June 22, 2014

‘होटलमा पढाइ’


घु
मफिरमा कतै निस्किँदा ब्याकप्याकमा पुस्तक सिउरेर हिंड्ने ‘रोग’ केही वर्षदेखि अटुट रुपले लागिरहेछ । यात्राको क्रममा रमाइलोले नै सबै डोज प्राप्त भएर धेरैजसो त नपढिएला, तर पुस्तक साथबाट छुट्दैन । पढूँला भनेर एक-दुईवटा च्यापिहाल्नु बानी भयो सायद।

त्यस्तो घुमघामको बेला एकोहोरो रमाइलोलाई क्रमभंग गर्दै कहिलेकाहीँ पढिन्छ पनि । दिउँसोभरि बरालिएर राति सुत्नुअघि होटलको बेडमा ढल्किंदै पुस्तक पल्टाउँदा पन्ना-पन्नाले पङ्खा हम्किए जस्तो आनन्द मिल्छ । थकानलाई इरेजर घोटेर मेटाउँदै गए जस्तो!

आनन्द प्राप्तिमा ठाउँ र वातावरणले पनि ठूलो भूमिका खेल्छ । काठमाडौंको कोलाहल र धुवाँधुलो छल्न अलिक छेउछाउ र डाँडातिरको नगरकोट, चिसापानी, ककनी, फर्पिङ पुग्दा अलग्गै मिठास पाइन्छ । ती ठाउँमा पुगेर बन्द कोठामै बसे पनि ‘म फलानो ठाउँमा छु है’ भन्ने लाग्नु नै काफी हुन्छ ताजगी अनुभूति गर्न । जे छ दुनियाँमा, आफूलाई लाग्नुमै छ । त्यही अनुभूति गराइसँगै कोठामा पल्टिएर पुस्तक पढ्दा पनि बिछट्दै स्वाद भरिन्छ।

तर यहाँनेर म त्यसरी यात्राका क्रममा मनमौजी रुपले कुनै क्याफे वा होटलमा बसेर आख्यान/गैरआख्यानबाट संसार चियाउने चर्चातर्फ केन्द्रित छुइनँ । कुरा हो औपचारिक शिक्षाको । कुरा हो अंग्रेजी माध्यममा पढाइने निजी स्कुलहरुको । जुन आजकाल पढ्ने ठाउँ कम र होटल बढी लाग्ने गर्छ । विद्यार्थीलाई दिवा खाना र खाजा खुवाउने त्यस्ता स्कुलहरुले स्कुल चलाएका हुन् कि होटल भन्नेमा नै अन्योल हुन्छ । दुनियाँ नै व्यावसायिक  रफ्तारमा दगुरिरहेको बेला हामीकहाँ शिक्षा पनि व्यवसाय भइसक्यो । जहाँ ‘क्लालिटी एजुकेशन’ को उच्चारण गरिन्छ, अभिभावकको खल्तीबाट त्यहाँ पैसाको खोलो बग्यो भन्ने सोचे हुन्छ । अचेल पैसा कमाउन चाहनेहरु नगदे बालीको सल्लाह लिन जिल्ला कृषि विकास कार्यालय धाउँदैनन्, स्कुल खोल्ने ग्रुप बनाउन चिया पसलमा जुट्छन्।

