धेरै भयो मनको कुरा नगरेको, आफूलाई नियालेर नहेरेको । जीवन त अरूहरूतिरै निशानाबाजी लगाउनमा रनभुल्लिएछ । यो जीवन छ नि हाम्रो, जब्बरमा बडो जब्बर छ र सरलमा ज्यादा सरल । बुझेँ भन्यो बुझ्न उति नै बाँकी, बुझिनँ भन्यो त्यतिसम्म पनि निरपेक्ष बस्न र जिम्मेवारीबाट पन्छिन नसकिने, नमिल्ने पनि । आखिर जीवन त बाँच्दै आइएको छ, यो बच्चो त हाम्रै आफ्नो काखमा कोकोहोलो र खिलखिलाहट उछालिरहेछ । कहिले यसले आफैँभित्र कल्याङमल्याङ जन्माउँछ, कहिले अरूमा कम्पन पैदा गराउँछ । चुप कहिल्यै बस्दैन । चुप बस्ने भए त यो जीवन नै कसरी कहलिन्थ्यो र ? जीवन छुलछुले !

यो जीवन नामको पाठशालामा, कस्तो भने, हामी इरेजरबिना नै सिकाइप्रक्रिया हाँक्दै जाँदा रहेछौँ । केवल शीशाकलमको भर । सिकाइको बाँच्ने यात्रामा केही भूल कथम् भइहाले पनि कुनै निरूपाय बालकले थुकको सहाराले शीशाकलमको रेखा घोट्ने उपक्रम गरेर पाना मैल्याएजस्तै जीवन धूमिल बनिदिन्छ । बाँच्दाबाँच्दै बाँच्ने नली थुनिए जस्तै । अनि त आफैँ आफ्नो रमिते बनेर एउटा कुनाबाट नियाल्नुपर्ने । त्यतिबेला 'आफैँलाई माया गर्नु' भन्ने जीवनवादी नारा कति कामलाग्दो भइदिन्छ भने, मिल्थ्यो भने आफ्नै अँगालोमा गुजुल्टिन आफू यथेष्‍ट भइन्छ ।

सम्बन्धको जालोमा एउटा उद्‍गार खूबै मन झस्काउने बनेर रहेको छ- 'Relation is tension' । भन्नलाई त केके भन्छन् नि । राम्रो पनि, नराम्रो पनि । राम्रो कुरामा यति पाएँ, यति सिकेँ, यति त जोरजाम गरेँ भनेर चित्त बुझाउन हामीले कहिले पो जान्यौँ र ? खालि रिक्त र भग्न मन लिएर समयको पर्खालवरिपरि चौकिदारी गर्नको हत्तेमा हामीलाई मजा मिल्छ । नराम्रो झस्का नै हाम्रो मनमा गढ्छ । उसै पनि युद्धमैदानमा सैनिकले छातीमा ट्याप्प कस्ने बुलेटप्रुफ ज्याकेट मान्छेको मुटुको सुरक्षा गर्ने कहाँ हुन्छ र ! कहाँ छातीको घेरालाई यसो थामथुम पार्ने बुलेटप्रुफ, कहाँ आवरणरहित मन । राम्रो र भइराखेको कुरो उपेक्षाको नाइल नदीमा सेलाउनु जस्तो महान्‌ता हामी बाहेक सायदै अरू प्राणीले गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड बुकमा हाम्रो यस्तो रेकर्ड अभिलेखित गरिनुपर्ने होइन ?

