आज ब्लगिङबारे नै अन्तरङ्ग कुराकन्था गर्न मन लाग्यो ।
गजलमा आफ्नो पुन:जागरणबारे त गफ लाएकै हुँ, तर लेखिँदै सार्वजनिकीकरणको पालो पर्खिएर बसेका गजल पस्किन चाहिँ त्यत्तिकै भएछ । ब्लगको आँगनीमा गजलको देउसी-भैली खेल्न उत्रिनलाई हेक्का नरहेको होइन, ब्लगर एवम् अन्य पाठकमित्रबाट गाली-तालीको युगल भेटी पाएर खारिने मौका पाउँला भन्ने लोभ पनि छँदै थियो । तर एकताका ब्लगिङबारे खूब अन्तर्कियामा रहनुभएकी
कुटीकी कैलाशजीले भनेको कुरा बेलाबेला सम्झिने रूटिनझैँ त्यसबेला पनि सम्झिएँ ।
कैलाशजी, जसलाई ब्लगको प्रविधिगत सिकाइको क्रममा एकाध प्रसङ्गमा ढाडस दिने रूपमा जोडिन आएका नाताले म गुरुआमा भन्न रुचाउँछु । नत्र त म आफ्नो ब्लग सुरुवातको पृष्ठभूमि कालमा नै आफूले निकट मान्दै आएका केही साथीको 'युनिकोड नेपाली' र ब्लगसम्बन्धी अन्य प्राविधिक कुराबारे 'हाउगुजी गफ'का कारण शिथिल भइसकेको थिएँ । आज मेरो यस शब्दसंसारमा जति पनि सहकर्मी साथीहरू जोडिन आउनुभएको छ, प्रारम्भमा कैलाशजीकै ब्लगमार्फत यता छिर्ने मेसो पाउनुभएको हो भन्ने खुलाउँदा मलाई सानो कुरा उठान गरे जस्तो पटक्कै लाग्दैन । बरू विशेष कृतज्ञताको भाव जाग्छ ।
उहाँले मेरो ब्लगिङको सुरुवातताका मैले एक पटकमा २-३ पोष्ट एकैचोटि Café मा ठेल्दा गुगल च्याटको क्रममा 'क्या हो यस्तो, हुतुतु ब्लग भएछ नि !' भनेर जिस्काउनुभयो । सुरुमा त म कुरा नबुझेर अलमलिएँ- बाब्बाऽऽ के रहेछ यो हुतुतु ब्लग भनेको ? नाम सुन्दैमा यस्तो चसक दिने कस्तो गजब होला त्यो हुतुतु ब्लग !? यस्तै कुराले दिमागको पल्ला खटखटायो । भरे त कुरा गर्दै जाँदा पो भेद खुल्यो, त्यो हुतुतु ब्लग त मेरै पो रहेछ ! पोष्टहरू खटाईखटाई अलिअलि गर्दै नराखी एकोहोरो तवरले ब्लगमा हुतुतु ठेलेकाले मेरो ब्लगको त्यस्तो न्वारान भएछ ।
मेरो हिसाब थियो- खुराकहरू एकैचोटि ब्लगमा खन्याएर तल-माथि क्रममा रहे पनि जिज्ञासु पाठकले खनीखोस्री गरेर त्यसको मज्जा उठाउने नै छन् । तर यान्त्रिक हतारोको आधुनिक परिवेशमा त्यस्तो कुरा व्यावहारिक नहुने रहेछ । र तबदेखि म ब्लगिङमा 'हुतुतुपन'देखि सम्हालिएर अघि बढ्न थालेँ । अचेल त कस्तो भने, हुतुतु त त्यही बेला नै छाडेकाले टरिहाल्यो, लेखेर तयारी अवस्थामा रहेका लेखसामग्री पनि कहिलेकाहीँ त अनेकौँ अड्चनले पोष्ट गर्न नपाएर/नभ्याएर/नसकेर ब्लग घिटिघिटीको अवस्थामा हुन्छ । कहाँको हुतुतु, कहाँको घिटीघिटी !
