Subscribe:

Ads 468x60px

15 September 2008

सहरमा एउटा खेलाडी

CaFe मा यसपाली अलि भिन्नै चकचक गर्न मन लाग्यो । ब्लगिङ सुरु गरेयता आफ्नोबारे धेरै लेखियो, छिपछिपे भए पनि आफ्नो विचार पोखियो । यतिखेर हेर्दा त ए रात्तै ! हदै आत्मकेन्द्रित भएछु कि जस्तो लाग्यो । हुन त पढेर-सुनेर पनि अरुको कुराकन्था त जान्नबुझ्न पाइएकै हो । त्यस मानेमा अन्य विषय एवम् वस्तुकेन्द्रित पनि धेरथोर बनिएकै हो । तर ब्लगमा (आफ्नो तर्फबाट) अरुको विचार खनिखोस्री गर्ने प्रयास त यतिन्जेल शून्य नै रहेछ ।
साहित्यिक अभिरुचिका कारण साहित्यलाई बढावा दिनमा CaFe लाई बढ्तै खटाउँदै आएको बेहोरा त के खुलाइराखूँ, जे छ देख्‍नुभएकै छ । त्यसबाहेक समाज, संस्कृति, सामयिक सन्दर्भसँगै आहारविहारका मौसमी गफहरू त बेलामौकामा चुटिने नै भए । तर पत्रकारिताको विद्यार्थी भएका नाताले ब्लगकर्मलाई त्यसको लागि किन उपयोग नगरुँ भन्ने पहिल्यैदेखि लागिरहेको थियो । त्यो सोचलाई लेखिन लागेको यो व्यक्ति-फिचरसँगै उद्‌घाटन गर्दै मलजलको थालनी गरेको छु । यो अभ्यासक्रममा कत्तिको कच्चा विद्यार्थी भएँ, छुट्याउने जिम्मा तपाईँको ।
***
पोष्टसँगै रहेको ज्यानदार काँटको तस्बीर हेरेर धेरै अड्कलबाजी हुन सक्छ । तर आवरणमा नजाँदै वेश । उसै पनि हामी बाँचिरहेको यो समाज र समय आवरणको ऐना नियालेजत्तिकै अनि त्यही देखिएअनुसारकै सादा हिसी बोकेको कहाँ छ र ? र पनि मनको तुलबुल न हो, एउटा अनुमानको आँकडा त खिचिएर बसिहाल्छ ।
लाग्न सक्छ, कुनै चमत्कारिक रेकर्ड राख्‍ने आर्मीम्यान (कतै लाहुरे नै होस्) वा कोही बोल्ड फिगरवालाको नालीबेली खोतलिन लाग्दैछ ।
अथवा, लाग्न सक्छ, कुनै बडी बिल्डर वा रेस्लरसँगको जम्काभेट यसपाली पन्च (घात) जत्तिकै भुतुक्कै पार्नेगरी लेखिँदैछ ।
हो सही हो, हुनलाई उनी खेलाडी नै हुन् । तस्बीरका दुई खरो हुलिया हेरेर पनि प्रस्टै थाहा हुन्छ, उनको हात कतिविघ्न चलायमान कौशलको छ ।
उनी खेलाडी नै हुन् - तर अक्षरका पक्का खेलाडी । त्यो फिटिफिटी चल्ने हातका औँला पनि औँठीको घेरामा पर्न मात्रै होइन, अक्षरको खेती गर्नमा तुलबुलाउँछन् । अर्थात् शब्दशिल्पी कुमार नगरकोटी ।
सहरमा उनी 'छुपारुस्तम' कथाकार मानिन्छन् । तर औधि इष्‌र्यालाग्दो लेखनशिल्पका धनी । जमघट र चर्चाको लस्करभन्दा बाहिर उनको एकान्त आफैँसँग नयाँ-नयाँ संवादबाट विश्‍लेषण र चिन्तनको जरा पहिल्याइरहेको हुन्छ । उनी गहिरिन्छन्, 'कति सीमासम्म ख्याति कमाउने भन्नेमा लेखकको रचना नै उसको हस्ताक्षर र परिचय हो ।' यसैले उनी प्रचारप्रसार र आम भीडमा चलमलाउन जरुरी देख्दैनन् । 'चर्चा पाउन २०-२५ वर्षै लाग्छ भने पनि के भयो, त्यो धैर्यता सँगाल्न लेखकले सक्नुपर्छ', उनको कर्मशील गान हो यो । चल्तीको कफी सप, साहित्यिक गोष्ठि तथा सभाहरूमा उनी दुर्लभ भइदिन्छन्, जहिल्यै । साहित्यकारहरूको माझमै उनी अपरिचय लिएर यात्रारत छन् । दुर्लभ बनिदिएर मान्छेहरूमा आफूबारे जिज्ञासा र रौनकता सिर्जना गरिराख्‍ने यो उनको चाल त होइन ? 'मेरो प्रकृति नै यस्तै', दार्जिलिङमा लीलालेखनको जपमा उँघिरहेका अग्रज इन्द्रबहादुर राईको कथासिर्जना 'ऊ त्यसरी बाँचेको छ त्यसरी नै' को पात्रजस्तै कुमार प्रस्टिन्छन् ।
समाचार म्यागेजिनभित्र साहित्य स्तम्भको एक कुनामा वा अन्य साहित्यिक पत्रिकामा कुमारका कथा पढिरहँदा उनी यति सजिलै भेटिएलान् भन्ने यस पंक्तिकारलाई अन्दाज थिएन । मानौँ अर्कै ग्रहमा बसेका यिनी इलेक्ट्रोनिक प्लेटमा खरर्र जादुगरी ढाँचाले लेखिभ्याएर पृथ्वीमा बेलाबेला तरङ्ग फैलाउँथे । तर, थोरै चासो जनाउनासाथै सोचेभन्दा सजिलै कुमार उपलब्ध भइदिए र यो भेटको कथा सम्भव हुँदैछ ।
नयाँ सोच र खोज भएका युवाहरूको एउटा जमातमाझ उनको 'हाइ फिगर' कस्तो छ भने उनको नाम देखेर मात्रै पनि बजारबाट सिङ्गो पत्रिका हारालुछ हुन्छ । 'अलि बेग्लै छु म', आफ्नै हेराइको ऐनामा उनको प्रस्ट कथन हुने गर्छ । यसलाई उनको परिचय र आत्मगौरव नै भनिदिए हुन्छ । उसो त प्रत्येक मान्छे आफैँमा मौलिक र अतिरिक्त प्याकेजको मांसपिण्ड हो । यो शाश्‍वततालाई हीनताबोधमा पिल्सिएरहेका जीवनहारा कुनै 'आइटम' ले मात्र नकार्न सक्छ ।
माउसुली, मेटाफिजिक्स, अरुको फूल, त्रि्रो मृत्युको समाचार, खप्पर... उनका कथाका केही शीर्षकहरू । कुमार नगरकोटीबारे एक थोप्लो नसुन्ने-नजान्नेहरूलाई पनि यसैले पुष्टि गर्ला, उनी केही न केही बेग्लै छन् क्यारे !
***
खेल्नलाई उनी कुनै जमानामा मैदानमै उत्रिन्थे । 'स्कूल पढ्दा गुरुहरूको नजरमा फुटबलको कुशल खेलाडी थिएँ', ओठका केस्रा पल्टाउँदै उनले स्वादिलो स्मृति पस्किए । पस्किनलाई अझै धेरै बाँकी छ । कोही मान्छेलाई विधि पुर्‍याएर चलाउनु मात्र पर्छ, अनारका दाना छोडिएजस्तै आफैँ बुरुरु खुल्न थाल्छन् । कथाकार कुमार यस्तै सजिला-रसिला 'मनुखे' हुन् कि 'रिजर्भ' बनौटको पत्रेदार दिमाग ? यस सवालमा, नितान्त नयाँ अनुहारहरूबीचको जम्काभेटमा औपचारिकतालाई चिर्दै अनौपचारिकताको खुला मस्कामस्की इलाकामा पस्नु कत्तिको सकसपूर्ण कार्य हो, म बुझ्दैछु ।

