Subscribe:

Ads 468x60px

15 April 2013

काकाकुल !

Bhaktapur-1

भक्तपुरतिर यसै घुम्न निस्किएका थियौं । साथमा थिए सहकर्मी, कविमन तथा भक्तपुरकै रैथाने रुपेश श्रेष्ठ । बिस्केट जात्राको रौनक नियाल्ने उद्देश्य रहे पनि मेरो लागि भने भक्तपुर दरबार स्क्वायरतिरको सफर नै जात्राभन्दा कम आकर्षक थिएन, पहिलो पटक पुग्दै थिएँ त्यता । तर त्यो दिन जात्रा रहेनछ । बरु मानिसको  बलमिच्याइँ र अत्याचारका कारण रिसाउँदै गएको प्रकृतिको कुरुप अनुहारको साक्षी बन्यौं हामी । जात्राभन्दा कम प्रभावकारी थिएन त्यो कुरुपता । तर जात्राजत्तिको प्राचीन भने होइन ।

खडेरीले डामेको बन्दरगाह जस्ता ढुंगेधाराहरु, आफैं प्यासी बनेर ‘पानी… पानी’ भनेर तड्पिंदै मुख बाइरहे जस्ता इनारहरु अनि पानीको खोजीमा ओठ-तालु सुकाएर युद्धरत मानिसको झुन्ड ।  पानीको दुःखले आलसतालस बनेर इनार वरिपरि बल्छी थापिरहेका भक्तपुरेहरु धेरै ठाउँमा देखिए । त्यो दयनीय हाल देखेर हामी चुकचुकाउन सक्थ्यौं, चुकचुकायौं । काकाकुल सहरको तिर्खा मेटाउन नसके पनि तिर्खाले सुकेका रुखा मनहरुको तस्बिर पनि खिच्यौं । तस्बिरमा पीडाको खास गहिराइ र टापुको झलक खै के उत्रँदो हो र !

10 April 2013

'कुसम्पादन'मा परेको एउटा लेख

आजकाल लेखाइ निकै कम भएको छ । लेखनमा कम समय जाँगर चलाएपछि उत्पादन पातलिने नै भयो । कम लेखिनुको कारण अब गुदीयुक्त र सार्थक कुरा मात्रै लेख्‍नुपर्छ भन्ने आत्मप्रेरणा र जिम्मेवार सोच पनि हो कि भन्ने लाग्छ । समय र अभ्याससँगै लेखाइको मात्रा घट्ने रै'छ । दुई साताजति अघि श्यामल दाइको एकल कविता वाचनको कार्यक्रममा बागलुङ जाँदा कवि दाजु अभय श्रेष्ठले भन्नुभएको कुराले लेखनको क्षेत्रमा लागेका अधिकांशलाई छेड हान्दै सतर्क बनाउँछ ।
धेरै लेखेर छिटै सर्वत्र छाउने महत्वाकांक्षासहित आजका धेरै कवि/लेखकहरुको विशेषता जस्तै बनेको 'भेलबाढी लेखन'को समस्याबारे दाइले भनेका थिए, 'बाख्राले बड्कौंला निकाले जस्तो लेखेर काम छैन । अहिले धेरैको लेखाइ बड्कौंला जसरी आइरहेछ ।' लेखनको आरम्भिक समयमा बड्कौंला सबैले निकाल्दा हुन् । मलाई धेरैअघि लागेको कुरा दाइले उपमा जोडेर भनेका थिए । बड्कौंला कोटिको लेखनलाई सम्हाल्ने नाममा कतिपयलाई कब्जियत नै पनि हुँदो हो । तर, नकाम गर्नुभन्दा आराम गर्नु नै वेश हुन्छ । कागज र वनजंगलको संरक्षणभन्दा पनि पाठक-समाजको सम्मानका लागि यस्तो आवश्यक हुन्छ ।

02 April 2013

अरबौं मान्छेहरुमा…

Lonely

विरही गीतहरुमा भन्दा तीव्र रुपमा आजका मान्छेको चित्त दुख्ने गर्छ । यस्तो लाग्छ, चित्त दुख्नैका लागि हो । गलामा गाँठिएर प्याकप्याक हुने गरी अलल्लिन आउने भक्कानो सबैले कुनै न कुनै समयमा नापेको हुन्छ ।

तपाईं सानो छँदा आफूले किनिमागेको जुत्ता बा-आमाले नल्याइदिंदा खुबै चित्त दुखाउनुहुन्थ्यो । त्यो दुखाइ नयाँ जुत्ता लगाउन नपाएरभन्दा बा-आमाले आफूलाई माया नै नगरेको अर्थ्याएर बढ्ता बिझ्ने गर्थ्यो । होइन र ? अझ घरदेखि अलिक पर बा वा आमाको पछि लतारिंदै हिंड्नुपर्दा तिनको साथमा रहन पाउँदाको खुसीलाई अर्कै पीरले उछिन्थ्यो । प्याउले बनेर तपाईं पट्यारलाग्दो हिंडाइको मर्म बुढाबुढीले नबुझेको भनेर मुर्मुरिनुहुन्थ्यो । मुर्मुरिनलाई आफ्नो मान्छे चाहिन्छ । दङ्ग्याउँदै तर्किनका लागि पनि आफैंलाई हेर्दै कोही आइरहेको हुनुपर्छ । आज कसैलाई हेर्नुपर्ने ठाउँमा तपाईं आफैं हुनुहुँदो हो । प्याउलेपनको मार खाने अचानो बनिरहनुभएको होला । चक्र हो । घुम्दै आउँछ र च्वास्स रेट्छ पनि ।