यादमा जगदीश दाइ

Jagdish Ghimire - 2011‘कृपया मलाई तपाईंको फोन टेक्स्ट गरिदिनुहोस्। कुरा गर्न मन लागेको छ। मेरो फोन 980*******. धन्यवाद।’

गत जुलाई २१ मा लेखक जगदीश घिमिरेको मेसेज आयो फेसबुक इनबक्समा । संसारदेखि विरक्तिएर आफैंमा खुम्चिएर बसेको थिएँ म । कहिलेकाहीं त्यसैत्यसै हराउन मन लाग्छ र समाजका सबै जोर्नीबाट खुस्किएर कतै एकान्तबासमा रहन मन लाग्छ । तर, त्यो सधैं सम्भव हुँदैन, मन लागेको समयमा पनि।

फेसबुकमा दाइले मलाई गरेको मेसेज त्यति एउटा र एकमात्र हो । मेसेज पाउनासाथै लगत्तै फोन भएको थियो । पाँच वर्षअघि ब्लगमा उहाँको पुस्तक ‘अन्तर्मनको यात्रा’ बारे मैले पुस्तक चर्चा (जगदीश अवतार : संक्षिप्त आराधना) लेखेको थिएँ । दाइले निकै पछि भर्खरै मात्र त्यस बेला फेला पार्नुभएछ सो लेखोट । उतिबेला पुस्तक पढें, उहाँको लेखनबाट मृत्युबोधका किस्साभित्र जीवनबोधले छोइएर जे-जस्तो लाग्यो लेखें । जसको पुस्तकको बारेमा लेखें, उसैलाई थाहा दिन सकिनछु । हल्ला बाहिर रमाउने बानी पर्दा यस्तै हुन्छ।

फेला पारेर पढेपछि धन्यवाद दिन मलाई खोज्नुभएको रै’छ दाइले । जगदीश घिमिरे जस्तो साहित्यमा अलग प्रतिष्ठा कमाइसकेका व्यक्तिले सम्झिंदै खोजेकोमा भन्दा पनि उहाँ खुसी भएको देख्दा खुसी लाग्यो मलाई त्यतिबेला । उहाँ असाध्य रोगबाट ग्रस्त हुनुहुन्छ भन्ने थाहा पाएकाले पनि समानुभूति थपिएको थियो होला ममा ।

फोनवार्ताकै क्रममा ब्लगमा रहेको सो लेखोट मदन पुरस्कार पुस्तकालयको मुखपत्र ‘नेपाली’ त्रैमासिकमा छाप्न कमल दीक्षितले इच्छा देखाएको कुरा दाइले गर्नुभयो । त्यति सिलसिलेवर हिसाबले त लेखेको थिइनँ पुस्तकबारे । ब्लगको कुनोमा सीमित सामग्री सबैसामु आउने कुरामा खुसी लाग्यो । नभन्दै दीक्षितज्यूको इमेल आयो सोही दिन । पुस्तकको प्रशंसा गर्नुका साथै पुरस्कृत गर्ने मदन पुरस्कार गुठीलाई पनि जस दिएको देख्दा गुठीको मन उचालिनु स्वाभाविकै थियो।

त्यसअघि पनि जगदीश दाइसँग पटकपटक भेट भएको थियो । पहिले नितान्त लेखक र पाठकको रुपमा र अलिक निकट चिनजान भइसकेपछि पनि । ‘अन्तर्मनको यात्रा’ कृति पढेपछि उहाँलाई अहम् पाल्ने र आत्मबखानमा रमाउने व्यक्ति भनेर निष्कर्ष निकाल्थे । सो कृतिमा आफूले साहित्यका साथै समाजसेवामा गरेका प्रयासका बारेमा खुलेर लेख्नुभएको छ दाइले । रक्तक्यान्सरको पहिचान भइसकेर पनि उत्साहपूर्वक जिउने र गहन जीवनबोधको पुस्तक लेखेकोमा धेरैले प्रेरणापुञ्ज नै मानेका छन् दाइलाई । मैले भने उहाँमा अहम् भन्दा पनि आत्मविश्वास र सघन जीवनवादको प्रमाण मात्रै पाएँ, उहाँका उठबस र सिर्जनाहरुमा । उहाँ रोगले खाँदै गए पनि जीवनलाई फकाएर, मृत्युलाई थर्काएर बाँच्नुभयो । सबै मान्छे मर्ने निश्चित भए पनि आफ्नो स्पष्ट किटानी  छ भनेर सहज मुद्रामा देखिनुहुन्थ्यो । मृत्युको दिन गन्ती गरेर पनि जीवन निकै निचोरेर जिउन सकिने रै’छ । मृत्यु उहाँको लागि जीवन अझ राम्ररी बाँच्न सिकाउने पाचक बनिदियो।

