Subscribe:

Ads 468x60px

15 September 2008

"स्रष्टाहरूमा साहित्यिक भाइरस छन्" - कुमार नगरकोटी

फूलाई फिक्सन डिजाइनर भन्न रुचाउने कथाकार कुमार नगरकोटीसँगको वार्ता यसपाली ब्लगमा राख्ने सोच बन्यो । बिछट्टै भिन्नै विषय र शिल्पसहित आख्यानमा कलम चलाइरहेका उनका कुरा साहित्यप्रति चाख राख्‍नेहरुका लागि रुचिकर होला भन्ने लागेको छ । 
उनी रुटिनमा बाँधिदैनन् । परम्परागत बाटोदेखि विरक्तिएर अफबिट सोच्छन्, र सकेसम्म अफबिट नै बाँच्न रहर गर्छन् । कुनै फिल्म वा उपन्यासको पात्र जस्तै अजीवको चरित्र ! जो सुत्छ मसानघाटमा र  मृत्युसँग जिस्किँदै ब्युँझन्छ भट्टी अर्थात् उनकै शब्दमा - दारुमहलमा ।  सास फेराइको लयमा सिगरेट फुक्नु उसको अम्मल । तर ऊ हो अक्षरको धुरन्धर व्यसनी !
यो अन्तर्वार्ता उनको लेखाइको सुर र साहित्यिक मान्यता थाहा पाउन सहयोगी हुने ठानेको छु । यसले नगरकोटी खासमा के रहेछन् र उनलाई नै वार्ताका लागि रोजाइमा किन पारिएछ भनेर उनका सिर्जना खोजीतर्फ नयाँ पाठकहरुलाई हुटहुटी पक्कै जगाउनेछ । यहाँ पढ्नुस् उनको "पृथ्वी..." शीर्षकको एउटा कथा । 

उनका अरु कथा पनि खोजेर पढ्नुस्, नेपाली कथासाहित्यमा नयाँ आयाम खुलेको पाउनुहुनेछ ।
प्रस्तुत वार्ता त्यही पठनको लागि घचघच्याइ र सङ्केतपाटी मात्र हो :

* तपाईँभित्र लेखकको जन्मको पृष्ठभूमि बताइदिनुस् न !
- स्कुलबाटै जग बस्यो । स्कुलको पुस्तकालयमा पढिन्थ्यो त्यसबाटै अध्ययन बढ्दै गयो र लेखक बन्ने ऊर्जा जम्मा हुँदै गयो ।

* कथाकारितालाई अभिव्यक्तिको औपचारिक माध्यम बनाइसकेपछि नागरिक कुमार नगरकोटी पनि परिवर्तन हुँदै आयो कि कथाकार कुमार नगरकोटी मात्रै ?

- व्यक्ति कुमार नगरकोटीको जीवनशैली अलि बेग्लै खालको छ । बाहिरी दुनियाँसँग घुलमिल गर्न नचाहने मेरो स्वभाव कथा पढ्दा पनि थाहा पाउन सकिन्छ । कहिलेकाहीँ मलाई आफ्ना सिर्जनाहरू हेर्दा लाग्छ- यो लेख्‍ने मैं हुँ, अर्थात् आत्मकथ्य रुपमा मैले आफूलाई त्यहाँ पूरै उघारे झैँ लाग्छ । कथामा बग्दा कता-कता पुगिएको छ, कल्पनाको खेलमा हुत्तिइएको छ । त्यसको लागि अनुभूतिको गहिराइ, जीवन भोग्ने शैली र दृष्टिकोणहरू आदिले भूमिका खेल्छन् । मैले कतै लेखेको छु- 'मलाई लाग्छ मेरो मृत्युपछि कुमार नगरकोटी ज्यादै एक्लो हुनेछ ।' कहिलेकाहीँ म आश्‍चर्यचकित हुन्छु, कुमार नगरकोटी खासमा को हो ? त्यो मैं हो त, जसले चलनचल्तीभन्दा अलि 'अफ बीट'का कुराहरू लेखिरहेको छ ? खासगरी, लेख्‍ने बेलामा अलि अद्‌भूत अनुभूतिमा डुबुल्की मार्न पुग्छु । नियमित दिनचर्या त फेरि उही नै हो, एकोहोरो सिलसिला ।

* वर्तमान साहित्यिक धारबाट तपाईँ किन भिन्न हुनु/देखिनुहुन्छ ? यो तपाईँद्वारा निर्मित घटना हो कि स्वाभाविक दुर्घटना ?

