केही दिन पहिलाको कुरा - बिहे हुन लागेको आफ्नो पुरुष मित्रको बारेमा अफिसका सहकर्मी दाइ टिप्पणी गर्दै थिए । त्यो टिप्पणी केवल ठट्टा थियो या यथार्थको गह्रुङ्गो बिटा, खै बुझिनँ । मभित्र भने त्यही फस्ने कुरा हरियो रहर भएर मौलाउँदै गएको छ । मान्छेहरू अनेकौँ जमघटहरूमा प्रेम सम्बन्ध र विवाहबारे यस्ता तीता टिप्पणी, गुनासो, चर्चा विभिन्न अनुभवी मान्छेहरूकै मुखबाट सुन्छन्, र पनि आखिर किन होमिन्छन् सम्बन्धमा ? किन आफ्नो चोटपटकविहीन मनलाई गुडाइदिन्छन् बन्धन भनिने विवाहको झीरतर्फ ? मैं पनि त किन त्यस्तै हुँदैछु ? अब यस्ता कुरा ‘घर सल्लाह’को रूपमा उसैलाई सोधे हुने भएको छ मैले :) ।
Where words smile ...
January 30, 2011
प्रेमको खोपमा जोर परेवा
केही दिन पहिलाको कुरा - बिहे हुन लागेको आफ्नो पुरुष मित्रको बारेमा अफिसका सहकर्मी दाइ टिप्पणी गर्दै थिए । त्यो टिप्पणी केवल ठट्टा थियो या यथार्थको गह्रुङ्गो बिटा, खै बुझिनँ । मभित्र भने त्यही फस्ने कुरा हरियो रहर भएर मौलाउँदै गएको छ । मान्छेहरू अनेकौँ जमघटहरूमा प्रेम सम्बन्ध र विवाहबारे यस्ता तीता टिप्पणी, गुनासो, चर्चा विभिन्न अनुभवी मान्छेहरूकै मुखबाट सुन्छन्, र पनि आखिर किन होमिन्छन् सम्बन्धमा ? किन आफ्नो चोटपटकविहीन मनलाई गुडाइदिन्छन् बन्धन भनिने विवाहको झीरतर्फ ? मैं पनि त किन त्यस्तै हुँदैछु ? अब यस्ता कुरा ‘घर सल्लाह’को रूपमा उसैलाई सोधे हुने भएको छ मैले :) ।
January 25, 2011
गुरुत्वबलको तागतमा ‘मोक्षान्त: काठमान्डु फिभर’
पुसको अन्तिमतिर कथाकार कुमार नगरकोटीको निम्तो उताबाट छुटेपछि यता मेरो पाठकीय खुसीको भक्कानो पनि छुटिहाल्यो । म त्यो जमघट हुने दिन कुर्न थालेँ । मेरो निम्ति उनको पुस्तकाकार पहिलो कथाकृति अतिप्रतिक्षित सूचीमा थियो । उनको फुटकर कथा प्रकाशन हुने समयदेखि नै म पाठकको नातामा उनीसँग गाँसिएको थिएँ । यो नाता बिस्तारै सहृदयी आत्मीयतामा पनि भिज्दै गयो । यो निकटता पारिवारिक न्यानोपनकै तहमा लिएँ मैले । कारण उनी पत्रिकामा प्रकाशित कथाका पानामार्फत मात्रै ह्यान्डसेक गर्ने अपरिचित कथाकार नगरकोटीबाट प्रत्यक्ष भेटवार्ता र सरसङ्गतमा झ्याङ्गिँदै गएका दाजु कुमार नगरकोटी भएर अवतरित भइदिए । अग्रीम निम्तो दिएको डेढ साता जतिपछि नभन्दै उनले स्वागत गरे, आफू बस्दैआएको स्थानीय बालकुमारी मन्दिरछेउ, ललितपुर । एउटा नेवारी खाजाघरको रसिक जमघट ।
January 11, 2011
जसले हान्यो, त्यसले जान्यो
