हेर्दाहेर्दै ऊ कस्ती भई !
भर्खरै चिनजानको केटोलाई पोइको व्यवहार गर्छे
रिसाउँदा पनि हाँस्छे
गालाको खोबिल्टोमा जाकिरहने उसको काइदा कानुन
कतै खाडल त कतै टापु छन्
अनुहारमा डन्डीफोरले रबर प्रिन्ट हानेका छन् ठाउँ-ठाउँमा
तेरिमा टोक्ने हौ !
तिनै मसिना टापुमा ठेस लागेर बल्ढ्याङ खान्छु
उसका वचन-दुर्वचनको लिकमा
ठीकठाक हिंडिरहेछ एउटा रेल
ठीकठाक हिंडिरहेछ एउटा रेल
हेर्दाहेर्दै कस्ती भई ऊ ...
बिलकुल घरेलु महिला बन्छु भन्छे
घरभित्र घर बनाउने उसका कुरा बुझ्नै मुश्किल लाग्छ
छियाछिया मुटुको भित्ता लिपपोत गरिदिन्छे
निभेको आँखामा ब्युँझिन्छे आगो सल्काइदिएर
भात पाकिरहन्छ -
सपना
रहर
र जीवनको
हेर्दाहेर्दै ऊ भई कस्ती ...
आँखै छोपिदिने सहरका अँध्यारा गल्लीहरुमा
उसको सहयात्राको उज्यालोबिना
कसरी पो हिंड्दो हुँ
उसका दुई पृष्ठ आँखा पढ्दैमा विश्वकोष छिचोल्छु
उसको सहयात्राको उज्यालोबिना
कसरी पो हिंड्दो हुँ
उसका दुई पृष्ठ आँखा पढ्दैमा विश्वकोष छिचोल्छु
दर्शनका किताब महँगीको बोझ जस्तै लाग्छ
विचारको घुइँचोमा कताकताबाट उसकै टाउको जोडिन आइपुग्छ
फरियामा चपक्क बाँधेर राखेको नानी मुस्कानले
लोभ्याइराख्छ... लोभ्याइराख्छ
हेर्दाहेर्दै भई ऊ कस्ती ...
आफ्नो सासले रचिरहिछे मेरो वायुमण्डल ।
No comments:
Post a Comment