन थालेको यदुकिशोर न्यौपाने पनि बाटैमा जम्काभेटमा ठोक्किन आइपुगेको थियो । दुवै साहित्य-कलाप्रेमी र लेखनमा भिजेका । बागबजार र पुतलीसडकको दोभानमा म एउटा लहर दुवैलाई छुँदै मिसिएको थिएँ ।

यात्राको कुनै योजना थिएन । पहिलो क्रममा भेटिएका सुको र म यस भेटलाई कुनै गतिलो काममा उपयोग गर्ने सोचाइ नफुरेसम्म लस्याङलुसुङ गरेर समय निल्ने टुङ्गोमा पुग्यौँ । जाऔँ साइबरतिर, सुकोको सम्मति थियो । लोडसेडिङको लफडामा साइबर क्याफेको पायकपर्दो बिसाउनी नभेटेर रन्थनिएका ऊ र म बागबजारबाट भोटाहिटी हुँदै पुरानो बसपार्कको निकासबाट पुतलीसडकछेउको न्यू प्लाजास्थित साइबर पुगेर चार्ज हुन पाएका थियौँ । सुको साइबरको त नाममै साइबरको फुर्को, साइबर क्याफेसँगको लगावले नामले सार्थकता पाएको थियो । मध्यान्हसम्म पेटमा एक गेडो अन्न नपरेको अत्यासमा उसले नजिकैको होटलबाट सेल मगाएर 'सेल विथ साइबर' को लोभलाग्दो संयोग चाखेकोमा म पनि मिठासे बन्दै थिएँ । च्याटमा को-को आए, केके भन्दै छन् ऊ पिठिउँपछाडिबाट कल्याङमल्याङ उब्जाइरहेथ्यो । च्याटमा कहिले कवि/गजलकार स्वागत नेपालले फोहोरको थुप्रोनिरको कुनै अर्को साइबरमा भेट्नलाई बोलाएको कुरा, कहिले बङ्गलादेशको नेपाली दुतावासमा कार्यरत दाइ कवि कृसु क्षेत्रीले कुनै गतिलो साहित्यिक विशेषाङ्कको प्रसङ्ग निकालेर त्यसमा को परे-को छुटे भनी केलाएको कुरा ।

म भने ब्लगर साथीहरूको ठेगानामा नयाँ-नयाँ परिकार चाखिरहेको थिएँ, मध्यान्ह १२ बजे बत्ती जाने कुराले दिमागमा सावधानीसूचक कम्पन छाड्दै अधकल्चो हिसाबले ब्लग चहार्न खरायोको गोडा पहिराइदिएको थियो । घरको कम्प्युटरमा इन्टरनेट नजोडेको भुक्तमान म ब्लग सुरु गरेयता झन् मज्जैले खेपिरहेको छु । लोडसेडिङको रन्कोमा कतिखेर साथीहरूको पोष्ट पढ्ने, पढेपछि मनमा उब्जिएको हलचल कतिखेर प्रतिक्रियामा पोख्ने, कतिखेर आफ्नो ब्लगका लागि विचार-मन्थनमा मथेर रसिलो प्लस कसिलो सामग्री लेख्‍ने, कतिखेर त्यसलाई प्रकाशन गर्ने ... आदिमा रनाहा छुटिरहेको हुन्छ ।

गयो बत्ती, अनि त अन्यत्रै पखेटा चाल्नु बाध्यता भइगो । पुतलीसडकको भँगालो चिर्दै पार हुने क्रममा विपरीतबाट आउँदै गरेका परिचित मनुवा भेटिए- उनै यदुकिशोर । 'यसलाई नभेटूँ भन्दै हिँडेको त झन् पो सामुन्नेमै ठोक्किन आइपुग्यो', सुकोप्रति लक्षित गर्दै उनी मुसुक्क देखिए । साथी होस् त यति प्रस्ट, नभेट्ने तीव्र भाव पनि र्सलक्क खुलाइदिए । सायद बारम्बार भेटिरहने अन्तरङ्ग अनुहार भएर होला त्यसरी खुल्न सकेका । सेयर ब्रोकरको अफिस सम्हाल्न शङ्करदेव क्याम्पस मोडतिर लम्किँदै गरेका यदु तत्काल हाम्रै सङ्गतको रसायनमा पग्लिए झैँ भए । यसरी जुटेर कता पो जाने ? यदुले नै प्वाक्क पोखे कौतूहल । ल जाऔँ बुढानीलकण्ठ, मेरो प्रस्तावमा दुवैले पाखुरा आपसमा खिपेर एकमत जनाए । किनौँ कापी, लेखौँ त्यतै कतै बसेर बेजोड कविता, योजनाको पोको तुरुन्तै कसियो । अनुभूतिको भुत्तेपन बढेर लामो अवधि कविता लेख्न सकिएको थिएन । कविता नलेखेर खिया लागेको अनुभूतिको भुत्तेपन आज मेटिनेमा तीनैजनामा उल्कै रोमाञ्च छुटिरहेथ्यो ।

