फ्नो जागिर होस्-नहोस्, एउटी जोई होस् र त्यो जोईको मुठा-मुठा पैसो तान्ने जागिर होस् । नारी अधिकारले समग्र बजार कब्जा जमाएको बेला पुरुष अधिकारको ज्वरोले तातिएका उमेरदार योग्य वरहरु यस्तै इच्छा प्रकट गरिरहेका भेटिन्छन् । आधुनिक कालबेला छ भनेर नाराकै रङरोगन घसी नाराकै पखेटा जडेर स्वतन्त्रता खोज्ने फाइफुट्टीरानीहरुलाई त यस पुरुष-अधिकारको नयाँ खोजीले खुत्रुक्कै पार्ला ! तर जागिरे रफ्तारमा चाल मारिरहेका हुनेवाली जोईहरुलाई भने यो खोजी अभियान जोडीको उम्मेदवारीमा पर्ने सुनौलो अवसर हुनेछ ।

बसको भीडमा, बेरोजगारको हूलमा, अड्डा-अफिसमा, चिया-चमेनामा जताततै कुनै उमेरदार नौजवानको बिहेको कुरा चल्यो कि त "टन्न गाँठ कमाउने केटी नपाएसम्म त आफू बूढोकुमार नै बसिन्छ यार" भन्ने थेगो सुनिन्छ । यस्तो रहर कोही हाकाहाकी पोखिरहेका छन् त कोही मनैमन कुरा खेलाएर रहरलाई पकाउँदैछन् । खुलेर नभन्नलाई जागिरे जोई पाऊँ भन्नु फेरि कुन त्यस्तो लाजमर्दो कुरो हो र ? मान्छेहरुले लाजै पचाएर कुन्नि के गर्न पाम् कता जान पाम् त भनिसके, जागिरे जोई पाम् भन्नु के अपराध भयो र !

आफू जागिरे पोइ पहिलेदेखि नै छ भने त जागिरे जोई पाएपछि हिसाब दोब्बर भएर पारिवारिक कारोबार सहज रुपमा बढ्ने नै भयो । आफू बेरोजगारै परिएछ भने पनि जागिरे जोईको प्रवेशसँगै घरमा लक्ष्मीको प्रवेश भइहाल्छ । तिनैको भरथेग र पोषणले दम्पतीको सास धानिहाल्छ । यही सुरक्षित र प्रभावकारी जीवनयापनको सामाजिक सोचले निकालेको नतीजा हो जागिरे जोईको खोजी ।

जागिरे जोई पाएपछि टोल-समाजमा जागिरे दुलहीको दुलहा भन्ने नयाँ आकर्षक परिचय मिल्ने कुरा त छँदैछ दुलहीको आत्मकेन्द्रित खर्चप्रथा पनि स्वाट्टै हटेर पारिवारिक बजेट अनुरुप ढल्दै जानेछ । आपुनो लाली टप र स्यान्डल किन्नमा मात्रै जागिरको कमाइ सक्दै आएकी कन्ने केटीले जोई भएर आएपछि त्यही पैसाले सारा घरखर्च मिलाउनुपर्दा दुलहीलाई झन् व्यवहारिक हुन सिकाउनेछ । बिहे भएर माइतीबाट बिदावारी भई घरमा आएपछि जागिरे जोईले मेरो आफ्नो खर्च मैँ आफैँलाई ठिक्क हुन्छु भन्दै महिनैपिच्छे थैलीलाई गोदरेज दराजमा कोच्यो भने त्यो पुरुष अधिकारको हनन मानिनेछ ।

जागिरे जोईको माग एक्काइसौँ शताब्दीकै माग हो । अरु देशले के-के कुराको खोजी र अन्वेषण गरिसके हामीले भने जागिरे जोईको खोजी गरेर थपक्क एक-एक जना सुकुमारलाई एक-एक जना जागिरे जोई जुराउन नसक्नु लाजमर्दो कुरा हो । लैङ्गिक समानताको मुद्दा चर्किरहेको बेला पुरुष नै जान्ने भएर जहाँ पनि अघि सर्दै जागिर खाने लहर पुरानो भइसक्यो । राम्रो र जागिरे पति पाउष भनेर मनैमन पुकारा गर्ने कन्ने केटीहरुले पनि वर्षौँ यो सजिलो काम गर्दै आए । दसैँबजारमा कुन गतिलो खसी भनेर छाने झैँ "को सरकारी सुब्बा, को अमेरिकाको ग्रीन कार्ड भएको, को घघडान व्यापारी, को इन्जिनियर" भन्दै युवतीहरुले योग्य वर छानीरोजी गर्दै आए । घुमिफिरी कुमार केटोले पनि मनको बह पोख्ने पालो नपाउनु त अन्याय नै हुन्छ । जागिरे जोई पाउने इच्छा यही आलोपालोको आवश्यक रीत हो । लौ है जागिरे जोई पाम् !