Subscribe:

Ads 468x60px

29 August 2016

'वारि जमुना'को बिदाइ

शुक्रबार साँझ अन्तिम सास छाडेका लोकगायक खेमराज गुरुङ आइतबार पशुपति आर्यघाटमा खरानी भएर उडे । अब जनमानसमा उनका गीतकाKhemraj Gurung 1 तरंग बाँकी छन् । जुन हावाकै काँध चढेर एक कान दुई कान मैदान उडिरहनेछन् ।

खेमराजको पर्याय हो ‘वारि जमुना पारि जमुना’ गीत । यही पूर्वेली भाकाबाट उनले डेढ दशकअघि देश-विदेश नै गुञ्जायमान पारेका थिए ।

चार वर्षअघि उनीसँग विशेष रुपमा भेट्ने चाँजो मिलेको थियो ।

भेटेर बात मार्दै उनीबारे केही लेख्न मन थियो । अष्ट्रेलियाबाट हरेक पन्ध्र दिनमा छापिने पत्रिकाको लागि प्रोफाइल लेख्नु थियो । त्यो पत्रिका निकाल्न हामी केही साथीहरु काठमाडौंमा सामग्री संकलन, सम्पादन र लेआउट सेटिङको काम गर्थ्यौं ।

खेमराजसँग भेट गराउन कवि तथा फोटोग्राफर मित्र आरके अदिप्त गिरीले पुलको काम गर्ने भए ।

०६९ साल भदौ १७ गते बिहानपख हामी बागबजार पुग्यौं ।

त्यहाँ एउटा चल्तीको थकाली भान्साघर छ, त्रिदेवी । बागबजारलाई ‘जक्सन’ बनाएर रमाउने एकथरी कवि, लेखक, संगीतकर्मीहरूको चिया-चुरोट अड्डा भन्दा पनि हुन्छ त्यसलाई ।

खेमराज पनि कवि, लेखकहरूको हुलमा गफिएर आफ्नो सिर्जनशीलता जगाइराख्न बेलाबेला त्यहाँ पुगिरहँदा रहेछन् । त्यही भएर आरकेले पनि भेटघाट र गफगाफको मेसो त्यहीँ जुराएका थिए ।




‘वारि जमुना’, 'बेहाल भयो जिन्दगी यो', 'आलुतामाले' जस्ता उनका धेरै गीत सुनेर मज्जैले झुमे पनि त्यसवेला सम्म भेट्ने संयोग भने जुरेको थिएन । पत्रपत्रिकाहुँदी फोटो हेरेर टाढाटाढै श्रोताको रुपमा साइनो गाँसिएको थियो ।

०००

होटलमा भात खाने टेबल-कुर्सीहरु भएको खुला हल नजिकै एक छेउ घेरेर कोठा जस्तै बनाइएको ठाउँ थियो । वीरेन्द्र राई, चन्द्र रानोहँछा, भीषण मुकारुङ लगायत कवि, गीतकार र गायकहरु आउँदा रोजाइमा पर्ने कुनो त्यही थियो ।

खेमराज त्यहीँ एक्लै बसिरहेका रहेछन् ।

रेस्लरकै झल्को दिने भव्य ज्यान । त्यत्रो काइदाको ज्यानको अनुपातमा उनको बोली भने कतै अल्झिँदै आए जस्तो त्यति नखुलेको सुनिन्थ्यो ।

बाफ छुट्दै गरेको कफीको सुरुपसँगै सन्चो-बिसन्चो सोधेर गफको मेलोमा पसियो ।

संखुवासभाको खाँदबारी नगरपालिका ३ का उनले बाल्यकालकै कुराबाट आफ्नो चिनारी फुकाए । कलिलो बेलामै संगीतको महक भरिएको रहेछ उनीमा ।

