August 22, 2008

म एउटा श्रद्धाञ्जलि

ठेट्ना मनहरूले चपाएका
मिहीन सपनाहरूबाहेक
केही रहने छुइनँ म

माझी घामले बिछ्‌याएको जालमा
पर्छु एकाबिहानै,
फेरि बैशाखी भाँच्चिएको एउटा दिन
घोप्टिएपछि अँध्यारो नालीभित्र
गुटमुटिन्छु सम्साँझै

कसैको निम्तोमा
छिर्छु ढोकाबाट
र पुग्छु 'धोका'सम्म
कहालिन्छु छेपाराको पुच्छरमा
पलपल तुन्द्रुङ्ग
झु
न्डि



सन्दुकभरि
छाडेर जानेछ कसैले
आफ्नै जीवन-इतिहासको झुत्रे तन्नैतन्ना,
छाडेर जानेछ-
पलङमा सँगै लडीबुडी खेल्ने
पिउसो 'टोमी डग'

पूर्ववत्
सबैसबै यी रहनेछन्,
मै पो केही रहिनँ
सिबाय- एउटा श्रद्धाञ्जलि
तिमीले सायद भोलिकै अखबारमा
ढकमक्क फूलका ल्याप्चे दायाँ-बायाँ डामेर
अर्पण गर्न पर्खिरहेको...

एक-एक थान श्रद्धाञ्जलि,

बाँकी त
केही रहने छुइनँ म ।

बैशाख २५ बुधबार, २०६५
नक्साल ।

August 14, 2008

वार्षिकोत्सव यो पहिलो

प्रिय पल,
पत्र नलेखेको पनि जुग बितिसकेछ । कसरी पो बितेछन् ती क्षणहरू...। बिना वार्तालाप, बिना साउती । अब त कसरी लेख्‍ने पत्र भन्ने जस्तो पो भइसकेछ, औँला नै सरिरहेका छैनन् । र पनि तिम्रो लागि सबै अनकनाइहरूलाई सम्भव बनाएर यो पत्रलाई पूर्णता दिन बुर्कुसी मारिरहेछु । र, आज त विशेष शुभ साइतले मात्र यो पत्र लेख्‍न हुटहुटी जगाएको छ मलाई । तिथिमिति याद राख्‍ने बानी भए तिमीले पनि बुझेकी छ्‌यौ, यो पत्र किन लेखिनुपर्‍यो । तिम्रो लागि मैले गर्ने हरेक प्रयास कसरी पो अर्थहीन हुन सक्छ र !

धेरै पहिले तिमी र मैले एक-अर्कालाई औँल्याउँदै भन्ने 'तिमी' र 'म' बाट 'हामी' भएको अब त एक वर्ष पनि भएछ । अर्थात् एक वर्ष बूढो हाम्रो सम्बन्धको चोला । यसै बहानामा खुसियाली मनाऊँ कि सम्झेर ती युगल दिनहरूको फ्लासब्याक शब्दचित्र उन्दै तिमीसँग आत्मीय साउती मार्न यति सम्बोधन बिछ्‌याएको छु । तिमीलाई त 'के यस्तो नौटङ्की हौ !' भन्ने लाग्दो हो । जे लागोस्, मेरो मनको सबैसबै मिठास तिमीबाट छोपेर तिमीलाई नै सौगात ।
दिनहरूको हिसाबकिताब उतार्दा औँठी बेर्नुपर्ने तिम्रा औँलीहरू फतक्क गलिदेलान् । आखिर एक वर्षका ती दिनको हिसाबमा नाफा-नोक्सान जे-जस्तो छ, हाम्रै हातलागी त हो । भदौ ६ ले अझै पनि आँखाभरि अङ्कमाल गरिरहेछ । त्यो कालमोचन..., कालमोचनभित्रकै एकदिनको आकस्मिक सङ्कट र आफसेआफ मोचन..., खुला सडकमा हजारौँ ट्वाल्-ट्वाल् आँखाहरूको हामीमाथि आगलागी..., आपसमा अनगिन्ती झगडाको तातो घुर र त्यसको ध्वाँसोले पिरिएको हामी दुईको अँध्यारो मुहार..., आरोपहरूलाई चोर औँलाको टुप्पोमा राखी एक-आपसमा निकै नजिकिएर ताकेको घम्साघम्सी तीर..., तर फेरि त्यत्तिकै निकै नजिकिएर आत्मीयता बाँड्दै खितखिताउन भने नसकेको हाम्रो युगल भावदशा..., अनि कहिले भने छिट्टै घुर्कीको डिग्रीलाई मोबाइल फोनको रिङटोनसँगै 'साइलेन्ट' गरेजस्तो फन्किएको त्यो मनमा हँसमुख भाव फिर्ता ल्याउन व्यग्र भई फकाउनुपर्दाको हैरानी...,
कति-कति ती कुराहरू.....।

मेरी पल,
संसारमा आफूभन्दा दोस्रो व्यक्तिलाई बुझ्नु अग्घोरै गाह्रो कुरा हो । र सम्मान गर्नु चाहिँ दाँतबाट पसिना आउने दशा । दाँतबाट पसिना आउनु धनधान्यको लोभलाई भन्छन् क्यार ! मानौँ आजका मान्छे स्वाभिमानको नाममा अभिमानको फुली काँधमा थुपार्ने खुजुरा पैसा हुन्, जो अर्को व्यक्तिको सम्मान गर्दा कसोकसो खर्च भएर सिद्दिउँला कि भनेझैँ सतर्क हुन्छन् । यस्तो सतर्कताको के नै अर्थ ! म पनि त्यस्तै 'सतर्क' मा गोडा फड्कारेर सोझिने पल्टनवाज भइरहेँ कि, खोइ के भएँ म ? स्वाभाविक रूपमा म तिमीलाई परीक्षा दिँदै छु, जाँच्नु है मलाई जाँच्नु । प्राप्‍ताङ्क कति आउला, म त तिम्रै दुई आँखाको हस्ताक्षर-सिग्नल कुरिरहेछु ।