बोर्डिङ स्कुलमा (बोर्डर्सको सुविधा नभए पनि अंग्रेजीमा पढाइने स्कुललाई यही नामले चिनिने भइसक्यो ।) पढाउने कुरा आजको समयमा अभिभावकहरुको लागि प्रतिष्ठाको विषय भइसक्यो । ती स्कुलहरुमा पनि अलिक नाम चलेको र महँगो स्कुल अधिकांशको रोजाइमा पर्छ । नाम चलेका स्कुल दामी हुन्छन् भन्ने सोचाइ होला । नाम चल्दा त्यही ख्यातिको मूल्य जोड्दै दामी त हुने नै भो, अर्थात् दाम बढी चढाउनुपर्ने स्कुल ! दाम नहुनेका सन्तान मात्रै केही उपाय नलागेर सरकारी स्कुल पढ्छन् भन्ने एकखाले सामाजिक मान्यता छ, जुन स्कुल झट्ट हेर्दा पनि भौतिक संरचनाका हिसाबले निकै गएगुज्रेका देखिन्छन् । राजेश हमाल र निखिल उप्रेतीका ‘एक्सन’ फिल्म हेर्न निम्न वर्गका दर्शक हलमा ओइरिए जस्तै ती स्कुलमा गरिब-गुरुबाका छोराछोरी सिंगान बगाउँदै र कम्मरबाट हरबखत चिप्लिरहने फ्रक/हाफपेन्ट तान्दै पसिरहेका हुन्छन् । सरकारले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सामुदायिक विद्यालयमा दिवा खाजा र बेलाबेला विशेष भर्ना अभियान चलाए पनि सरकारी स्कुलका विद्यार्थी आकर्षक ठाँटका देखिने निजी स्कुलहरुतिर ओइरिएका छन् । खुला दिसामुक्त क्षेत्र घोषणापछि अब पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लहर चलिरहँदा कतिपय सरकारी स्कुलहरु विद्यार्थी नपाएर ‘मर्ज’ हुने अवस्थामा पुगेका छन्।

सुकिलोमुकिलो कसलाई मन पर्दैन र ? झट्ट हेर्दा चिटिक्क देखिने निजी स्कुलमा बालबच्चा पढाउने ध्याउन्नमा अभिभावकहरु आफूले तिर्नुपर्ने र तिर्दै आएको ढाड सेक्ने शुल्क चटक्कै भुल्छन् । राम्रो ठाउँमा पढाउँदा आफ्नो बच्चाको रहनसहन र व्यक्तित्वमा राम्रो प्रभाव पर्छ  भन्ने अपेक्षा गर्नु अपराध होइन । अंग्रेजी भाषाको विश्वव्यापी दबदबा रहिरहँदा आफ्ना बच्चाले खरर अंग्रेजी बोलोस् भनेर अभिभावकले चिताउनु पनि पाप होइन । नेपाली माध्यमबाट सरकारी स्कुलमा पढेर आएका अभिभावकहरु झन् सन्तानले त्यसरी अंग्रेजी शब्द फुटाउँदा सन्तानमार्फत आफ्नो अपूर्णता / अक्षमता मेटिएको महसुस गरेर रमाउँदा हुन् । तर, हाम्रा टोलटोलमा खुलेका अंग्रेजी माध्यमका स्कुलहरुले त्यो मर्म र संवेदनाअनुसार अति व्यावसायिकतालाई छाडेर शिक्षा दिएका छन् त ? ‘विद्या धनम् सर्वप्रधानम्’ भनाइको अपव्याख्या गर्दै ती स्कुलहरुले कतै विद्या दिने कर्मलाई धन कमाउने माध्यम मात्र त बनाइरहेका छैनन् ? मन्टेश्वरीहरु खालि ‘मनीश्वेरी’ हरु त बनिरहेका छैनन्?

मेरा दुई दिदीका गरी एक भाञ्जी र तीन जना भाञ्जा छन् । काठमाडौंको नाम चलेको निजी स्कुलहरुमा पढ्छन् । नर्सरीदेखि कक्षा ६ सम्म । शुल्क मासिक ६ हजारदेखि ८ हजार रुपैयाँसम्म । त्यस अन्तर्गत दुई हजारदेखि २५ सयसम्म खाना-खाजाको शुल्क ।  सरदर मासिक आठ हजार रुपैयाँ । युलेन्स स्कूल मार्काका अझ दामी स्कुलको जति शुल्क होइन यो । तर, मेरो हेराइमा बच्चाको उमेर र कक्षाको दाँजोमा महँगो शुल्क हो।

