August 12, 2009

स्टेशन

[सुरुमा अलिकता कथा, यस कविताको । संयोगसँग त जिन्दगीको खुड्किलोभरि हाम्रो जम्काभेट भइरहन्छ बेलाबेला । यस्तै संयोग हरेक कर्म, पेसा र अभियानको क्रममा कुनै न कुनै बेला हामी झेल्छौँ । संयोग: कुनै तीतो, कुनै मनोरम, कुनै मुटुछेड दर्दनाक । यो कविता लेख्‍न प्रेरणा जगाउन पनि यस्तै संयोगले काम गरेको छ ।

एक दिन ज्यानमा खाँदिएर बसेको थकानलाई बिसाउन रत्‍नपार्क शान्तिवाटिकास्थित पीपलबोटको चौतारीमा बसिरहेको थिएँ । छेउमै रानीपोखरी मौन कुलकुलमा थियो । प्रताप मल्लको परिवार उसैगरी हात्तीमाथि अथक रूपले सवार छँदै थिए । रत्‍नपार्कअघिको सडकमा सवारीसाधनको हल्लाखल्ला, हतारको पखेटा जडेर ठेलमठेल भीडमा बत्तिइरहेका मान्छेहरूको भुनभुन सबैदेखि छलिएर केही छिनलाई त्राण खोज्दै थिएँ । यत्तिकैमा आँखा पर्‍यो, छेउको फलामै बेन्चमा बसिरहेका एक जना बूढा बाजेतिर । एकसुरमा थिए उनी । उनको बसाइ, रसिलो अनुहार र झिमिकझिमिक परेलाको सुस्त तालले मलाई कस्तरी चिमोट्यो भने मैले त्यही पीपलको फेदमा बसेर कविता कोरेँ । अनि पछि त्यही कवितालाई थोरै पुछपाछ र कोरीबाटी गरेको रूप यहाँ पस्किँदैछु ।]



मेरको पुच्छ्रे तख्तामा
नाति-नातिनालाई
आशीर्वाद ओइर्‍याउने हत्केलाभरि
भारी शिर बिसाएर
के सोच्दै होला साहू बूढो -
कति-कति कमाइयो
कति-कति गुमाइयो ।

◊◊◊

दिमागभरि घुम्छन्
इतिहासको व्यक्तिगत फित्ता,
हजुरबाको खिइएको औँला-सहारा
बाबुको सदाबहार गाली
र दाजुको उत्कृष्‍ट इर्ष्‍या
अझै घुम्छ दिमाग -
आमाले आँसुको भेटी चढाइरहने
त्यो सुकिलो पूजा-कोठा... ...

खियाले चपाइरहेको बेन्चमा
लपक्क भएर
के हिसाब निकाल्दो हो साहू बूढो-
कति-कति कमाइयो
कति-कति गुमाइयो ।

◊◊◊

निद्रा साथी बन्दैन रातभर
सहरको तमासाको सर्कसभित्र
जोकर भइरहन्छ जिन्दगी,
सेफमा बिटा-बिटा चुल्याएको नोट
कहिले बन्ने हो आरामदायी घर ?
भयको चमकले
फुस्रै उजाडिएको मौन सडक
र घरमा धुम्धुम्ती
भूतबङ्गला भोगिरहेकी साहुनी बूढी
किन काटीकुटी लाग्छ ?
समयको अन्तिम अध्यायमा
तीन
दुई
एक
र जिरो गन्दै
फिका आँखाले
साहु बूढो अझै
त्यहीँ छ लोलाइरहेको,
कहिले छुट्ने हो समयको रेल ?
भीडमा लिकहरू एकदम बेपत्ता भइरहेछन् ।

... ... ...

