Subscribe:

Ads 468x60px

11 April 2016

‘जदौ’को एकान्तबास

मिर्गौलाको समस्याबाट पीडित रेडियो संसारका कुनै समयका तिक्खर आवाज दाहाल यज्ञनिधि सात वर्षयता बाहिरी संसारदेखि टाढिएर बसेका छन् ।

Yagyanidhi-1

खोटाङ जिल्लाको पहाडी पाखोमा एउटा केटो घाँस-दाउरा र गोठालो जाँदा गाउँदै-नाच्दै हिँड्थ्यो । १६ वर्षे पट्ठो उमेरसम्म पनि गाउँका लोकगीतेहरूसँग कम्मर मर्काउँदै रमायो ऊ ।

बोल बोल बोलीको रसैले
बोली टिपी लाँदैन कसैले ...

यस्ता भाका अझै मनमै अल्झिएर बसेका छन्, त्यो केटोको टाठो बोली भने अहिले छिप्पिएको उमेरसँगै मधुरो भएको छ । कुनै समयमा रेडियो तरंगबाट नेपालै गुञ्जायमान पार्ने दाहाल यज्ञनिधि पछिल्लो समयमा आफूभरिको गुनगुनमा सीमित बनेका छन् । रेडियोको साहित्यिक कार्यक्रममा 'जदौ' भनेर झर्रो नेपालीमा कविता-गीतका गेडा केलाउने र निम्तारुलाई सिर्जनामा आवाज दिन लगाउने रेडियोकर्मी अहिले निकै टाढा छन् रेडियोदेखि । टोपी ख्याप्पै गाडेर बुर्कुशी मार्ने सिँगाने उमेर अब छैन । तर, ६३ लागेको उमेरमै रोगको जीर्ण घर बनिएला भन्ने पनि उनलाई लागेको थिएन । 'ज्यानमारा रोगले अँचेटेपछि यसैसँग कुस्ती खेलिरहेको छु', उनी भन्छन् । तर रोगसँग देखादेखी रूपमै भकाभक पहलमानीमा उत्रिन पाए क्या मज्जा हुँदो हो भनेर उनलाई बेलाबेला जङ चलिरहन्छ । मिर्गौला फेल भएयता बारम्बार मरेको यज्ञनिधिलाई जगाउन निकै सकस झेल्नुपरेको उनको भोगाइ छ ।

बालापनमै ११ हाते पटुकी
किसान र भरियाका बच्चा जस्तै उनको बाल्यकाल बित्यो । जग्गा जमिन केही मात्रामा भए पनि खान पुग्दैनथ्यो । 'किसानका घरमा कोही बिरामी पर्‍यो भने सबै कुरा सखाप हुन्छ', बुबा पनि मिर्गौलाकै बिरामी थिए । उपचारमा जमिन बेचिँदै र ऋण थपिँदै गयो । रोग निको पार्न फेटैभरिको धामी समेत लगाएको उनी सम्झिन्छन् । बुबाकै बिसन्चोपना र घरमा खेताला र गोठालाको काम धान्नुपर्दा उनले पढ्न सकेनन् । सँगैका साथीले म्याट्रिक (प्रवेशिका परीक्षा) पास गर्न लाग्दा आफू भने एक कक्षा पढेर अलमलिँदा उनी भक्कानो छुटाएर रुन्थे ।

पछि बुबाले छोराको दयनीय हाल देखेर देश खाई शेष भएको छोरो काम लाग्छ भनेपछि उनी पसे खोटाङबाट धरानतिर । सके पढ्ने, नसके दार्जिलिङ गएर सुन्तला बोक्ने सोचले पाकेकै थियो दिमाग । गाउँमा हुँदा पनि उदयपुरको बेल्टारदेखि खोटाङको धारापानीसम्म ढाकरमा नुन बोक्दै तगडा ज्यान पारेकै थिए उनले । कम्मरमा ११ हाते पटुका कस्यो, एक धार्नीको कोदाली बोक्यो र उचाल्यो ढाकर । छोरालाई दाउनुपर्छ भन्दै भारी बोकाउन बाबुले आफैं मधेस लिएर जाने गरेका थिए । 'धरानबाट भुँडे नेवार साहुको भरिया भएर १३ वर्षको उमेरसम्म स्टेशनरी सामान ओसारियो, १५ वर्षको उमेरसम्म नुन बोक्ने ढाक्रे भइयो', सम्झना आँखामा तहतह छन् । यसैले उनको कलमबाट जति रचना पाकेका छन्, तिनै हेपिएका र दुःखले रेटिएका हतभागी चोलासँग नाता गाँस्छन् ।

गीत गायौ गाइने दाजु
झुम्मिरै'छन् बैराहरू सुन्ने कान खोइ ?