नक्साल हुँदै लाजिम्पाटतिर डोरिएका तीनजोर पैँतालामुनि दिउँसो १ बजेको सुई किचिमिची भइसकेको थियो । दुइटा सेल टोकेर मन बुझाएको सुको नक्सालमै होटल कम भट्टी बढी एउटा छाप्रोमुनि आलु-च्युरा मुक्याएपछि भने बल्ल प्राण कोष जागेझैँ देखियो । सुकाबाट मोहरको पाइनमा उक्लिएझैँ । लाजिम्पाटको फुटपाथमा गाडी कुर्दै रोकिएको पाइला 'लघुशङ्का' को तोडमा त्यहीँ जमिराख्‍ने कुरै थिएन । अनि त लागियो छेउकै बैँकतिर, अत्यावश्यक र आकस्मिक कारोबार फत्ते गर्न । स्टान्डर्ड चार्टर्ड बैँकको सुकसुकाउँदो वातावरणले तीन नौजवान कविहरूलाई गरेको स्वागतदेखि कृतकृत्य भएर हाम्रो अनुहार धपक्कै बन्यो । उटपट्याङ कुरा र चुटकिलादार कुरा गर्नमा 'बिजुलीबत्ती' साथी सुको बोलिहाल्यो- 'लाऽऽ बरबाद ! भोलि पत्रिकामा फलानो-फलानो कविहरूले बैँकमा छिरेर पिसाब फेरे भन्ने समाचार आयो भने के गर्ने ?' उसको कुरा हुन त कुरैकुरामा रमाइलो थप्ने ठट्यौली थियो, तर साथीको तीव्र कल्पनाशीलताले यदु र मलाई कायल बनाएर हँसायो । यस्तै कुराले होला, सुकोले साथीभाइको माझमा 'आलु'को उपनाम पाएको छ- सबैसँग मिल्न सक्ने, जस्तै परिस्थितिलाई पनि सकेसम्म अनुकूल तुल्याएर रउसे बनाउन सक्ने । आलु मानव ।

भरिभराउ माइक्रोमा कोच्चिन पुगेका हामी एकापसको अल्लारे गतिविधिलाई अनुसन्धान गर्नमा बढ्तै रमाउँदै गयौँ । महिला आरक्षण सीटको हकदार झैँ एउटी भद्र चेहराछेउ लस्किदै बस्यो सुको । सामान्यतया आफू सवार भइसकेपछि जहाजको भाँतीमा बेतोडले गाडी हुइँकिइरहोस् भन्ने आत्मकेन्द्रित लालचीहरू यो माइक्रोमा पनि देखिए । त्यस्तो स्वार्थीमा आफू पनि परियो । जसोतसो हुत्तिँदै र थच्चारिँदै माइक्रो बुढानीलकण्ठको टुङ्गोमा आहाल बस्यो । पोहोर साल शिवपुरी त्रैमासिक पत्रिकाका सम्पादक/प्रकाशक वियोगी बुढाथोकी र बन्धुहरूको बन्दोबस्तमा बुढानीलकण्ठछेउको डाँडामा आयोजित गुन्द्रुक, ढिंडो र मकै-भटमासको कार्यक्रममा यता आइएको थियो । त्यसै बेला आउँदा हेक्का राखेको 'देउवा चोक' मानसपटलमा ताजै भएकोले देउवा चोकमा उत्रौँ साथी हो भन्न फूर्ति नपलाउने कुरै भएन । नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाको निवास बगलमै भएकाले बुढानीलकण्ठको एउटा क्षेत्रको नाउँ नै देउवा चोक बन्न पुगेछ । ठूलो घरको ठूलै चाला भन्थे, हो रहेछ भन्ने लाग्यो । त्यो नामाकरण देउवा स्वयम्‌बाट भन्दा पनि बलेको आगो ताम्ने मनस्थितिका आसेपासे धूपौरे र हुल्लडवाजमा क्षणिक रमाउने जमातको मनोरञ्जनबाट निस्किएको खुट्याउन कन्नै पर्दैन । समग्रमा यो प्रवृत्ति व्यक्तिपूजाको खियादार मानसिकता हो ।