सङ्गत गुनाको फल भन्छन्, तिमीसँगको हिमचिमबाट म मैँ भएर रहिरहन गाह्रो भयो । म अलिअलि मैँ रहेँ होला, धेरै अंशमा त म तिमी भइसकेँ । आखिर म त म रहिनँ प्यारी पल ! तर अचम्म, यो म म नहुनुमा मलाई कुनै अप्ठेरो र आपत्ति छैन । तिमीले बरू मलाई सम्बन्धको सुरूवातताका भनेकी थियौ- "तिमीले मलाई सुरूमा नै (नारायणको पल्पसा क्याफेकी) पल्पसा बनायौ, (पारिजातको शिरीषको फूलकी) बरी म हुन सकिनँ, तर (पावलो कोयल्होको 'द अल्केमिस्टकी) फातिमा बगाउन सकेनौ ।"

यसरी तिमीले औपन्यासिक पात्रको प्रसङ्ग र व्याख्याबाट त्यसबेला मलाई कायल पारेकी थियौ । मैले केही बनाइनँ तिमीलाई प्यारी, तिमीले नै मलाई सबथोक बनायौ । यत्ति हो, पल्पसा नामले तिमीलाई पुकार्न मैले म पराएथेँ । पल्पसा क्याफेकी पात्र पल्पसा वियोगान्त कथानकमा जिन्दगीबाटै भेट्नो चुँडिएर बिलाएकीले तिमीलाई मेरो सम्बोधन 'पल्पसा' पटक्कै मनपरेको थिएन । आह् ! मृत्यु बेहोरेकी पल्पसालाई तिम्रो सन्दर्भमा त्यही असर कसरी पो चिताउन सक्थेँ र म ? मैले सोचेको र दिएको त त्यही नाम थियो, जसलाई पछि तिम्रै अपेक्षाले 'पल' बनायो । मेरी प्यारी पल !

एक पल । एक सेकेण्ड । एक मिनेट । एक घन्टा । एक दिवा । एक रात्रि । एक दिन । एक महिना । एक झरी । एक हिउँद । एक वर्ष । विगतमा यस्तै-यस्तै जोडिएर हाम्रो यात्रा बन्दै आयो यस कुनासम्म । अब अर्को-अर्को कुनासम्म कसरी लग्ने, हाम्रै संयुक्त जिम्मा त हो । सबै कुरा एउटैलाई जिम्मा दिए त पहाडकी रौतेनी दिदी पहिरोको घानमा परेजस्तै हाम्रो यात्रा फुस्सै जान के बेर ! कति आँत पोल्दो हो, केके कुरा निस्किएर घम्साघम्सी पर्छ । दुई भएपछि यस्तै त हो नि, फुइ (आगो) सल्किन्छ बेलाबेला । कहिले रमाइलो मस्कामस्की, कहिले पिरोलिने घम्साघम्सी । सँगैका भाँडाकुँडा त बेलाबेला टकराइहाल्छन् नि । हामी पनि तिनै भाँडाकुँडा हौँ, जो बेलाबेला असमझदारीको रोगनबाट फूर्ति झिकेर टकराउँछौँ । तर टकराएर एकछिन झनन्न टङ्कार छोडेर भाँडाकुँडा पुर्ववत् स्थिर भइहाल्छन् । हामी पनि त्यस्ता सानो भुइँचालो पचाउन सकौँ है ! समयक्रममा कुनै कुराले त्यति टकराउँदैमा यात्राको गाडी छुटाउने मोड नमोडिनू है ! सानो कुराको झिल्कोलाई मुस्लिँदो ज्वाला बनाउन मनैमन हूरीबतास नफुक्नू है ! है प्यारी ?

अब ओर्लिन्छु यो पत्रबाट । वार्षिकोत्सवको हल्लाखल्ला भीड यसपाली यिनै शब्दहरू भए । पाहुना पनि शब्दहरू, अनि सत्कार टक्र्याउने पनि शब्दहरू नै । यो उत्सव यस्तै भयो । अनि तिमीलाई उपहार !?
- त्यो त सबैसबै मैँ हुँ तिम्रो लागि । लौ, ग्रहण गर ।
राख है जतनले ।
प्यारी पल, बिदा !
अगस्ट १३, २००८ (नक्साल)

August 11, 2008

सपनाको घर (कविता)

- अनिता

मलाई थाहा छ,
होइनौ तिमी मेरो,
अनि म तिम्रो

तरपनि तिम्रो यादले सताइहेछ
देख्‍न नपाएको तिम्रो त्यो हाँसो
सुन्न नपाएको तिम्रो बोलीले
झन् भुतुक्कै बनाउँछ ।

कस्तो होलाउ तिमी ?
के गर्दै होलाउ अहिले .....?
मेरो बारेमा त सोचिरहेका छैनौ .......?

ढक्ढक्याउन आइपुग्छौ तिमी
कल्पनाको ढोका
अनि ढोका थुनेर तिम्रो साम्राज्य सुरु हुन्छ,

हाम्रोलागि बनाएको घर
एक्कासि चम्किलो हुन्छ
तिमीलाई यो मन पर्ला ?
अहँ...... यो चाहिँ मन पर्ला
तिम्रो इच्छा-अनिच्छा मनभरि नाचिरहन्छन्
तिम्रो इच्छामै हराउँछु म
सपनाको घरमा तिमी खुसी-खुसी देखिन्छौ ।


तर हाम्रोलागि बनाएको सपनाको घर
एक्कासि गर्ल्याम्म ढल्छ
कहिल्यै नजोडिने गरी,
तरपनि तिम्रो माया मनबाट जाँदैन

इ: हेर,
अझै मसँगै छौ तिमी
अहिले पनि ।

साउन, २०६५
सानेपा, ललितपुर ।

अन्तत: ती मलाई लिन आए (कविता)