 
रोग नै साथी भएपछि
ज्यान हुन्जेल ज्यान मर्ने सास्ती खेप्नुपर्छ भन्ने बुझेका उनले त्यो भोग्दै पनि आए । सात वटा कडा रोगलाई उनी ज्यानमारा मान्छन् । मिर्गौला फेल, हृदयाघात, क्यान्सर, अल्जाइमर, हेमोफेलिया लगायत । 'मरिहाल्न पनि नदिने र बाँच्न पनि नदिएर ज्यान रेटिरहने', ज्यानमारा रोगबारे उनको टिप्पणी । आफूमा रिटायर्ड र रोगीको विशेषण जोड्ने उनी ३५ वर्षयता रोगसाग मितेरी गाँसिरहेका छन् । २०४२ सालमै मिर्गौला रोगको संकेत देखिए पनि समस्या आएको ४४ सालमा थाहा भयो । त्यसको १३ वर्षपछि आएर २०५७ फागुनमा उनले मिर्गौला प्रत्यारोपण गराए ।
यसपछि करिब १२ वर्ष दुःखसुख शरीर धान्यो । तर, पछिल्लो एक वर्षयता फेरि उनी रगत सफा गर्ने हेमो डाइलासिसको शरणमा छन् । यसका लागि साताको तीन दिन वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्र पुग्छन् । भन्छन्, 'अदालतको तारिख धाए जस्तै छ जीवन ।' वंशानुगत विरासतमा पाएको मिर्गौला रोगले उनको ठेगाना बदलिदिएको छ । पहिले धाउँथे रेडियो नेपाल, साहित्य संसार कार्यक्रम चलाउँथे । पछि धाउन थाले एफएम रेडियो, जदौ चलाए । अहिले अस्पताल नै जागिरे अड्डा जस्तो भएको छ । कसैले भेट्न खोजे घरको साटो अस्पतालकै ठेगाना दिएर बोलाउाछन् ।

रुढिग्रस्त समाज यस्तै हो, रोग चट्टै हुन्छ भन्ने विश्वास दिलाउँदै आफन्तहरूले बाबाको आश्रमतिर लैजान खोजे । उनलाई त्यसमा पत्यार नै थिएन । तर, रोगले सिकिस्त पारेपछि १५ वर्षअघि परिवार र इस्टमित्रको जोडले उनी भारतको पुट्टवर्तीस्थित साइबाबाको धाम पुगे । 'बाबाहरूले मन्त्र फुकेर मलको मुला उखेले झैं रोग उखेलिदिन्छन् भन्ने थियो, तर भएन', उनी सम्भिmन्छन् । बरु उनी त्यहाँ झन् मूच्र्छा नै पर्ने गरी थला परे । मुम्बई हुँदै दिल्ली आएर उपचार पाएपछि धन्न ज्यान जोगिएर फर्किए ।

