ठट्टैमा बित्छ जोबन, अरुको त के कुरा?

ब्लग लेखनका चार वर्ष पनि ठट्टैमा बितेसरि गए । अप्रिल फुलकै दिन चार वर्षअघि थालेको यो ब्लग माझेर चम्काउन मेरो अविरल प्रयत्‍न रहँदै आयो । तर ब्लग लेख्‍नु र चम्काउनु अनन्त यात्रा रहेछ । पूजाकोठाको थाली एक दिन चम्काएर पार पाइने हो र ? अँ त, पूजाकोठाको कुरा गर्दा केही समय यता ब्लग भनेको पूजाकोठा र ब्लग लेखन चाहिं पूजा हो जस्तो लाग्न थालेको छ । ब्लग लेखन पूजा नभए यसबाट यति आनन्द र तृप्ति कसरी मिल्दो हो!

ब्लगका चार वर्षमा लेखनका महत्वाकांक्षी योजना केही पनि पालिएन । निरुद्देश्य लेखन । सबै काम मिसनसहितको गरिन्न रै’छ जीवनमा, सबै कुरा योजनासहितको पनि हुन्न रै’छ संसारमा । कुनै योजना पूरा गर्छु भनेरै लाग्नेहरुबाट त कुनै छनक मिल्दैन यहाँ, स्वयंसेवा (आफ्नो) को लहडबाट सुरु गरिएको ब्लगले कुनै बोझ के पन्छाओस् ! खालि रहरले लेखियो, स्वर्गै हडपेको खुसीमा फुलेल भइयो, सधैं १६ वर्षको जोबन ज्यानमा कसिएर बसिराखे झैं वासन्ती सुगन्ध अनुभूति गरियो । आह्, ब्लग भनेको खुला गगनमा चराको भाँतीमा उड्नु हो ! कुनै शिकारीको परवाह नगरी । चराको वायुवेगको उडानबाट प्रतिफलको आशा के राख्‍नु ? बरु आफ्नो उडानबाट कसैलाई आफैं उडेको अनुभव हुँदो हो, कुनै न कुनै सन्तुष्टि मिल्दो हो । ब्लगको शक्ति र प्रभाव त्यही नै हो।

चार वर्षको यात्रा पूरा गरी पाँचौं वर्षमा ब्लग लम्किनुलाई मैले वर्षैपिच्छे चुम्बनको विम्ब भिडाएको छु । चौथो चुम्बन पनि मैले गरिभ्याएँ । तर जति नै बार गरे पनि चुम्बनले केहीको जन्म दिंदैन । यो त कुनै गोलो घेरोको अक्वारियममा माछो ठोक्किरहनु जस्तै छिपछिपे चाल हो । जन्मको लागि अलग प्रयास चाहिन्छ र केही समय पनि । यो ब्लगले त्यो गन्तव्य भेट्ने दिशा पैल्याओस् ।

सदा झैं म, मेरो लेखन र ब्लग मन पराएर-नपराएर हौसला र सुझाव दिने सबैलाई सम्झिरहेछु।

चियर्स !!  

---
गत वर्ष ब्लगको चौथो वार्षिकोत्सवमा लेखेको गन्थन पढ्नुस्- तीनवर्षे ब्लगिङ र आत्मस्वीकृति : यो अप्रिल फुल होइन