शुक्रबारे बिदाको दिन, कहिले साथीहरूसँग जोसिएर त कहिले एक्लै टहलिन मन पर्छ । सधैँ हतारमा बग्नुपर्ने टेलिभिजनको कामबाट यसो छेउ लाग्दै हप्ते बिदा मनाउँदा आफूलाई पूरै सुस्त बनाउन मन लाग्छ, स्क्रु ढिला भएको मेसिन जस्तै ।
अन्य पेसा-व्यवसायको मान्छेलाई पनि त्यस्तै हुँदो हो । बिदाबाट ताजगी बटुल्दै आफूलाई रिचार्ज गरी फेरि पुरानै कामकाजी रफ्तारमा फर्किनुपर्ने नियति । फेरि मनाउन पनि हामी नेपालीले मनाउने बिदाको खाकाअन्तर्गत कति नै पो फराकिलो सुविस्ता हुन्छ र ? जे कुरामा पनि आर्थिक सीमाले ‘भिलेन’को काम गर्छ । तर हाम्रो मनकारी स्वभाव जाती छ, बिदाको दिन साथीभाइ र घरपरिवारको साथमा बस्न पाएकै खुसीमा हामी चङ्गा बन्छौँ ।
यस्तै मेसोमा कोठामा चिया समेत नखाई जनवरी ७ को शुक्रबारे बिहान निस्केको थिएँ सडक सफरमा । नक्साल-हात्तीसार-कमलपोखरीको नियमित रुट पछ्याउँदै पुतलीसडकबाट बागबजारको मोड समातेँ । रत्नपार्क अगाडिको शान्ति वाटिकामा पुग्दा गणेशमानको सालिक पछिल्तिर रानीपोखरीको किनार छेउमा मान्छेहरूको गुरुम्म हुल देखेँ । पचहत्तरै जिल्लाका थरीथरीका मान्छेहरू भेटिने भनेर रत्नपार्क क्षेत्रलाई चिनिन्छ । कस्ता मान्छे कुन नियतले वा कस्तो सद्भावले ओहोरदोहोर गर्छन्, अनुमानसम्म गर्न गाह्रो पर्छ । उसै त सहरी परिवेश, कसैलाई भर र पत्यार गर्न नसकिने माहौल मानिन्छ, त्यसमाथि विरानो मान्छेका लागि पनि चिनो लगाउने जस्तो साझा ठेगाना बनेको र राजधानीको सवारी आवागमनको मियो ठाउँ - खुला र अस्तव्यस्त रत्नपार्क क्षेत्र । त्यस्तो ठाउँमा बिनसित्ति कसैले केही फतफताए पनि छिनमै मान्छेहरू गोलबद्ध भएर कुनै भाग छोप्न झैँ जम्मा भइहाल्छन् ।
त्यही पनि फुर्सदको दिन यत्तिकै बरालिन निस्किएको म के रहेछ त्यो हुलमा भनेर उतै मिसिन गएँ । देखेँ – दुवै हात कक्रक्क परेको अवस्थामा रहेको २२-२४ वर्षको नौजवानको शव । एकाबिहानै यस्तो दृश्य देख्दा भाउन्न भयो । मन अमिलिइरह्यो । को हो, के भएर मरेको हो केही पत्तो छैन । छेउमा दुई जना प्रहरी थिए, उनीहरू पनि असमञ्जस अवस्थामा थिए । शव रहेको ठाउँदेखि थोरै पर युवा बाहुल्य रहेको भीड त्यो युवाको मृत्युको सन्दर्भमा सहरी क्षेत्रको (अ)सुरक्षा स्थिति र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सतर्कताबारे चर्चा गर्न थालेको थियो । एक प्रहरी जवान पनि भीडको आडैमा उभिएर राज्यको बेकम्मा सुरक्षा व्यवस्थाबारे भीडमा सहभागीहरूले उडाएको खिल्लीको साक्षी बन्दै मुस्कुराइरहेको थिए । तर उनले नाकमा लगाएको मास्कले गर्दा त्यो मुस्कान खुलेर प्रकट हुन सकिरहेको थिएन ।
दुर्बल संयन्त्र र अपराधी संरक्षणको संस्कार भएपछि तमासे नभई के गर्ने !