पछिल्लो सात वर्षदेखि लेखनकर्म ठप्प छ उनको । कार्यक्रम, भेटघाटमा बाहिरी संसार चियाउनWith wife Sudha Dahal छाडेको पनि उति नै समय भयो । यो बेला आफू फन्टुस विषयमा लागेर समय कटाइरहेको बताउँछन् । पढ्ने काम पनि ठप्प जस्तै हुादा आफूलाई विषयविहीन सन्ठी मान्न थालेका छन् । एक समय आवाजको पखेटा फिँजाएर रेडियो तरंगमा विचरण गर्ने उनी घरबूढो भएर टेलिभिजन च्यानल चहार्दै गरेका हुन्छन् । यस्तो नीरसतामा एउटा मान्छेको साथले धेरै फरक पारेको छ । 'भनेकी जस्ती' श्रीमती छिन्, मायामा रुझ्दै जीवन शीतल महसुस गर्न पाएका छन् । 'जीवनसाथी असल पाइयो भने यात्रा सहज हुँदो रैछ', रोगी जीवनमा छाया जस्तै बनेर बाँचिरहेकी श्रीमती सुधाको साथलाई लाख मान्छन् । निःसन्तान दम्पती एक-अर्काको अनुहार हेर्दै बाँचेका छन् ।
राजधानीको मण्डिखाटारमुनिको वरफेदीस्थित चार रोपनी जग्गा उनका लागि खेलखोर भएको छ । घरैछेउमा फूलबारी छ, पट्यार लागेको बेला टहलिन्छन् । २०४० सालमा किनेर राखेको त्यही जग्गा बेच्दै कुटुकुटु खाइरहेका छन् । महिनाको साढे एक लाख रुपैयाँ लाग्ने औषधिमूलोको खर्च पनि त्यसैले धानेका छन् ।

परिवारका सबै रोगी नै रोगी हुँदा बेलाबेला विरक्तिन्छन् यज्ञनिधि । मिर्गौला रोगकै कारण बुबा गुमाएका उनको कान्छा भाइ र ठूली बहिनीलाई पनि त्यही रोगले लग्यो । माहिला भाइ पनि यही रोगसँग जुधिरहेका छन् ।


रेडियोमा जदौ र धुवाँदार विरोध
गाउँबाट एक कक्षा पढेर हिँडेको ठिटो संस्कृतको पढाइमा झ्याँगिएपछि जिन्दगीको मेलो खुल्दैYagyanidhi-2 गयो । धरानबाट संस्कृतकै उच्च शिक्षाका लागि राजधानी आएपछि यज्ञनिधिले ३० सालमा आएर बल्ल रेडियो देख्न पाए । गाउँमा छँदा रेडियोमा बोल्ने सपना बुन्नु त परको कुरा, रेडियोको नाक-मुखै देखेका थिएनन् । गाउँभरि रेडियो देख्न नपाए पनि बजारिया र लाहुरेहरूले काँधमा भिरेर मेला भर्न हिाडेको देख्दा डाहा नै लाग्थ्यो । रेडियो र गाना-बजानाको कुरा आउादा उनी आफ्ना सामन्त खालका फूपाजुलाई सम्झिन्छन् । 'फूपाजुले ओखलढुंगाबाट फोनबाजा भाडामा ल्याएका थिए', उनी पुराना दिनमा फर्किए, 'त्यसैबाट तारादेवीका गीतहरू सुन्न पाउादा फोनबाजामा गाना पनि हुँदोरै'छ भन्ने पहिलोचोटि थाहा भयो ।' ग्रामोफोनलाई फोनबाजा भनिन्थ्यो उतिबेला ।

राजधानी आएर संस्कृत पढाइने क्याम्पसमा भर्ना भएपछि कविता पाठ र साहित्यिक गतिविधिको ज्वरो बढ्दै गयो । नजिकका चिनारु र संस्कृत अध्ययनका क्रममा फैलिंदै गएको सम्पर्कबाट उनले केही समय पुरेत्याइँको काम पनि गरे । उनी भन्छन्, 'मलाई त जसरी पनि सहरमा बाँच्ने मेलो बनाउनु थियो ।' कवितामा हात बस्दै गरेको बेला मधुपर्कमा पहिलो पटक उद्वेग शीर्षकको कविता छापिदिने भैरव अर्याल उनका लागि उत्प्रेरक बनिदिए । अहिलेसम्म उनको एकमात्र पुस्तकाकार कृति प्रकाशन भएको छ । दुई वर्षअघि साझा प्रकाशनबाट एक दर्जन निबन्ध समेटिएको ‘जदौका निबन्धहरु’  कृति प्रकाशित छ ।

