"हाई", 
च्याटमा उसले उताबाट टेक्स्ट ठेलेपछि चिमोटे जस्तो भयो, जुन चिमोटाइ म पर्खिरहेथेँ । 

ऊ युवती थिई, म युवक थिएँ, यतिले मात्र  रोचक लय हामीमाझ तरङ्गिएको थिएन । मादकता घोल्ने रसायन लैङ्गिक पाटोमा मात्र कहाँ लुकेको हुन्छ र ? कुराको मेलो अझ लम्बिँदै गयो । सुरुको चिमोटाइले अहिले भने उग्र रूप लिन थाल्यो । चिमोट्ने कुरा युवाहरूको साझा मुद्दा थियो : करिअरको दौडधुपमा बतासिएको जिन्दगीको रथ । ऊ आफूलाई त्यस्तै रथसँग तुलना गर्दै थिई । हे दैव, म पाङ्ग्रा थाम्ने ओटको ढुङ्गा बन्न सक्ने कहाँ त्यस्तो थिएँ र ?

चलनचल्तीको बोलीचालीमा हेर्दा सात समुद्रपारिको  दूरी हामीमाझ फैलिएको थियो । कुरै गर्ने हो भने त एक झलक देखेको सम्म छैन उसलाई । हो, तस्बिर दर्शन गरेर भने  उसको केशका जरीजरीसम्म गाडिएको जीवनको तनाव नापेको छु मैले । बेलाबेला अनलाइनमा म भावनाको पसल खोल्छु । बेलाबेला इन्टरनेट आकाशमा ऊ भक्कानोको भाका टाँग्छे । बेलाबेला उसको लीला म बुझ्दिनँ । बेलाबेला मेरो पागलपनमा ऊ पिठिउँ फर्काउँछे । म उसको दु:खलाई  आफ्नै दु:खमा रूपान्तर गरेर कस्तो अध्याय गाँस्दैछु आफ्नो जीवनमा, पटकपटक अलमलिन्छु । 
खासमा यसो सोच्दा अलमलैको घुम्ती त हो नि यात्रा । स्पष्‍ट चित्र देख्‍नलाई त जीवन कुनै भिजुअल मेसिन वा चित्रकला हो र ? यसैले यो अलमल मलाई प्रिय छ क्यार ! यसैमा अभ्यस्त हुँदैछु ।

ठीक यतिखेर भने  उसको पढाइ र कामको समानान्तर जीवनरेखाको साक्षी बस्न पुगेको छु । यसरी संघर्षमा हेलिने संसारमा ऊ मात्र एक्ली नमूना होइन । कतिपय चरम सास्तीमा जीविकाको मेलो हाँकिरहेकाहरूको अघि उसको धाईधपेडी नगन्यै होला ।  तर भोक्ताको रूपमा उसले बाँचिरहेको पल  नितान्त दुर्लभ हो । परदेशिनुको पीडा त उसले च्याटमा कोरल्दै गरेका अक्षरहरूमा रगताम्मे झल्किरहेको देख्‍दै थिएँ म । स्वदेशमै उसले जीवनलाई प्रयोगशालाको रूप दिएर हेरेकी नै हो । प्रोजेक्टमा काम गरी । मिडियामा टस बसाउन खोजी । राजधानीको निसास्सिँदो हाँडीमा ऊ पड्किएकी नै हो । नत्र ठेट्ना मकै झैँ उछिट्टिएर ऊ कहाँ विदेश पुग्थी र ? जिल्लाबाट आएर  राजधानीमा बाफिँदै संघर्ष गर्दा सबै जना फूल मकै झैँ भरिपूर्ण हुने ग्यारेन्टी कहाँ हुन्छ ? नत्र  साँझ-बिहान दाजु-दिदीको 'भान्से बज्यै' भएर अनि दिनभर अफिसमा फाइलको चाङसँग खेल्दै लोथ हुँदा पनि किन उसको जीवनले ढुक्कको किनार भेटेन ?