‘कक्षा ४ मा अंग्रेजी स्कूलमा पढ्दा दार्जिलिङबाट आएका सरहरुले गीत-संगीत सिकाउनुहुन्थ्यो । अरुले भन्दा छिटो टिपेर अरुलाई पनि सिकाउँथेँ म,’ उनले उत्साही भएर सुनाए ।

बाँसुरी, हारमोनियम र मादल बजाउन उतिबेलै जानिसकेका थिए । ती बाजा बजाउने उनको आफ्नै गाउँले पारा थियो ।

तर, उनलाई पछि गायक बन्छु भन्ने मनमा कतै थिएन । लाहुरे परिवारमा जन्मिएका उनको दिमागमा त्यस्तो गीतांगे भएर हिँड्ने कुरा चानचुने थियो सायद । बरु कक्षा पाँचदेखि सरकारी स्कूलमा पढ्न थालेपछि कविता लेख्नतिर लागेका थिए । ३८ वर्षे (चार वर्षअघि ) गायकले सम्झिए – ‘टुक्राटाक्री कविता लेख्न थालेर स्कूलमा हुने कविता गोष्ठीहरूमा पनि भाग लिन्थेँ । तर, कतै पुरस्कार जितिनँ ।’

कुराकानीको क्रममा आज्ञाकारी विद्यार्थी जस्तै खुरुखुरु विगत र भावनाका कुरा सुनाउँदै गएका थिए लोकप्रिय गायकले । लोकगीतमा गाउँघरका कुरा टपक्क टिपेर ल्याउने उनको व्यक्तित्व पनि गाउँले मन जस्तै सरल लागिरहेको थियो ।

०००

कवि भएर हिँडेका तिनै दिनहरूले उनलाई संगीत कर्ममा राम्रो भरथेग दिएको थियो । उनी आज गीत मात्रै गाउँथेनन्, लेख्थे पनि । जनजीवनका हाँसो र रोदनका कुरा गीति भाकामार्फत बाहिर ल्याउन पाउँदा रमाउँथे ।

ग्रामीण भेगका लोकगीत संकलन गरेर उनले त्यसलाई पुनर्लेखन र अपूरोमा थपथाप पनि गर्थे । जस्तो कि, संखुवासभा र भोजपुर जिल्लातिर प्रचलित ढाक्रेसम्बन्धी गीतको दुई पंक्तिलाई लिएर उनले मार्मिक गीत बनाएको उदाहरण दिए ।

सुरुमा उनले फेला पारेका दुई पंक्ति –

फूल फुल्यो बुकी
संसारमा छैन है म जस्तो दुःखी

त्यसमा उनी आफैंले हरफहरू थपे –

भर छैन मनको
जिन्दगीभर दुःखै भो धनको

भारी छ माथि
अप्ठेरो बाटो तोक्लाङ छ साथी
पीर कत्रो-कत्रो
आँसुको नदी सागरजत्रो

छोरछोरी जहान
ढाकरै बोकी जाने हो कि परान
कठै नि बरै
ढाक्रेको जुनी भेल-पैरो सधैं ।

जीवनमा त्यति धेरै दुःखसँग दोस्ती नभए पनि उनी लोकगीतमा लोकजीवनका व्यथा र रोदन अटाउन खोज्थे ।

विकट भेगमा भारी बोकेर जीवन गुजारा गर्ने भरिया र ढाक्रेहरूको पीडा देखेर आफू धेरै पटक रोएको उनले सुनाए । त्यही पीडाले चिमोटेपछि उनले २०६४ सालमा ‘ढाक्रे’ नामको गीति एल्बम र संकलित गीत र मौलिक रचना भएको सोही नामको लोकगीतिसंग्रह किताब पनि निकालेका थिए ।

‘दुर्गम भेगमा गरिबी र अभावमा पिल्सिएका मान्छेहरूको दुःख र वेदना बाहिर आउनै सकेको छैन’, खेमले लोककै गायक जसरी चिन्तित भावमा बताएका थिए, ‘ती मान्छेहरुको जीवनमा केही परिवर्तन होस् भनेर उनीहरुको दयनीय अवस्थालाई गीत मार्फत सबैसामु पुर्‍याउनेे सोच छ ।’

०००

??