सन् १८९८ फ्रेबुअरी १० मा जर्मनीको अग्सवर्गमा जन्मिएका ब्रतोल्त ब्रेख्त समयक्रममा महान् कविका रूपमा स्थापित भए । युद्धविरोधी विचारधाराका उनी क्रान्तिकारी रङ्गकर्मीसमेत थिए । रङ्गक्षेत्रमा 'एपिक थिएटर' उनैको खोजीको आविष्कारिक परिणाम थियो । दमनकारी राज्यसत्ताको विरोध र युद्धविरोधी जनमतका लागि डटेर लागेकै कारण सन् १९३३ मा नाजी जर्मनीबाट उनको नागरिकता मात्र खोसिएन, उनी देशबाट निष्कासित पनि भए । तर नाजी शासनको पतनको केही वर्षपछि सन् १९४९ मा जर्मन सरकारबाट उनलाई सम्मानपूर्वक स्वदेशफिर्तीको निमन्त्रणा आयो र उनी बर्लिन फर्किए ।
खास नाम 'युगेन बर्तहोल्ड फ्रेडरिक ब्रेख्त' भएका उनको मानवतावादी शान्तिकामी सिर्जनयात्रामा जुट्दाजुट्दै जर्मनीको आफ्नै निवासमा सन् १९५६ मा मृत्यु भयो । अग्निकुण्डमा पुस्तक, एक मजदुरको प्रश्‍न, अँध्यारो समयमा, जर्सापको शक्तिशाली ट्याङ्क, न्याय जनताको रोटी हो लगायतका उनका प्राय: कविता सटीक एवम् छरितो शैलीशिल्प, तिक्खर भावसम्प्रेषणका कारण पाठकहरूले अत्यधिक रूचाएका छन् । यसपटक अग्रज-अध्याय खोतल्ने क्रममा उनै ब्रेख्तको प्रभावशाली एउटा कवितालाई CaFe को मेनूमा पस्किएका छौँ ।

August 8, 2008

FRIENDS FOREVER !

अगस्ट ३ को आइतबारे मधुरो साँझमा काठमाडौँको आकाशमुनि माइतीघर चौकमा 'मैत्री फोटो सेसन' चल्दै थियो । माइतीघर मण्डलाको सामुन्नेमा चियापसलभित्र र सडककिनाराको रेलिङलाई आड बनाएर क्यामेराको पिलिक्-पिलिक्‌मा हाम्रो मुहार सामुहिक उज्यालोमा प्रस्टिँदै थियो (हेर्नुस् चिया स्टेशन र सडकको रेलिङलाई हाँक दिँदै खिचिएका केही तस्बिर-झाँकीहरू) । त्यसअघि थापाथलीको मार्टिन चौतारीमा मस्कामस्की रौनक सुरु भइसकेको थियो । यो मस्कामस्की थियो आत्मीय साथीभाइबहिनीहरूको । 'फ्रेन्डसिप डे' भनेर हिसाब नराखिए पनि दिनको उज्यालोले साथीहरूको मुहारमा अतिरिक्त ताजा रङ देख्‍न पाइएको थियो । ग्रेडको तलमाथि भए पनि एउटै कलेजमा पढ्ने तीर्थ, प्रभाकर, अभिनय, अनितासँगको यो भेट पहिलेभन्दा अलि फुर्सदिलो पनि थियो ।
त्यसअघि चौतारीले चलाउँदै आएको पुस्तक छलफल कार्यक्रममा पछिल्लो साहित्यिक माहौलमा चर्चाको चुस्की चाखिरहेको जगदीश घिमिरेको कृति 'अन्तर्मनको यात्रा' माथिको अन्तर्क्रियाभित्र हामी जुटेका थियौँ । अनि त पालो हाम्रै हल्लाखल्लाको । चौतारीमा आएर पनि हल्लाखल्ला नहुनु, यो त असम्भवै थियो । घिमिरेज्यूले अन्तर्मन कृतिलाई साँच्चिकै बाफ छुट्दै गरेको ताजा प्लेट तुल्याएर सबै इन्द्रिय खुलाउने प्रस्ट परिकार बनाएका छन् ।

कार्यक्रम अवधिभर पलेँटीसँगै बाँधिएको हाम्रो मन छलफलको किताबका कृतिकार घिमिरेज्यूको स्वास्थ्यप्रति ढल्किएर मल्टिपल माइलोमा क्यान्सरको निर्दयी दाउपेचमा मात्र चुकचुकाएन । बरु अनुभूतिको माझिएको झरनाले परिपुस्ट 'अन्तर्मनको यात्रा'को सबलतामा झन् खुलेरै त्यो मन पाठकीय शीतलता ओइर्‍याउन एकसुर भइरहृयो ।

छलफल सकिएपछि चौतारीको आँगनमा विचरण गर्नु त त्यहाँ गएपिच्छेको 'नित्य कर्म' नै हो । त्यसै मेसोमा उस्तै हिस्सी पोख्दै मित्र कैलाशजी सामुन्ने हाजिर हुनुभयो । छलफल कार्यक्रमभरि विभिन्न अनुहारको भाव, अवस्था र सज्जालाई क्यामरामा लिपपोत गर्नमा खिचिक् खिचिक् औँला चलिरहेका कैलाशजीका अब ओठहरू चल्न थाले ।
खम्बासमान उभिएर गफिँदागफिँदै हाम्रा शब्दहरू भने गतिमा देखिए । ब्लगर साथीहरूको चिनापर्ची सन्दर्भ, आपसी लेखनशैलीको सीमा र सम्भावना, 'कविता किन लेखिएन हौ ?' (कैलाशजीलाई मेरो घेराबन्दी प्रश्‍न आदि विविध कुरामा दर्जनभन्दा बढी संवादहरू वारपार गरेर हामीले तृप्ति खोज्यौँ । मिठासे हृदयले मित्रतालाई पोषण दिने सवालमा कुनै साइतको के कुरा, तर मित्रता दिवसकै दिनमा कैलाशजीसँग सम्बोधन बाँडिँदा हर्षको झिल्को आँखाभरि पोतियो । चौतारीमै भएका अरु साथीहरूसँग पोतिनु बाँकी छँदै थियो ।

अब पालो सडकतिर बरालिने । तीर्थ, प्रभाकर, अभिनयसहित अफिस-समयभन्दा एक कदम अगाडि (उनकै शब्दमा 'भागेर') चौतारीको दैलोमा झुल्किएकी अनितासँग सडक-सफारीमा निस्किएँ । साथी रमेश सफर कुन सफरमा हराउन बाध्य थियो, उसको अभाव टड्कारो बिझ्दै थियो । माइतीघर चौकको छातीबाट तीनतिर भागेको सडक चिर्दै हाम्रो टोली थापाथलीबाट पारितिर फाल हान्यो । चिया पसलको खोजीमा दोस्रो गन्तव्यमा बल्ल टुङ्गो बनेपछि हामी गोलबद्ध भयौँ एउटा टेबलभरि । हाँसका टिउराझैँ हाम्रो हल्लाखल्ला छरिन थाल्यो-

