गिरिजाप्रसादपछि के ?,  को ?  र  कसरी ?
प्रश्‍न जसरी पनि गर्न सकिन्छ ।
तर जवाफ दिन गिरिजाप्रसाद जस्तो निर्भीक र स्पष्‍ट अडान भएका मानक नेता नेपाली राजनीतिक मञ्चमा कोही छैन ।

शनिबारको फुर्सदिलो सप्‍ताहान्तमा नेपालीजनका साथै नेपालप्रति चासो राख्‍ने विश्‍व-जनमानसको मथिङ्गललाई बेफुर्सदी पार्दै मध्याह्‌न १२ बजेर १० मिनेट जाँदा काङ्ग्रेस सभापति तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व कोइरालाको ८६ वर्षको उमेरमा निधन भयो । भोलिको राजनीतिक निकासको आशाका केन्द्र उनै थिए । मियोविहीन राजनीतिक आँगनमा अब जे पनि हुन सक्छ । भद्रगोल हिसाबले दाइँ चल्न सक्छ । ब्रेक नभएको जिब्रोधारी चालकहरूको बाहुल्य रहेको राजनीतिक रङ्गमञ्चमा आलोचना र आह्रिसको तहमा गिरिजाप्रसाद जतिसुकै हठी र एकोहोरो भन्ने रूपमा चित्रित भए पनि उनको त्यही हठ नै दृढ सङ्कल्पको प्रतीक थियो । जसले उनलाई परिपक्व नेतृत्वका रूपमा स्थापित गर्न विश्‍वासिलो गरी सबैसामु उभ्यायो ।

जीवनको आखिरी घडीमा राजनीतिक प्रतिष्‍ठा र सामूहिक नेताको छवि दाउमा राख्‍दै जोरबलले छोरी सुजातालाई मूलधारको राजनीतिमा लतारेर ल्याएकोमा अपजस खेपे पनि व्यक्तिपिच्छे फरक-फरक दसथरी  कुरा फेर्दै हिँड्ने उनको स्वाभाव कहिल्यै भएन । प्रजातान्त्रिक आन्दोलनको यात्रामा अथकित जुटेको नेपाली काङ्ग्रेस र त्यसमा पनि विगत ६ दशकयता अटुट रूपमा अग्रसर गिरिजाप्रसादको निर्विकल्प नेतृत्व माओवादीलाई शान्ति प्रक्रियामा मनाएर ल्याएपछि झन् चुलिएर आयो ।  लगातार ११ वर्ष पार्टी सभापति र पाँच पटकसम्म देशको कार्यकारी प्रमुख बनेका कोइरालालाई यही नेतृत्वमोहका कारण शक्तिमा रहिराख्‍न जोड गर्ने लालची नेताको रूपमा समेत छड्के आँखाले हेरियो । तर उनको त्यो विशेषतालाई उनी सधैँ सक्रिय रहन मन पराउने भूमिकाप्रेमी राजनेताको रूपमा हेर्नुपर्ने हुन्छ । नभन्दै गिरिजाप्रसाद जीवनको अन्तिम समयसम्मै नेपाली राजनीतिको चर्चा र चासोका बीच भूमिका खेल्ने सक्रियताबीचमै  छाइरहे ।

श्रद्धाञ्जलि नेपाली राजनीतिका यी शिखर पुरुषलाई !