गायक खेमराज गुरुङबारे धेरै कमलाई थाहा होला, ग्रामीण थेगो गाँस्दै दुखिया मान्छेको विरह गाउने उनले कुनै समय सक्रिय राजनीति गरेका थिए । त्यस क्रममा तीन वर्ष जेल समेत परेका थिए ।

२०४६ सालको आन्दोलनबाट बहुदलीय व्यवस्था आएपछि जनउभार देखियो । त्यसलाई सम्बोधन गर्न राजनीतिक दलको कार्यक्रममा जनवादी गीत गाएर उनको गायनयात्रा सुरु भएको थियो । सात कक्षामा पढ्दै गर्दा नै राजनीतिक चेतनाको सर्को पसेको थियो मगजमा । जनवादी नाटकहरूमा पनि अभिनय गरे उनले ।

नेकपा एमालेमार्फत पार्टी राजनीतिमा खुलेर लागेका उनी जनआन्दोलनपछि जेल परेका थिए । स्थानीय निकायको निर्वाचनताका झडप हुँदा एक जनाको मृत्यु भएपछि अर्को पक्षले एमाले पक्षधरलाई आरोप लगाउँदा संखुवासभाका एमाले सांसद, सभापति सबैलाई थुनिएको थियो ।

‘ऋणपान लिने क्रममा साहुहरूबाट पीडित परिवार थियो हाम्रो’, राजनीतिमा हेलिनुको कारण खुलाए, ‘अन्याय, अत्याचार र शोषण नसहने बालापनदेखिकै स्वभाव थियो ।’

जेलमा हुँदा पनि उनको सिर्जनशीलता र अध्ययप्रतिको भोक रोकिएनछ । बन्दी अवस्थामै उनले एसएलसी पास गरेका थिए ।

विभिन्न पुस्तक र पत्रपत्रिका पढ्दै जाँदा जेलमै उनले पुस्तकालय खोले । जेलभित्रै नौलो काम समेत सुरु गरे, बन्दी विकास प्राथमिक विद्यालय सञ्चालनमा ल्याएर राजनीतिक आस्थासहितका सबै कैदी-बन्दीलाई प्रौढ शिक्षा पढाउन थाले ।

उनले अशिक्षित बन्दीहरूलाई पढाएर औंठाछापबाट मुक्त गरेका थिए ।

१७ वर्षे पट्ठो उमेरमा उनले पढाएर शिक्षा कार्यालयबाट मासिक चार सय रुपैयाँ तलब पनि खान थाले ।

जेलमा स्कुल चलाएर कैदी-बन्दीलाई शिक्षित गराउने नयाँ काम थालेको भनेर उनी त्यसबेला चर्चामा समेत आएका थिए । जेल जीवनमा उनले कुरा महसुस गरेछन्, ‘गरिब मान्छे मात्रै जेल पर्ने, धनी मान्छे चाहिँ अनेक प्रपञ्च गरेर छुटिहाल्ने !’

०००

खेमराज जेलमा हुँदा उमेर नपुगेको आस्थाको बन्दी भएकाले उनलाई भेट्न धेरै नेता खाँदबारीस्थित जेलमा जाने गर्थे । त्यसै क्रममा मदन भण्डारी पनि संखुवासभा पुग्दा उनलाई भेट्न गएका थिए । नेता भण्डारी उनलाई सामान्य मान्छेभन्दा बेग्लै लाग्यो रे । उनले आफ्नो कवि अवतार ब्युँताउँदै भनेका थिए – ‘कमरेड मदनको व्यक्तित्व मैले सामान्यभन्दा निकै अलग र भव्य देखेँ, ओजपूर्ण !