भए कुरा पढाइ र परीक्षाका,
भए कुरा सङ्गीतका,
भए कुरा निद्रा र अनिद्राका,
भए कुरा आपसी प्रगति-दुर्गतिका,
भए कुरा... हुनुपर्ने सबै भए ।

झम्के साँझमा हामी गफको पुल जोडेर चन्द्रमाको शीतलता भेट्न लहसिइरहृयौँ । सम्झनामा केही तस्बिर खिचियो । अनिताको मोबाइल-क्यामेराले यो दिनको आत्मीयतामा चुम्बकको काम गर्‍यो । तर यस्तो चुम्बकीय धुनमा हामी एउटै समान ध्रुवमा मग्न भइरह्‍यौँ । चिया गफको तातोभित्र आत्मीयताको फिँज उठिरहृयो ।
त्यसै मेसोमा सम्झिएँ केही नामहरूः
मनु, कैलाश, रमेश, समृद्धि, जडित, वसन्त, विभोर, सुदीप, सुरेश, गनी, अर्जुन, प्रभात, अनुज, भीम, आभास, विरस..... सबै प्यारा मनहरूको गोलोले दिमागभरि क्षणभरमै चपक्क घर बनायो ।
भोलिपल्ट इमेल बाकस खानतलास गर्ने क्रममा 'सौभाग्यवश' जम्मा भएका इमेलका केही पाप्राहरू ओल्टाएँ, पल्टाएँ ।
एउटा लहरमा कैलाशजी भनिरहनुभएको थियो- 'हृयाप्पी फ्रेन्डसीप वीक !'

एक सप्‍ताहको के कुरा ! अवश्य पनि कैलाशजी, मित्रता दिवसको मङ्गल भावले सधैँ हामीलाई न्यानो आरती सेकाइरहोस् । एकदिनको यो औपचारिक बहानामा सबैलाई जीवनभरिको कामना छ है ।
तर पनि एक सप्‍ताहको त के कुरा ! हामी जुनीभरि एउटै भाँडोमा भुटिने फूल-मकै भइरहन सकौँ ।
***
अगस्ट ८, २००८ (नक्साल)

छुट्टिने बेला सम्झना... (गीत)

- राजु थापा

छुट्टिने बेला सम्झना
लैजाऊ रुमाल बोकेर
फर्किँदा सँगै ली आउनू
नआउनू उतै छोडेर ।

किनेको होइन यो मेरो, आफ्नै हातले सिएको
मायाको बुट्टा भरेर तिमीलाई मात्र दिएको
लाग्ला नि आँखा कसैको
सम्हाली राख्‍नू छोपेर
फर्किँदा सँगै ली आउनू
नआउनू उतै छोडेर ।

सम्झेर आँसु चुहिँदा परेली पुछ्‌न काम लाग्ला
शिरमा राख्‍नू परदेशको खाडीमा चर्को घाम लाग्ला
पुरानो भयो भनेर
नहिँड्नू अर्कै खोजेर
फर्किँदा सँगै ली आउनू
नआउनू उतै छोडेर ।

- धादिङ, हाल: भारत

August 6, 2008

लुभूमा लभगुरुहरूसँग



"घर नछाडी धेरै टाढा जाने एउटा बाटो कला हो ।"
टाउला थार्पको यही भनाइजस्तै सधैँ त म त्यही कलामा पौडिरहेको हुन्थेँ । अर्थात् दौडधूप नगरी र कहीँ नपुगी धेरै दूरी अनि निकै गहिराइ नाप्नु छ भने चार भित्ताको कोठामा एक्लो आफू नै काफी हुन्थ्यो । यो अन्तर्मुखी स्वभावको विशेषता र लाभ हो । भीड, हल्ला र बजारु लुकाछिपीको मारबाट गुज्रिनुपरेपछि आफैँसँगको र आफैँभित्रको यात्रा प्रीतिकर लाग्छ ।

तर यस्तो अन्तर्मनको यात्रा पनि जङ्गलमा जीवजन्तुलाई प्रकृतिको हरियो एकरुपताले दिक्याएजस्तो कुनैबेला त दिक्दार लाग्दो रहेछ । अनि त बेलायतिर बरालिँदा भनेझैँ विकल्पको खोजीमा कतै बरालिन मन हुन्छ ।

यस्तै बरालिने काममा काठमाडौँको ५/७ वर्षे बसाइमा पहिलोचोटि निस्किएको म ललितपुर जिल्लाको लुभूतिर लस्किएको थिएँ । सहयात्रीहरू थिए - जोडी पखेटाहरूलाई समाजको पारिवारिक गुँडमा बिसाउन आतुर र तम्तयाररत दुई थान मनहरू । अर्थात् मेरो कलेज-मित्र मनु र उसले यदाकदा बोलाउने प्यारो नाम, उसकी 'कल्पे' ।

ती दुईको युगल यात्रामा आफू 'कबावमा हड्डी' भइने डर भए पनि आत्मीयताले पगालेरै मलाई तिनले आफूसम्म तानेका थिए । अनि त त्यही कबावमा हड्डी बन्ने आफ्नो लिखुरे ज्यानलाई बिजोर सङ्ख्यामा भए पनि सँगै मैले होमिदिनु पर्‍यो । खास त म ती दुईको यात्रामा तिनको घर-परिवारको शङ्कास्पद आँखालाई सहज तुल्याइदिने 'लाइसेन्स'को रुपमा प्रयोग भएको थिएँ । र त मलाई तिनको आफ्नै खर्चबर्चमा लैजान पनि दुवै तयार ! कस्ता बदमास चखेवाहरू ! यिनै बदमास लभगुरुहरू मेरो सहयात्री बन्दै थिए ।
यात्राका हामी यात्रीजस्तै बिजोर र जोर स्याउ !



