बिहे

न्म र मृत्युको दुई स्टेशन बीचमा एउटा रेल खुब दगुर्छ। त्यसलाई जिन्दगीको नाम दिएका छौं हामीले । रेलको एउटा डिब्बाको नाम राखिएको छ, बिहे। जहाँ समाज अगाडि बढाउने भन्दै खासमा आफ्नै गतिशीलता र सहजताको लागि मानिसहरू सफर गर्छन्।

सुप्रसिद्ध लेबनानी लेखक खलिल जिब्रानले आफ्नो प्रख्यात कृति द प्रोफेटमा प्रेम, श्रम, घर, कानून, पीडा जस्ता विभिन्न विषयमा दार्शनिक कसीमा सटीक लेखेका छन्। जसमा अर्फालिज नगरमा १२ वर्ष बसेपछि त्यहाँबाट बिदा हुने क्रममा गुरु अलमुस्तफाले नगरवासीलाई सम्बोधन गर्दै ‘विवाह’बारे बताउँछ-

‘मृत्युको छायाले जीवनका घडीहरू बिथोल्दा पनि तिमीहरू साथसाथ रहनेछौ।’

सोही खण्डमा अलमुस्तफाको मुखबाट विवाहको अरु रहस्य बोल्न लगाएका छन् जिब्रानले-

‘एक अर्काको प्याला भर, तर एउटै प्यालाबाट नपिऊ। बाँडेर खाऊ तर एउटै रोटीको टुक्रामा लुछाचुँडी नगर।

सँगै गाऊ, सँगै नाच र सँगै उमंग मनाऊ तर एक अर्काको एकान्तबास नबिथोल।

वीणाका तारहरू समेत अलग-अलग हुन्छन् यद्यपि ती एउटै रागमा तरंगित हुन्छन्।’

जीवन र मृत्युका रहस्यबारे जिब्रानको दृष्टि निकै घतलाग्दो छ।  जीवनलाई सुन्दर बनाउने सूक्ति छन् प्रत्येक हरफ। बेलाबेला त्यो किताब पल्टाउँछु र अद्भूत ऊर्जाले भरिने गरेको छु। सूत्रात्मक र विम्बात्मक बयानले पाठकलाई तरंगित पार्छ  द प्रोफेटले।

पछिल्लो समयमा बिहेको प्रसंगले आफ्नो उमेरलाई ठुँगिरहँदा यतिखेर म किताबको त्यही ‘विवाह’ खण्डमा अडिएको छु। जसले छोटोमा धेरै थोक भनेको पाउँछु । कुनै पनि किताबले मान्छेको जीवन त बाँचिदिंदैन, तर जिउने क्रममा विविध संकेत, दृष्टि, ऊर्जा, सपना, विचारको प्रसार गरेर बाँच्न सहज भने अवश्य बनाउँछ। किताबहरूको एकपछि अर्को तला चढ्दै मैले जीवनको रहरलाग्दो आकाशतिर आफू उचालिंदै गएको अनुभूति गरेको छु धेरै पटक।

***

गृहस्थीलाई झमेलाको यात्रा मान्ने जोगी मनहरू पनि छन् एकथरी। हुन पनि एक्लो मुसाफिर भई आफ्नो मर्जीको मालिक आफैं बनेर मनमौजी जीवनमा रमिरहन कसलाई मन नपर्ला र ? तर मनमौजी बाँच्ने नाममा विशृंखल यात्रा कतिन्जेल ? हामी मान्छे त निश्चित परिधिभित्रै स्वतन्त्रता आविष्कार गर्नुपर्ने सभ्य जीव मानिन्छौं। बिहे त्यही आविष्कारको ढोका खोल्ने कुञ्जी हो। बिहेसँग जीवन सुगठित पार्दै जाने काइदा कानूनका साथै उमेरगत कुरा पनि जोडिन्छन्। उमेरको कथाले जैविक आवश्यकता पूरा गर्न माग्छ। यसैले धेरै जनाले समाजलाई सन्तुलित र व्यवस्थित गर्न यौन समागमको लाइसेन्स दिने विधि मानेका छन् बिहेलाई। जुन विधिले वंश विस्तारको बाटो पनि अघि बढाउँछ । वंश विस्तारको मोह पनि अचम्मको लाग्छ। वंश मोह भनेको पृथ्वीमा आफू अजर-अमर रहिरहन सम्भव नभएकाले आफ्नो बीज र रगतबाट आफ्नो अस्तित्वबोध गर्ने काइदा नै होला!