मदनको निधन भएपछि उनले ‘यो अन्तिम युद्ध हो आ-आफ्नै ठाउँबाट उठ’ बोलको गीत जेलभित्रै रेकर्ड गरेर बाहिर पठाएका थिए । जनमानसमा निकै लोकप्रिय भएछ । गीत बज्दा कार्यक्रममा भीडलाई थाम्नै गाह्रो परेछ !

मुलुकी ऐनले बन्दीहरूलाई अधिकार र सुविधाहरूको व्यवस्था गरे पनि जेल प्रशासनका अधिकारीहरूले त्यसको भोग गर्न दिँदैनथे ।

खेलसामग्री र औषधोपचारका लागि आएको रकम कहिले अनियमितता हुन्थ्यो त कहिले खर्च नभई फ्रिज भएर र्फकन्थ्यो । कैदीहरूलाई सिटामोल लिइस् भनेर औंठाछाप गर्न लगाई सुविधा रकमको अनियमितता समेत हुन्थ्यो ।

राजनीतिबाट देश, समाज र यसको प्रवृत्ति बुझ्न सघाए पनि त्यसले लामो समय उनको मन बाँध्न सकेन ।

सँगै जेल परेकाहरु बाहिर निस्किएपछि अवसरवादी बनेको देख्दा उनलाई चित्त बुझेन । अर्कातिर, क्रान्तिकारिताको नाममा जीवनको स्वाभाविक पाटो प्रेम र हार्दिकताका कुरामा बन्देज जस्तै लगाइँदा उनलाई उकुसमुकुस भएछ ।

उनले त्यसबेलाको प्रचलन सम्झिँदै भनेका थिए – ‘त्यतिबेला प्रेम गर्नु त टाढाको कुरा, कम्युनिस्टले प्रेमको कुरा गर्नु र प्रणयका गीत गाउनु अपराध गर्नुसरह हो भनेर सिकाइएको थियो ।’

खुला र उदारवादी सोच राख्ने कम्युनिस्ट हुनुपर्छ भनेर उनले पार्टीमा आवाज उठाए पनि सोचे जस्तो प्रतिक्रिया मिलेन ।

त्यसपछि सक्रिय राजनीति छाडेर स्वतन्त्र रूपमा सांगीतिक कर्ममा लाग्ने निधो गरे । पार्टीको भोटरमा मात्र सीमित भए ।

०००

नेपाली संगीतबजारको अवस्था नबुझी अनुभवबिना नै उनले २०५४ सालमा पहिलो गीति एल्बम ‘जीवन’ बजारमा ल्याएका थिए । तर, त्यो चलेन ।

अनुभवले परेर मात्र नहुने रहेछ, पढ्नु पनि पर्ने रहेछ भन्ने लागेर संगीतकार प्रकाश गुरुङसँग शास्त्रीय संगीत र रत्नराज्यमा तीन वर्ष संगीत सिके ।

‘तर यो खेम बारम्बार फेल भो जिन्दगीमा’, संगीतको पढाइ सप्रिए पनि उनले आफैंप्रति व्यङ्ग्य कस्दै भने ।

तीनवटा कलेज पढे पनि आईए पास गर्न सकेनन् । लाहुरे बन्न दुई पटक भिडे पनि असफल भए । प्रेममा पनि असफल !