जुलाईको आखिरी दिन ललितपुरको ग्रामीण भित्री पाटोले हामीलाई निल्दै थियो ।

तीनतिरका तीनजना बागबजारमा जसोतसो भेला भई रत्‍नपार्कबाट माइक्रोमा छलाङ मारेर लगनखेल बसपार्क पुग्दा दिउँसोको १ बजिसकेको थियो । त्यहीँ १ किलो स्याउ र १ दर्जन केरा किनेपछि लौ आज दिनभरिको पेटको मुसा खत्तम भन्ने सोचेर हाइसन्चो लाग्यो । मध्य दिनको तातोमा बसपार्कमाझको छहारीमा ज्यान बिसाएर पिरो चटपटे खाइरहेका युवतीहरूले हाम्रो खानतलासी लिएका भए भेट्ने थिए- गर्मी, गर्मी केवल गर्मी । तर यात्राको गन्तव्यमा शीतलता भेटेर त्यो गर्मीलाई उतै कसो थान्को नलगाइएला, हामी ढुक्क थियौँ र पनि लुभू पुग्ने हतारोले अझै हामी बाफिएर तातिँदै थियौँ ।

धन्न बस आइपुग्यो, अलि नखाइलाग्दो बनौटको । बस आएको खुसीभन्दा पनि बेलैमा सिटमाथि धावा बोलेर आफ्नो लागि सुरक्षित घेरा बनाउनु ठूलो भाग्यको कुरा हुने रहेछ । हामीले पनि पेलिँदै र जोगिँदै बसमा आफ्नो 'भाग्य' आजमाउने 'चानस' पायौँ । मनु र कल्पे 'लास्ट सिटमा मायाका एक जोडी' भनेझैँ खिपिएर बस्ने शुभलाभमा थिए । रहोस्, मलाई के ! म भने ब्यागबाट किताब टकटक्याएर त्यसैमा आफ्नो एक जोडा आँखालाई सीमाबन्द पार्न थालेँ । लुभू पुग्न लगनखेलबाट १ घन्टा लाग्छ भन्ने आवाज पनि त्यहाँ सुनिँदै थियो । बस खरायोको चाल न कछुवाको चाल भनेझैँ सुस्तसुस्त चिप्लिन थाल्दा अलमलिने साथी आफैँ भइयो । सिटमा सँगै रहेकी आमै पनि आफैँमा मस्त । उता पछाडि सिटमा कस्तो 'व्यस्तता' थियो, ख्याल गर्न कसलाई फुर्सद !

ग्वार्कोबाट चक्रपथलाई चिरेर ढिम्किएको बस इमाडोल, सिद्धिपुर हुँदै बल्ल लुभूमा ओथारो बस्यो । सिद्धिपुर सुकुलको लागि प्रख्यात रहेछ, घरैपिच्छे सुकुलको बिस्कुन । अनि घरमाथिपटि्ट झ्यालनेर कतै लसुन र कतै खुर्सानीलाई उनेर सुकाएको मालाको रमिता पनि देखियो । अब पालो पदयात्राको । यात्रामा कोही गाइड थिएन । फन्को मार्दामार्दै जहाँ पुगिन्छ बाटो बनिँदै जान्छ भन्ने अलपत्रे ताल थियो । तैपनि मनु कान्छालाई लुभूको संसार अलि केही थाहा रहेछ । उसैले आफू केही समय बस्दाबेलाको लुभू उहिले त्यस्तो अहिले यस्तो बखान्दै गयो । कान्छी उसकै भरोसामा हो मा हो मिलाएर साथ लागेकी । मेरो के कुरा, कुरा सुन्दै मट्यौली सडकमा जुत्ता बजाउँदै लस्किँदै थिएँ ।

लहलह धानको हरियाली हेर्दै बढ्ने क्रममा बाटो उक्लियो, हामी पनि बाटोसँगै उक्लियौँ । अनि सुरु भयो फोटो खिच्ने महाजात्रा । बाँडीबाँडी स्याउ टोकेकोदेखि लभगुरुहरूले अँगालोमा माया जोखेको सबै 'लीला' तस्बिरमय हुँदै थिए । धन्य हो मेरो तस्बिर खिचुवा पद ! लभगुरुहरूको जोडी आकृतिका बीचबीचमा म भने क्यामेरासामु ठिङ्ग एक्लै बुख्याँचाको हालतमा उभिएर क्लिक् क्लिक् ।


लुभू प्रकृतिको लिपपोत राम्रै पाएको ठाउँ रहेछ । धारामा पानी मजदुरको मैलो ज्यानमा खलखली पसिनाजस्तै कहिल्यै नटुट्ने रहेछ । उता 'काठमाडौँ र मेलम्ची' उखान सम्झेर खितखित हाँसो पनि उठ्यो । रसिलो-मलिलो माटो, हराभरा थुम्काहरू, बोलाइला मान्छेहरू, र बोल्लान् होइन बल्लान्‌जस्ता धपक्क घरहरू । तर अब त ठाउँठाउँमा यहाँ पनि सहरी हावा लागेर घरहरूमा मजैसँग कङ्क्रिटको चलखेल हुन थालेछ । मट्यौली सडकको दायाँ-बायाँ हरिया मकै र थाङ्ग्रोमा पिङ खेलिरहेका पोटिला काँक्राहरूमा लोभिँदै कुटुकुटु स्याउ टोक्दै हाम्रो यात्राले रमाइलो लुट्दै थियो । जे होस्, पदयात्राको लागि छानेको ठाउँ व्यर्थैको लागेन ।




ज्यागटा, शङ्खदेवी, विष्णुडोल आदि ठाउँ टेक्दै आँखाले स्वर्ग छोप्ने दाउमा हामी हावासँगै बगिरहेछौँ ।

'उः म यहाँ बस्दाको नुहाउने ठाउँ !',



फुकेर बिस्कुन खाइरहेको बस्तुभाउलाई झट्टी हानेझैँ हातले देखाउँदै मनु बोल्यो । हेरेको, गहिरो खोंचमा कञ्चन धारा रहेछ । केहीछिनअगाडि पनि एउटा सानो खोलालाई औंल्याउँदै उसको त्यही बोली सुनिएको थियो । जता पनि उसैको नुहाउने ठाउँ ! गजब लाग्यो ।

समय डाँडामाथिको कुप्रो घाम बनेर अडेसा लाग्दै गर्दा हामीले फर्किने बाटो मोड्दै थियौँ । अचम्म, तर थकाइले हामीलाई त्यतिविधि छोएको थिएन । एकफेरा तेजले झरी दर्कियो । दुइटा छाता उघ्रिए, एउटामा उनै दुई लभगुरुहरू घुस्रिए, म भने आफ्नो छाता थाम्दै ओरालोमा घिस्रिएँ । बाटाछेउछाउका खेतहरूमा घुम ओढ्दै धान गोडिरहेका आमैहरूको झुन्ड देख्दा आफ्नै गाउँघरको झलक आँखाभरि नाच्यो । सिद्धिपुरमा झरेर नुनिलो-पिरो तातो खाजा खान पाएर बल्ल सास आयो, नत्र त स्याउ र केराको गुलियोले सबै स्वाद मेटिइसकेको थियो । भोकले खरिएको झोंकमा हतारिँदै मासको दालको तात्तातो बारा खाँदा तालु सेकियो ।

फर्किँदा आउँदाको जस्तो खटारो बस झेल्नु परेन । माइक्रोको गतिवान् पखेटामा बहकिन पाइयो । अघिल्तिरको सिटमा चालकदाइकै लहरमा कोचिएर गुड्दागुड्दै मलाई एउटा गीत सुन्न मन भइरहेको थियो-


'म त दूरदेखि आएँ तिम्रो प्यार बोकेर....'