यतिखेर राजधानीको शङ्खमूल क्षेत्र मन्द भाकामा अस्तित्वको मन्द हावा खाइरहेको छ । जीवन आफ्नै गतिमा चल्छ, हतार के छ ? सामुन्नेमा CaFe ब्लगका सिकार उनै कुमार (अविवाहित रहेको हकमा संयोगले अहिलेसम्म उनी नामअनुसारकै कुमार) मन्द भाकामा चुरोट फुकिरहेका छन् । राजधानीको इनोभेटिभ इङ्लिस स्कूलका अङ्ग्रेजी शिक्षक यतिखेर पढाउन होइन 'पढिन'लाई हाजिर भएका छन् । कुमारसँगको भेटमा मिसिनलाई उनका एकजना फ्यान पनि साथमा छन् । कथाकारका कथाहरूमा स्वप्निल यात्रा गर्नमा मगनमस्त हुने फ्यान सामुन्नेमा साक्षात् कथाकार उभिएको पाउँदा आफैँलाई हराएझैँ देखिन्छन् । स्कूलका भुराभुरीलाई भर्खरै घरतिर लखेटेर हाम्रो चिया-वार्ताको निम्तारु हुन आएका 'माड्साब'का लागि साथमा ल्याएको तयारी प्रश्‍नका बिटा नखोले पनि पुगेको छ । अब उनी आफैँ खुल्दैछन्, आँखाको सो-केसलाई एक फाँको धुवाँले धमिल्याउँदै मन खोल्ने धुनमा उनी देखिए- 'जीवन साँच्चै विसङ्गत छ, म त्यही विसङ्गतिलाई आफूमा स्वागत गर्दै रमाएर बाँचिरहेछु ।'