खाजा खाने बेला मिचेर खाजै नखाई उकालो नचढिने भो । प्याकिङ खाना नलग्ने मुडमा सबै देखियौँ । अलि ग्रामीण पाटोतिर उक्लिएर शान्त र स्वच्छ वातावरणमा एकोहोरो कवितालाई डाक्ने हाम्रो धुन थियो । पहिले कविता लेख्न एक जिस्ता कापी किनियो । कापी किन्न लाग्दा नमच्चिने पीङको सय झट्का उखान पो चरितार्थ भयो कि भन्ने झस्का पनि छँदै थियो । होटलको खोजीमा लाग्दै गर्दा कि त राम्रो होटलमा मान्छेको भीड हुन्छ कि त मान्छेको भीड हुने होटलमा ताजा-ताजा खानेकुरा पाइन्छ भन्ने अवधारणा पछ्याउँदै भीडभाडयुक्त एउटा टुङ्गोमा तिम्ल्याहा ज्यान बिसाइयो । आयो रोजीछानी आइटमः निम्की, जेरी, पुरी र तरकारी । किरिप्प निम्की जिब्ट्याउँदै यदु भावुक देखिए- 'मेरी कालीले पनि यस्तै निम्की बनाउँथी यार !' मुखसँगै उनको मन मिटि्ठएको अनुहारको झलकले विज्ञप्‍ति जारी गरिरहेको थियो । अहिले उनको काली साथमा छैन, बिहे गरेर अर्कैकी सहयात्री हुन गइसकी । र पनि यता भूतपूर्व प्रेमी यदुको मनमा रहेको मायाको सिमसार उस्तै लदबद छ । 'मेरी कालीलाई थाहा छ साथी हो, म कस्तै सिरियस भएर अस्पतालको इमर्जेन्सी रुममा पसारो परे पनि त्यस कालीको एक पूकारमा ऊ सम्मन् पुग्नेछु', निम्कीको भुजुराभुजुरीमा औँला खेलाउँदै यदु पिलपिलाए । अब यस्तो कालेलाई कसरी सान्त्वना दिने हामीले ? सुको र म मुखामुख गरेर पक्क घुरिरहृयौँ । कविता लेख्‍ने थातथलोमा पुग्नुअघि नै संवेदना छताछुल्ल हुन थालिसक्यो । कतै त्यहाँसम्म पुग्दा सकिइसक्ने त होइन तरल भावना ? होटलको टेबलमा टक्रिन आएको निम्कीको मिठासमा कालीको हातको सीप मिसिएको सम्झिएर खानमा चित्त बुझाउन उसलाई हौस्याउनु भन्दा अरु उपाय थिएन । यतिबेलै म भने प्रेमपरक गजलका आफ्नै पुराना पङ्क्तिहरूमा हराउन थालेँ-

फालिहाल्यौ मुटु तान्ने जाल सङ्गिनी
केके होला अब हाम्रो हाल सङ्गिनी ।

कुर्दाकुर्दै बेर होला सम्हालिनु आफैँ,
बित्ला कतै बैँशालु ती साल सङ्गिनी ।

जस्तो छु म यस्तो नै लौ किन भएछु,
छैन निको तिम्रो पनि चाल सङ्गिनी ।

………………………………………
…………………………………


तेर्सो लागेर आली नै आली गोरेटो बाटो केहीक्षण उकालिएपछि खुला धुलौटे सडक पाउसम्म पसारिन आइपुग्यो । अनि त पातलो बस्ती हुँदै सफा हावाको मिठासमा रम्दै कविता गाउँको खोजीमा हाम्रो यात्रा फैलिँदै गयो । तर मिठाससँगै खिन्नताको मात्रा पनि बराबर थियो । कङ्क्रिटको जेरीले चक्रपथभित्रको महानगरलाई उछिन्न गा.वि.स.का यस्ता हरिया फाँटहरू पनि अग्रसर भएको देख्दा यस्तो स्थितिमा शीत कहाँ पर्न पाउनु र पृथ्वीमा शीतल वातावरण हुनु भन्ने बोलीचालीको टुक्का एकदिन वास्तविक बन्नेमा अत्यास लाग्यो । जतासुकै घर बन्दैछन्, युगौँदेखि भासिएर बसेका बडेमानका ढुङ्गा र बुट्यानको प्राकृतिकतालाई चुनौती दिएर घरको जग खनिदैछ । धारा भने लगातार आइरहने रहेछ । यस्तै तीता-मीठा कुराको साक्षी बस्दैमा दिन खुइलिँदै गयो ।