- (दीप श्रेष्ठ)

लभगुरुहरूले सायद यो यात्राको सहचालमा एकअर्कालाई भरपूर पाइसकेका थिए । लाग्यो, उनीहरूलाई पर्खिने कोही छैन र कसैले पर्खिनुपर्ने पनि छैन ।
मलाई भने काठमाडौँ पर्खिरहेको थियो । सायद खूबै निस्ताएर ।
***
अगस्ट ५, २००८ (नक्साल)

August 1, 2008

पेट्रोल खोज्ने पुराणमा सुक्खा पण्डितजी !


- मनबहादुर बस्नेत

"ट्याङ्कीमा कति तेल छ ?"
जतिसुकै नजिकको नातेदार वा साथीले सोधे पनि 'रिजर्भ'मा भन्ने रेडिमेड जवाफ दिएर थामथुम पार्न थालेको पनि करिब दुई वर्ष टेकिसकेको छ । अझै कति समय यही शब्द फलाक्नुपर्ने हो, भगवान् भरोसा ! शानले चढूँला भनेर बडो दुःखले किनेको मोटरसाइकल अहिलेसम्म धक नमानी खुला मनले कहिल्यै कुदाउन पाइएन । जहाँ गए पनि मेरो चित्त तेलको सुईमा फनफनी घुमिरहन्छ । अलिकति टाढा जानुपर्‍यो भने जाऊँ कि नजाऊँको तराजुमा मन धेरै पटक जोखिन्छ ।
यति पढिसकेपछि तपाइँले कत्ति लोभी रहेछ यो जन्तु भन्ने लख काट्नुभयो होला ?
कुरो लोभ र पापको होइन, पेट्रोल-पीडाको हो । कस्तै पेट्रोलको हाहाकारमा पनि जसोतसो गरेर जोरजाम गर्न सकेकाले मेरो भटभटे थन्किएको दिन थिएन । तर, केही दिनअघि भने चार दिन घरमै थन्किएर ऐतिहासिकता रच्यो । दमबिनाको यो ऐतिहासिकतामा मेरो मन खिन्न भयो । किनभने यो बबुराको ऐतिहासिकता इतिहासमा लेखिने होइन क्यारे ! मोटरसाइकलमा सयर गर्न पल्केको यो सुइरे ज्यानले अब भने चाख्‍ने भो भन्ने लाग्यो । 'हामीले सधैँ हिँड्दा हुन्छ, तँलाई चाहिँ एक-दुई दिन पनि धौ भयो ?, नक्सालनिवासी मित्रले ठीकै भनेका हुन् । 'तर, बानी न हो हजुर !', म मित्रको कुरालाई बेवास्ता गर्दै ठालु बन्न खोज्थेँ ।
'भएको पेट्रोल पनि पेट्रोल पम्प चाहर्दाचाहर्दै स्वाहा हुने भयो', एक दिन अनामनगरस्थित शिक्षा पत्रकार समूहको गफाडी हलमा (त्यहाँ राजनीतिक सरगर्मी बेस्सरी हुन्छ) दाइ माधव ढुंगेलले यसो भन्दा मैले प्रहरी हेडक्वार्टर नक्सालको पेट्रोल पम्पतिर दिनदिनै पहरा दिएको आफ्नो बिजोग सम्झिएँ । त्यस क्रममा मैतिदेवी-नक्साल गरेर धेरै तेल खर्चेको थिएँ । पेट्रोल तान्न पेट्रोल नै खर्च गर्नुपर्ने भताभुङ्ग पारामा दिन काट्नुपरेको थियो । यसरी नै तेल छापा मार्ने प्रयास गर्दागर्दै तेल रित्तिएर मेरो भटभटे थलिएको थियो ।
'पेट्रोल पम्प पुग्नुपर्ने सडकमार्ग 'वन वे' भएकोले झनै लामो दूरी पार गर्नुपर्ने झन्झट थियो । यो नियम-सियम पनि तेल नभएको बेला त छुट हुनु नि ! आखिर ५० प्रतिशत गाडी पनि गुडेका छैनन् भन्ने कसलाई थाहा छैन र ! सडकमाझ ठिङ्ग उभिएका सेता टोपीधारी प्रहरीलाई त झन् सबै कण्ठस्थ हुनुपर्ने । आधा मात्रै सवारी सडकमा ओर्लिएको बेला पनि के यो टन्टा गरिराखेको होला । मन यसैगरी दिक्क भयो ।
धेरै पटक त ट्राफिकको आँखा छलेर 'वन वे' मै पनि क्रस गरेको छु । के गर्नु, तेल जो अमृत जस्तै भइसकेको थियो । पक्राउ खाइहालियो भने 'तेल बचाउनै पर्‍यो सर' भनेमा कसो नमान्ला भन्ने गन्थन-मन्थनको डोरी मनभरि बाट्दै म एक्सिलेटरको कान निमोठ्थेँ । लोकले देखेकै छ बबुरा जनजनको यो बिचल्ली ! यसरी नै म ज्ञानेश्वरको उकालो हुइँकिन्थे । धन्न यो कुनै जवाफको लन्ठा बेहोर्नुपरेन !
एकजना प्रहरीमित्रले मेरो भटभटे हेडक्वार्टरको भित्रपट्टि रहेको पेट्रोल पम्पमा लाइनमा राखिदिए । स्टाफको त्यो लाइनमा म अबैध रुपमा बसेँ । लाइनको बसाइ अबैध भए पनि तेल त बैध नै मिल्नेवाला थियो । मेरै हाराहारीमा मभन्दा निकै उमेर खाएका एकजना दाजु पनि लाममा थिए । केहीछिनमै उनी मेरो हाराहारीबाट निकै पछाडि छुटे । कारण थियो, उनको भटभटे एकै थोपा तेल रहेनछ । अलिअलि तेल हुने त्यसमा पनि सेल्फ स्टाट बाइकवालाहरूले 'दादा' बनेर आफ्नो वाहन निकै अगाडि हुत्याइहाल्थे । ती दाजु त्यस्तो तरिकाबाट असन्तुष्ट र क्रुद्ध बनेका थिए । 'यस्तो घाँडो बाइक दिएर पठाउने ? अफिससम्म पुग्ने मात्रै तेल भइदिएको भए लगेर फालिदिन्थेँ ।'
कुनै अफिसबाट 'घाँडो' भर्न खटिएका उनको रिस अब सरकारतिर तेर्सियो । 'कस्तो नामर्द सरकार ! खै कहाँ छ सरकार ? देशमा लोभी, पापी नेता भएपछि यस्तै हुन्छ ।' उनले रातोपिरो ओठ घोले । जीवनमा अब कहिल्यै मोटरसाइकल नचढ्ने कसम पनि उनले त्यही दिन खाएका थिए । अन्य मित्रहरू भने यो सबै नयाँ नेपालको रुप भएको हँसीमजाक गरिरहेका थिए । पम्पमा फेरि कुनै 'निवास' (प्रहरी हाकिमको) को मान्छे आएमा लाइनमा बस्नुनपर्ने नियम रहेछ । विचरा बबुरा जवानहरू भने लाइनमा बस्नैपर्ने । कतिपय प्रहरी जवानहरू भने भर्खरै नेपालगञ्ज विद्रोहको नाम लिँदै यस्तै भएर त हो नि भन्ने जनाउ दिइरहेका थिए । पेट्रोल वितरण गर्न खटिएकाहरू रिसले कहिले बत्ती गयो त कहिले तेल सकियो भनेर यो अव्यवस्थालाई केही व्यवस्थित बनाउन खोज्थे । कोही भने यहाँको नियमै किस्ताबन्दीमा वितरण गर्नु हो भनी फलाँकिरहेका थिए । मेरो पालामा भने अन्तिम किस्ताबन्दी परेछ । मभन्दा एक स्टेपअगाडि रहेका मित्रको ट्याङ्कमा छिरेको सोथे पनि लाइन गयो भनेर सुक्खा र रित्तै निस्किएपछि म छाँगाबाट खसेजस्तै भएँ । अझ आजको कोटा पुगेको भन्ने वचनवाणले त म भन्डै ढलेको !
अब तपाईँ आफैँ भन्नोस्, म लोभी जन्तु कि सचेत मान्छे ?

