प्रिल १८ शनिबार, मध्यदिनको महानगर । पोखरेली गजलकार प्रकट पगेनी 'शिव' आरोहण-गुरुकुलको हलमा आफ्नो पाँचौं एकल गजल वाचन कार्यक्रमको लहरमा उकुसमुकुस दर्शक-घुइँचोमाझ घेरिएका थिए । उही ठाउँमा केही महिनाअघि "प्रणयमा प्रकट दाइ" को कार्यक्रमशृङ्खलामा श्रृङ्गारिक गजलहरू सुनाएर दर्शकलाई कतै लाजले पानीपानी बनाएका र कतै खिलखिलाहट भरेका गजलकार पछिल्लोचोटि "परिवेशमा प्रकट दाइ" कार्यक्रमशृङ्खला अन्तर्गत आपसी मायाप्रेमका साथै देशप्रेम, जीवन-जगत् र समसामयिक विविध विषयका गजल वाचनमा पलेँटी कसेर हलमा आकर्षण बनेका थिए । गजलमा नेपालीपनको खोजी र पहिचान दिलाउन मुना-मदन र मालती-मङ्गलेको प्रसङ्ग उनिएका सेर पनि उनले सुनाए-

"कान बुच्चै छ मुनाको ल्हासामा सुन् छ कि मदन
अलिनो छ तरकारी भान्सामा भोटमा नुन् छ कि मदन?

ओछ्याउने राडी छैन जाडोमा ओढ्ने पाखी छैन,
लेकको भेडीगोठमा कतै भेँडाको ऊन् छ कि मदन?

कति खानु साग-सिस्नो आखिर धन त चाहिन्छ नै,
स्वस्थानीकी गोमा जस्तै मुनाको मन रुन्छ कि मदन?

सपनामा भैँसी देख्‍नु राम्रो हुन्न भन्छन् सबै,
तिमीलाई बीच बाटोमा हैजाले छुन्छ कि मदन?

जे होस् चाँडै फर्की आउनु आमा साह्रो बिरामी छन्,
भेल-बाढी पहिरोले बाटो थुन्छ कि मदन?"

टिकट काटेर पार्क, साङ्गीतिक कन्सर्ट, दोहोरी साँझ र सिनेमाहल चहार्ने संस्कारमा हुर्किएका हामीलाई टिकटमा मुक्तक, टिकटमा कविता, टिकटमा गजल भन्ने प्रसङ्ग सुन्दा केही वर्षअघिसम्म एउटा 'जोक' वा पागल प्रलापसरह लाग्थ्यो । तर अब बिस्तारै साहित्य-कलाको जगेर्ना, मूल्यस्थापना तथा सामाजिक प्रसार तथा मान्यताबोधका लागि साहित्यिक कार्यक्रममा समेत टिकटको संस्कृति बसाल्नु हाम्रासामु आवश्यक औपचारिक एवम् व्यवस्थित कदम हुन आएको छ । पोखरेली साहित्यकारहरूले सुरु गरेको टिकटमा मुक्तक वाचन कार्यक्रमको सफलता र प्रभावले पछिल्लो एक-दुई वर्षयता मञ्चकेन्द्रित सशुल्क कविता तथा गजल वाचनको कार्यक्रमले गति लिएको छ।

प्रकट दाइको वाचन कार्यक्रमको ब्रेकमा प्रकट दाइकै गजलरचना लिएर सङ्गीतकार सुरेश अधिकारीले आफ्नो सङ्गीतमा मीरा राणाको गलालाई ठीक पारेको भाका उनको अनुपस्थितिमा आफैँले गाएका थिए-

"जाडो मौसम आउँदै छ रे भन्ने सुनेकी छु

मैले मेरो हजुरलाई स्वीटर उनेकी छु।"

गजल गाउनुअघि सुरेशजीले गजलको सन्दर्भमा सादा भाषामा छोटो तर सटीक भनाइ राखेका थिए- "गजल छोटो हुन्छ तर ज्यादै खिपेर-गहिरिएर खँदिलो बनाएर लेख्‍नुपर्ने विधा हो । गजलकारहरूले निकै मिहिनेत गर्नुहुन्छ । निकै गहिरो अर्थ लुकेको हुन्छ एउटा गजलमा।"

त्यसरी बखानिएको रूपमा हामीले गम्भीरतासाथ सोचिरहेका छौँ त आजका सबै गजलकारले ? लेखकले ? हाम्रो लेखाइ त्यस्तै अर्थप्रधान छन् त ? कि झाराटराइमा टाउकोको गन्ती देखाउने कोटिका छन् ? सोच्ने बेला यही उमेरको/लेखाइको युवावयमा हो, पछि त सोच्न सकिएला-नसकिएला वा सोच्ने पल नै नपाइएला कि?

