रेडियो अन्तर्वार्तामा पाहुना भइआएका प्रतिभाशाली युवा पत्रकार गला सफा पार्दै थिए । उनी अखबारका पानामा बढ्ता अपेक्षा गरिने र पढिने लोभलाग्दा नाम मात्र होइनन्, नामी ब्लगर समेत हुन् एक समयका । (यस पोष्टको विषयगत संवेदनशीलताका कारण उनको नाम भने गोप्य राखिएको छ, कृपया माफी दिनुहोला पाठक-मित्रहरूले)।
अहिले पनि फाट्टफुट्ट ब्लग लेख्छन् । तर उनै नामी ब्लगरले ब्लगलाई हेर्ने आफ्नो चश्मा धमिलो र साँगुरो भएको प्रमाण रेडियो अन्तर्वार्तामा दिए । रेडियो प्रस्तोताको प्रश्न भुइँमा झर्नासाथै ती युवा ढुकढुकी प्रस्ट लबजमा जवाफ भर्थे । पत्रकारिता, साहित्य, फिचरलेखन, निबन्ध, कविता हुँदै अन्तर्वार्ताको विषय ब्लगसम्म आइपुगेको थियो । जम्दै थियो वार्ता । अन्तर्वार्ताकार रेडियोकर्मी यो एक बसाइ हाम्रो कुराकानी पूरा गर्न पर्याप्त हुँदैन भनिरहेका थिए । पाहुना बनेर आएका पत्रकार भने सोधेसम्मका कुरालाई सुस्तरी खुलाउँदै थिए । ब्लगबारे गफ सुरु भएपछि उनले कुराकानीकै क्रममा फ्याट्ट भनिदिए- "ब्लग रुष्ट साहित्यकारले आफ्नो सिर्जना पोख्ने ठाउँ भएको छ ।"
सुनेर चसक्क भो मन । उनको लेखनको त्यत्रो ठूलो प्रशंसक-भीडको एउटा सदस्य ठान्थेँ म आफूलाई । वाह, यस्तो पो पत्रकारिता ! यस्तो पो फिचर ! भनेर तारिफको खुला पुल बाँध्थेँ । उनै पुज्य लेखकले एक पङ्क्ति अन्तर्वार्ताको प्रहारले मर्याकमुरुक भाँचिदिए पाठकको मन । ब्लग रुष्ट साहित्यकारकै खेती हो त ? राती प्रसारित उक्त अन्तर्वार्ता सुनेर बिछ्यौनामा ढल्किएपछि पनि निकैबेर जाग्रामले दु:ख दिइरह्यो, आँखा झिमिक्क गर्न मानेनन् । निकै दिनसम्म त्यसको चस्का लागिरह्यो ।
उनको आरोपको सोझै आशय थियो - छापा माध्यममा सहज ठाउँ नपाएको अर्थात् नछापिदिएको झोँकमा साहित्यिकहरू ब्लगमा खनिएका छन्, तिनको बकम्फुसे भावनाका कुराले ब्लग भरिएका छन् । उनी कविताप्रति ठ्याम्मै रुचि नभएका अक्षरप्रेमी हुन्, त्यसै हुनाले अखबारको विशेष बार प्रकाशन हुने परिशिष्टाङ्कको संयोजक तथा फिचर सम्पादकका जिम्मेवारी सम्हालुन्जेल उनले आफू काम गर्ने अखबारमा कवितालाई छिरिक्क ठाउँ दिएनन् । उनले यी कुरा अन्तर्वार्ताकै क्रममा स्विकारेर खुलस्त भने । यस मानेमा भने प्रस्टवक्ताका रूपमा उनलाई मान्नुपर्छ ।
एक त आफू पनि ब्लग लेख्ने मान्छे परेँ, त्यसभन्दा अघि साहित्यिक लेखनमा राम्रैगरी हेलिएर 'केटाकेटी पारा'मा भए पनि हल्काफुल्का साधना गरेको मान्छे । मैले त्यो आरोप आफू र आफू जस्तै ब्लगरको भागमा तेर्सिएको अनुभव गरेँ । अनि तमाम ब्लगरको लस्करलाई पनि यो आरोपको सङ्गीनमा राखेर अड्कलेँ । सबै केही न केही रूपमा, मात्रामा साहित्य लेख्छन्, कवितै भनेर नलेखे पनि तिनका गद्यलेखनमा काव्यिकताको ओज भरपूर देखिन्छ । अहँ, तर रुष्ट साहित्यकार र ब्लगलेखनको साइनो कहाँनेर मेल खान्छ, त्यो आरोप ठ्याम्मै चित्तै बुझेन । रुष्ट साहित्यकार नै र मात्रै ब्लग लेख्छन्, ब्लग लेखनमा मोडिन्छन् त ? जो साहित्यिक छन् र ब्लग लेख्छन्, ति रुष्ट भएरै सबै कुरा छाडेर ब्लगमा हेलिएका हुन् ? आँखीभौँमा पोको परेका सोचाइका लालगेडीहरू फुकेनन्, बरू ती कसिँदै ब्लगिङका पाटाहरू खोतल्नतिर बत्तिन थाले ।