ब्लगबारे कुरा नै थालिसकेपछि अब अलि अन्य सन्दर्भ र अलि विस्तारमा बहकिनुपर्ला कि जस्तो लाग्यो । खुलेर भन्दा, ब्लगिङको कुरामा, कस्तो हुँदो रहेछ भने कतिपय संवेदनशील र महत्वपूर्ण विषय र प्रसङ्ग पनि उही सञ्जालमा गाँसिएका ब्लगर साथीसङ्गीले लेखिसकेपछि त्यसैत्यसै तृप्ति भरिएर आउँदो रहेछ । लेख्न मन हुँदाहुँदै पनि अन्तत: त्यसबारे लेख्ने खाँचो नै टरे जस्तो । अनि अर्कोतिर, उही विषयबारे धेरै जनाले लेख्दा त्यसलाई पढ्दै जाँदा कुन तिक्खर र कुन मत्थर भन्ने तुलनात्मक आँकडा पनि मनैमन अवश्य बन्छ कि जस्तो लाग्छ । आफैँमा दृष्टिकोण बनाएर दुई लेखाइबीच तुलनाको हिसाबकिताब नगर्दा पनि त्यस्तो स्वत: भइरहेको हुन्छ । अर्को कोणबाट हेर्दा एक किसिमको अघोषित प्रतिष्पर्धा नै भने हुन्छ यसलाई ।
त्यसो त व्यक्तिगत भावना र दृष्टिकोण स्वविवेकले जे-जस्तो लाग्छ स्वेच्छिक रूपमा पोखिने हिसाबमा ब्लगलाई 'आफ्नै हात- जगन्नाथ'को रूपमा पनि व्याख्या गर्न सकिएला । तर त्यति भन्दैमा ब्लगिङ यात्रामा पूर्णता अनि धर पनि त कहाँ पाइएला र !? स्वतन्त्रतासँगै दायित्व र भूमिकाको पाटो पनि हामी ब्लगरहरूले पक्कै बुझैकै छौँ र बुझिरहनुपर्छ पनि । कोही-कोही ब्लगर भने कतिपय परिस्थितिमा यस मुद्दामा चुकेको पाइन्छ । 'मेरो ब्लग हो, म यसमा के लेख्छु, कतिसम्म लेख्छु र किन लेख्छु भन्ने मेरो निजी कुरा हो', तिनीहरू असामाजिक तवरले फतफताउँछन् । आफ्ना लागि गरेको काम अरूको साथ र सम्मतिबाट पार नलाग्ने भएपछि त्यस कामले कस/कुन कुराको सम्मान गर्छ र कसको/कुन कुराको अपमान गर्छ, ख्याल गर्नैपर्ला । आत्मरतिकै उडान हो भने त किन प्रकाशनको पिरलो वित्थै ? डायरीमै कोर्यो-बस्यो, ब्लगको विश्वव्यापी पखेटामा फैलिनुको औचित्य नै के ?
व्यक्तिको स्वाधीनतासँगै सामाजिक अभिभाराको जोडी चाल पनि लस्किरहेको हुन्छ । कुनै विषयवस्तुबारे कोरिएको टिपोटले त्यस विषयवस्तुकै मानमर्द्धन र अवमूल्यन गर्यो भने के होला ? भाषिक शुद्धताको वकालत गर्दै लेखिएको किताब भाषिक अशुद्धिको घानमा पुरिए जस्तो ! र फेरि अर्कोतिर, बढाइँचढाइँ र मानहानि हुन्छ भन्दैमा राम्रो कुराको प्रशंसा र नराम्रो कुराको छेडखानी पनि नगरी बस्न मिल्दैन । शब्दमा जुन तीर सोझ्याए पनि शिष्टताको सीमालाई भने ख्याल गर्नैपर्ने । बडो चुनौतीको चेपैचेप हिँड्नुपर्ने हामीले । खासमा, ब्लगिङको यस्तो मन्त्र जीवनको हरेक पाटोमा लागू हुने देखिन्छ ।
र…… अझै पनि बेलाबेला त्यो हुतुतु प्रसङ्गमा रुमलिन पुग्छु । समय र वस्तुस्थितिको तालमेल नमिलाई पोष्टको ओइरो लगाउनाले मेरो ब्लग 'हुतुतु ब्लग' हुने सम्भावना अब नरहे पनि त्यो झस्काले भने छोपिरहन्छ । यसपाली पनि अन्य पोष्टको आलोपालो क्रम मिलाउँदा गजलको दैलो यतिखेर खुल्न जुर्यो ।
यो गजल अहिले नेपाली राजनीतिको शिखरमा हुर्मुरिएको, केही त गजब गरेर देखाउला र पिल्लिएको नेपाली घाउलाई सन्चो पार्ला भनेर भर परिएको, तर झन्-झन् भएको कुरा समेत निमोठनामाठ पारेर बेकार तुल्याउँदै गएको 'माउ पार्टी' (गाउँघरतिर जसलाई आठौँ दल भन्दा रहेछन्) को चेत केही त फिरोस् भन्ने सदिच्छासहित समग्र मुङ्ग्रे चरित्रको विरोधमा अर्पित छ ।
हेर ती आफैँलाई दनदनाउन थाले
कतिविघ्न रोगी रहेछन् गनाउन थाले ।
आफैँ ढाक्ने गरी अहो जुहारत लाएका,
शङ्कादेखि लुक्न खाडल खनाउन थाले ।
उज्यालोमा बदमासीको काम गाह्रो भो कि,
ठाउँ न बेला बत्ती झ्याप्प बनाउन थाले ।
मिठाइझैँ भयो माटो पाउमा चढाउन,
प्रभु सबलाई थपक्क मनाउन थाले ।
दुनियाँको व्यथापीरले कानै पाक्यो होला,
पर्खाल थप्न सहमति जनाउन थाले ।
पुस १०, ०६५ बिहीबार (नक्साल)