पहिलो गीति एल्बम आएको चार वर्षपछि उनले ‘जीवन २’ एल्बम निकालेका थिए । त्यसपछि त गजबै भयो ! त्यो एल्बमको ‘वारि जमुना, पारि जमुना’ले चर्चाको शिखरमा पुर्‍यायो । त्यही एउटै गीतको चर्चाले उनलाई नेपाली श्रोता र दर्शकमाझ थामिनसक्नुको ख्याति र माया दियो ।

एल्बमको सफलतासँगै सेलिब्रेटी छवि बनेपछि खेमराजले २०५८ सालमा बिहे गरेका थिए ।

०००

श्रोताले खेमराज गुरुङलाई लोकगीतसँग मात्र जोडेर हेरे पनि उनले आधुनिक सुगम संगीतमा पनि हात हालेका थिए । तर, उनको मन लोकगीतमै फुल्यो, फल्यो र सबैतिर सुवास फैलायो ।

त्यो भेटमा उनले लोकगीत र लोकजीवनकै कुरालाई धेरै प्रसंगमा उठाइरहे । उनले बताएका थिए, हाम्रा धेरै पप, रक र आधुनिक गीत लोकगीतकै जगमा उभिएका छन् । लोकगीत हाम्रो संगीतको आमा संगीत हो ।

०००

बिहीबार दिउँसो कवि शशि लुमुम्बुले खेमराजलाई मेडिकेयर अस्पतालमा आईसीयूमा राखिएको भनेर फेसबुकमा तस्बिरसहित लेखेपछि धेरैले उनको सुस्वास्थ्यको कामना गर्दै कमेन्ट लेखिरहेका थिए ।

तर, उनको जीवनलाई जमुना पारिबाट वारि आउन मञ्जुर भएन ।

जण्डिस भएर कलेजो बिग्रिएपछि उनको अवस्था अझ नाजुक भएछ । भेन्टिलेटरमा सारिएछ । चिकित्सकहरु समेत अब ईश्वरको प्रार्थना गरौं भन्ने स्थितिमा पुगिसकेका थिए ।

आफन्त र शुभेच्छुकले उनको सुधारको आश गरिरहँदा साँझ उनको निधनको खबर आयो ।

उनी यसअघि पनि जण्डिस भएर पटकपटक अस्पताल पुग्नुपरेको थियो । रसिक मिजासमा उनी मदिराका प्रेमी थिए । अत्यधिक मदिरा पिउने गरेको बेलाबेला बिरामी परिरहन्थे । उनका हितैषी, साथी र शुभेच्छुकको चर्चामा सुनियो – डाक्टरले खेमराजलाई सजग गराएका थिए, ‘अब एक थोपा पनि नपिउनू । जण्डिसको समस्या बल्झियो भने अब अस्पताल नआए हुन्छ ! भर्ना लिन्नौं ।’

कवि लुमुम्बुले खेमराजलाई विगत वर्षहरूमा यसअघि दुईचोटि गम्भीर बिरामी परेपछि ओम अस्पताल लगिएको जानकारी दिए । त्यतिवेला कलेजो बिग्रिएको थिएन ।

उनी साथीभाइरको जमघटमा 'जम्न' मन पराउँथे । जमघटमा मदिरा अनिवार्य हुन्थ्यो । अधिक मदिरा सेवनका कारण जन्डिसले दुःख दिइरहन्थ्यो । तर, उनी उपचारपछि पनि औषधिसँगै मदिरा पिइरहन्थे । केही समय छाड्ने तर जमघटमा बसौं भन्दा जमिहाल्ने । बसेपछि हत्तपत्त नउठ्ने ।

पछिल्लो समय पुस्तकाकार रुपमा गीतसंग्रह निकाल्न पाण्डुलिपि तयार पारिसकेका थिए खेमराजले । त्यसको सम्पादनका लागि कवि लुमुम्बुलाई जिम्मा दिएका थिए ।

तर, जीवनमा गीत-संगीत र अक्षरको बाटोलाई प्रिय मानेर बाँचेका उनले त्यो कृति छापिएको हेर्न नपाई बिदाइ हुनुपर्‍यो ।

हार्दिक श्रद्धा सुमन खेमराज ! स्तरीय सिर्जना छ भने मान्छेहरूको मन-मनमा बाँच्न एउटै गीत पनि काफी हुँदो रहेछ भन्ने तिमीले साबित गर्‍यौ ।

No comments:

Post a Comment