भक्तपुरतिर यसै घुम्न निस्किएका थियौं । साथमा थिए सहकर्मी, कविमन तथा भक्तपुरकै रैथाने रुपेश श्रेष्ठ । बिस्केट जात्राको रौनक नियाल्ने उद्देश्य रहे पनि मेरो लागि भने भक्तपुर दरबार स्क्वायरतिरको सफर नै जात्राभन्दा कम आकर्षक थिएन, पहिलो पटक पुग्दै थिएँ त्यता । तर त्यो दिन जात्रा रहेनछ । बरु मानिसको बलमिच्याइँ र अत्याचारका कारण रिसाउँदै गएको प्रकृतिको कुरुप अनुहारको साक्षी बन्यौं हामी । जात्राभन्दा कम प्रभावकारी थिएन त्यो कुरुपता । तर जात्राजत्तिको प्राचीन भने होइन ।
खडेरीले डामेको बन्दरगाह जस्ता ढुंगेधाराहरु, आफैं प्यासी बनेर ‘पानी… पानी’ भनेर तड्पिंदै मुख बाइरहे जस्ता इनारहरु अनि पानीको खोजीमा ओठ-तालु सुकाएर युद्धरत मानिसको झुन्ड । पानीको दुःखले आलसतालस बनेर इनार वरिपरि बल्छी थापिरहेका भक्तपुरेहरु धेरै ठाउँमा देखिए । त्यो दयनीय हाल देखेर हामी चुकचुकाउन सक्थ्यौं, चुकचुकायौं । काकाकुल सहरको तिर्खा मेटाउन नसके पनि तिर्खाले सुकेका रुखा मनहरुको तस्बिर पनि खिच्यौं । तस्बिरमा पीडाको खास गहिराइ र टापुको झलक खै के उत्रँदो हो र !