समयसँगै स्तोत्र पाठबाट नजानिँदो रूपमा आफ्नो उच्चारणकला माझिँदै गएको उनले अनुभव गर्दै गए । राजनीतिको हावाले पनि विद्यार्थी जीवनलाई बेलुनको काम गर्दै थियो । ज्ञानको सानो आँखीझ्याल च्यातिएर ढोका बनेपछि विद्रोही चेतको बीज पनि फुट्दै गयो । विद्रोही चेत कस्तो भने दासतामा बाँधिन नचाहने स्वभावका कारण उनले सरकारी जागिर नै लत्याइदिए । लोकसेवा आयोगको परीक्षा दिएर २०३६ सालमा सेक्सन अफिसरमा नाम निकाले पनि उनलाई सरकारी जागिर निको लागेन । बरु त्यसको दुई वर्षअघि नै उनले रेडियो नेपालमा साहित्यिक कार्यक्रम सञ्चालकको माग हुँदा निवेदन हाले, छनोट पनि भए । क्याम्पस पढ्दा धार्मिक नाटकहरूमा भाग लिने र छन्दका कविता स्वादले पढ्ने पृष्ठभूमिले रेडियो कार्यक्रम प्रस्तोताका लागि निकै सघायो । अनि जग बस्दै गयो 'साहित्य संसार' कार्यक्रममा यज्ञनिधि शैली ।

जदौ जदौ स्रोताहरू
कार्यक्रमको मेलोमा पस्यौं
...
लौ त कार्यक्रम मैजारो गर्ने बेला भो,
जदौ ल स्रोताहरू
आउँदा जाँदा लाउँला पिरती ।

रेडियोमा जदौ शब्दको प्रयोग गर्दा विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरूले नै उनको धुवाँदार विरोध गरे । तर, उनले त्यो शब्दलाई आफ्नो शैली मात्र बनाएनन्, परिचयकै रूपमा स्थापित गरे । धेरैले उनलाई 'के छ हौ जदौ' भनेर बोलाउँछन् । जदौलाई समाजको कथित तल्लो जातसँग जोडेर अछुत ठान्नेहरूलाई उनी हेलाहोंचाको भाषा बोल्ने अभिमानीको संज्ञा दिन्छन् । रोगले च्याप्दै लगेपछि नसकेर सात वर्षअघि उनले आफ्नो रेडियो कर्म सुरु भएको रेडियो नेपालमै आएर 'जनताको मझेरीमा साहित्य' नामक कार्यक्रममार्फत उद्घोषण कलालाई विश्राम दिए ।

जागिरे संस्था र 'जनकीय' सपना
Yagyanidhi-3एकान्तबासमा रहे पनि अहिलेको बौद्धिक सक्रियता, सामाजिक मूल्य र साहित्यिक गतिप्रति सचेत र चिन्तित छन् उनी । नेपाली साहित्यको मापन उनले लेख्यभन्दा कथ्य रूपबाट बढी गर्दै आएका छन् । यसका लागि विभिन्न १६ वटा एफएम रेडियो सुन्छन् । उच्चारकले ठीक बोल्यो-बोलेन, सुहायो-सुहाएन, विषय कस्तो उठायो, भाषालाई न्याय दियो-दिएन, जनजिभ्रोलाई स्तरीकरण गरेर मूलधारमा ल्याउन सक्यो-सकेन आदिबारे कान थापेर होशियारीपूर्वक पारख गर्छन् । यसरी सुन्दै आउँदा उनको मन कुाढिन्छ पनि - 'विद्यालय भन्न नसकेर विधालय भन्नेहरू ७० प्रतिशतभन्दा बढी पाउँछु ।'
रेडियो कार्यक्रम चलाउादा निम्त्याइने पाहुनाले उच्चारण बिगार्दा, आफ्नो नामको अर्थ नजान्दा उनी युवा पुस्तालाई 'ल बाबा, यो यस्तो हो' भनेर सिकाउाथे । हिजोआज आफैंले लेखेको कविता पनि राम्ररी उच्चारण गर्न नसक्ने कविहरू देख्दा उनलाई सकसक लाग्छ । गद्यमा राम्रो उच्चारण गर्ने कवि औंलामा गन्छन् उनी - तुलसी दिवस ।