- भोजपुर, हाल : मैतीदेवी, काठमाडौँ ।

साउने झरीः एक स्वप्न साँझ

झोक्काः १
री प्रायजसो सबैलाई मन पर्दो हो, आफू भिजेर मुसो नहुँदाको स्थितिसम्म । सोझो फुटपाथमा मान्छेहरूको रङ्गीविरङ्गी भाव कुँदिएको अनुहारको 'भ्वाइस' सँग साक्षात्कार गर्दै सिमसिम पानीमा ज्यानलाई लबस्तरो तालले छोडिदिनु अक्सर रमाइलो हुन्छ । तर जिन्दगीमा सधैँ त्यस्तै संयोग जुर्छ कहाँ ? धेरैजसो समय त 'म हाँस्दा ऊ रोयो, म रुँदा ऊ हाँस्यो' भन्ने प्रतिकू्ल परिस्थिति सामना गर्नमा हामीले आफूलाई सुयोग्य उम्मेदवार बनाउनुपर्छ । अनि त झरी कहाँ... झरीमुनिको एक चक्का बाटुलो शिर कहाँ....!

र् भर्खरै मैले पनि भोगेँ झरी । आशक्ति मेटिने गरेर नै भोगेँ । झरी परेको त्यस साँझलाई मैले स्वप्न भनेँ । कारण, मैले त्यो साँझलाई सपनाजस्तै गरी भोगेँ, त्यसअघि नभोगेको सानोतिनो कहालीको रुपमा । रहर लागेर पानीमा भिज्नु अनि 'जोगिऊँ है दैव' भनेर सम्हालिँदा सम्हालिँदै खडेरीबेलाको सिकुटे मुसो हुन्जेल पानीमा भिज्नुको अन्तर पनि सिद्धार्थ गौतमले बुद्धत्व पाएझैँ त्यतिबेलै 'बोध' भयो । सिमसिमे र मध्यम वर्षामा भिज्न सक्ने मात्र योग्यता भएको मान्छेले अकस्मात मुसलधारे वर्षाको सामना गर्नुपरेपछि चटारो नपरोस् पनि कसरी....।

मङ्गलबार, यो दिनको नाम मात्रले पनि मनमा अपार सम्भावना जाग्छ । अरुलाई के-कस्तो हुन्छ कुन्नि, मलाई भने मङ्गल शब्दले हर्षको तरङ्ग छुटाएर सकारात्मकतातिर अग्रसर हुने 'गेट्.. सेट्.. गो' को साङ्केतिक घन्टी बजाउँछ । तर त्यो झरीमय मङ्गलबारले त घन्टी मात्र बजाएन, पूरै गडगडाएर कीर्तन नै अलाप्न थाल्यो । अनि त लाग्यो, नाममै आखिर केही हुन्न रहेछ ।

***
झोक्काः २
आफन्तजन भेटेर आएको मान्छे, सोचेथेँ- आशीर्वादको ढिक्का निधारभरि उठाएर ल्याएको छु । त्यो साँझ पेट्रोलियम पदार्थको अभावलाई हाँक दिँदै सडकमा वाहनहरूको तरलताले वेग मारिरहेथ्यो । टेकू चोकमा आफ्नै जीवनजत्तिकै प्यारो 'रेल' छुटाएर माइक्रोबसमा आफ्नो बासस्थानतिर हुत्तिएको म साँझपखको मन्द सहरी जीवनशैलीलाई शीशाको भित्ता छिचोलेर च्याउँदै थिएँ । कतै श्रीमान्‌ले बाइकमा जहान-बालबच्चा अनि कतै श्रीमतीले पारिवारिक स्नेह सँगाल्दै घरायसी बन्दोबस्तीका सामान बोकेर गन्तव्यतिर पाइला नापिरहेको त्यो पनि अरुजस्तै एउटा साँझ थियो । कुरा जुलाई २९ को ।

