कम्तीमा यस्तो सोचिएको थिएन । एकजना दाइले त भन्नु पनि भयो- 'लौ आठौँ आर्श्चर्य नै भयो ।' उहाँको औँल्याइँ मैले पाँच वर्षको अवधि पत्रकारिताको पढाइमा बिताएर पनि पत्रकारिता नगरी सरकारको निजामती प्रशासनतिर पाइला बढाएकोमा थियो । 'यो भाइले पनि यतातिर फाल हाल्छ भनेर मैले कल्पनासम्म नगरेको ।', हाल गोश्वारा हुलाक कार्यालय सुन्धारामा मेरो दाइसँगै खरिदार तहमा काम गर्ने त्यो दाइले रोमाञ्चकता प्रकट गर्नुभयो।यो निर्णय मैले मार्च ३० आइतबारको बेलुकी नै गरें । रेडियो सिटी एफएममा जीवनकै पहिलो अन्तर्वार्ता रेकर्ड गराएर साथी अनिताको घर सानेपामा कामविशेषले पुगेको थिएँ । फर्किने क्रममा साथी समृद्घि सायदको फोन आयो । उनीसँग पौने घन्टाभन्दा बढी हामी बाँचेको समय, चुनौती र भावी बन्दोबस्तीका बारे गहन 'गफ' भए । गफ पनि यति गहिरो र अर्थपुर्ण हुँदो रहेछ, कुपण्डोलबाट नक्सालको कोठामा गफिएरै पुग्दा म वैचारिक रुपमा राम्रैसँग मर्मत भइसकेको थिएँ । त्यो रातभर आँखाहरूले मलाई कुरिरहे । र, अन्त्यमा मैले पाँच वर्षघिदेखिको सपना 'पत्रकारिता'लाई बिदा गरें।
आखिर जतिसुकै प्रिय सम्बन्धहरूसँग सङ्गतिमा रहे पनि आफ्नो कुराले बढीमा आफूसम्मलाई त अर्थ राख्ने रहेछ । जिन्दगीमा अक्सर कुनै पनि सानोसम्म खतरासँग खेल्नाले आफ्नै मन त हल्लिने हो, कहीँ हर्षढाइँले कहीँ चिन्ताले । मेरो हकमा पनि यस्तै भयो । मैले हिँडिरहेको बाटोलाई सिल्भरको तारलाई जस्तै सहजै मर्याकमुरुक मोडेर अर्को आकार दिएँ । र, यो मेरो लागि त महत्वपुर्ण कुरा थियो । अर्थात् मोड्नुको घटना र मोडिनुको प्रभाव।
'आज तपाइँले रुवाउनुभयो', शुक्रबार अप्रिल ४ का दिन बेलुकीपखको सुनसान पलमा मोबाइलमा आएको एसएमएस पढ्न सुरु गर्दा म झसङ्ग भएँ । मैले रुवाएँ रे ? के गरेर अनि किन ? मेरो कारणले कोही रुन्छन् भन्ने त परकै कुरा, भ्रममा उल्लू भएर बस्छन् भने पनि त्यसले पिरोल्छ । यो मोबाइल-पत्रमा त रुवाएकै सोझै आरोप छ, अलमलिएँ । अझै अरु बाँकी रहेका रोमन नेपाली अक्षरलाई मोबाइलको बटन दबाएर हेर्दै गएँ- 'घरको याद आएर सिरियस भा'को थिएँ, त्यसमाथि तपाइँले छुट्टिने कुरा गरेर झन् सिरियस बनाउनुभयो।'
सन्देशवाहक मित्र गनी अन्सारी थियो । पछिल्लो समयमा प्रसारण क्षेत्र विस्तार गर्दै 'रेडियो राष्ट्रको' बनाइएको कान्तिपुर एफएमको समाचार शाखामा कार्यरत गनी कलेजको सहपाठी । र, यति मात्र होइन, खोइ हामीबीच केके विचित्र रसायन पनि उपद्रै छ क्यारे, कति सजिलै यति आत्मीय मित्र बन्न पुग्यौँ । एसएमएसमा उसको दुखेसो देखेर एकातिर गर्व लाग्यो साथीको गुलियो मन पाएर अनि उसको स्वाभाविक चिन्ताले पनि मलाई नमीठोगरी हिर्कायो । तर कर्मक्षेत्र बेग्लिनासाथै मित्रताको निकटता फरक हुँदैन नि भनेर मैले विश्वास दिलाउनुपर्यो । कताकता गनीको कुरामा सत्यता पनि पाएँ । उसै पनि गतिशीलताको दुनियाँमा मान्छे को कता पुग्छ, ठेगान हुन्न । अनि काम गर्ने क्षेत्र नै अलग भएपछि बिस्तारै दुई मित्रको दुईटा पाटो आफू-आफूमै सीमित हुँदै जान्छ र अन्ततः हराउँछ।
तर यार गनी, म तिमीलाई मनमै त्यस्तो फूल बनाएर सजाइरहेको हुन्छु । जहाँ तिमीले आफ्नो गमक छरिरहनेछौ।
***
अप्रिल ६ , २००८ (नक्साल)
अप्रिल ६ , २००८ (नक्साल)
0 Comments