बेन्चमा मूढासमान
निश्‍चल भइसकेको साहू बूढाको
एकटक आँखा
ईश्‍वरको आवाजमा
कता-कता फुस्फुसाइरहेछ -
कति-कति कमाइयो
कति-कति गुमाइयो ।




***

August 8, 2009

कुरा अपूरा

केही बोलिसक्यो र पनि छुटफुट कुराहरू ओठकै डिलमा लरबराइरहे जस्तो ।
बिदाइमा आफन्तसँग मिलाएको हात वा न्यानो अङ्कमाल साथसाथै ज्यानमा लामो समयसम्म खिपिएर तापमान रहे जस्तो । पोल्ने । मानौँ, सूर्यलाई अर्घ्य दिन बाँकी रहेको एउटा काँचो बिहानी आँखामा उम्लिरहेको होस् ।

जमाना नयाँ भन्छन्, बदलियो भन्छन् । समय बदलिएको हो कि मान्छेको मन र दृष्टिकोण बदलिएको हो, अचेल कुरा गरौँ त शब्दले भन्न खोजेको भाव बोक्दैन, नबोलौँ त भीडसामु एकलकाँटे, अभिमानी र विचारहीनको बिल्ला लाग्ला भन्ने डर । यस्तोमा, नगरौँ त कसरी नगरी बस्ने र गरौँ त के-के मात्र गर्ने ?

विज्ञानको यो युग रे ! (हुनलाई त यो युग के-के मात्र हुन बाँकी रहेको होला र) यसैले त एकपछि अर्को आविष्कार भइरहे पनि हामी कुनै एउटा त्यस्तो आविष्कारलाई अझसम्म पनि पर्खिरहेछौँ । जसले गरोस् आजसम्मका सम्पूर्ण समस्याका समाधान । सम्याओस् सम्पूर्ण उबडखाबड । हरोस् सबैसबै बैचैनी, विरक्ति र विवशताहरू । आह् त्यो अचूक आविष्कार ! तर के त त्यो सम्भव छ ?

बाँचिरहेर पनि बाँच्न छुटे-छुटे जस्तो, मरिसकेर पनि कतै यतै केही बाँकी रहन्छु कि जस्तो पूर्वाभास । जीवन किन छ ? यो सृष्टिकै कुरा गरेको नि मैले । चाल नपाएर केही गर्नु पनि केही नगर्नु बराबर हो कि लाग्छ । होइन त ? मानौँ एउटा भूमरीको गीतमा हाम्रो जीवनले बेताले सङ्गीत भरिरहेछ । यस कुराको लागि बाँचिरहेको हामी भन्ने तथ्य कुरो आफ्नो तर्फबाट राख्न सकिन्छ, ल न त त्यो स्वतन्त्रता छ । तर त्यो त 'एउटा आफू'ले दिएको विचार र मान्यता भयो । एउटा आफू । त्यस्ता कति-कति आफूहरू छन् लोकमा । एउटा आफूले राखेको विचार अन्तिम र जड सत्य त कसरी भयो र ? कसैले पूरापूर कसैको प्रतिनिधित्व र ठेकेदारी गर्न सक्दैन ।

यसैले त जति चम्किए पनि, जति प्रस्ताव पास गरे पनि, जति बुँदे सहमति गरे पनि, जति चुम्बन गरे पनि, जति पारिश्रमिक पाए पनि, जति इनार खनाए पनि, जति बोतल ठाडो घाँटी लगाए पनि, जति आन्दोलन गरे पनि, जति भात पकाए पनि, जति घाम लागे पनि, जति ओथारोबाट चल्ला कोरलिए पनि, जति ट्राफिक जाम भए पनि, जति मालिकलाइ तेल घसे पनि, जति वन फँडानी गरे-नगरे पनि, जति, जति कुमारी जात्रा गरे पनि, जति फिल्म खेले पनि, जति मधुरात्रि मनाए पनि, जति खुच्चिङ भने पनि, जति फोटो खिचे पनि, जति ज्योतिष विद्यामा डुबे पनि, जति मुख धोए पनि, जति लेखे पनि, जति हुन्छ हजुर भने पनि, जति घरमा कड्किए पनि, जति तमसुक फट्टा गरे पनि, जति दमकलमा पानी भरे पनि, जति माया लाए पनि, जति तरकारी किने पनि, जति भकारीमा धान थुपारे पनि, जति धोका खाए पनि, जति बत्ती निभाए पनि, जति इमर्जेन्सी कक्ष सफा गरे पनि, जति पुष्‍टकारी खाए पनि, जति घडी हेरे पनि..... जति..... उफ् !!! उति नै फेरि फेरि गर्न बाँकी नै रहिरहने र केही न केही छुटिरहने कुरा अपूरा, कुरा अधुरा ।
-----------------------------------------------------------
* तस्बिर: बिजनेसओल.कम