एक त हाम्रा साहित्यिक प्रकाशनहरू सङ्ख्यात्मक रूपमा पनि कति नै छन् र छाप्ने पर्याप्त विकल्प उपलब्ध छ भन्ने प्रश्न छ । अनि भएकाहरूले पनि कति मात्रामा पक्षपातरहित ढङ्गले लेखरचना छनोट गरेर योग्य प्रतिभा र विचारलाई स्थान दिन्छन् भन्ने अर्को मुख टाल्ने प्रश्न उभ्याउन सकिन्छ । अर्कोतिर, साहित्यिकहरूमै आत्मघाती रोग छ, प्रचारप्रसारको सस्तो मोहमा परिमाणात्मक रचनाको बाढी लगाएर हस्-हजुर ट्यास्स टक्र्याउँदै लेखरचना प्रकाशनको लागि सम्पादक र प्रकाशककहाँ बिन्तीभाउ बिसाउन पुग्नु । यस्तो गोटागोटी एकादुई 'प्रतिभाका मुहानहरू'को व्यवहारले आम साहित्यिकहरू र साहित्यिक क्षेत्र नाम त नाम तर बद्नामको रूपमा खातामा चढेको छ । सबै एउटै आँखाले हेरिने रूपमा पत्रु भएर दरिने स्थितिमा पुगेका छन् ।
आफ्नो क्षेत्र हो, यसमै गरिखाने हो भन्ने व्यावसायिक पाटो गाँसिएको भए साहित्यिक क्षेत्र पनि पक्कै स्वच्छ, शिष्ट र अनुशासित हुनेथ्यो होला, सोही रूपले सम्मान र इज्जत पनि यसले चुल्याउँदै लग्नेथ्यो । तर प्रदर्शनपूर्ण सोख र काँचो रहर पूरा गर्ने खुला क्षेत्र बनेपछि लाज न धक जसले जे गरे पनि कुनै हिसाब रहेन । राम्रोसँग साँवा अक्षर फुटाउन नसक्नेले वर्णमालाको किताब निकाले जस्तै हो, कुनै अर्थ र शैली नभई फतफत आवाज जथाभावी उछालिरहनु । भावना र विचार पोख्ने क्षेत्रमा छेकथुन हुनुपर्छ भन्ने कुरै होइन, तर यसमा हेलिनेहरू दुई कौडीको पनि सोच र समझ नहुनेहरू भएकाले सस्तोपनको हिमतह हाम्रो साहित्यिक पर्वतमा बढ्दैछ, जहाँ साँच्चिकै ठोस पर्वतको गरिमा भासिँदै गएको छ ।
अनि ल मानौँ, रुष्ट साहित्यकारहरू नै पैदा भएर देखिए अखबारी आँखामा भने पनि त्यसरी रुष्ट जमात पैदा गर्नमा अखबार, पत्रपत्रिका र प्रकाशनहरूको पनि कत्तिको हात छ भन्ने सवाल उठाउनु जायज छ कि छैन ? कसैप्रति रिसराग र पूर्वाग्रहको तीरकमान नउचाली भन्ने हो भने पनि चिनजानको र नातोगोताको छ भने एउटैको लेखरचना दसचोटि घुमाइघुमाइ छापिदिने निर्विवेकी सम्पादक र जाली प्रकाशकको कुनै कमी छैन नेपाली सञ्चार-प्रकाशनको क्षेत्रमा । धाईधपेडी गरेर एउटा नमस्कार टक्र्याएको भरमा कविता छापिन्छ, कहिल्यै भेटघाट गर्न नसक्ने स्थितिमा कुना-कन्दरामा साधनारत प्रतिभा हेरेको हेर्यै हुन्छ ।
यस्तोमा को ठूलो लेखक भन्नु, कसले जित्यो भन्नु !? प्रकाशनको इतिहास बनाउने कसरतमा त धाइधपेडीमा सस्तो शिष्टाचार भजाएर, यसो अरू टिपनटापन चखाएर असङ्ख्य छपाईकर्म आफ्नो रचनात्मक कर्ममा बटुल्नेले नै लोप्पा ख्वाइसकेको हुन्छ सबैलाई । जहाँ हेर्यो उसैको नाम, जता हेर्यो उसैको जात्रा ! यसरी रुष्ट साहित्यकारहरू छापा माध्यमबाट बढ्दैबढ्दै इन्टरनेट माध्यममा पनि नअँटाएर त्यसबाट पनि विष्फोट हुन खोजे भने के होला हँ कविता नरुचाउने पत्रकार महोदय ? तपाईँलाई व्यक्तिगत रूपमा कविता नरुचाउने हक छ, तर रुष्ट साहित्यकार पैदा गराउने अधिकार पनि कसैले दिएको छेन है तपाईँहरूलाई । कुरा स्पस्ट छ- रुष्ट साहित्यकारहरू राम्रो भएर पनि भनसुन-चिनजानमा नबिकेर रन्थनिएर बसेका हुन्छन्, दुष्ट साहित्यकारहरू आफूमा केही नभएर पनि त्यही नहुनुको दूषित शून्यतालाई काखी च्यापेर साहित्यिक हाटबजारमा आफ्नो प्रदुषणको व्यापार बिगबिगी फैलाएर गरिरहेका हुन्छन् ।
भन्नुस् इर्ष्यालाग्दो लेखनशिल्प भएका युवा पत्रकार,
तपाईँ कसलाई रोज्नुहुन्छ ?
रुष्ट साहित्यकार
या
दुष्ट साहित्यकार ?