खर्च गरेर र अनेक योजना बनाएर देश छाडेपछि त्यहाँ हण्डर खाए पनि हत्तपत्त रित्तो हात फर्किन नसक्नुको पीडा कसले बुझ्ने ? उसले जस्तै सयौँ युवाले भोगेका छन् । नेपालबाट बाहिर कतै नजाउन्जेल विदेशमा त पैसाको रुख फलेको हुन्छ कि जस्तो मानसिकताले हाम्रो टोल-समाजमा डेरा जमाएको पाइन्थ्यो केही समयअघिसम्म । अलि खर्च धान्न सक्ने र पढ्ने समेत योजना बनाउनेले यूके, अमेरिका, अस्ट्रेलिया ताके पनि नेपाली युवाको ठूलो बाढी कतार, मलेसिया, साउदी अरबको भुङ्ग्रोमा सेकिएको छ । रोजगारी र जीविकाको नयाँ मेलो भेट्ने ध्याउन्नमा । जानेमध्ये कमैले मात्र राम्रै गरी हरियाली भेटेका छन्, कोही नराम्रोसँग पीडित छन् ।

"म त्यसै त आउँदिनँ  नेपाल । नेपाल आएर पनि के गर्नु ! त्यहीँ हुँदा ट्राइ त उहिले नै मारेकी हुँ  केही गर्न ।", च्याट बक्समा अर्को लाइन खरर्र सरेको देखियो । म नाजवाफ । साथीमा म साथीसम्म पनि हुन नसकेको हुँ कि ? संविधान निर्माण र शान्ति प्रक्रियाको बेटुङ्गोमा अनिर्णयको बन्दी बन्दै गरेको देशभित्र संघीयताको राजमार्गमा अनेक थरी मनपरी 'पार्किङ' जातीयता र समूहको नाममा । झन् झन् विकराल अवस्था, राजनीतिक कचिङ्गल र तमासा खेल । यस्तो स्थितिमा बाँकी रहेका केही 'बीउ' युवाहरू पनि कतातिर पलायन हुन जाऊँ भनेर वाक्कदिक्क भएको बेला म कसरी उसलाई यही अस्तव्यस्त भन्ज्याङमा फिर्ता बोलाउन सक्थेँ ? केही गरूँ भन्ने सोचको भाँडो खिया नपरी रहन गाह्रो होइन निकै गाह्रो छ । विदेशमा रहँदा पनि अपेक्षा गरेजस्तो प्रगति हुन नसक्दा उसको सपना भरिने आँखामा आँसुको तह जम्छ । त्यसमा पौडी खेल्छन् व्यथाका मन नपर्ने भ्यागुताहरू । कहिले स्वदेश सम्झिन्छे  र सम्झिन्छे गाउँको घरमा अगेनुछेउ सपरिवार बसेर दाउरासँगै गफको अगुल्टोसमेत जोर्दै र आगो ताप्दै भात पकाएको । कहिले सम्झिन्छे आत्मीय स्वजनका प्यारा अनुहार । र विदेशको अत्याधुनिक सहरको फ्ल्याटमा भक्कानोमा पग्लिन्छे । उसले निराशा र उपायनास्तीको हाल पोखिरही ।

२६ वर्षीया युवतीमा यति बेचैनी ! बुढेसकालमा मुजा पर्न बाँकी उनको निधार अहिले नै ढाकिएला कि भन्ने चिन्ताले मलाई गलायो । उसलाई सहारा दिन त के सक्थेँ, फकाउनसम्म पनि शब्दको अभाव भयो । काठमाडौँमा हालैको दिनमा बढ्दो तापक्रममा उसको गरम उच्छ्‌वास पनि मिसिएर झन् तातो महसुस गरेँ । त्यतिबेलै  अनलाइन गफलाई 'यस्ता जैरै कुरा' भन्ठानेर बरफ-कुल्फीतिर मोडिने चिसो मन पनि आफूसँग भएन । एकोहोरो र निष्फल लगावमा बाँधिइरहेँ । न समाधानकारी उपायले उनको कान फुक्न सकेँ , न उनीबारे 'All is Well' भनेर आफ्नो छातीमा थपथपाउँदै ढाडस दिन सकेँ । एउटा जलनमा म सलाइको काँटीमा रुपान्तरित नभएको भए जिन्दगीको तावामा जल्नु कुन चरीको नाम हो, थाहा हुने थिएन ।

धन्न उसले डक्टर, पाइलट हुने त्यस्तो ठूलो सपना बुनिन । नत्र सोच्दासोच्दै, गर्दागर्दै आफ्नै आँखाअघि सपनाको काटिएको प्वाँख देख्‍दा ऊ मूर्च्छा पर्ने थिई सायद । कम्तीमा अहिले दुखेको दिमाग भए पनि होसमै त छे ! यहाँ, यसबेला त होसमा साबुत रहनु/रहन पाउनु नै भाग्यको कुरा छ !
यो सायद उसले बुझेकी छ ।