'जाडो महिना आउँदै छ रे भन्ने सुनेकी छु
मैले मेरो हजुरलाई स्वीटर बुनेकी छु'
मैले मेरो हजुरलाई स्वीटर बुनेकी छु'
काठमाडौंमा जाडोले बिस्तारै पखेटा खोल्दै छ । बिहान-साँझ सिरेटोले जिस्क्याउन थालेको छ।
साँझ पर्दै गरेको समय । गजलकार प्रकट पगेनी 'शिव' आफ्नो गजलमा घुसेर स्वीटर बुन्न
तम्सिने गुनिला नारीहरूलाई निकै सम्झिरहेछन् । बुनिएका स्वीटर खोइ कुन कुनामा छाडेर आएका छन् । उमेरमा ५५ फेरो काटेको ज्यानले साँझको सिर्सिरे बतासलाई नवयुवक झैं चुनौती दिएका छन्।
हामी बागमती किनारको चौरमा छौं।
बागमती, जसले सभ्य दाबी गर्ने काठमाडौंलाई छिटा पार्दै चिरेको छ । कुराकानी गर्नुअघि बागमतीको कसम खाएका छैनन् प्रकटले, कसम खान लायक पवित्रता वागमतीसँग छैन पनि । यसैले कसम नखानुपर्ने वागमतीछेउ श्रीमतीलाई बिर्सिएर दूरका प्यारीहरूलाई सम्झिँदै छन् । उनी बैंसले कुतकुतिएका गजल लेख्छन् । प्रेमको प्राप्ति र वियोगका गीत पनि लेख्दै आएका छन् । जीवनयात्रामा छुट्टिनुपरेका पात्रलाई प्रस्तुत गर्ने क्रममा उनको सिर्जनामा श्रीमती इन्दु ओझेल परेकी छन् । 'अलग्गै रहने प्रेमिका र जीवन नै बिताउनुपर्ने श्रीमतीबीच नितान्त फरक हुन्छ', आत्मीयताको क्यालकुलेटरबाट यसरी हिसाब निकाल्छन् प्रकट।