पछिल्लो पाँच-छ वर्षयता नेपाली लेखनमा गजल धेरै मात्रामा लेखिँदै आएको छ । परिमाण बढेसँगै त्यस सक्रियताको फिलिङ्गोमा रापिएर पाकेको राम्रो परिणाम पनि हामीले साहित्यिक ढुकुटीमा थाप्न पाएका छौँ । सर्जक-चापको परिपाकमा छानिएर सिउर भएका प्रतिभा पनि फुतुफुतु निस्किँदैछन् । गजल लेख्‍नेहरूले त रचनात्मक मादकताबाट भरपूर आनन्दलाभ गर्छन् नै, नलेख्‍नेहरूले पनि अरूहरूको अनुभूतिपरक अभिव्यक्तिमा समभाव राख्दै यसको मिठासबाट पक्कै मह चाखेका छौँ । त्यही भएर होला एक समयमा युवा कवि मोतीराम र उनको मण्डलीको गजल-सक्रियतापछि लामो समय विश्राम लिएर पुन: २०३५ सालमा शब्दशिल्पी ज्ञानुवाकरको जुर्मुराइबाट बिस्तारै चाल मारेको गजल-लेखनको मेलो नयाँ पुस्तामा निकै घना रूपले सरेको छ । फलत: डायरीको पानादेखि उठेर गजल आज वाचन र गायनको क्रममा मञ्चतिर उक्लिएको छ । यद्यपि गुनासो छ गजलगोहरूबीचमै- "गजलमा बाढी आयो, धेरै लेखिए गजल, जे पायो त्यही कुराको डङ्गुर लाग्न थाल्यो ।" तर बेकामी कुरा आफैँ थिग्रिएर पिँधमा हराउँछन् भन्ने सूत्रमा विश्‍वास गर्ने हो भने बढी भीड लागेर बढी लेख्दैमा केही बिग्रिँदैन । तर 'एक जनाले बिराउने शाखा पिराउने' भन्ने उखान चरितार्थ भएर एकाध नमुनाले गर्ने गडबडीले साहित्यको गरिमा र मूल्यबाट पाठकीय विश्‍वास नै उठ्ने खतरा पनि रहन्छ नै । साहित्यको अपमान भएको देख्‍न आज कतै लेन्स जडेर हेर्नुपर्दैन, साहित्यक्षेत्रभित्रै साहित्यिकहरूको अनुशासनहीन र मनमानी चलखेलमा हेरे पुग्छ । लेख्‍नेहरूले नै लेखाइलाई धराशायी तुल्याएका छन्, लेखन क्षेत्रको सुकुमारीपनमाथि बलात्कार गरेका छन्।

हामी लेख्‍नेहरूले यी लेखाइहरूमा कतै कुनै प्रकाशन त कतै वाचनमा दुई-चार पाठक/स्रोता पाएरै गजलको तिर्सनामा चित्त बुझाउँदै आएका छौँ । दिमागको टोड्कामा सोचाइका बचेरासँग चुच्चा मिलाउँदै, मनको खोपमा भक्कानोका 'मकमक घुर्' जप्दै र सम्हाल्दै लेख्छौँ, लेखेका कुरा प्रस्तुतिको माध्यम उपलब्ध भएसम्म सार्वजनिक गर्न मन लाग्छ । नत्र त आफ्नै अन्तर्मुखी स्वभाव र स्वाभिमानी शिर 'भिलेन' भइदिएपछि प्रायश: गुटबन्दीको भीडमा आँखमिचौली खेल्न नसकेर/नजानेर/नरूचेर डायरीकै पानातिर आहाल बसाएर राख्छौँ हरफहरू । मौका मिल्दा कतै वाचन पनि गर्छौँ । अरू त गर्न पनि के नै सक्छौँ र ? तर गजलले स्वाभाविक रूपमा गायकी खोज्छ, सङ्गीतको सुर खोज्छ । साङ्गीतिक शङ्खबाटै गजलले सार्थक ध्वनि पाउँछ र जनमानससँग सरल एवम् सहजतापूर्वक मितेरी लाउँछ । कोरा शब्दमा रहेको गजल त अनकन्टार गुफामा गाडिएर बसेको खानी मात्र हो । त्यसलाई उत्खनन गरेर, नयाँ पहिचान, नयाँ सज्जा र थप अर्थ दिँदै पालिस लगाउने काम त सङ्गीतको सरगमले गर्छ । तर सीमित स्रोत-साधन र पहुँचको अभाव तथा गहिरो उत्सुकताको कमीले गर्दा नेपाली गजलले सङ्गीतको त्यस स्वाभाविक बाटोमा पाइला चाल्न अपेक्षाकृत सकेको छैन । अझै पनि प्रमुख साहित्यिक पत्रिकाहरूमा गजल गीत भनेर छापिन्छ बेलाबेलामा । आयातीत विधाको बिल्ला भिरिरहेछ लेखन क्षेत्रमा रहेका बौद्धिक वर्ग तर गैरगजलकारबाट।