यी उभिएर हेरिरहेका साम्बाहाम्फे थरका प्रहरी अधिकारीलाई ती युवक के भएर मरेका रहेछन् भनेर जिज्ञासा राखेँ मैले । “पिटिएर मरेको हो ?”, बुझ्न खोजेँ ।
“काँ हुनु, जाडोले कठ्याङ्ग्रिएर मरेको हो”, निश्चिन्त भएर सुनाए तिनले । हुन पनि एउटा हात बटारिएर कुमसम्म पुगेको र अर्को हात खुम्चिएर अघिल्तिर आएको थियो । तर ज्याकेट र पाइन्ट लगाएको अवस्थामा र राजधानीको अरू ठाउँमा ओतिएर बस्न मिल्ने सुविधा हुदाहुँदै ऊ खुला आकाशमुनि पछारिन किन आयो होला ? जाडोले नै कठ्याङ्ग्रिएर मरेको हो भन्ने सत्य हो भने पनि त्यो कल्पना गर्दा मात्रै पनि आङ सिरिङ्ग भयो । यस्तै हो यहाँ वर्गीय भिन्नता – कोही भोको पेटमा मर्छन्, कोही धेर खाएर पेट ढाडिएर !
“आफ्नो सुरक्षा आफैँ गर्न सक्ने हो भने आफ्नो खैरात छ, नत्र छैन ।” एउटा बोल्यो ।
समर्थनमा गुञ्जन सुनियो युवाहरूको ।
प्रहरी र राज्यको सुरक्षा संयन्त्र उनीहरूका लागि ठट्टा बनेको थियो । राजधानीका सुनसान खालका एक-दुईवटा ठाउँको नाम लिएर उनीहरूले ती ठाउँमा एक्लैदुक्लै र रात-बिरात नहिँड्नुमै आफ्नो कल्याण हुने निष्कर्षमा पुग्दै थिए सबै । यसैगरी सहरमा सबैजना आ-आफ्नै सुरमा रहेकाले एउटाको वास्ता र फिक्री अर्कोले नगर्ने अरूलाई जेसुकै परे पनि मूकदर्शकमा सीमित हुने चलनबारे चर्चामा बत्तिंदै थिए सबै । मृतक युवाको अनुहार हेर्दा पिटाइबाट मरेको जस्तो हलुका रक्ताम्य थियो । त्यो युवा पिटिएर मरेको हो कि भने गाइँगुइँका बीच यहाँ जसले जसलाई पिटे पनि, पिटपाट गरेर कतै गयो भने गको गयै हुने, कुनै कारबाही र सोधखोज कतैबाट नहुने व्यङ्ग्य पनि आयो । जुन व्यावहारिक रूपमा तीतो यथार्थ पनि बनिआएकै छ ।
”यहाँ त जसले हान्यो त्यसले जान्यो भन्ने अवस्था छ ”,
समाजमा बदमासहरूको बोलवाला रहेको र त्यो बदमासीमा राज्यको प्रशासनले पनि आँखा चिम्लिएर अनुमोदन गर्ने जस्तो प्रवृत्तिप्रति लक्षित गर्दै बोले अर्का ।
हामी पनि रमिते ! : सहयोगी होइन दर्शक बन्ने सहरिया प्रचलन
दुई जना सडकमा जुधिरहेको छ भने पनि यहाँ त छुट्याउने कोही हुन्नन्, छेउमा उभिएर भिडेको हेर्नेको लाइन पो लाग्छ भन्ने टिप्पणी गर्यो पछाडि झोला भिरेको अलि टाठो युवकले । हुन पनि हो, बरू गाउँतिर छुट्याउँछन् जुधिरहेका दुवै पक्षलाई समाएर । सहरतिर त छुट्याउन पनि मान्छेहरू कसरी अगाडि सरून्, जुधिरहेका मान्छे को कस्ता छन्, कतिसम्ममा खतरनाक हुन सक्छन् ती र के निहुँमा भिडेका हुन् भन्ने खुट्याउन पनि सकिन्न । यसकारण उनीहरू चुपचाप आफ्नो बाटो लाग्छन्, या त रमिते बन्छन् । यही सहरमा छु आफू पनि । आफू पनि दर्शकहरूमै परिणत हुँदै गए जस्तो लाग्दैछ ।
शव वाहनमा हाल्न मृतकलाई लैजाँदै प्रहरी
खासमा त्यो बिहान मृत्यु जत्तिकै चिसो थियो । त्यही बोध गर्दै थिएँ फर्किँदा ।
January 5, 2011
लजालु उनी !
