मृत्युको गिलासमा जीवनको चुस्की

जगदीश घिमिरे

जीवनको आँखाबाट हेर्दा मृत्यु फिका चिया हो । न रङमा गाढापन, न स्वाद तिक्खर । अक्सर औषधी तीता र टर्रा हुन्छन् भनेर मान्ने हो जीवनको औषधि हो - मृत्यु । त्यहाँ पुगेर सब कुरा समाधान भए जस्तो समथर लागिदिन्छ, अरुको प्रस्थान हेर्दा । तर, जीवन यस्तो सिलसिला हो, जहाँ विशृंखलताहरु खप्टिएर बसेका हुन्छन् । त्यो खप्ट्याइमा मृत्यु उद्गम सत्य हो । यस्तो विसंगत जीवन बाँचिरहँदा कोही पहिलेदेखि नै मृत्युले छोइएर जीवनको पाती चढाइरहेका हुन्छन् । जगदीश घिमिरे त्यस्तै पूजारी बने।

टाढाबाट हेर्दा जगदीश दाइलाई सधैं अहंकारले मोटाएको देख्थें म । घुलमिलमा रहनुपूर्वको हेराइ थियो त्यो । त्यसो त अन्तरंग सम्बन्धमा पनि म कहिल्यै झ्याम्मिइनँ उनीसँग । कसैसँग खुलेर झ्याम्मिन र आफूलाई पनि अरुसँग झ्याम्मिन दिन जाँगर खासै चल्दैन आफूलाई । परैबाट हेराहेर गर्दै तर्किएर टापुको जीवन जिइरहेको हुन्छु । यस्तो स्वभावलाई यथार्थबाट भागेको भने पनि हुन्छ, जीवन र सम्बन्धको व्यवस्थापन गर्ने सवालमा हुतिहारा माने पनि हुन्छ । जे होस्, अन्तर्मुखी बचाइमा रहँदै सामाजिक भइदिनुमा तृप्ति छ । जगदीश दाइ पनि अन्तर्मुखी गायनमा रमाउने उस्ताद थिए।


रुखो स्वभावका दाइको टर्रो मिजास रक्तक्यान्सर लागेपछि पनि उस्तै जवान रह्यो । पाँच वर्षअघिको प्रसंग हो - 'अन्तर्मनको यात्रा' कृतिमाथि काठमाडौंको मार्टिन चौतारीमा छलफल थियो । छलफलमै सहभागिता जनाउने सोचले चौतारीमै कार्यरत साथीसँग मागेर हतारिएर किताब पढेको थिएँ । छोटो समयमा असाध्यै छिटो गरी पढेको किताब त्यही हो । किताबबारे विभिन्न टीका-टिप्पणी ओइरिए छलफल कार्यक्रममा । मैले पनि एउटा प्रश्न गरिटोपलें । दाइबाट ठाडो र रुखो लबजमा जवाफ आयो । नमज्जा लाग्यो । तर, किताबले बेस्सरी छोएको थियो मलाई । किताबसँग बनेको दह्रो नाता लेखकका कारण फुस्किन सकेन।

जगदीश दाइमाथि आरोप र आलोचनाको चाङ नै छ । अन्तर्मनको यात्राले २०६४ सालको मदन पुरस्कार पाएकाले पनि उतिबेला त्यो चाङ अझ बढेको हुन सक्छ । हामीकहाँ रिस र आरिसकै कारण होला, कुनै पनि क्षेत्रमा बाजी मारेको र अलिक सफल मान्छेलाई 'विनर स्टान्ड एलोन' को नियतिमा पुर्‍याइन्छ । एक हदसम्म बौद्धिक वर्गबाट पनि दाइले त्यो नियति बेहोरे । कतिपयको हेराइमा मदन पुरस्कारप्रति रहेको तिक्ततामा दाइ पनि परे । तर, असाध्य रोगसँग कुश्ती खेलिरहेको कुश्त ज्यानप्रति रहेको आमपाठकको संवेदना भावले दाइलाई प्रिय बनायो । त्यसभन्दा बढी प्रिय बनायो लेखनको शक्तिले नै।

