रेडियो अन्तर्वार्तामा पाहुना भइआएका प्रतिभाशाली युवा पत्रकार गला सफा पार्दै थिए । उनी अखबारका पानामा बढ्ता अपेक्षा गरिने र पढिने लोभलाग्दा नाम मात्र होइनन्, नामी ब्लगर समेत हुन् एक समयका । (यस पोष्‍टको विषयगत संवेदनशीलताका कारण उनको नाम भने गोप्‍य राखिएको छ, कृपया माफी दिनुहोला पाठक-मित्रहरूले)।

अहिले पनि फाट्टफुट्ट ब्लग लेख्छन् । तर उनै नामी ब्लगरले ब्लगलाई हेर्ने आफ्नो चश्मा धमिलो र साँगुरो भएको प्रमाण रेडियो अन्तर्वार्तामा दिए । रेडियो प्रस्तोताको प्रश्‍न भुइँमा झर्नासाथै ती युवा ढुकढुकी प्रस्ट लबजमा जवाफ भर्थे । पत्रकारिता, साहित्य, फिचरलेखन, निबन्ध, कविता हुँदै अन्तर्वार्ताको विषय ब्लगसम्म आइपुगेको थियो । जम्दै थियो वार्ता । अन्तर्वार्ताकार रेडियोकर्मी यो एक बसाइ हाम्रो कुराकानी पूरा गर्न पर्याप्‍त हुँदैन भनिरहेका थिए । पाहुना बनेर आएका पत्रकार भने सोधेसम्मका कुरालाई सुस्तरी खुलाउँदै थिए । ब्लगबारे गफ शुरू भएपछि उनले कुराकानीकै क्रममा फ्याट्ट भनिदिए- "ब्लग रुष्‍ट साहित्यकारले आफ्नो सिर्जना पोख्‍ने ठाउँ भएको छ।"

सुनेर चसक्क भो मन । उनको लेखनको त्यत्रो ठूलो प्रशंसक-भीडको एउटा सदस्य ठान्थेँ म आफूलाई । वाह, यस्तो पो पत्रकारिता ! यस्तो पो फिचर ! भनेर तारिफको खुला पुल बाँध्थेँ । उनै पुज्य लेखकले एक पङ्क्ति अन्तर्वार्ताको प्रहारले मर्‍याकमुरुक भाँचिदिए पाठकको मन । ब्लग रुष्‍ट साहित्यकारकै खेती हो त ? राती प्रसारित उक्त अन्तर्वार्ता सुनेर बिछ्यौनामा ढल्किएपछि पनि निकैबेर जाग्रामले दु:ख दिइरह्‌यो, आँखा झिमिक्क गर्न मानेनन् । निकै दिनसम्म त्यसको चस्का लागिरह्यो।

उनको आरोपको सोझै आशय थियो - छापा माध्यममा सहज ठाउँ नपाएको अर्थात् नछापिदिएको झोँकमा साहित्यिकहरू ब्लगमा खनिएका छन्, तिनको बकम्फुसे भावनाका कुराले ब्लग भरिएका छन् । उनी कविताप्रति ठ्याम्मै रुचि नभएका अक्षरप्रेमी हुन्, त्यसै हुनाले अखबारको विशेष बार प्रकाशन हुने परिशिष्‍टाङ्कको संयोजक तथा फिचर सम्पादकका जिम्मेवारी सम्हालुन्जेल उनले आफू काम गर्ने अखबारमा कवितालाई छिरिक्क ठाउँ दिएनन् । उनले यी कुरा अन्तर्वार्ताकै क्रममा स्विकारेर खुलस्त भने । यस मानेमा भने प्रस्टवक्ताका रूपमा उनलाई मान्नुपर्छ।

एक त आफू पनि ब्लग लेख्‍ने मान्छे परेँ, त्यसभन्दा अघि साहित्यिक लेखनमा राम्रैगरी हेलिएर 'केटाकेटी पारा'मा भए पनि हल्काफुल्का साधना गरेको मान्छे । मैले त्यो आरोप आफू र आफू जस्तै ब्लगरको भागमा तेर्सिएको अनुभव गरेँ । अनि तमाम ब्लगरको लस्करलाई पनि यो आरोपको सङ्गीनमा राखेर अड्कलेँ । सबै केही न केही रूपमा, मात्रामा साहित्य लेख्‍छन्, कवितै भनेर नलेखे पनि तिनका गद्यलेखनमा काव्यिकताको ओज भरपूर देखिन्छ । अहँ, तर रुष्‍ट साहित्यकार र ब्लग लेखनको साइनो कहाँनेर मेल खान्छ, त्यो आरोप ठ्याम्मै चित्तै बुझेन । रुष्‍ट साहित्यकार नै र मात्रै ब्लग लेख्‍छन्, ब्लग लेखनमा मोडिन्छन् त ? जो साहित्यिक छन् र ब्लग लेख्छन्, ति रुष्‍ट भएरै सबै कुरा छाडेर ब्लगमा हेलिएका हुन् ? आँखीभौंमा पोको परेका सोचाइका लालगेडीहरू फुकेनन्, बरू ती कसिँदै ब्लगिङका पाटाहरू खोतल्नतिर बत्तिन थाले।