व्यक्तिदेखि संस्थासम्मको रीति-थिति केलाउँदा आदर्श एकातिर र यथार्थ अर्कातिर पल्टिएको देख्दा कम्ता झ्वाँक चल्दैन उनलाई । सरकारी बजेटले धानेका संस्थाहरूले साहित्यको विकासमा सिन्को नभाँचेको साक्षी रहँदै आएका छन् । राजा ज्ञानेन्द्रको शाही शासनको चकचकी हुँदै गर्दा २०६२-६३ को जनआन्दोलनको आधार तयार हुँदै थियो । त्यही छेक शाही रवैयाविरुद्धको आन्दोलनलाई सघाउन स्रष्टाहरू आ-आफ्ना सिर्जना बोकेर विचार-विमर्शमा कोठे गोष्ठीदेखि सडक कवितासम्ममा उत्रेका थिए । त्यस्ता समूहमा यज्ञनिधिले नेपाली साहित्यलाई टहकमा ल्याउन र अघि बढाउन जनकीय प्रज्ञा प्रतिष्ठान आवश्यक छ भन्ने कुरा उठाए । 'अहिले पनि म जनकीय सभ्यताकै पक्षधर हुँ । आन्दोलन सफल भएर गणतन्त्र आइसके पनि प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन र त्रिभुवन विश्वविद्यालयहरूको काम जागिरे मानसिकताभन्दा बढी देखिएन', उनी झन् खिन्न छन् । प्रज्ञामा पद ओगट्न आउनेलाई एउटा-एउटा राजनीतिक पार्टीले टीका लगाइदिएको ज्वाइँ-जेठान मान्छन् । खास प्राज्ञहरू त उपेक्षित भएर बाटो र सडकमा रहेको उनी देख्छन् ।

वीपी कोइरालाको 'म साहित्यमा अराजकतावादी हुँ' भन्ने मान्यताका पूजारी हुन् उनी । अराजकतावाद हुनुकै नाताले साहित्यकार माथि हुन्छ भन्ने ठान्छन् । साहित्यबारे उनको परिभाषा पनि आफ्नै खालको छ : 'चेतनशील र जनताप्रति उत्तरदायि छु भन्नका लागि सामाजिक विषय खोतलखातल गर्ने कुरा साहित्य हो ।'

रेडियोमा आवाज फुक्दै ३० वर्ष लामो फड्के तरेपछि उनी धेरै स्रोताको मायाले नै आफू बाँचिरहेको ठान्छन् । 'नत्र ज्यानमारा रोगको लिसोमा परेर उहिल्यै निभ्ने थिएा होला', हजारौंको कामनाले बचाएको जस दिन्छन् । रेडियो तरंगमा लामो समयको संगति र जनसाधारणको कथाव्यथासँग लुटपुटिएका उनलाई अझै पनि नेपाली भाषाका स्रोतालाई आफूले जानेका कुरा सुनाऊँ, कतै कार्यक्रममा जाऊँ जस्तो रहर उम्लिएर आउँछ । 'तर, बिमारीको कारण कतै निस्किन सक्दिनँ । कुँजिएर बस्नुपर्दा कहिलेकाहीं रुन्छु पनि', मनको हुटहुटी अगाडि शरीर निर्बल भएपछि चित्त बुझाउँदै आएका छन् यज्ञनिधि । र पनि एक समय रेडियोमा बोलेकै भरमा बौद्धिक वर्गमाझ चर्चामा रहन सकेकोमा त्यसलाई उनले गतिलो धन मानेका छन् । भोगाइको जाँतोमा पिसिंदै आउँदा उनले बुझेको कुरो - भोगेको जीवन हुन्छ । सोचेको र खोजेको हुन्न ।
जीवनको यो मोडमा आइपुग्दा दाहाल यज्ञनिधि करिब २० वर्षअघि लेखेको लोकलयको आफ्नै कवितामा जस्तो एकान्त खोल्सीमा जेनतेन हरियो साँचिरहेका छन् ।

वनपाखा डुलेको छैनौ कि है मैं हुन्छु खोल्सी वनैमा
छालाको काँडाले तर्साउँछु है हरियो साँच्छु मनैमा ।

(कान्तिपुर कोसेलीमा प्रकाशित)

No comments:

Post a Comment