परिवर्तन कसलाई मन नपर्ला र! यथास्थानमा जमेर, पछाडि गुडुल्किएर बस्न कसलाई पो मन लाग्ला! तर पहिलेकै अँध्यारो समयको परावर्तन जस्तो भइदिएपछि परिवर्तन भन्नु पनि सधैं राम्रो र सुखद मात्र हुन्न रैछ भन्ने थाहा हुन्छ।
राजन्त्रलाई बिदा गरेर मुलुक लोकतान्त्रिक गणतन्त्रमा आएपछि धेरै कुरामा परिवर्तन देखियो। सारमा होइन, रूप पक्षमा। फिल्मको नाम त फेरियो, कलाकार पुरानै प्रजातिका। पहिले चर्चा गरिएको एउटा भिलेनको ठाउँमा दर्जनौं भिलेनले कब्जा जमाए। सबका सब विभिन्न गौंडामा देशको चीरहरण गर्ने दाउमा हात लम्काइरहेका।
आम जनताको बुझाइ यही हो।
गणतन्त्र प्राप्तिपछि मुलुकले नापेको बाटोमा ती भिलेनहरुको डोंब गहिरो गरी नियाल्दा यो बुझाइ धेरै हदसम्म सत्य लाग्छ। यस बीचमा 'हामी गणतान्त्रिक मुलुकका नागरिक' भन्ने आत्मरति हामीले पाएको नाफा हो। तर, यो नाफाभित्र खोतल्न थालियो भने बाउन्स चेक मात्र मिल्नेछ।
राजतन्त्र छाडेर आएपछि विगतको भूतले हामीलाई पलापला खुबै सताइरह्यो। पुराना धरोहर र सम्पदा बोझ भए। राजा-महाराजाका ऐतिहासिकता जोडिएका संस्थाहरू चिलाउने काउछो बने। व्यवस्था परिवर्तनको आवेगमा विद्यार्थीले त्रिचन्द्र, रत्नराज्य जस्ता क्याम्पसका नाम खुर्केर नयाँ नाम दिए। भलै त्यसले साकार रुप लिन सकेन। यसलाई परिवर्तनमाथि नै अन्याय भनेर मान्नुपर्ने होला। उता, रत्नपार्क शंखधर पार्क भयो। सञ्चार माध्यमतिर ‘महेन्द्र राजमार्ग’लाई छुरा चलाएर पूर्व-पश्चिम राजमार्ग भन्छन् क्यार। अझ नयाँ बन्ने राजमार्गलाई लोकमार्ग भन्न थालियो। धन्न राजधानी, राजदूत, महाराजगञ्ज रातारात लोकधानी, लोकदूत र राष्ट्रपतिगञ्ज भएनन्! विशिष्ट व्यक्तिको निधनमा दिइने राजकीय सम्मानलाई लोककीय सम्मान भनिएन! अनि धन्न राजबहादुर नामधारी व्यक्तिहरुले पुनःसंरचना हुनु परेन!
पहिला बन्ने राजमार्ग र अहिले बन्ने लोकमार्गमा के फरक होला? बेलाबेला सोच आउँछ। लोकमार्गमा निर्माण सामग्री, प्रविधि, डिजाइन र ठेकेदार सबै एकसेएक सक्कली हुन्छन् कि! यसैले लोकमार्ग कतै नभएको एकदम पक्का र बलियो हुन्छ कि! लोकमार्ग निर्माणमा कहींकतै भूलवश खाल्डाखुल्डी परे पनि सवारीसाधन गुड्दा यात्रुले लचकदार र आरामदायी महसुस गर्न पाउँछन् कि! राजमार्ग र लोकमार्गको गुणस्तर र यात्राको मजामा हुने अन्तर आफैं पत्ता लाउनुस्।
म पनि कहिले राजमार्ग त कहिले लोकमार्गको यात्रामा हुन्छु। घर र राजधानी आउजाउ गर्दा पूर्व-पश्चिम महेन्द्र राजमार्ग धेरै गुडेको सडक हो। बसको लामो र पट्यारलाग्दो यात्रामा गइरहँदा झट्ट बसबाट उत्रेर सुस्तरी नै भए पनि आफ्नै बुताले हिंड्दै जाऊँ जस्तो झोंक चल्छ। बस गुडिरहे पनि उही ठाउँमा स्लिप खाएर चिप्लिरहे जस्तो लाग्छ। सिटमा खुम्चिएका घुँडाहरू प्राण मागिरहेका हुन्छन्।
मलाई हिंड्न औधि मन पर्छ। जीवनमा लक्ष्य नसोची यात्रा गर्ने मान्छे कतै पुग्दैन भन्छन्। तर, मलाई निरुद्देश्य हिंड्न मन लाग्छ। एउटा रोमाञ्चक यात्रा गरिरहँदा साँझ कहिल्यै नपरोस्, बरु ठेस जतिसुकै लागोस्। यात्रामा थकाइ होस्, कतै सुस्ताउने चौतारी होस्। कतै पुग्ने हतार नहोस् तर यात्रामा निरन्तर रफ्तार होस् । जसरी ध्यान गर्न एकाग्र चित्तमा बस्दा शरीर तरंगहरुमा पग्लिएको अनुभूति हुन्छ, हिंड्दा उसरी नै ज्यान गितार झैं बजिरहेको महसुस हुन्छ।