नेपाली गजलमा सङ्गीतको रौनक पसेको त दशकजति अवधि भइसकेको छ । भक्तराज आचार्य, शक्ति बल्लभले चिनिने गोरेटो कोरेको मान्नुपर्छ । तर सङ्गीतको मूलधारमा गजलले अझै प्रवेश र मान्यता पाउन खोइ केले छेकिराखेको छ । गीतजसरी नै गायनमा गजल छाउन नसक्नुको दोष गजल-सर्जक र सङ्गीत-सर्जक दुवैमा जान्छ नेपाली सन्दर्भमा । गजल-सर्जक केही मात्रामा आफ्नो सिर्जनाकर्ममा असचेत छन्, केही मात्रामा लेखनलाई साङ्गीतिक प्रवर्द्धन गर्नमा उत्साही र जागरुक छैनन् । उनीहरूमध्ये कतिपयमा साङ्गीतिक पाटोको प्रविधिगत कुराबारे जानकारी त छैन नै, दौडदूप र लागिमेली गर्ने कुरामा जाँगर छैन । सङ्गीतज्ञहरू नेपालमा उम्दा गजलकारै छैनन्, राम्रो गजल छैन भनेर गजलमा आफ्नो सिर्जनाशून्यलाई छोप्छन् । तर खासमा तिनमा अध्ययन र सोधखोजको कमी देखिन्छ । स्तरीय र गुनिला कुरालाई खुलेरै सम्मान दिने परिपाटी छैन । सङ्गीतबद्ध गजल उत्पादन भएर बाहिर आए पनि मसालेदार चुट्का गीतअघि गजलमाथि मिडियाहरूले गर्ने सौतेनी व्यवहार र उपयुक्त बजारको अभावका कारण पहिलो गाँसमै ढुङ्गा बिझेपछि अर्को गजल-सङ्गीत सिर्जनामा फर्केर नहेर्ने नयाँ पुस्ता पनि छ । आशलाग्दो सम्भावना बोकेका गायक शिव परियार यस्तै एक उदाहरण हुन् । आधुनिक सुगम सङ्गीतको लागि सुहाउँदो गला भएका उनी केही गजल गरेर पनि ताल नराम्रो देखेपछि लोक दोहोरी गीत गाउन समेत मोडिए।

आज खासगरी गजल-सङ्गीतको सक्रियतापछि यतिका अवधिमा पनि यसमा लहर नदेखिनुको एउटा कारण गजलकार र सङ्गीतकर्मी दुवै वर्गको आ-आफ्नै अभिमान पनि हो कि भन्ने लाग्छ । गजलकार गजल लिएर बिन्तीपत्र बिसाए जस्तो म कहाँ आउला कि भन्ने सङ्गीतकर्मीहरू, उता म त लेख्‍ने पहिलो प्रारुपकर्ता पो त सङ्गीत गर्नेहरूले चासो दिए पो केही हुन्छ भनेर गुम्म पर्ने गजलकार । यस्तै कारणले नेपाली सङ्गीतमा गजल विधा बेलाबेलामा राम्रो छनक देखाए पनि मूल वहाबमा देखापर्न सकेको छैन । यस्तो अवस्थाले साहित्य र सङ्गीतको दह्रो सम्भावनालाई खुम्च्याएर राखिरहेको छ भन्दा अत्युक्ति हुँदैन । निकासको उपाय हो- आ-आफ्नो अहम् र सङ्कोचको माकुराजाल च्यातेर सङ्गीतकर्मी र गजलकार समन्वय र सहयात्राको कोठेबारीमा खेल्नैपर्छ । कारण, गजलको जीवन र भविष्‍य मञ्चमै छ, गायनमै हुन्छ।