February 1, 2017

उदय प्रकाश, वजन र कविता

Udaya Prakash

अंग्रेजी भाषा मेरो लागि सधैं हाउगुजीको विषय रह्यो । भाषाकै सीमाका कारण विदेशी साहित्यको तिर्खा मेट्न त्यो बृहत् संसारमा हाम फाल्ने आँट कहिल्यै जम्मा भएन । गोटागोटी अक्षर फुटाउँदै छिचोलेका अर्थले धित मरेन।

अंग्रेजीको भूतले वञ्चित गरेको पठन सुखलाई केही हदसम्म हिन्दी भाषाको पहुँचले पोल्टामा हालिदियो । हिन्दीको पनि जम्मै अक्षर फुटाउन नसक्दा आफूभित्रको पाठक मुर्मुरिन्छ । तैपनि सागरमा फैलिएको अंग्रेजीलाई गागरमा सारिदियो भन्दै हिन्दीप्रति मन बुझाउँछु।

यसै क्रममा अंग्रेजीदेखि हिन्दी साहित्यका पुस्तक र लेखरचनाहरु हिन्दीमै पढियो । केही लेखकसँग भने नेपाली अनुवादकै कृति आएपछि चिनापर्ची गर्ने संयोग मिल्यो । त्यसैमध्येका हुन्, भारतीय साहित्यकार उदय प्रकाश । केही वर्षअघि यज्ञश को अनुवादमा लघु उपन्यास 'मोहनदास' पढेपछि यी लेखकको वजन थाहा भएको थियो । केही दिन मथिङ्गल खुबै रन्किएको थियो।

उनका अरु कृति त्यसपछि काठमाडौंका केही किताब पसलमा खोजे पनि पाउन सकिएन । त्यसपछि इन्टरनेटकै पन्ना पल्टाएर गोडाचारेक फुटकर कथा र कविता पढेर मन बुझाइयो । महिना दिनअघि उनै यज्ञशको अनुवादमा यी लेखकको कथासंग्रह 'नेलकटर' पनि आउने खबर सुनियो । थप सुनियो, पोखरामा नेपाल साहित्य महोत्सवमा कथाकृतिको लोकार्पण कार्यक्रममा लेखक आउनेछन्।

यसै मेसोमा कविता कोश बाट यी प्रिय लेखकका केही कविता आफैंले अनुवाद गरेँ । पोखरामा उनीसँग भेट गर्ने मौका पनि मिल्यो ।  महोत्सवको छलफलमा उनले आफूलाई मूलत: कविकै रुपमा चिनाए । काठमाडौं फर्किँदै गर्दा यात्रामा 'नेलकटर' का कथाहरु पढेँ । 'मोहनदास' जस्तो सघन प्रभाव कथाहरुले पक्कै पारेनन् । अनि लाग्यो, उदय प्रकाश खासमा कवि नै हुन्।

उनका केही कविताको मैले गरेको अनुवाद यहाँ राखेको छु। 

१. व्यवस्था

साथी चिठीमा लेख्छन्-
‘म सकुशल छु ।’

म जवाफ लेख्छु-
‘म सकुशल छु ।’

हामी दुवै आश्चर्यचकित छौं ।

२. तीन वर्ष

म तिमीलाई
विगत तीन वर्षदेखि जान्दछु

तीन वर्ष यति छोटो हुँदैन
जति छिटो उच्चारण गरिन्छ

तीन वर्षमा
कलमी बोटमा आँप फल्न थाल्छ
सामुन्नेको घरको छतमा
दिउँसो कपाल कोर्दै गरेकी युवती
कतै बेपत्ता हुन्छे
स्कूलका निरञ्जन मास्टर
सदरमुकाम पुग्छन्
काकीलाई क्षयरोग लाग्छ र
तीन वर्षमा
म र मेरो भाइलाई कतै जागिर मिल्दैन

तीन वर्षमा
हाम्रा अनुहार, प्रेमिका र आशाहरु
र निकै धेरै चिजलाई जलाउन पुग्ने
प्रशस्तै तेजाब जम्मा हुन्छ

म तिमीलाई
विगत तीन वर्षदेखि बताउन चाहिरहेको छु
कि यी अखबारहरुमा
कैयौं वर्षदेखि हाम्रो बारेमा
केही पनि छापिएको छैन!

३. पिंजडा

चरा
पिंजडामा छैन

पिंजडा निकै रुष्ट छ
आकाश छ खुसी

आकाशको खुसीमा
सानो बचेरा
उड्न सिक्छ।

४. मृत्यु

मान्छे मरेपछि
केही पनि सोच्दैन ।

मान्छे मरेपछि
केही पनि बोल्दैन ।

केही नसोचेपछि
र केही नबोलेपछि
मान्छे मर्छ।

No comments:

Post a Comment