अहिले मेरा छोराछोरी छन्‌ भनेर मान्ने हो भने मैले  थाप्दै आएको मासिक तलबले उनीहरुलाई निजी स्कुलमा पढाउने कुरा सोच्न पनि सक्दिनँ । यसका लागि मैले कमाइको वैकल्पिक बाटो अपनाउनुपर्छ, अथवा खाँदै आएको जागिरमा बढुवा र तलबवृद्धिको लागि चाकडी-गुलामीमा हातका रौं खुइल्याउनुपर्छ । लालनपालन र पठनपाठन गराउने हैसियत बनाउने नाममा मैले बच्चा जन्माउने समय नै सार्दै जानुपर्ने पनि हुन सक्छ ! लाग्न सक्ला - यो निकै विसंगत सोच हो, तर सत्य यही हो । मेरो अवस्था/दुरावस्था ! सबैको मेरो जस्तै गति/दुर्गति नहोला पनि । सबैले आफ्ना सन्तान पढाइरहेकै त छन् । तर, कसरी ? यो प्रश्नले ती बाबुआमाको कलेजीलाई कति चिरा पार्दो हो, तिनैलाई थाहा होला । मेरो समय आएपछि म पनि ‘घाँटी हेरी हाड निल्नु’ उखानको मसिनो डोरीमा सर्कसको मान्छे हिंडे जस्तै  जेनेतेन पढाउँला छोराछोरीलाई । पर्छ नै । मेरो धर्म त्यसबेला कुनै मठमा गएर ढुंगाको पाउमा माथा टेकाउनुभन्दा जेनतेन गुजारा चलाउनु नै हुनेछ।

मेरी सानी दिदीले छोराछोरीको बिदाको दिन घरमै अलिक फरक स्वादको खाजा बनाएर खुवाउँछे । प्याकेटको र बजारको खानेकुरा सोझै किनेर खुवाउनुभन्दा बजारको जस्तै स्वाद खाऊन् भनेर पानीपुरी, आलुचप, चाउमिन, म:म: जस्ता कुनै परिकार  बनाएर दिन्छे । त्यस्तो बेला भाञ्जी भन्छिन् – ‘स्कुलमा त खाजा मीठै हुन्न ! चाउमिन उसिनेको जस्तो मात्रै हुन्छ।’

मीठो होस् पनि कसरी ? जन्तीको लर्को जस्तै दुई-अढाई सय विद्यार्थीलाई एकैचोटि पकाएको खाजा न राम्री भुटिन्छ, न त पाक्छ नै । भाञ्जा-भाञ्जी बिदाको दिन स्वाद मानेर ‘घरेलु खाजा’ खान्छन् । स्कुल चलेको दिन स्कुलमै खाना-खाजा।

खाना-खाजाको ‘होटल’ चलाएका स्कुलहरुले केटाकेटीलाई घरबाटै खाना खुवाएर पठाउने भन्यो भने मान्दैनन् । टिफिनको समयमा घरबाटै खाजा ल्याइदिने वा विद्यार्थीको साथमै पठाइदिने भन्यो भने सहँदैनन् । भर्ना गर्ने बेलाकै अकाट्य नियम हुन्छ -  खाना-खाजा शुल्कसहित मासिक शुल्क यति ! दुनियाँका छोराछोरीले त्यसैगरी स्कुलमै खाइरहँदा तपाईंलाई मात्रै आफैंले खाना-खाजा खुवाउने सुविधा ल मानौं स्कुलले दिएछ रे, तर त्यतिबेला तपाईं आफूलाई ती ‘दुनियाँ’सामु खाना-खाजाको पैसा बचाउन आफैंले खुवाएको भनेर चिनिन र लोभी देखिन चाहनु नै हुन्न । कतिपय परिस्थिति त्यस्तै हुन्छ, तपाईं प्रतिष्ठा र इज्जतका लागि डुब्दो नाउमा प्वाल पर्दै जानुहुन्छ

जे होस्, तपाईंले सन्तोष मान्नुपरेको छ – ‘होटल’मै भए पनि मेरा छोरा-छोरी पढ्न त पढिरहेकै छन् नि !

No comments:

Post a Comment