आफ्ना पुस्तकबारे कसैले कुनै प्रतिक्रिया दिएमा एक पंक्तिको मात्रै छ भने पनि उहाँ त्यसलाई फेसबुकमा उल्लेख गर्नुहुन्थ्यो । त्यसमा आत्मप्रचार हैन, उहाँमा आफ्नो सिर्जनाशक्तिप्रतिको अटल विश्वास प्रकट हुन्थ्यो । बत्तीलाई देखाएर उज्यालोको महिमा गाउँदा नमिल्ने कुरो के छ र ? आफू र सिर्जनामाथि ढुक्क देखिनुहुन्थ्यो दाइ । हुन पनि साहित्यका पण्डितहरुसम्मले सराहना गरेकै थिए उहाँका कृतिहरूलाई।

नयाँ पुस्तासँग घुलमिल गर्दा बोली खिइएला भने जस्तो सोच्ने र बलजफ्ती दूरी बनाएर आराध्य देव बन्न खोज्ने नेपाली साहित्यका पाका स्रष्टाभन्दा विपरीत रहनुभयो दाइ । ठाडै बोल्नुहुन्थ्यो तर त्यसमा हार्दिकता र सरलता हुन्थ्यो । सानो कुरालाई पनि महत्वसाथ चर्चा गर्ने स्वभाव देख्थें उहाँको । एउटा उदाहरण । फेसबुकमा कवि, लेखक, नाट्यकर्मी, कलाकार लगायतका तस्वीर समेटेर क्रियटर्स कर्नर भन्ने एल्वम बनाएको छु । जे-जस्तो स्तरको तस्वीर खिचे पनि सर्जक र शिल्पीहरुसँग सबैले तस्वीरको झलकमार्फत भए पनि चिनारी गाँस्न सकून भनेरै एल्वम बनाएको थिएँ । माथिको फोटो पुरानो वानेश्वरको गुरुकुलमा दुई वर्षअघि खिचेको थिएँ।

जगदीश दाइले सधैंको भेटमा सो फोटो एल्वमलाई राम्रो र व्यवस्थित कसरी बनाउने भन्नेबारेमा सुझाव दिइरहनुभयो । खासगरी एल्वममा समेटिएका कवि, लेखक र कलाकारको फोटो उनीहरुको नामको अल्फावेटिकल अर्डरमा राखिंदा राम्रो हुन्छ भन्ने उहाँको विचार थियो । त्यसरी राखिंदा फोटो हेर्ने र खोज्नेलाई पनि सजिलो हुन्छ भनेर उहाँले दूरगामी सोच राख्नुभएको थियो । दुई सय जनाको भन्दा बढी फोटो रहेको एल्वममा फोटोहरु थपिंदै जाँदा कसको फोटो कहाँ छ भन्ने खोज्न पनि सकस!

पछिल्लो पटक बातचित हुनेगरी सकस उपन्यासमाथि अन्तर्वार्ता दिन कान्तिपुर टीभीमा आउनुहुँदा भेटिनुभएको थियो दाइ । अन्तर्वार्ताका क्रममा उहाँलाई मन थियो, क्यामेरामा देखिनेगरी उपन्यासको आवरण देखाउने । देखाउनु पनि भयो । त्यसमा पनि उहाँको पब्लिसिटी नभई जीवनप्रतिको प्रेम र विश्वासका झलक पाइन्थ्यो । मृत्युको किटानी भइसकेको मान्छेलाई नत्र मोह के कुराको ! मोह त भोलिका लागि केही कुरा खर्च गर्न र रमाउन साँचिने कुरा हुन् । त्यसपछि ब्रजेशको उपन्यास ‘यायावर’को विमोचनमा पर्यटन बोर्डको सभाकक्षमा कमजोर स्वास्थ्य छँदाछँदै पनि जोशिलो मन्तव्य राख्नुभएको सुनेको थियो।

पछिल्लो पटक ओम अस्पतालमा उपचारका लागि राखिएपछि साथी प्रमिला थपलियासँग दाइलाई हेर्न जाने सल्लाह भएको थियो । तर दाइले पर्खिनुभएन।

जीवन हतारमै घुमेर घडी बाहिर पुग्ने सुई त हो आखिर ! हामी त्यसलाई यति र उति बज्यो भनेर हिसाब निकाल्छौं।

Post a Comment

1 Comments

  1. राम्रो लेखको लागी धाइबाजीलाइ धन्यबाद। साथै जगदिश जी लाई हार्दीक सम्बेदना।

    ReplyDelete