- यसलाई म स्वाभाविक दुर्घटना मान्दिनँ । नेपाली साहित्यबाट मात्र होइन, सिङ्गो विश्‍वसाहित्यबाट नै जे चिज पनि अलि बेग्लै खालको मन पराउने मान्छे हुँ म । मेरो स्वभाव नै त्यस्तै छ, अलि अलग किसिमको । अफ बीट फिल्म हेर्नुपर्ने, अफ बीट चित्रकारलाई भित्तामा छाम्नुपर्ने । निरन्तर चिप्लिरहने भीड त पहिलेजस्तै आफ्नै प्रवाह र दिशामा अघि बढिरहेको छ । तर अर्कै बाटोको निशाना ताक्दै परिवर्तन गर्दै जान मन पर्छ मलाई । यसबाट प्रयोग पनि हुँदै जान्छ । फेरि, म यस्तो हुन्छु है भन्दैमा धडाधड भइहाल्ने कुरा पनि होइन । विचारहरू नै त्यस्तै अलग धारका आउँछन् र त्यो विचारलाई विभिन्न दर्शनहरूले निर्देशित गर्दै परिपाक तुल्याउँछन् ।

* नेपाली तथा विश्वसाहित्यका लेखकहरूमा कस-कसलाई चाख मानेर हेर्नुभएको छ ?

- मेरा पूर्व अध्ययनहरूदेखि विशेष रुपले सँगाल्दै आएकामध्ये एउटा नाम हो शैलेन्द्र साकार । त्यस्तै, मोहनराज शर्मा, अविनाश श्रेष्ठ पनि मन पर्छन् (समग्र साहित्यकारकै छनोट गनुपरेमा चाहिँ शङ्कर लामिछाने अधिक प्रिय लाग्छन्)। तर फेरि कथाकार शङ्कर लामिछाने मन पर्दैन । विश्वसाहित्यमा मनपर्ने थुप्रै नामहरूमा अल्वेयर कामु, नित्शे, मार्खेज, अर्नेष्ट हेमिङ्वे, चेकोस्लोभाकियाका मिलान कुन्देरा अनि भारतका निर्मल वर्मा आदिका लेखन आम प्रवृत्तिभन्दा बेग्लै भएका कारण मन पर्छन् । त्यस्तै, आत्मिक उँचाइको लागि खलिल जिब्रानले मन छोएका छन् । मेरा कथाहरूमा पनि जिब्रानका जस्ता कुरा आएका छन् ।

* अहिलेको नेपाली कथाशिल्प गुरुप्रसाद मैनालीकै लाहाछाप बोकेर ऊँटको चालमा बढिरहेको आरोप समालोचकहरूको छ । यस मुद्दामा तपाईँ समालोचकको शास्त्रीय चश्मालाई लाठो देखाउनुहुन्छ कि कथाकारकै जग खुकुलो देख्‍नुहुन्छ ?

- एकै किसिमका कथाहरू पढिआएर त्यही कथाको धरातलबाट समालोचना गर्ने समालोचकहरूको पनि एकोहोरो दृष्टिकोण बनिसकेको पाइन्छ । तर मुख्यगरी स्रष्टाहरूकै पछुवा मानसिकता जिम्मेवार छ । म त के भन्छु भने, कतिपय स्रष्टाहरूमा साहित्यिक भाइरसहरू छन् । (आएका) नयाँ चिजहरूलाई त स्वीकार्न सक्नुपर्‍यो नि, अनि पो आफूले पनि नयाँ कुरा दिन सकिन्छ ! पुरानै ढर्रामा बसिरहेर त केहीको पनि सम्भावना हुँदैन । अध्ययनशीलतालाई तिखारेर त्यसलाई ग्रहण गर्दै नयाँ प्रयोग र आविष्कार होस्, अनि मात्र साहित्यले समाजको जनजीवनमा ताजगी भर्नसक्छ । नत्र त टाँगाको लोसे चाल लिएर पुरानै शैली काखी च्याप्ने साहित्यले समाजलाई केही दिनुसाटो स्थितिलाई उल्टै खलबल्याउँछ मात्रै ।

* यसरी परम्परागत ढर्रा नै चलिरहनुको कारण के होला ? त्यो ढर्रा चल्नुमा लेखक वा पाठक (अपेक्षा/आग्रहका हकमा) कसको दोषी पल्ला भारी देख्‍नुहुन्छ ?