जीवन मात्र विसङ्गत छ कि मृत्यु पनि ?
यो प्रश्‍न केही क्षणमा राख्‍ने सोचमा छु । भर्खर त जीवन फक्रियो, यसैलाई एकछिन लरबराउन दिऊँ ।
थुरथुर काँप्दै यिनी जन्मिए, डिसेम्बरको जाडोमा, काठमाडौँको महाराजगञ्जमा । यो थियो १९७४ को घटना । उनले माया पाएनन्, आमाको । आमाको माया पर्खिएर बसिराख्‍ने माया हुँदा पनि त होइन, जीवनको यस मोडमा आएर सारीले न्यानो र गहकिलो बन्ने आमाको स-सानो काखे झोलुङ्गोको अन्तरकथा सायद बुझ्दैछन् उनी । आमाको रुपमा अर्की महिलाको स्याहारले उनी लाठे भए । धन्य हुन् ती कर्म दिने धाई आमा ! ती आमाको कथा पनि साथसाथै आफ्नो जीवनसँग हिँडिरहेको रोचकता उनीसँग छ ।

भएछ के भने, घाँस काट्न गएकी ती आमा सामान्य भीरमा नराम्रोसँग लडिछन् । त्यहीँ तिनको प्राणपखेरु उडेछ । 'अहिले केलाइहेर्दा तिनीसँगै मेरो सबै ग्रहदशा पनि अलप भएछ जस्तो लाग्छ', एकोहोरा धमिला आँखा 'लाखलाख प्रणाम है' भनेझैँ भाँतीमा झिमिक्क पार्दै कुमारले सुनाए । हुन पनि थाहा पाएदेखि आजको मितिसम्म उनलाई सामान्य ज्वरो अनि रुघामर्की समेत के हो, केही थाहा छैन । आफ्ना कथामा ज्वरो वा सर्दीको कथानक आएर त्यो अनुभूति दिनुपरे कसरी व्यक्त गर्दा हुन् ? त्यसैको लागि हो सायद, कहिलेकाहीँ त आफूलाई पनि ज्वरो आओस् जस्तो लाग्छ रे उनलाई ।
***
अन्तर्मुखी हुनलाई के-के पृष्ठभूमिले काम गर्नेरहेछ, उनकै जीवनका भूतपूर्व अध्यायहरू पढेमा थाहा हुन्छ । आमाको आंशिक पाठशालामा कुबेलामै एक्लो बेन्च हुनु उनको जीवनमा पहिलो 'प्राप्ति' छँदै थियो । त्यो प्राप्ति कस्तो भने, पोल्टो भरिनुको साटो काँडैकाँडाले चाल्नो बनेर आफ्नै आङ रगताम्य भएको कटु अनुभूति उनले भोगे । ३ दाजुभाइमा माहिला उनले पुलिस स्कूलको होस्टेलमै कुथुर्किएर एस्एल्‌सीसम्मको कडा पढाइ पूरा गरे । त्यही कडापनले उनी पनि कडा हुँदै आफैँमा लीन एकसुरा ऋषि हुँदै आए । फर्केर हेर्दा जीवनमा बहिर्मुखी भएर अरुमा वित्थै बाँडिएनछु भन्ने पछुतो हुँदैन यी कुमारलाई ? 'आफैँलाई जिस्काउँदै र केलाउँदै सबै रहर मेटिँदै आएछ' किलकिले च्याप्प खाएको टाईको नोट खुकुल्याए- मानौँ गलामै गाँठिएर बसेको छ उमेरभरिको रहस्य, 'जे-जस्तो छु यसैगरी आफैँसँग बाँच्दै आएँ ।'