जगदीश घिमिरेबाट सिक्नुपर्ने कुरासँगै नसिक्नुपर्ने कुरा पनि छन् । दिवंगत व्यक्तिलाई आदर्श बनाएर सबैसबै कोणबाट सुकिलो देख्न बाध्य हुनुपर्ने केही छैन । गलत पाटोलाई सही रुपमा औंल्याउनु नै असली सम्मान हो । दाइलाई म सम्मान गर्छु।

दाइले रिसाहाको विशेषण पाए । दम्भ र बडप्पन अँगालेको भन्दै आलोचनालाई निम्तो दिइरहे । राजसी ठाँट मन पराउँथे । आत्मपूजक उनी हुँदै हुन् । (त्यसमा तर म उनको आत्मविश्वास देख्छु ।) समग्रमा उनी पूर्ण मानव भएर जिए । जीवनको मदिरामा अलिकति कीरा नतैरिए के नै स्वाद?

एक जमानामा 'लिलाम' र 'साबिती' जस्ता औपन्यासिक कृतिबाट सबल सर्जकमा दरिइसके पनि पछिल्लो समय चर्चामा ल्याएको 'अन्तर्मनको यात्रा' मा जगदीशले आफ्नै बडप्पनको बखान गरे भन्ने टीकाटिप्पणी सुनियो पाठकबीचमै । बिलौनाको व्यापार भने कतिपयले । त्यो कृति खासमा आत्मालाप नै थियो । उनको आफ्नो कुरा नै थियो । जीवन निल्न तम्सिएको क्यान्सरलाई किमोले लाटो बनाउने क्रममा उनले दुःख छल्दै लेखेको मृत्युको आँखाबाट गरिएको जीवनको बयान थियो त्यो कृति। 

किताब पढिरहँदा यस्तो लाग्यो, मृत्युको गिलासमा जीवनको चुस्की लिनमा मग्न छन् जगदीश । जीवनबोधको धरहरा के विधि खप्टिएका हुन् ! धरहराहरू खप्टिएर अर्कै धरहरा बनेको देखिन्छ, जसले अरुलाई पनि उँचो आकांक्षा लिएर बाँच्ने प्रेरणा सिञ्चित गर्छ । किताबमा उनले आफ्ना सफलता र उपलब्धिका किस्सा धित मारेर उल्लेख गरेका छन् । समाजसेवा अभियानका क्रममा रामेछापका पाखामा सजाएको सपनाका फूलहरुको बास्ना थियो किताबका पानाहरूमा । थियो र नै लेखे उनले । लेख्दालेख्दै बखान अलिक बढी हुन पनि गयो । अरुहरु उनको ठाउँमा भए मृत्युतिर धकेलिंदै गर्दा यमराजको प्रतिमा देखेर त्यसै अतालिन्थे/कहालिन्थे, उनले आफूले गनीगनी सास फेरिरहेको समाज र बस्तीकै परिवर्तनका रुपरेखा केलाए।

हाम्रो साहित्यमा अग्रज र नयाँ पुस्ताबीच ठूलै फाटो छ । नयाँ पुस्ताले पुरानालाई 'बासी आइटम' भन्दै अनुकरणीय कुरा समेत सिक्नै नखोज्ने, सम्मानको संस्कारलाई पाइन्टमा प्वाल पारेर चुहाइदिने चलन छ । नयाँले पुरानालाई सधैं उही लिकमा चलेको बूढो रेल ठान्छन् । उता पुरानाले पनि नयाँलाई हेयको दृष्टिले हेर्ने, आफूले लालमोहर लगाइदिएपछि मात्रै मूलधारको सर्जकका रुपमा मान्यता पाउने भने झैं नपत्याउने र उमेरसँग जोडेर रचनागत शक्तिलाई तुच्छ र लुरे साबित गरिदिने अवस्था छ । अग्रजहरु ठान्छन्, नयाँहरुले इतिहास र वर्तमानका गुदी ज्ञानबिना नवीन शैली नामको हावा महल ठड्याएका छन्।

