इन्फर्मल ग्यादरिङ हो, किताब छापिएर आएपछि २-४ जनालाई बोलाउँछु, भाइ पनि आउनू है ।
पुसको अन्तिमतिर कथाकार कुमार नगरकोटीको निम्तो उताबाट छुटेपछि यता मेरो पाठकीय खुसीको भक्कानो पनि छुटिहाल्यो । म त्यो जमघट हुने दिन कुर्न थालेँ । मेरो निम्ति उनको पुस्तकाकार पहिलो कथाकृति अतिप्रतिक्षित सूचीमा थियो । उनको फुटकर कथा प्रकाशन हुने समयदेखि नै म पाठकको नातामा उनीसँग गाँसिएको थिएँ । यो नाता बिस्तारै सहृदयी आत्मीयतामा पनि भिज्दै गयो । यो निकटता पारिवारिक न्यानोपनकै तहमा लिएँ मैले । कारण उनी पत्रिकामा प्रकाशित कथाका पानामार्फत मात्रै ह्यान्डसेक गर्ने अपरिचित कथाकार नगरकोटीबाट प्रत्यक्ष भेटवार्ता र सरसङ्गतमा झ्याङ्गिँदै गएका दाजु कुमार नगरकोटी भएर अवतरित भइदिए । अग्रीम निम्तो दिएको डेढ साता जतिपछि नभन्दै उनले स्वागत गरे, आफू बस्दैआएको स्थानीय बालकुमारी मन्दिरछेउ, ललितपुर । एउटा नेवारी खाजाघरको रसिक जमघट ।
‘कृतिको गुरुत्वबलले नै पाठक तान्ने हो, त्यसमा कति शक्ति छ’ भनेर एक समयको वार्तालापमा बखान्ने कुमारको नवीनतम कथाकृतिको गुरुत्वबललाई आँक्ने पाठकैपिच्छे फरक हेराइ हुन सक्छ । तर आख्यानमा दार्शनिक र ‘नागबेली गद्य’ भएको भिन्न स्वाद रुचाउने पाठकको निम्ति गुरुत्वबलको चुम्बकीय झड्का नै दिने तागत राख्छ कुमारको पुस्तकले । कथासङ्ग्रह ‘मोक्षान्त: काठमाडौँ फिभर’ को नामले पनि कुमारको प्रयोगशील र आउट अफ द ट्र्याक विशेषताको लेखनबारे छनक दिन्छ । नागबेली गद्य उनको लेखनशिल्पलाई हेरेर मैले दिएको नाम । साहित्यको रसास्वादन गर्ने पाठकको स्वादे जिभ्रो थरीथरीका छन् । त्यसमध्ये हामी चलनचल्तीको साधारण लयबाट बाहिर गएर लेखिएको अलि ‘बाउँठो साहित्य’ मन पराउने किसिमका पर्यौँ । सामान्य साहित्य र चानचुने शैलीको लेखाइले हत्तपत्त कक्रक्क पार्ने सामर्थ्य राख्दैन बाउँठो साहित्यको बानी परेको जिभ्रोलाई ।
पुस्तक छपाइ प्रक्रियामा रहेर लामो समयपछि निस्किएको मोक्षान्तले प्रतीक्षाको फलको मिठास दिन्छ । अधिकांश कथा पहिले विभिन्न पत्रिकामा छापिएका भए पनि तिनले ताजगी गुमाएको पटक्कै लाग्दैन । नयाँपनको नापनक्सामा ती विशिष्ट ठाँटिएका साहेब समान बसेको भान हुन्छ पढ्न थालेपछि । कथा भन्ने उनको टेक्निक र कथानक मोड विचित्र र बहुलट्ठी पनि लाग्न सक्छ कतिपयलाई । तर कुमारको सिद्धहस्त कलम त्यसैको लागि र त्यही वैचित्र्यलाई साहित्यमा सुस्वादु पार्न मैदानमा आएको हो भन्दा बढी हुँदैन । उनका प्रायजसो कथामा घाट, डेड बडी, पूर्वजुनी, व्यक्तिको