आठ कक्षादेखि उनले साहित्यमा कलम तिखारे । अन्ततः कविताहरू लेखे, हिन्दी गजलहरू कति लेखे कति, अनुवादमा रमाए । तर उनको प्रेम र प्राप्ति सबैसबै कथामै र कथाबाटै भयो । विश्‍वसाहित्यको अध्ययनसँगै तीव्र चेतना आर्जन गरेका उनी त्यही फराकिलो चेतनाको खुराक नेपाली पाठकलाई पस्किँदैछन् । उनको नियमित दिनचर्याको खुराकको कथा भने बेग्लै छ । रुटिनअनुसार उनी कहिल्यै खाना खाँदैनन् । नेपालीहरू उसै पनि 'भाते ज्यान' भनिएर जगत्‌मा कहलिएका छन् । कुमार मात्र अपवाद हुन् कि ? 'भोक लागेपछि जति नै बेला पनि केही खिच्रिङमिच्रिङ खाइन्छ, तर बिहान-बेलुका यति बजे खाने भनेर रुटिनअनुसार चल्दिनँ', अरु त अरु लगातार खाइरहनुपर्ने चुरोटको अम्मलमा पनि खाने रुटिन बसाल्न सकेका छैनन् उनले । पोटिला गाला मुस्कानको तहसम्म पग्लिन दिँदै बोले- 'भात २-३ दिनमा एकचोटि खान्छु ।' अनि नुहाउन मन लाग्यो भने मध्यरातमै पनि उठेर नुहाइदिने !

उनले प्रेम क-कसको पाएछन् ? घुँडाको पाङ्ग्रा धुल्याउने जीवनको करिबन् जम्मा ६० किलोमिटर मोडहरूमा नागबेली चाल मार्दै गर्दा सङ्गति नै सङ्गतिको चाहले मान्छेको मन पिल्सिरहेको हुन्छ । यस्तोमा प्रेम कुन मोडको चौतारी भएर बसिरहेको हुँदो हो ? 'जीवनमा सङ्गति नै सङ्गति असम्भव कुरा हो,' कथामा पात्रलाई हिँडाएजस्तै आफूलाई लिक दिएर हिँडाउनमा बुझ्झकी छन् यी कथाकार । सङ्गतिहीनताको नमूना उनी आफैँ हुन्, विद्यार्थीका रूपमा एकदिन कलेजमा मुख देखाएका उनी त्यसपछि कहिल्यै कक्षाकोठामा छिरेनन् । जेजति आर्जन भयो सबै स्वाध्ययनको कमाइ । र पनि स्नातकसम्मको डिग्रीको प्रमाणपत्र उनको दराजको शोभा बनिछाड्यो । अनि प्रेम ? यस प्रश्‍नमा, पाठकको प्रेम नै काफी छ भन्ने बूजो उनले ठेलिदिएमा बढी हुँदैन ।

आफैँलाई माया गर्नु, यो समाधानकारी सत्य उनले जानेका छन्, अझै दार्शनिक पंक्तिको एक झोक्का छ- आफैँलाई माया गर्न नसक्ने/नजान्नेले अरुलाई माया गर्दैन । यसै दर्शनको बुइ चढेर उनको आत्मकेन्द्रित प्रेम माउतेझैँ ठीकठाक गतिमा जीवनको ३४ औँ हात्तीसारमा परिभ्रमण गर्दैछ । अरु कसै(आफ्ना मानेका)लाई गर्दा पनि, प्रेम आज, झिँजो बनिदेला र प्रेमको सांसारिक आत्मिक पवित्रता विडम्बनामा परिणत होला भन्ने भयले सायद उनी सतर्क भएका हुन् । प्रेम आजको हतारिँदो दुनियाँमा भावनाको बोझिलो डोरीपासो बनेको छ । उपभोक्तावादी संस्कृति बजारको भीडभाडबाट मान्छेको आत्मामा सरेको छ, प्रेम पाउनु कुनै जागीर पाउनु त होइन नि ! अनि कहाँ प्रेम ? प्राप्ति/गराइ)का लागि हुटहुटी !
एकान्तमा आफ्नै धुन सुन्नु/सुन्न पाउनु सौभाग्यको कुरा हुन्छ । कम्तीमा ढाँट्नु पाइँदैन र पर्दैन, र त्यो पापबाट जोगिन्छ मान्छे । सत्यवादीको लगनशील परीक्षामा अभ्यासरत हुन्छ, आत्माको उत्तरपुस्तिकामा । फेरि जाँचकी पनि आफ्नै हुनुपर्ने चुनौती ! सधैँ आफैँमा केन्द्रित भएपछि अन्तर्मुखी मान्छे आफैँसँग निहुँ खोज्ने रहेछ । कुमारलाई पनि त्यस्तै हुन्छ । 'निहुँ खोज्ने आफ्नै सिर्जनशील पाटोमा हो,' अब आफ्नै हिसाब मिलाउने धुनमा उनी मिसिए, 'प्रतिस्पर्धा अरु कसैसँग नभई आफैँसँग हुन्छ, सुरुको आफ्नै शैली र विचारसँग प्रतिस्पर्धा भएर लेखक माझिँदै जान्छ ।'