समयको कुनै साइतमा त्यो पनि दिन आउला । अहिले केही नजुर्दासम्मन् त समयहीन मान्नुपर्ला परिस्थिति । समयले दिएका सुनौला निर्देशनचिन्हमा भन्दा अलमल्याउने गुजुल्टोमा अथाह मनोरञ्जन भेटेर व्यस्त बन्न सजिलो छ । समयले थोपरेका थरीथरी घाउ गन्दै स्कुले बेला पार गरेसँगै छुटेको अङ्कगणितको खेल अद्यावधिक गर्नु त्यसो त चानचुने कुरो होइन । तर 'अचानचुने' काम गर्नु छ, अरूभन्दा बेग्लै हुनु र देखिनु छ, दौडमा सबैभन्दा अगाडि पैँताला टेकाउनु छ । यता पनि हजुर टक्र्याउनु छ, उता पनि 'त्यो त सारै चिसो व्यवहारको छ है' भनेर खुसामद गर्नु छ । यसो सोच्दा यही एउटा जीवन त के भजाउन भ्याइसक्दो छ र एउटा मान्छेलाई !?

एउटा-एउटा नाता र बहानामा जीवन-यात्रामा भेटिएकाहरूको घोडा चढ्नु, अलि माथि पुग्नु र अलि समयपछि घोडालाई धारे हात लगाउँदै 'जीवनमा कोही भेटिनु भनेकै उसबाट आफूले केही सिक्नु हो, तँ बाट लिनु मैले यति नै रहेछ' भन्ने थेगो सुनाउँदै फेरि अर्को घोडाको प्रतीक्षामा बस्नु अहिलेका मान्छेको सवारी-लीला हो । यसलाई उपभोक्तावादी संस्कृतिको चरम नमूना भनिदिए हुन्छ । घाउको वितरण यस्तै सवारीबाट हुन्छ । घोडा हुनु कोही सवारलाई बोक्नु मात्र कहाँ हो र, यात्राभरको उसको अपजस र बिस्तारै घनघोर उपेक्षाको नीलडाम पनि सँगै हातलागी हुन्छ पिठिउभरि । हामी घोडाभन्दा कति मानेमा फरक छौँ हँ ? घोडा बराबर मान्छे भन्दा देशको कानुनले बोल्नेको मुखमा पिच्कारी छ्‌याप्ला ? तर घाउ लिएरै घोडा टापभरि कस्सिएको व्यथा बजाएर बसिराख्दैन । समयले घाउ दियो एउटा मोडमा । समय आफैँ घच्चीको चक्की औषधि भएर बसेको हुनेछ मूल सडकमा, पर्खिनुपर्छ । समय नामको वैद्यले चक्कु चलाए पनि त्यसैको उल्टो उपचारले हामीलाई ताछेर जीवनपथमा धारिलो उभ्यानेछ । नि:शस्त्र अवस्थामा पनि हामी सशस्त्र बनौँला । बाँच्न जान्नुपर्छ, जीवन कुराउनी जस्तै कमलो-मगमगाउँदो हुँदै जानेछ । यो त जो कोही 'म' ले छिप्पट रातमा आफैँलाई लोरी गाइरहेको हुने भए पनि जपिरहनुपर्छ ।
घाउ निको हुनु मात्र सरोकार होइन, बाँच्नु ठूलो कुरो हो । र त्योभन्दा ठूलो कुरो- अरूलाई घाउ नदिई आफ्नै पैदलयात्रामा वेग मार्नु । सके स्वार्थी नै भइयोस् । अझ हुन सकोस्, त्यो वेगले शीतल देओस् कसैलाई । सबभन्दा पहिलो मुद्दा- आफैँलाई माया गर्नु । भन्छन्- आफैँलाई माया गर्न नसक्ने-नजान्नेले अरू कसैलाई माया गर्दैनन् रे ! आफैँलाई माया गर्नेले तै मायाको अनुभूति र त्यो न्यानो रक्षाकवचको महत्व त थाहा पाउँछ । तब उसलाई मायाको घेरा मुलायम लागेर त्यसैको आदानप्रदानमा खुल्न मन लाग्दै जान्छ । घोडा भएर हिनहिनाइरहने र पीडाको विज्ञापन गरिरहने हो भने त के लाग्छ र ? हिनहिनाइले कुनै नाममा चढ्न आउने मालिकको कोर्रा बाहेक केही पाउँदैन । कोर्रा ... थप कोर्रा ... । खासमा पहिले त हामी घोडा नै त हौँ !