जति नै ईश्वरीय खुसीको बाटोमा हिंडे पनि जिन्दगीको एउटा विन्दुमा मान्छेले आफूलाई अपूरो र एक्लो अनूभूति गर्छ र कुनै दिगो आडभरोसा खोज्छ। त्यो भरोसाको नाम नै बिहे हो सायद। दुई व्यक्तिको जीवन सहज बनाउन आपसमा प्रेमको वातावरण बनाइदिने सामाजिक कार्यक्रम जस्तो लाग्छ यो। कुनै प्रेमसम्बन्ध बिहेसम्म पुग्छ-पुग्दैन ठेगान हुन्न, बिहेले भने त्यसअघि दुईबीचमा कतै नभएको प्रेमको उत्पत्ति जरुर गराउँछ। प्रकृतिको सौगात होला प्रेम।

तर, जुनसुकै कुरामा पनि अपवाद हुन्छ। प्रेम छ भन्ने कुरामा प्रेम नहुन सक्छ। यसैले त प्रेम जस्तो ईश्वरीय कुरामा पनि ‘साँचो प्रेम’, ‘मुटुभित्रको माया’ भनेर फुर्को जोड्नुपर्ने अवस्था आएको छ। प्रेमको भाषा, अर्थ र बुझाइ परिवर्तन हुँदै गएको छ भन्छ पाको पुस्ताले।

आजका पुस्ता निकै प्रेमिल छ, तर क्यालकुलेटरले हिसाबकिताब गर्दै प्रेम गर्छ। प्रेम र बिहे छुट्टै कुरा हो भन्छ । प्रेमलाई बिहेको रुप दिए प्रेम नै मर्छ भनेर खुट्टा कमाउँछ र बिहेअघि धेरै प्रेमको ‘अनुभवी’ भएर रमाउन रुचाउँछ। जीवनलाई उत्सव बनाउने हतारमा मेरो पुस्ता र अझ म पछिको पुस्ताले प्रेमसहितका धेरै कुरालाई ‘भेराइटी डिस’को रुपमा चाख्नेछ। आफूलाई खुसी मिल्छ भने जस्तोसुकै सम्बन्धलाई पनि ‘अनुशासित’ र ‘व्यवस्थित’ को लेबल लगाउनेछ।

***

मेरा काकालाई हजुरबाले ‘अब बिहे गर्ने हो त?’ भनेर सोध्दा काकाले भन्नुभएछ– ‘अब सिङ पलाउँदैन, जुरो पलाउँदैन। गर्नी हो बा।’ 

उनै काकाको बिहेमा जन्त जानका लागि सानोमा खुब जोड गरेको याद आउँछ । तर, टाढाको बाटोमा भुराभुरीले कहाँ मौका पाउनु बसमा समेटिन! ‘अंकलले भरे अन्टी ल्याइहाल्छ नि’ भन्ने ललीपपमा भुलिनुपरेको पनि सम्झिन्छु। अहिले घुम्दाफिर्दा आफ्नै पालो आएको छ।  यो बेला धेरै कुराले एकैचोटि घेर्दो रैछ। बढी गम्भीर र सजग बनाउँदो रैछ। बिहे अहिले किन गर्ने र किन नगर्ने विचारको चाकाचुलीसँगै  बिहेका सामाजिक मान्यता र मापदण्डले  बढी नै सोचमग्न बनाउँछ। मुख्य कुरा आफू मानसिक रुपमा तयार हुनुपर्ने रैछ। सवाल आफ्नै जिन्दगीको र कुनै नयाँ पात्रसँग सहयात्रा गर्ने भएकाले चानचुने हैन पनि।

अप्ठेरोपन धेरै आयतनमा फैलिएको छ। मध्यमवर्गीय पीडा राख्दै  छु। खासमा बिहे गर्ने समयतिर लम्किरहँदा एउटा युवक/युवती धेरै तनावबाट गुज्रिनुपर्छ। साथी कस्तो पर्छ/पर्छे? सोचे जस्तो होला? खुसी दिन र हुन सकूँला ? घरपरिवार ठीकठाक सम्हालिएला ? आफूमा ऊ मात्रै हावी भयो(ई) भने मन मारेरै बाँच्ने? कि त अलिकता मतभेद हुनासाथै सम्झौता नगरी पारपाचुकेको फेशनमा क्याटवाक गर्ने? अहिलेको जागिर/कमाइले पेट उकास्न पुग्ला कि पानीले घाँटी मात्रै भिजाउने हो ? आफैं कमाउने  जीवनसाथी परी भने त ठीक छ, हैन भने ? … आदि।

सबै समस्या र दिशाहीन स्थितिका बीच पनि एउटा झिल्को सायद सबैको मगजमा आउँछ– ‘जस्तो पर्दै आउँछ, चल्दै जान्छ।’ एकबारको जुनी मीठो गरी बाँच्ने क्रममा बिहे एक प्रयास त हो!

साथी बनेर जो आउँछ, म उसलाई खुब प्रेम गरुँ । बा-आमाको आँखामा नबिझाउने जोर घडा बनेर रहिरहौं।

Post a Comment

5 Comments

  1. धन्यबाद यति मिठो मन छुने लेखनको लागि धाइबा सर !

    ReplyDelete
    Replies
    1. मन छुने लेख पढ्न पाएकोमा खुशी छु। कतै मेरो लागि नै लेखिदिएको पो हो कि जस्तो पनि लाग्यो। शायद समय ले नै होला

      Delete
  2. सुन्दर आलेख -साझा सवाल डट कम :)

    ReplyDelete
  3. AnonymousJune 30, 2014

    यी 'धाईबाबा' धाँसु लेख्चन्।

    ReplyDelete
  4. होइन भन्न मिल्ने र असहमति जनाउने कुनै वाक्य नै भेटिनँ । आफ्नै कथा लाग्दो रहेछ । शब्दशिल्पीलाई नमन ।

    ReplyDelete