रमिता मात्रै हुन थाल्यो, कविता त बेपत्ता सूचीमा राख्‍नुपर्ने नेपाली नागरिककै अर्को एउटा नाम हुने भयो भन्नेमा पर्नु पीर पर्‍यो । बस्ने उपयुक्त ठाउँ हामी कसैलाई जँच्दै जँचेन । घुम्ती र खेतका गह्रा पार गर्दै दूरी छिचोल्दै गइयो तर खोजेजस्तो ठाउँ फेला परे पो ! मच्चिने पीङ थच्चिने छाँट भयो । चार्जको हावा खुस्किएको मोबाइल एउटा घरमा खुसामद गरेर चार्ज गर्ने काम भयो, अमिलो-पिरो च्वाट्टचुट्ट पसलतिर किनेर खाइयो । तर जुन कामलाई उद्देश्य बनाएर हिँडिएको थियो, कविता त लेख्दै लेखिएन । हौवाबाजीको हिँडाइबाटै भरपूर मज्जा लुटियो । एकाहोरो सफारी मात्रै भए पनि रमाइलोमा भने कुनै कमी भएन ।

चुच्चे ढुङ्गो उही टुङ्गो भने झैँ सादा कापी खल्तीमा बोकेको बोक्यै लखतरान भएर ओरालो झरियो । एकछिन देउवा चोकबाट भित्र छिरेर चौरमा थकाइ मार्ने मेलोमा बसियो । काँधमा कपडा बोक्दै हिँड्दै गरेको घुमन्ते व्यापारीलाई यदुले जिल्याउने जुक्ति निकाल्यो । यदुकिशोर नामअनुसारकै किशोर देखा पर्‍यो यसपालि । बोलाएर सिरकको खोलदेखि महिलाविशेषको परिधान ओल्टाइपल्टाइ गर्दै मोलभाउ र गुणस्तर पारख गर्ने काम भयो । तीनैजना अविवाहित थियौँ, त्यसमध्ये पनि सुकोले मानस पत्‍नी तत्काल स्थापना गरेर कपडा हत्केलामा खेलाउँदै 'यो तिम्री भाउजूलाई लगिदिँदा कस्तो हुन्छ, मन पराउली त उसले ?' भनेर हामीलाई सोध्दै रौनकतापूर्वक टाइम पास गर्ने काइदा मिलाउन थाल्यो ।

यतिखेर कालीलाई सम्झिएर हो या बिर्सिएर, यदु फुलेल थियो । इत्रिने भावमा पलेँटी जमाएर बसेका युवाहरूमाझ सामान विक्री हुनेमा व्यापारीले कुनै छाँट नदेखे पनि ऊ हाम्रो कुराको कुराउनीमा रम्दै खिलखिलाउनमा मग्न देखियो । कुनै गुनासो बिना ओठमा फुरुङ्गपना बोकेरै ऊ बिदा भयो । हामी भने अझै आलस्यलाई काखी च्यापेर त्यसैको स्याहारसुसारमा असिनपसिन बने झैँ सुस्केरा काढ्नैमा व्यस्त । अहिले नै गाडीमा बहकिएर गयो भने घर चाँडै पुगिन्छ, पुगेर के गर्ने ? बरु हिँडेर जाऔँ भन्ने लहडबाजी चल्यो । हिँड्दै चक्रपथको गोलाकार चुम्ने ध्याउन्नमा जुत्ताभित्र पानीफोका फुलाउँदै तीन कविहरू थकाइले ज्यानभरि कोरेको कविता चाख्दै लस्किरहृयौँ । मनमा कुराका भ्यागुताहरू टरटराइरहे, उफ्रिरहे- त्यो ठाउँमा कविता छँदै थिएन त ? खासमा सायद हामीभित्रै कविता थिएन । घुम्न गएको ठाउँले हामीलाई पुनःताजगी देला, कवितै त कसरी खन्याउला र हामीमाथि ? कुनै पनि कुराले प्रभाव पार्नु-नपार्नु र महत्व राख्‍नु-नराख्‍नुमा बाहिरको वस्तुस्थितिले उत्तिको भूमिका कहाँ पो खेल्छ र ! सबैसबै हाम्रो आफूभित्रको सूक्ष्मदेखि स्थूल संवेदनाको शिथिलता र उद्‌गमताको खेल हो । केही समयअघि १० दिने बन्द शिविरमा बसेर बोध गरेको विपश्यना ध्यानविधिको गुहृय मनभरि केलाउँदै-खेलाउँदै झम्के साँझमा फुटपाथको एक-एक चोक्टामा पाइला थाम्दै चाल बढिरह्यो ।