उनलाई लाज लाग्छ । लाज लागेपछि लजाउन पाउनु मौलिक हक हो ! यसर्थ स्वाभाविक हो, उनी लाज मान्छन् । मण्डपमा बसेकी कुनै बेहुली वा हतकडी लगाएर अनुहार छोप्न असमर्थ कुनै अभियुक्तको कुरा होइन यो । हाम्रै कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल लजालु भएका छन् । मुलुक हाँक्ने जिम्मेवार व्यक्ति लाजवन्ती झार जस्तै लल्याकलुलुक बन्ने गरेपछि अरू सर्वसाधारण मनुवालाई पनि धक फुकाएर लजाउन छुट भो ! मुलुकमा संघीय राज्य कसरी मिलाउने भन्ने बहस चलिरहेको बेला आजकाल ठाउँ-कुठाउँ स्वायत्त प्रदेश घोषणाको लहर चलेको छ, मिल्छ भने अर्को एउटा पनि घोषणा गरिदिए भैगो - लजालु गणराज्य ।
डेढ वर्षभन्दा बढीको प्रधानमन्त्री कार्यकालमा उनी यस्तो लजालु सायद कहिल्यै थिएनन् । प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि सपथ ग्रहणका लागि पिताजीको साथ लागेर राष्ट्रपति भवन पुग्दा पनि उनी लजाएनन् । बरू पदीय ठाँट झिक्दै गमक्क परे । प्रतिपक्षी दलको आलोचनाको अस्त्र र कति-कति कोप झेल्दा पनि गम्किन नछाडेका कामचलाउ सरकारका यी हेडसर बल्ल यतिखेर आएर लजाए । कारण थियो – मुलुकको विद्युत् लोडसेडिङ समस्या । (प्रधानमन्त्री लज्जावती भएको खबर पढ्न यहाँ पसौँ । वर्षौदेखि कुरा गर्दै आए पनि लोडसेडिङ समस्या हटाउन नसक्दा लाजैमर्दो भएको अनुभूति गरेछन् प्रधानमन्त्रीले । लज्जा गहना हो भन्ने कुरो यतिखेर भए पनि बुझेछन् उनले । तर लज्जा कसको र कुनबेलाको गहना हो भन्ने विश्लेषण उनैले ढिलो-चाँडो गर्लान् । अहिले त लजाएरै फुर्सद छैन उनलाई ।
विभिन्न मन्त्रालयका सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री लजाएनन् मात्रै, सुरिलो कण्ठ खोलेर कुर्लिए पनि । पर्यटन वर्षको सन्दर्भमा राजधानीको फोहोरमैलाको समस्या, सहरमा भवन निर्माणको संहिता, निर्यातमूलक उद्यम विकास लगायतका समस्याको पोको खोतल्दै ठीकठाक पार्न प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिए । यस्तो लाग्थ्यो ठूलाबडा पदमा बस्नेले गर्ने काम त यही अह्रनखटन नै हो कि के हो ? थर्कायो, काम भइहाल्यो, जागिर पाक्यो ! लजाउने र थर्काउने मात्र यिनको काम हो भने राज्यको ढुकुटी धमिराको घर जस्तै खोस्ट्याएर किन पाल्नुपर्यो यिनीहरूलाई ? यस्तै सोच्लान् मुलुकका लाटा-गाँडाहरू । धन्न ! तर बेपर्वाह लजाएर, क्रुद्ध भएर कार्यकारी उच्चतम तहको मनुवा सरकार चलाइरहेछ ।