यो अवस्थामा मैले जगदीश दाइमा पुरानो मेसिनघरमा नयाँ पार्टपुर्जा भएको फ्युजन छवि पाएँ । खासगरी उनले सकस उपन्यासमा पुरानो किस्सालाई युवा जीवनशैलीको समेत छाप उतार्ने गरी नयाँपन दिएका छन् । उनले जीवन बुझेको, देश छामेको, इतिहास केलाएको र वर्तमानको चिन्तामा छटपटाएको पन्ना-पन्नामा देखिन्छ।

नयाँ पुस्ताको अस्तित्वलाई स्वीकार्ने र सहन सक्ने साहस उनमा थियो । फेसबुकको अनलाइन दुनियाँमा हल्काफुल्का ठट्टादेखि देशै बदल्नेसम्मका गफ र सामाजिक अभियान छेडिएका बेला उनी प्रविधिमैत्री नयाँ पुस्तासँग देश, राजनीति र आफ्नै कृतिको बारेमा अन्तक्रिया गरिरहेका देखिन्थे । कसैले आफ्नो किताबबारे सानो पनि टिप्पणी कतै लेखेको फेला पारेमा कृतज्ञतासहित उनी फेसबुकमा राख्थे । त्यतिबेला उनको अहंकार फु मन्तर भए झैं लाग्थ्यो । सायद टिप्पणीमा प्राप्त सराहना र तारिफले उचालिएर आत्मसम्मानको बोधले दाइले आफैंलाई पनि भुल्थे । उनी कृतज्ञ देखिन्थे।

यही फेसबुक दुनियाँमा मैले कवि, लेखक, नाट्यकर्मी, कलाकार लगायतको तस्बिर खिचेर राखेको देखेपछि जगदीश दाइले मलाई ध्यान दिन थालेका रै'छन् । नत्र त लेखेर, बोलेर पनि अग्रजको आँखामा पर्न गाह्रो छ । पुरानो वानेश्वरको गुरुकुलमा २०६८ सालमा दाइको पनि तस्बिर खिचेर 'क्रियटर्स कर्नर' नामको सो फेसबुके एलबममा समेटेको थिएँ । तारालाल श्रेष्ठको 'शक्ति, स्रष्टा सबाल्टर्न' नामको किताब विमोचनको दिन थियो सायद त्यो तस्बिर खिचेको । दाइले भेटेपिच्छे नै तस्बिरहरुलाई अल्फावेटिक अर्डरमा र जन्ममिति तथा प्रकाशित कृतिहरुको सूची राखी फोटो एलबम व्यवस्थित गर्न सुझाइरहन्थे । अहिले नभ्याएको र चाँडै मिलाउँछु भन्ने खालका जवाफ दिन्थें म । आफ्नो अव्यवस्थित जिन्दगीको व्यवस्थापन गर्नु कि फेसबुकमा छरिएका फोटो मिलाउनु भन्ने अवस्थामा थिएँ म । दाइले त्यस्तो आग्रह गरिरहनुमा नेपाली साहित्य र कलाक्षेत्रका सर्जक र कलाकर्मीको पहिचान र सम्मान फैलियोस् भन्ने लोभ नै थियो उनको।

जगदीश दाइले साझा किसिमको लोभ पालेका थिए । यस्तै लोभीहरुले भरियोस् मेरो समाज ! जहाँ अनुहार बिग्रेका र अनुहारै नभएकाहरुले पनि एउटा-एउटा मञ्च पाएर हाँस्न पाऊन्।

Post a Comment

2 Comments

  1. सहि र सटिक विश्लेषण छ । Keep the flow !

    ReplyDelete