भनिन्छ, आत्मप्रकाशनमै छ आत्मिक तृप्ति । लेखेर-बोलेर मनभित्रका उहापोह बाहिरी संसारलाई पढाउँदा-सुनाउँदा अपार खुसी मिल्छ रे ! सत्य हो एक हदसम्म । तर यो सत्य आंशिक मात्र हो कि भन्ने लाग्छ । आफूलाई अभिव्यक्त गराउने खुसीभन्दा पर अरूको उकुसमुकुसले पनि मुखरित हुने पुल बन्ला कि भनेझैं हामीलाई पर्खिरहेको हुन्छ । हामी कति त्यो उकुसमुकुसको नजिक पुगेर हावा खुस्काएर त्यसमा ताजगी भर्न सक्छौं भन्ने मूल प्रश्न हो । अरूको भाव उतारेर त्यसमा बोली भरिदिनुमा चाहिँ झन् दोब्बर खुसीको भेल उर्लिने रहेछ । भोकले आकुल-व्याकुल कोही मान्छेलाई खान्की दिएपछि त्यो व्यक्तिको मुहार छाएको तृप्ति देखेर तपाईं आफैं पनि मुस्काउनुभएको छैन र कुनै बेला ? अरूको खुसीमा भागीदारी भएर तपाईँले पनि सुखद अनुभूति गरेको हुनुपर्छ केयौं पटक । समाजसेवाको थालनी पनि यस्तै आनन्दको लाभ लिने ‘लालसा’का साथमा भएको हुनुपर्छ । यहाँनेर समाजसेवामा लालसा शब्द जोडिएकोमा आपत्ति पनि मान्न सकिएला, तर यो लालसा अरूलाई दिएर आफू टन्न भएको प्रफुल्ल भाव सञ्चय गर्ने चाह मात्र हो । यो कुनै भ्रष्टाचार होइन ।
भ्रष्टाचार हो भने त्यस्तो खुसीको एउटा लुटेरा म पनि हो । सन्दर्भ फेसबुक सञ्जालमा रहेको मेरो फोटो एल्बम Creator’s Corner को हो । [हेर्न आफ्नो फेसबुक एकाउन्टमा लग इन गरिसकेपछि यहाँ क्लिक गर्नुहोला ।]
लेखक, कलाकार, गायक, रङ्गकर्मी आदि सर्जकहरूको फोटो समेट्ने उद्देश्यका साथ एल्बम बनाएकाले आरम्भिक दिनमा ‘सर्जक डबली’को रूपमा समेत न्वारान गरेको थिएँ । फलस्वरूप कवि, कलाकार, चित्रकार, सङ्गीतकर्मीहरूको मैले भेटेका र फोटो खिच्न मेसो मिलेजति सबैको फोटो एल्बममा सजाउँदै गएँ । (अब यो सजावटको सामग्रीभन्दा पनि अत्यावश्यक जस्तो बनिसक्यो मेरो लागि, र सम्बन्धित सर्जकहरूको लागि परिचयको थप माध्यम पनि धेरथोर बनेको हुँदो हो । फेसबुकमा छरिएका पाठक, स्रोता र दर्शकको लागि पनि आफ्ना प्रिय पात्रको मुहार चित्र चिनजान र निकटताको सानोतिनो बहाना बनिदेला ।
सर्जकहरूको फोटो खिचेर दुनियाँसामु बाँडेको कथा-उपकथाको यो बयान मेरो अहङ्कार भने होइन है ! यति गरेँ, यसले गर्दा यस्तो रौनक छायो भनेर मैले धेरै बित्ता उफ्रिनुको अर्थ छैन । मान्छेले कति कुरा आविष्कार गरेर, कति समय साधना गरेर त उचाइ नमिलिरहेको होला । तिनको अगाडि त चेसबोर्डको पिउसो मात्र हुँ म । घमण्डको ठाउँ बरू गर्वले लिएको छ, अनि माथि भने झैं अरूलाई तस्विरमार्फत व्यक्त गर्न पाउनुको आनन्द र तृप्ति भने मनभरि टम्म छ । कुनै लोभ र कुत्सित स्वार्थले फोटो सँगाल्न थालेको भए कामसामको दुनो सोझ्याएर क्यामेरा एक कुनामा मिल्किसकेको हुनेथ्यो होला । नेपाली साहित्य, कला, रङ्गमञ्चका पौरखी हात र प्रतिभाशाली खोपडीलाई खुला संसारसँग साक्षात्कार गराउनु नै एकमात्र स्वार्थ हो मेरो । जसले गर्दा आम पाठक, भावकसँग तिनको दूरी कम होस्, चिनारी झ्याम्मियोस् र कला-साहित्यको फाँटमा डुबुल्की मार्न प्रेरित पनि गरोस् । तस्विरको बहानामा सर्जक र सिर्जनाप्रतिको श्रद्धा, प्रेम र सद्भावभन्दा अरू केही प्रकट गरिरहेको छुइनँ ।