एक त हाम्रा साहित्यिक प्रकाशनहरू सङ्ख्यात्मक रूपमा पनि कति नै छन् र छाप्ने पर्याप्‍त विकल्प उपलब्ध छ भन्ने प्रश्‍न छ । अनि भएकाहरूले पनि कति मात्रामा पक्षपातरहित ढङ्गले लेखरचना छनोट गरेर योग्य प्रतिभा र विचारलाई स्थान दिन्छन् भन्ने अर्को मुख टाल्ने प्रश्‍न उभ्याउन सकिन्छ । अर्कोतिर, साहित्यिकहरूमै आत्मघाती रोग छ, प्रचारप्रसारको सस्तो मोहमा परिमाणात्मक रचनाको बाढी लगाएर हस्-हजुर ट्यास्स टक्र्याउँदै लेखरचना प्रकाशनको लागि सम्पादक र प्रकाशककहाँ बिन्तीभाउ बिसाउन पुग्नु । यस्तो गोटागोटी एकादुई 'प्रतिभाका मुहानहरू'को व्यवहारले आम साहित्यिकहरू र साहित्यिक क्षेत्र नाम त नाम तर बद्‌नामको रूपमा खातामा चढेको छ । सबै एउटै आँखाले हेरिने रूपमा पत्रु भएर दरिने स्थितिमा पुगेका छन्।

आफ्नो क्षेत्र हो, यसमै गरिखाने हो भन्ने व्यावसायिक पाटो गाँसिएको भए साहित्यिक क्षेत्र पनि पक्कै स्वच्छ, शिष्‍ट र अनुशासित हुनेथ्यो होला, सोही रूपले सम्मान र इज्जत पनि यसले चुल्याउँदै लग्नेथ्यो । तर प्रदर्शनपूर्ण सोख र काँचो रहर पूरा गर्ने खुला क्षेत्र बनेपछि लाज न धक जसले जे गरे पनि कुनै हिसाब रहेन । राम्रोसँग साँवा अक्षर फुटाउन नसक्नेले वर्णमालाको किताब निकाले जस्तै हो, कुनै अर्थ र शैली नभई फतफत आवाज जथाभावी उछालिरहनु । भावना र विचार पोख्‍ने क्षेत्रमा छेकथुन हुनुपर्छ भन्ने कुरै होइन, तर यसमा हेलिनेहरू दुई कौडीको पनि सोच र समझ नहुनेहरू भएकाले सस्तोपनको हिमतह हाम्रो साहित्यिक पर्वतमा बढ्दैछ, जहाँ साँच्चिकै ठोस पर्वतको गरिमा भासिँदै गएको छ।

अनि ल मानौँ, रुष्‍ट साहित्यकारहरू नै पैदा भएर देखिए अखबारी आँखामा भने पनि त्यसरी रुष्‍ट जमात पैदा गर्नमा अखबार, पत्रपत्रिका र प्रकाशनहरूको पनि कत्तिको हात छ भन्ने सवाल उठाउनु जायज छ कि छैन ? कसैप्रति रिसराग र पूर्वाग्रहको तीरकमान नउचाली भन्ने हो भने पनि चिनजानको र नातोगोताको छ भने एउटैको लेखरचना दसचोटि घुमाइघुमाइ छापिदिने निर्विवेकी सम्पादक र जाली प्रकाशकको कुनै कमी छैन नेपाली सञ्चार-प्रकाशनको क्षेत्रमा । धाईधपेडी गरेर एउटा नमस्कार टक्र्याएको भरमा कविता छापिन्छ, कहिल्यै भेटघाट गर्न नसक्ने स्थितिमा कुना-कन्दरामा साधनारत प्रतिभा हेरेको हेर्‍यै हुन्छ।

यस्तोमा को ठूलो लेखक भन्नु, कसले जित्यो भन्नु !? प्रकाशनको इतिहास बनाउने कसरतमा त धाइधपेडीमा सस्तो शिष्‍टाचार भजाएर, यसो अरू टिपनटापन चखाएर असङ्ख्य छपाईकर्म आफ्नो रचनात्मक कर्ममा बटुल्नेले नै लोप्पा ख्वाइसकेको हुन्छ सबैलाई । जहाँ हेर्‍यो उसैको नाम, जता हेर्‍यो उसैको जात्रा ! यसरी रुष्‍ट साहित्यकारहरू छापा माध्यमबाट बढ्दैबढ्दै इन्टरनेट माध्यममा पनि नअँटाएर त्यसबाट पनि विष्‍फोट हुन खोजे भने के होला हँ कविता नरुचाउने पत्रकार महोदय ? तपाईँलाई व्यक्तिगत रूपमा कविता नरुचाउने हक छ, तर रुष्‍ट साहित्यकार पैदा गराउने अधिकार पनि कसैले दिएको छेन है तपाईँहरूलाई । कुरा स्पस्ट छ- रुष्‍ट साहित्यकारहरू राम्रो भएर पनि भनसुन-चिनजानमा नबिकेर रन्थनिएर बसेका हुन्छन्, दुष्‍ट साहित्यकारहरू आफूमा केही नभएर पनि त्यही नहुनुको दूषित शून्यतालाई काखी च्यापेर साहित्यिक हाटबजारमा आफ्नो प्रदुषणको व्यापार बिगबिगी फैलाएर गरिरहेका हुन्छन्।

भन्नुस् इर्ष्‍यालाग्दो लेखन शिल्प भएका युवा पत्रकार,
तपाईँ कसलाई रोज्नुहुन्छ ?
रुष्‍ट साहित्यकार
या
दुष्‍ट साहित्यकार?