- साहित्य परम्परागत भइरहनुमा पाठकहरूको कुनै दोष छैन । अहिलेका पाठक निकै जागरुक र सचेत भइसकेका छन् । प्लस टु का विद्यार्थीहरूले किताबमा सीमित नभई इन्टरनेट माध्यमबाट आफ्नो दायरा फैलाई सूचनाको असीमित भन्डारसम्म पहुँच पुर्‍याएका छन् । एकातिर पुरानै लेखनमा चित्त बुझाएर रमाउने पाठक पनि छँदै छन्, अर्कातिर युवा पुस्ताको ठूलो जमात जन्मिरहेको छ जो विश्वसाहित्यको अध्ययनतर्फ अग्रसर भएको छ । यी दुईको बीचमा पनि ठूलो खाडल छ । हाम्रा धेरै लेखक परम्परागत शैलीमै अलिकति ढाँचा फेरेर त्यसमा आफ्नो लेवल टाँस्नमै मग्न छन् । सर्जकहरूमा हुनुपर्ने व्यापक एवम् वैकल्पिक सोचको दृष्टिसागै नयाँ-नयाँ विचार तथा पद्धति देख्न सकिएको छैन । बरु यहाँ सीमित घेरा र वादमा अल्झिएर लेवलअन्तर्गत रहेर लेख्ने परिपाटी छ । अबको समयमा सर्जक एउटै ढाँचामा सीमाबन्द भएर नबसी अध्ययनको दायरा बढाएर सोचाइहरू परिमार्जन गर्दै उत्तरआधुनिकताको मेलोमा पस्नुपर्छ । हरेक सम्बन्धको औपचारिक आयु भएजस्तै पुरातन धारसँगको सम्बन्ध तोड्नलाई सर्जकले आ-आफ्ना घडी नघुमाई विकल्पै छैन ।

* उत्तरआधुनिकता नेपालको सन्दर्भमा अझै पनि हौवाकारितामा सीमित भएको भान हुन्छ । तपाईँका कथाहरूले पनि उत्तरआधुनिक ट्याग लिएको परिप्रेक्ष्यमा उत्तरआधुनिकता यही हो भन्न सकिने सूत्र-अनुहार देखाउन सकिन्छ ?

- उत्तरआधुनिकता यही हो भन्ने निश्चित बनौट छैन । धेरै प्रविधिहरू यसभित्र अटाएका छन् । अन्तिम सत्य हो भन्ने चिजै छैन । सबैतिरबाट जोडिएको मिश्रति स्वरुपमा हामी उत्तरआधुनिकतालाई बुझ्न सक्छौँ । अहिले त हामीकहाँ बहसकै सिलसिला चलिरहेको छ । यसैले व्यापक र असीमितताबाट ठोस बुझाइको चरणमा आउन अझै केही समय लाग्ला । बहसकै कुरामा पनि, सिद्धान्तमा मात्र बगेर भएन प्रयोगमा उत्रिन सक्नुपर्‍यो ।

* अहिले नेपालमा चलिरहेको आम लेखनशिल्पइतर गएर विश्वसाहित्यको लय झिक्ने तपाईँको कलमलाई तौलिएर हेर्दा तपाईँ कुन र कस्तो हदसम्म प्रभावित लेखक हो, या होइन ?

- धेरैको प्रभाव छ ममा । सुरुसुरुमा नित्सेजस्ता बौद्धिकहरूले खूबै मन छोए, फलतः आफ्ना लेखनमा पनि तिनको छाया कताकतै झुल्कियो । पछि-पछि आएर भाषामा कमनीयता (जस्तोः ओशो रजनीशको जस्तै मिठासे प्रवाहधारा) पनि आउँदै गयो । अनेकौँ किसिमको मिश्रण छ ।

* नेपाली साहित्यमा प्राय रुन्चे प्रलाप सुनिन्छ - पाठक नै छैनन्, नेपाली किताब पढिँदैनन्, हेला गरिन्छन् आदि । के त उसोभए नेपाली साहित्य 'पढिदिनुपर्ने' दयनीय स्तरको र हेला गर्नुपर्ने कोटिकै छ त ?

