बार-बार खुलेआम
सडकछेउको दुर्गन्ध झैँ
वा, चोकको लोभी मगन्ते झैँ
आउँछ, आइरहन्छ चोर

जहाँ स्वर्ग जस्ता
सुन्दर बस्ती मौलाउँछन्
तिखारेर हत्केलाभरि पिरो नङ्ग्रा
जन्मिइहाल्छन् कलकलाउँदा चोरहरू

रसिलो लबज
सुकिलो कवच:
उसको मस्तराम व्यक्तित्वले
चोरलाई चोर भन्न
ठोकिदिन्छ ताल्चा आम ओठहरूमा

बस्तीको पवित्र बगैँचामा
आफ्नो भद्दापन थुपार्छ चोर
मिचेर छाडिदिन्छ असरल्ल
कर्णधार पुस्ता जस्ता रङ्गीन फूलहरू
र निमोठेर खान्छ कसिला जरा
पस्छ घरको उल्लासमा
मतलब गर्दैन -
टेबलमाथिको भाँडो कम्प्युटर
र सुटकेसको अन्तिम पत्रमा सम्हालिएको
आमाचिनोको स्वर्णऔँठी

बरू लुछेर लैजान्छ
उज्यालो हार्डडिस्कको जडान
पारिदिन्छ गुजमुज्ज
दिमागका सुनौला तारहरू
तब गायब हुन्छन् एकैसाथ-
समुद्रमा पनदुब्बी जहाज झैँ
ट्याउँट्याउँ ओठको चाल
हराउँछ सिरानीछेको
बृहत् शब्दकोष

सामुन्नेमा-
देखेर उदास जेलघरको
रिक्त-अपूरो 'विशिष्‍ट बन्दी कक्ष'
सधैँ परिरहेछ
छक्क पर्नु परिरहेछ
चोरको यस्तो चलाखी बोक्न
कहिलेसम्म सक्छ काँध खुस्किएको यो कुप्रो बस्ती ?

ए थकाली बा !
खोइ
बाली तहसनहस पार्दा साँढे धपाउने
ती लाठी र भालाहरू,
धुलाम्मे गलैँचा झैँ
किन नटकटक्याउने
सिङ्गो बस्ती कुटुकुटु टोक्ने
चोरका बेइमान खल्तीहरू ?
किन सरक्कै नबढार्ने
आराम सभा मनाइरहेका चोरको यो आमसभालाई ?