रहस्यपूर्ण ऐतिहासिक पाटोले जाल थापेका हुन्छन् । फलस्वरूप पाठक त्यो जालमा अनौठो सयरको अनुभव बटुल्न जेलिएर मग्न हुन्छ । कथाकारले भन्ने कृतिको गुरुत्वबल पनि संभवत: त्यहीँनेर साबित हुन्छ । जस्तै : कथाकारले मृत वास्तविक पात्रलाई पनि सजीव बनाएर कथामा निम्त्याएका छन् । ‘अन्धकार’ कथामा एउटा रेष्टुराँमामा विदेशी साहित्यकार बनार्ड शा, अल्वेयर कामुज, भर्जिनिया वुल्फ लगायत र यता हाम्रा शङ्कर लामिछाने र भूपी शेरचनलाई भेला गराएर ती सबैलाई संवादात्मक पात्रको रोजगारी दिएका छन् कथाकारले । ती जम्मै पात्रहरू पहिलेका तत्कालीन यथार्थलाई कुतकुतीपूर्ण प्रसङ्गमा कहन्छन् । साहित्यिक चोरीको आरोप लागेपछि साहित्यबाट सन्यास लिने निष्कर्षमा पुगेका शङ्करलाई त्यो निर्णय फिर्ता लिन आग्रह गर्दा रिसले उनी फन्किएपछि सम्झाउने पारामा भूपी भन्छन् :
- नरिसा । भैगो । पारिजातलाई भेटिस् ? एक पेग थपूँ है त !
सङ्ग्रहमा समेटिएका एक दर्जन कथामा हरेकलाई भिन्न बुनोटमा उनेका छन् कथाकारले । सार्वजनिक कार्यक्रम, सभा-समारोहमा उत्ति झ्याम्मिन नरुचाउने उनका कथाका पात्र पनि उनीजस्तै रहस्यमय र छुपारुस्तम छन् । यस हिसाबमा आफ्नो विशेषता पात्रमा घुसाएर आफैँ औपन्यासिक जीवन बाँच्न चाहने लेखकको रूपमा समेत उनलाई मान्न सक्छौँ ।
अर्को उनको विशेषता हो, अनौपचारिक कुरा गराइको शैलीमा पाठकलाई बीचबीचमा सम्बोधन गर्दै कथानक मोडमा प्रत्यक्ष डोर्याउँदै लैजाने । त्यसरी डोर्याउँदा घटना र परिवेश कतिपय ठाउँमा सचित्र छाउँछ पाठकीय मस्तिष्कभरि । शीर्षक कथामा काठमान्डु उल्लेखित भए जस्तै प्रायश: कथा काठमाडौँकै परिवेशमा दौडिन्छ । उत्तरआधुनिकताको हौवा नेपाली साहित्यमा खुब चलेको छ पछिल्लो समयमा, कुमारको यो सङ्ग्रह पढेपछि उत्तरआधुनिक साहित्य यस्तै केही होला भन्ने स्वाद मन-मगजमा छापिन सक्छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको २६५ पृष्ठको किताबको लागि २७५ रूपैयाँ खर्चिँदा आस्वादनका हिसाबले पूरै असुल हुन्छ पैसा ।
यसै ब्लगमा पहिले प्रकाशित कुमार नगरकोटीबारेको व्यक्ति चित्र (सहरमा एउटा खेलाडी) र उनीसँगको वार्ता (स्रष्टाहरूमा साहित्यिक भाइरस छन्) पढ्न सक्नुहुनेछ ।
लेखाइ राम्रो लाग्यो....धाइबा जी !
ReplyDeleteआफ्ना कथाबाट नगरकोटी पाठकलाई ‘एडभेन्चर’मा लान्छन् । उनका कथा पढुञ्जेल पाठक श्वास फेर्न बिर्सन्छ । मलाई मनपर्ने लेखकमा नगरकोटी १ नम्बरमा छन् । धन्यवाद धाइबा सर पोष्टका लागि ।
ReplyDeletecontribute article: http://goo.gl/6nsanJ
ReplyDelete