- हामीकहाँ कतिपय साहित्य दयनीय स्तरका पनि छन् । कृतिको गुरुत्वबलले नै पाठक तान्ने हो, त्यसमा कति शक्ति छ । त्यसैले स्वभावतः लेखकहरूको कमजोरी देखिन्छ । र अर्को कुरा बजारको समस्या पनि हो । अहिले कस्तो स्थिति छ भने, साहित्य पनि कस्मेटिक (देखावटी) भइदियो । पालिस लगाएजस्तो छ । कस्मेटिकबाट बाहिर निस्किएर जानुपर्ने हाम्रो यात्रा 'कस्मिक जर्नी' हो । स्रष्टाहरूमा अध्ययनको व्यापकता र लेखनमा गहन प्रतिबद्धता छैन । चिन्तनको सीमित घेरोमा रुमलिएको स्थिति छ ।

* कथाहरूमा तपाईँको कलम कतै मिथमा रमाएको र कतै भूतकालीन समयको घुलिघुलाइमा डुबुल्की मार्न केन्द्रित भएको पाइन्छ । अग्घोरै यस्तो Past Lover हुनुको कारण के हो ?

- तिनमा समग्र मान्छेको अतीत छ, मेरो मात्र होइन । त्योभन्दा पनि मेरा कथाहरूमा मृत्युका सन्दर्भहरू विभिन्न रुपमा गाँसिएर आएका हुन्छन् । तर मृत्युलाई मैले अँध्यारो पक्षबाट नहेरी जीवन चियाउने आँखीझ्यालको अर्थमा राखेको हुन्छु । मेरा हरेक लेखनमा कता-कताबाट मृत्युको प्रसङ्ग आइहाल्ने अब त अभिन्न विषय र शैली नै बनिसक्यो ।

* साहित्यमा यौनको सीमा, सम्भाव्यता र प्रस्तुतिकरण के हो भन्ने लाग्छ ? आफ्नो प्रयोगसँग एकाकार भएर हेर्दा तपाईँ यौनलाई कसरी अर्थ्याइरहनु वा ग्रहण गरिरहनुभएको छ ?

- मेरो लेखनमा यौन विशेष अर्थमा आउँछ, त्यत्तिकै मसला वा अचारका रुपमा आएको हुँदैन । कथालाई सिङ्गो बनौटमा ढाल्ने हिसाबमै दार्शनिक देष्टिकोणबाट सान्दर्भिक अर्थमा यौन मेरो लेखाइमा घुसेको हुन्छ ।

* आफ्नै कथामा निक्खर हुलिया लिएर पस्नुभएमा तपाईँ कस्तो किसिमको पात्रमा वर्णित हुनुहुन्थ्यो होला ? तपाईँको पात्र-परिचय ?

- मलाई मनपर्ने पात्र मेरै कथा 'मोक्षान्त काठमाडौँ फिभर' को विदेशी फोटोग्राफर पात्र हो । उसको कुनै नाम पनि छैन, देश छैन ; घुमीघुमी हिँड्छ । त्यो पात्र म आफैँ हुँ कि जस्तो लाग्छ कहिलेकाहीँ । त्यो कथा लेख्दा पनि बडो तृप्ति मिलेथ्यो । एउटा दार्शनिक यात्राको सिलसिला छ कथामा । सन् १९७४ को काठमाडौँ, धुवाँमा रङमङिएको ब्ल्याक काठमाडौँ, विदेशीहरुले मन पराएको काठमाडौँ, हिप्पीहरू लहरिने त्यस समयको काठमाडौँलाई लिएर लेखिएको मथामा आजको आधुनिक समयको सन्दर्भ पनि गाँसिएको छ ।

* अबको नेपाली साहित्य कतातिर हिँड्ला, यसको सानो भविष्यवाणी गर्नुपर्दा आशलाग्दो मोड कत्तिको देख्‍नुहुन्छ ?

- अबको समय आधुनिकताकै हो । पुराना चिन्तनप्रणलीसँग 'डिभोर्स' गर्दै नयाँ सोचका साथ अघि बढ्नुपर्छ । आधुनिक लेखनतिर अबको साहित्य उन्मूख हुनुपर्छ, निश्चित रुपमा त्यतैतिर जान्छ पनि । अहिले नेपाली साहित्यमा भइरहेका विभिन्न प्रयोग र आन्दोलनको प्रवाहलाई झट्ट स्वीकार्न पाठकहरूलाई गाह्रो पर्छ । कारण, पुरानै लेखनको धङधङीमा रहेकाले पाठकको मस्तिष्क पनि पुरातन लेपले छोपिएको छ । त्यो बिस्तारै पखालिएर नयाँ तरङ्ग फैलिनेछ ।

* अहिलेका पाठकहरूको धुन कस्तो पाउनुभएको छ ? उनीहरूको प्वाइन्टसँग आजका लेखकले मिट गर्न सकेको अवस्था छ त ?