यिनका कथा डेड बडी, घाट, मलामी, लाशघर, चिहान आदि जीवनइतर प्रसङ्गमा ज्यादा नै तानिएको हुन्छ । प्रायजसो कथालाई असरदार मोड दिनमा इतिहासका र मरिसकेका पात्रहरू नै प्रमुख भूमिकासाथ आएका हुन्छन् । र तिनमा आफैँलाई रुपान्तरण गरेर कथाकार कुमार कथामा हिँड्छन्, कहाँ... कहाँ...।
जस्तो, उनले पछिल्लो 'खप्पर' कथामा लेखेका छन्-

विरूपाक्ष कसैको फोनको प्रतीक्षामा बसेझैँ अधीर थियो । आर्यघाटको प्रतीक्षालयमा तपाईँ अवश्य पुग्नुभएकै होला । त्यहाँको भित्तामा विभिन्न महात्माहरूका वाणी अर्थात् दिव्योवचन पढ्न सकिन्छ । उता चितामा प्रियजनको लाश जलिरहेछ तर तपाईँ सिद्धार्थ गौतमको 'दिव्यवचन' भित्तामा पढिरहनु भा'छ ।

लेखनमा यस्तो अतीतमुखी र मृत्युप्रेम किन ? 'मृत्यु पेन्टिङको क्यानभास वा आँखीझ्याल हो, जहाँबाट म जिन्दगीलाई हेर्छु', फिल्टरसम्म आयु छोट्याइरहेको चुरोटलाई औँलाहरूको चेपबाट मुक्त गर्दै उनले निधार बटारे, 'मृत्यु जीवनकै टेढोमेढो लम्बाईको अन्तिम जेब्राक्रसिङ भएकाले पनि कथामा (भित्र्याउन) ती स्वाभाविक लाग्छन् ।' अब उनको लेखनमा मृत्युको प्रसङ्ग, गाउँको आदिम कुवामा पानी भर्न जाँदा आमाहरूको पैँतालाले खोपेको मूलबाटो नै भइसक्यो, नहिडूँ भन्दा पनि छुट्दै नछुट्ने !

एउटा लेखक लेखक कहलिन कृतिको हात धेरै माथि हुन्छ । कृतिबिना लेखकको आसन सुरक्षित गर्न गाह्रो पर्छ । त्यसमाथि देखावटी फेशनको उपासक नेपाली समाज ! यिनी पनि पत्रपत्रिकामा छरिएका बटुलोहरूको एउटा कथाकृति प्रकाशनको तयारीमा छन् । लेख्‍नमा दिमाग दुखाउने कुमार विसङ्गत जीवनमा कति अभ्यस्त छन् भने सङ्ग्रह प्रकाशनको लागि व्यक्तिगत ताउरमाउर जनाउने लिप्सा पटक्कै छैन । तयारी, यिनका लेखनबाट प्रभावित शुभेच्छुकहरूबाट हुँदैछ । दर्जन कथाको सङ्ग्रह 'मोक्षान्त काठमाडौँ फिभर' रत्‍न पुस्तक भन्डारको प्रकाशन-प्रक्रियामा छ ।

बात मार्ने मेलोमेसो मिलाउने क्रममा भेटपूर्वको फोनवार्तामा प्रकाशोन्मूख त्यही कृतिको सन्दर्भमा 'दाइको कथासङ्ग्रह आउँदैछ रे नि !' भन्ने जिज्ञासा राख्दा उनी जवाफमा बोलेथे-' खै, मैले पनि त्यस्तै सुन्या'छु...।'
उनी यस्तै छन् ।

आफैँमा कथा हुन् कि कथाकार मात्र ?
सेप्टेम्बर १४, २००८

1 comment:

  1. कुमारजीको बारेमा कुरा राखिदिनुभएकोमा धन्यबाद धाइबाजी! केहि वर्षदेखि मुलुकबाहिर रहेको हुनाले उहाँका कथाहरु पढ्ने सौभाग्य मिलेको छैन अझै। अब खोजेर पढ्नेछु।

    ReplyDelete