‘कृपया मलाई तपाईंको फोन टेक्स्ट गरिदिनुहोस्। कुरा गर्न मन लागेको छ। मेरो फोन 980*******. धन्यवाद’
गत जुलाई २१ मा लेखक जगदीश घिमिरेको मेसेज आयो फेसबुक इनबक्समा । संसारदेखि विरक्तिएर आफैंमा खुम्चिएर बसेको थिएँ म । कहिलेकाहीं त्यसैत्यसै हराउन मन लाग्छ र समाजका सबै जोर्नीबाट खुस्किएर कतै एकान्तबासमा रहन मन लाग्छ । तर, त्यो सधैं सम्भव हुँदैन, मन लागेको समयमा पनि ।
फेसबुकमा दाइले मलाई गरेको मेसेज त्यति एउटा र एकमात्र हो । मेसेज पाउनासाथै लगत्तै फोन भएको थियो । पाँच वर्षअघि ब्लगमा उहाँको पुस्तक ‘अन्तर्मनको यात्रा’ बारे मैले पुस्तक चर्चा (जगदीश अवतार : संक्षिप्त आराधना) लेखेको थिएँ । दाइले निकै पछि भर्खरै मात्र त्यस बेला फेला पार्नुभएछ सो लेखोट । उतिबेला पुस्तक पढें, उहाँको लेखनबाट मृत्युबोधका किस्साभित्र जीवनबोधले छोइएर जे-जस्तो लाग्यो लेखें । जसको पुस्तकको बारेमा लेखें, उसैलाई थाहा दिन सकिनछु । हल्ला बाहिर रमाउने बानी पर्दा यस्तै हुन्छ ।