- अहिले मिट गर्न सकेको देखिँदैन । पाठकहरू पनि अन्यौलमा छन् । नयाँ चिज ग्रहण गर्न त अलिकति गाह्रै हुन्छ । तर समयअनुसार अन्यौलता चिरिँदै जान्छ । आजका पाठकहरू नयाँ कुरालाई ग्रहण गर्नुपर्छ भन्ने खोजीका साथ नयाँ चेतना लिएर आएरहेका छन् । यसको दवाब लेखकसम्म पुगेर कायापलटको लागि बाध्य बनाउने देखिन्छ ।

* एउटा लेखकले पाठकको रुचि र फर्माइशअनुसार लेख्‍ने हो कि स्वेच्छाले लेख्‍ने हो ?

- कतिपयले स्वान्तःसुखाय लेख्‍ने भन्छन्, त्यसो पनि होइन । पाठकको आग्रहबाट भन्दा पनि आफ्नै चेतनाको आग्रहबाट लेख्‍नुपर्छ । पाठकको आग्रहले त लेखकको आफ्नो 'लिक' बहकिन सक्छ । लेखिसकेपछि चाहिँ त्यसको नतिजाको लागि समालोचक र पाठकको बाटो ताक्नुपर्छ ।

* तपाईँको प्रयोग-शिल्पबाट नेपाली कथासाहित्यले के कुरा पर्खिँदा हुन्छ भन्ने लाग्छ ?

- नयाँ सोचसहितको लेखनशैली र अध्ययनशीलताको आग्रहभाव । मेरा कथाहरू पढ्दै जाँदा थप कुरा जान्नका लागि धेरै सन्दर्भ (रिफ्रेन्स) पाठकले भेट्न सक्छन् । नयाँ चाख र जिज्ञासामा पाठकलाई कुतकुत्याउँछ । कतिपय मान्छेहरूले मेरो लेखाइ क्लिष्ट भयो भन्छन् । क्लिष्ट होइन त्यो, त्यहाँ रिफ्रेन्सहरू अनेक किसिमका आउने भएकाले नयाँ विवरण र तथ्यले क्लिष्ट लागेको हो । पठनीयताको आग्रह कसरी पर्न जान्छ भने, कथा पढिसकेपछि पाठकहरूले यस्तो पनि त रहेछ, यो भनेको के रहेछ यो पनि पढौँ भन्ने कुतूहलताले कथाबाहेक पनि अन्य थप अध्ययनतर्फ फैलिने बाटो लिन्छन् । मेरा कथाको जगमा टेकेर थप ज्ञानसागर खोतल्नतिर लागून् भन्ने आशयले सुतिरहेका पाठकलाई ब्यूझाउँने किक म दिइरहेछु ।

5 comments:

  1. तपाईको ब्लगको माध्यमबाट नगरकोटी ज्यु संग भिन्दै ढंगले परिचित हुने मौका पाईयो ।

    यो रोचक कुराकानि पस्किनु भएकोमा धन्यवाद् ।

    ReplyDelete
  2. 'पृथ्वी' कथा फेरी पढ्ने बनाउनुभयो र कथाकार संग चिनजान गराउनुभयो । धन्यवाद !

    ReplyDelete
  3. मलाई त प्रश्नकर्ताका प्रश्न एदकम सटिक लागे । साहित्यकारको उत्तरका बारेमा त के नै भन्नुपर्ला र !!

    अन्तर्वार्तामा प्रश्नको पनि भुमिको ठूलो हुन्छ जस्तो लाग्छ । मलाई त प्रश्न हेरेर बल्ल उत्तर पढ्न मन लाग्छ । तपाईँले गर्नुभएका हरेक प्रश्न एकदमै सान्दर्भिक लाग्यो र अन्तर्वार्तालाई लम्ब्याउनका निमित्त नभई 'to the point' प्रश्न गर्नुभएको रहेछ । धेरै मन पर्यो ।

    ReplyDelete
  4. वार्ता पढ्ने सबैलाई धन्यवाद ।
    रत्न पुस्तक भण्डारबाट 'मोक्षान्त काठमान्डु फिभर' कथाकृतिको प्रकाशनपछि हालै २०७० मा नगरकोटीको 'फोसिल' संग्रह आएको छ । नगरकोटी साहित्यको पारखी हुनुहुन्छ भने स्वाद लिनुहोला कृतिको ।

    ReplyDelete