त्रिपुरेश्वर त्रिभुवन सालिकछेउबाट मोडिएको माइक्रो सुन्धारा टेक्दानटेक्दै आकाशबाट पानी छिट्याउन थालिसकेको थियो । काठमाडौँ मलको विशाल छातीमुनि जसै गुडेर आइपुगियो, झरीको असली फूर्ति देखियो । गाडीभित्रका अनुहारहरूमा भिज्नुनपरेकोमा सन्तोषको सानो हिस्सा देख्‍न सकिन्थ्यो (तिनमा गन्तव्य पुग्ने आतुरी किन नहोस् !) । धन्न आफ्नो साथमा छाता थियो । उता वर्षादीबिनाका बाइक र साइकलचालकहरू भने झरीको ठोक्कर र चिस्यानमिश्रित पीडाले रनथनिएर गाडी नै गाडीको चेपाचेपबीचबाट पनि अगाडि भाग्न कसरतरत देखिए । त्यसै मेसोमा सबै गाडीहरू वारपार सडकमा छपक्कै जाम भएर बसे । पछि बुझियो- तिनै बाइक र साइकलका निरीह सवारहरू सडकमाथि झुन्डिएको आकाशे पुलको ओतमा सडकै जाम पार्नेगरी खाँदिएर उभिएका रहेछन् । विकासोन्मूख मुलुकमा आकाशे पुलको उपयोगीता यहाँनेर सिद्ध भएको देखियो बा ! देखेर गजब लाग्यो ।

एउटा आकाशे पुलको जाम छिचोलेर अर्को जाममा फस्न पुग्दा माइक्रोभित्र बन्द कोठाको हावाले अक्सिजन गुमाएझैँ लाग्यो र नसहेर छाता उघारेर सडकमा टेकियो । त्यसो त जामनजिकै रत्नपार्कको उत्रिने स्टेशन आइपुगेको थियो । छाता ओढेपछि थाहा भयो, मेरी बास्सै छाताले थाम्न नसक्ने झरीले काठमाडौँलाई बिताएछ ! यत्रो झरी राजधानीको बसाइभरि कहिल्यै भोगिएन । टेक्ने जम्मै ठाउँमा समेत गोडाले डुबुल्की मार्ने आहाल जमेर खत्तम ! छाता ओढिएको छ है भन्ने अनुभवले मात्र बचाइरहेथ्यो ।

भिज्दै गरेको ब्याग र लगभग छ फुटे जयानलाई ओताउँदै सडकमा जमेको पानीमा मोटरहरूले पारेको पिच्कारीबाट जोगिँदै बागबजारको भेलमा पसियो । त्यो भेल मुसलधारे झरीको लहडमा साँच्चिकै भेल नै बनेको थियो । छाता भएका यात्रुहरू पनि छाता निभाएर निभेको अनुहारसहित सडककिनाराका घर-पसलको छानामुनि सिउसिउ काँप्ने खम्बा बनेका थिए । एक झमट त यत्रो सडक र फुटपाथमा एक्लो मैं मात्र पो हिँडिरहेको छु कि भनी आफैँलाई 'हे मूर्ख' सम्झेर दिक्दार लाग्यो । तर कहाँ हुनु, पानीमा छप्ल्याङ् खेल्दै बुर्कुशी मारिरहेको गोडाहरूको एक्का-दुक्का जुलुश बिस्तारै देखियो । तब सान्त्वना मिल्यो ।
***
झोक्काः ३

जीउलाई सास्ती भए पनि आँखालाई रमिता भइरहेको साँझ थियो त्यो । खुलेआम सडकमा चिसो मौसमको फाइदा उठाउँदै एकापसमा ढेपिएर हिँड्न ठिटा-ठिटीलाई राम्रो बहाना मिलेको थियो । गाडीहरूको हेडलाइटले तिनको जोडी आकृतिमा छरेको चहकले दर्के झरीमा सेकिँदै लुखुरलुखुर फन्किरहेका मजस्तालाई लोभलाग्दो प्रभाव छुटिरहेथ्यो । तर प्रभावले प्रेरणा पाएर समाउनलाई छेउमै चुरी बज्ने हात भए पो ! थियो त उही डण्ठे छाता, जो झरीको मुकाबिला गर्ने सवालमा निकम्मा साबित भइसकेको थियो । यस्तो डण्ठी समाउने त कुरै छैन, फ्याँकिदिऊँ ? झोंक पनि तुरुन्तै जुर्मुरायो र तुरुन्तै शिथिल पनि भइहाल्यो ।

बागबजारबाट पुतलीसडकतिर मोडिएर नक्साल (नागपोखरी) प्रस्थान गर्ने बेलामा पाइन्ट र झोला छ्‌याप्पै भिजिसकेको थियो । र पनि, पसलमा पानी भाँडाकुँडाले उभाउँदै उद्धारकार्यमा जुट्दै गरेका मान्छेहरूको हरिबिजोग ताल देखेर आफ्नो बिजोगले खुम्चिने आडभरोसा पायो । राती ८ बजेको हाराहारीमा कोठा पुग्दा स्वर्ग जितेझैँ भयो ।

लङ्स्टन ह्युग्सको 'बैलड अफ दी ल्यान्डलर्ड' (घरमालिकको गाथा) कवितामा घरमालिकसामु अश्‍वेत बहालवालाले गरेजस्तो कुनै गुनासोपूर्ण बिलौना नगरी घरबेटीको घरको कोठामा पल्टिएर सोचेँ- झरी खेतबारीको अन्नबाली पनि हो, पहिरो र बाढी बोकेर कुर्लिँदै हिँड्ने छिप्पट भरिया पनि हो । जीवनमा मन्द सिमसिमे झरीजस्तै लोभलाग्दो कुरा धेरै हुन्छन्, तर मुसलधारे झरीजस्तै अत्यासको घटना पनि कम्ती हुन्नन् ।
ती सबै-सबैलाई स्वीकार्दै-पचाउँदै जानुपर्ने हाम्रो यो चोला.... ।
***
जूलाइ ३१, २००८ (नक्साल)