राजधानी आएपछि यहाँका साँघुरा र घुमाउरा सडक नै संघर्षको साक्षी र दिनभरिको साथी भए। घुँडाको चक्का पिस्दै हिंडियो। पिंडुला पोलुन्जेल हिंडियो । पसिनाले जुत्ता भिजेर मोजा आफ्नै गन्धले ठहरै हुन्जेल हिंडियो। अब साँझ परेछ भनेर आँखाले नठम्याएसम्म हिंडियो कुपण्डोल, नक्साल र गोठाटार काँडाघारीको चप्पाचप्पामा आफ्नो सफल/असफल यात्राको महक छ जस्तो लाग्छ।
तर, कामकाजी भएपछि सधैं गोडाको भर परेर पनि नहुँदो रैछ। सार्वजनिक सवारीसाधन व्यवस्थित र सुविधाजनक नभएको ठाउँमा आफ्नै वाहन नभई नहुने। गत वर्षको असारमा काठमाडौं उपत्यकाभरिको लागि हुने गरी सिटी राइड बाइक किनेँ, सय सीसीको। डेरा र अफिसको संसार। कोचामकोच बसमा हिंड्नुपरेको पीडामा धेरै राहत मिल्यो। पेट्रोलको जोहो गर्नुपर्ने जिम्मेवारी चाहिं थपियो।
सडकमा सबै रेसमा हुन्छन्। काठमाडौंका गल्लीहरुमा हिंडिरहेका मान्छेहरू पनि ठेलमठेल दौडमै देखिन्छन्। मानौं स्वर्गको सीमित सिट ओगट्न सबैलाई उछिनेर पुग्नु छ। सडकमा सवारीसाधनको रेस पनि उही प्रकृतिको। फरक चाहिं सवारीसाधनको रेसले दुर्घटना निम्त्याउँछ।
सडकमा वाहनहरुको भिडअनुसार घम्साघम्सी पनि रोचक हुन्छ । ट्रक, बस र ट्रिपर जस्ता ठूला गाडीहरुले मिनीबस, ट्याक्सी र कारहरुलाई गर्ने हप्किदप्की, तिनै ट्याक्सी र कारले झन् साना दुईपाङ्ग्रे साधनलाई पेल्ने प्रवृत्ति। समुद्रमा ठूला माछाले साना माछा खाने घटना सतहमा भइरहेको हुन्छ। अझ सडक पार गर्न जेब्राक्रसिङमा घस्रिरहेको बटुवामा सबै सवारीसाधनको आतङ्कले झलझली मृत्युको याद दिलाउँछन्।
सिंहदरबारलाई बायाँ पार्दै अनामनगरतिर गइरहेको हुन्छु। सिंहदरबारको पूर्वी गेटमा सावधानी गराउने सूचना देख्छु– ‘तपाईंलाई सिसी टिभीले नियालिरहेको छ ।’ मानौं त्यो बाटो भएर हिंड्ने सब जनता अपराधी हुन्! मानौं खराब नियत बोकेर हिंड्ने दुष्टहरु त्यो सूचनापाटीनेर पुगेपछि एकाएक असल बनिहाल्छन्।
तीनकुनेस्थित कार्यालयबाट बेलुका आठ बजेतिर घर फर्किन कोटेश्वर चोकतिर उक्लिन्छु। बाइक रोक्न हात दिन्छन् ट्राफिक प्रहरी दाइले। सोध्छन् निकै हँसिलो मुहारमा– ‘सरले ड्रिङ्स त गर्नुभएको छैन नि?’
मुस्कानसहितको सेवा पाएर दंग पर्छु म। दिनभरि अफिसमा घोटिएर आएको म जिन्दगीदेखि निकै निकै मातेको हुन्छु, जवाफ दिन्छु– ‘काम गरेर भात त खान पुग्दैन दाइ, रक्सी कसरी खान सक्नु!’
‘ल ल जानुस्‘, ट्राफिक दाइले अघिल्तिर इशारा गर्छन्।
डेरा पुग्छु। लोडसेडिङले हरेक रातलाई झन् अँध्यारो पार्छ। चार्जर लाइटको धिपधिपे उज्यालोमा श्रीमती खाना पकाउँदै छिन्। म भोकाएको छु निकै। बेस्सरी तिर्खाएको छु। तर, खाना र पानीको लागि होइन।
कुन बेला घाम झुल्केला र आँखाले काम पाउला? आँखामा रहेको एक टुक्रा उज्यालोले संसार देख्न पाउला?
मलाई फेरि सडकतिर घस्रनु छ। म यो घस्राइबाट बग्न चाहान्छु।
No comments:
Post a Comment