एउटा तस्विर (चाहे मुहारको वा अरू) यसो हेर्दा तस्विर जस्तो लागे पनि त्यसको सन्देश व्यापक हुन्छ । भनाइ नै छ- तस्विर आफैं बोल्छ । मुहारचित्रले भावमा सीमाहीन भएर काम गर्छ, व्यक्तिको हरेक मनोभाव भनिरहेको हुन्छ, चाहे सुखद, चाहे दु:खद । हेरूँ, कति सम्भव हुन्छ- यसरी फोटो खिच्ने र संग्रहित गर्ने कामलाई निरन्तरता दिने तत्कालको सोच छ । पछि त कसले पो देखेको छ र ? जुकरवर्ग दाजुले कुनै दिन कुन सनक चढेर फेसबुकको ढोका ढ्याम्मै बन्द गरे भने मेरो के लाग्छ ? :-) तर फेसबुकको प्रविधि-पखेटाले चौतारी बनेर साथ नदिए पनि वा मैले कुनै दिन फेसबुक छाडे पनि व्यक्तिगत रूपमा मसँग रहेका तस्विर कुनै न कुनै तवरबाट सबैको लागि उपयोगी तुल्याउनेछु, सूचना-प्रविधिसँग जोडिएर वा त्यसबाहेक पनि ।
मे २५, २००९ मा सुरु गरेको रहेछु सर्जक फोटो ग्यालरी । तर यति पछिसम्म निरन्तर फोटो राख्दै जाऊँला भन्ने सोचेको थिइनँ । फोटोग्राफीको सोख त क्यामेरा किन्ने नाममा खल्तीमा हावा मात्र भरिएको हुने सुरुको बेलादेखि नै थियो (अहिले पनि कति नै चुरीफुरी गर्नु, २० हजार रुपैयाँको कम्प्याक्ट डिजिटल क्यामेरा हल्लाउँदै फन्को मारिरहेको हुन्छु :-) । न लेन्स फेर्ने टन्टा, न फोकस गर्ने हैरानी ! बस क्यामेरा सोझ्यायो र खुत्रुक्क मार्यो चरी ! ठ्याक्कै दुई वर्ष पुगेछ यो फोटो-यात्राको । यसरी सर्जकहरूको आसपास चक्कर काट्दा दुई वर्षमा १ सय ४० को हाराहारीमा फोटो जम्मा हुनु साह्रै कम्ती हो । तर त्यो मिसन जर्नालिजम भने झैं ‘मिसन फोटो’ थिएन । साहित्यिक कार्यक्रममा पुग्दा, कुनै जमघटमा रमाउन जाँदा, सडकमा चहार्दै गर्दा, बजारमा रमाइलो गर्दै गर्दा समेत ‘लौ, खिचूँ कि क्या हो’ भनेर बिनायोजना खिचिएका हुन् यी फोटोहरू । कति सर्जकलाई त यसरी आफ्नो फोटो खिचिएको थाहै नहुन सक्छ, अझ त्यो फोटो सामाजिक सञ्जालको तीव्र प्रवाह फेसबुकमा राखिएको त कसरी जानकारी हुनु ? Creator’s Corner का अधिकांश फोटो थाहा दिएर, पोज मिलाएर खिचिएको होइन । जे-जस्तो अवस्था र हाउभाउमा सर्जक-साधक भेटिए, क्यामेरामा तानिए । त्यसरी प्राकृतिक रूपमा खिचेको फोटो राम्रो पनि आउने रहेछ, खिचेका फोटोहरूमा तुलना गर्दा पाएँ । कुन सुरमा, कुन महक र तनावमा कतिपय सर्जक हुँदा हुन्, मैले त्यसैलाई समातें । अब त्यो भाव तस्विर नमेटुन्जेल मेटिनेवाला छैन पनि ।
यो एल्बमका कतिपय फोटो राष्ट्रिय स्तरका अखबारले प्रयोग गरेका छन्, कतिपय इन्टरनेट पत्रिकाले पनि सर्जकको रचनासँगै सजाएर राखेका छन्, कतिपय सर्जकको आफ्नै रोजाइमा पनि परेको छ । भोलि को कहाँ कुन कुनामा पुग्छ, सबैजना सधैं संसारमा रहने होइनौं पनि । यसैले नेपाली साहित्य र कलाको संसारमा यस्ता फोटो संकलन कार्यको महत्ता सधैं छ । परिचय कोषको आवश्यकता रहे झैं । कोही मान्छे पहिलो पटक भेट्दा ऊप्रतिको हाम्रो अनुमान-धारणा बन्ने, उसको परिचय मिल्ने र ऊ हाम्रो स्मरणमा बस्ने सबै उसको अनुहारबाटै हो ।
नेपालका बहुसङ्ख्यक साहित्यिकहरूमा प्रविधिसँग उत्तिको पहुँच र घुलमिल छैन । थोरै संख्याका मात्र अभ्यस्त छन् प्रविधिमा । गाउँमा टेलिफोन र इन्टरनेट सुविधा पुगे पनि पत्रपत्रिकामा रचना पठाउनुपर्यो भने विविध सीमितताका कारण कतिपय लेखकले हुलाकको सहारा लिनु स्वाभाविक मान्नुपर्छ । तर, सहरमा समेत सूचना-प्रविधिप्रतिको चासोमा कमी र प्राथमिकता निर्धारणमा प्रविधि नपर्दा उत्तरआधुनिक साहित्य र कलाको कुरा गर्ने साहित्य र कला मर्मज्ञ पनि पत्रिकामा लेख-रचना पुर्याउनु छ भने लुखुरलुखुर पत्रिका-अड्डामै पुग्ने गरेको देखेको छु । तर यो क्रममा केही सुधार हुँदैछ । बिस्तारै उनीहरू प्रविधिको पङ्खसँग लय मिलाउन आउँदैछन् । कतिपय साहित्यिकको सूचना-प्रविधिको विश्वव्यापी जालो इन्टरनेटमा पहिलो प्रवेश नै सामाजिक सञ्जाल फेसबुकबाट भएको पाइन्छ । इन्टरनेटको पर्याय बनेको छ फेसबुक । कम्प्युटर अन भयो, इन्टरनेट छ भने सीधै फेसबुकसम्म एकद्वार नीति अवलम्बन भइहाल्छ ! यसैले यो सर्वव्यापी फेसबुकको चौतारीलाई नै रोजें सर्जक फोटो सजाउन । आफैं पनि जब सर्जक एल्बममा आँखा डुलाउँछु, आफू कति मात्रामा देखिएँ र कति चर्चामा परेर लेखिएँ भन्ने कुराले उस्तो अर्थ राख्दो रहेनछ भन्ने चेत खुल्दै जान्छ मेरो । अरूलाई थप अरूहरूसँग आँखा मिलाइदिन पाउँदा मेरा आँखाहरूमा चमक आउनु …. यही हो परमानन्द !
Definitely it is an innovative idea and wonderful too. It is great to see the pictures of people who are involved in Arts as a whole. It has been a window of seeing the people whose writings we read, whose songs we listen and so on. Keep going. All the best :)
ReplyDeleteनाम मात्र सुनिदै आएका सयौं सर्जकहरुलाई एउटै सुत्रमा उनेर सुन्दर माला तयार पार्नु हुने धाइबा जी मैले खर्चने दुई चार शब्दले तपाईंको यो प्रसंसनीय कामको भर्पाइ हुन सक्ने छैन । शिरनत गरेर सम्मान गर्न चाहन्छु तपाईंलाई - सलाम !
ReplyDeleteल धाइबा मेरो पनि एउटा फोटो खिच्न पर्यो र फस-बुकमा त्यास्स पार्दिन पर्यो । क्याप्सनमा लेख्न पर्यो " यो नया अनुहार - यसले चाहि अर्थ न बर्थ सँग ब्लगको झटारो हान्न थालेको छ।"
ReplyDelete